भर्खरै :

प्रजग कोरियामा समाजवादी संस्कृतिको विकास

प्रजग कोरियामा समाजवादी संस्कृतिको विकास

सरकारले हालै प्रतिनिधिसभा र राष्ट्रयसभाको संयुक्त बैठकमा जारी गरेको सरकारी नीति तथा कार्यक्रममा संविधान संशोधनलाई प्राथमिकतामा राखेको खबर प्रकाशमा आयो । तर, सरकारले कुन कुन विषयमा संविधान संशोधन गर्न लागेको हो ? अज्ञात छ । सरकार एमालेको नेतृत्वमा छ । एमाले आफूलाई कम्युनिस्ट पार्टी दाबी गर्छ । त्यस्तै देशमा अन्य कम्युनिस्ट भनिने पार्टीले पनि पटक पटक सरकारको नेतृत्व गरिसकेको छ । उनीहरूले कहिले पनि कम्युनिस्ट पार्टीको मूल्य र मान्यताअनुसार ऐन संशोधन गर्ने या समाजवादी धारणाअनुरूप संविधान बनाउनेतर्फ ध्यान दिएका छैनन् । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई आधार मानेर संविधान बनाउने हो भने चीन, भियतनाम, कोरिया, क्युवा आदि देशहरूको संविधान अध्ययन गर्नुपर्छ; अध्ययन गरेर संविधान संशोधन भए व्यापक जनताको हित हुनेछ ।
प्रजातान्त्रिक जन–गणतन्त्र कोरिया सबै कोरियाली जनताको हितको प्रतिनिधित्व गर्ने एक स्वाधीन समाजवादी राज्य हो । प्रजग कोरिया साम्राज्यवादी आक्रमणकारीहरूविरुद्धको गौरवपूर्ण क्रान्तिकारी सङ्घर्षमा मातृभूमिको मुक्ति र जनताको स्वतन्त्रता एवं कल्याणको लागि भएको सङ्घर्षमा बनेको क्रान्तिकारी राज्य हो । प्रजग कोरियाको क्रियाकलाप जुछे विचारधारा जनतामा केन्द्रित छ । प्रजग कोरियाको सार्वभौमिकता मजदुर, किसान, कामदार, बुद्धिजीवी र अन्य जनतामा निहित छ । प्रजग कोरियाको सामाजिक व्यवस्था पनि जनताकेन्द्रित छ । शोषण र दमनबाट युक्त भएर राज्य र समाजको मालिक बनेका मजदुर, किसान, बुद्धिजीवी र अन्य कामदार जनताको हितको सुरक्षा र बचाउ राज्यले गर्छ । वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्तिलाई सशक्त ढङ्गले अगाडि बढाई समाजवादलाई पूर्ण रूपमा लागु गर्ने संवैधानिक व्यवस्था छ । मजदुरवर्गको नेतृत्वमा रहेको मजदुर किसान मेलमा आधारित सबै जनताको राजनीतिक र सैद्वान्तिक एकतामाथि प्रजग कोरिया निर्भर गर्छ । राज्यले समाजका सबै सदस्यलाई क्रान्ति उन्मुख बनाउनेछ । प्रजग कोरियाले आफ्ना सबै क्रियाकलापहरू कोरियाली मजदुर पार्टीको नेतृत्वमा सञ्चालन हुने संविधानमा उल्लेख छ ।
प्रजग कोरियाको संविधानमा लेखिएको छ –राज्य वर्गीय नीतिप्रति अडिग रहनेछ । जनताको प्रजातन्त्रको हुकुमलाई सुदृढ पार्नेछ । देश विदेशका शत्रुवत तत्वहरूको सबै विध्वंसक गतिविधिविरुद्ध समाजवादी व्यवस्था र जनताकोे राज्य शक्तिको दृढतापूर्वक रक्षा गर्नेछ । तर, सरकारमा गएका, सरकारको नेतृत्व गरेका नेपालका कम्युनिस्टहरू कम्युनिस्टको सिद्धान्त र विचार आत्मसात गर्दैनन् । अतः सरकारी नीति तथा कार्यक्रममा कम्युनिस्टको कुनै गन्ध पाइँदैन । संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अवधारणालाई पनि सरकारले व्यवहारमा लागु गर्नेतर्फ लागेको देखिँदैन । प्रजग कोरियाको कानुनले कामदार जनताको इच्छा र हितलाई प्रतिबिम्बित गर्छ । राज्यले समाजवादी कानुनी व्यवस्थालाई पूर्ण बनाउनेछ र समाजवादी कानुन मान्ने जीवनलाई प्रोत्साहन दिनेछ । तर, सरकारले हालै जारी गरेको नीति तथा कार्यक्रममा समाजवादी व्यवस्था र समाजवादी कानुनको कुनै कुरा उल्लेख गरेको देखिँदैन ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार रहे पनि सरकार पुँजीपतिवर्गकै पृष्ठपोषण गर्न लागेको छ । जनताको निम्ति राहत पु¥याउनुपर्ने सरकारले तिनै सामन्त, पुँजीपति र प्रतिक्रियावादीहरूकै पक्षमा ऐन –कानुन बनाउँछ । प्रजग कोरियाका स्वाधीन राष्ट्रिय अर्थतन्त्र जनताको सुखी समाजवादी जीवन र देशको समृद्धिको ठोस आधार हो । प्राविधिक क्रान्ति समाजवादी अर्थतन्त्रको विकास गर्ने आधारभूत सृङ्खला हो । राज्यले राष्ट्रिय अर्थतन्त्रका प्रविधिक नवीकरण गर्ने, प्राविधिक विकासलाई अगाडि बढाउने, मजदुरवर्गलाई गा¥हो, थकाउने श्रमबाट मुक्त गर्ने तथा शारीरिक र मानसिक श्रमबिचको भेद कम गर्ने काम गरिरहेको छ । प्रजग कोरियामा समाजवादी संस्कृतिको विकास भइरहेको छ । सांस्कृतिक क्रान्तिमार्फत प्रजग कोरियाले कामदार जनतालाई समाजको ज्ञान दिएर संस्कृतिबाट युक्त समाजवादको निम्ति प्रशिक्षित गरिरहेको छ । प्रजग कोरियाको लक्ष्य सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्ने हो । कामदार जनताको सेवा गर्न नै जनमुखी क्रान्तिकारी संस्कृतिको विकास गरिरहेको हो । हरेक समुदाय र क्षेत्रमा समाजवादी जीवन शैली बिताउने लक्ष्यअनुरूप प्रजग कोरियामा काम भइरहेको छ ।
राज्यले समाजवादी शिक्षाको सिद्धान्तलाई व्यवहारमा लागु गरिरहेको छ; नयाँ पुस्तालाई समाज र जनताको लागि सङ्घर्ष गर्ने क्रान्तिकारीहरू तयार गरिरहेको छ; शिक्षालाई प्राविधिक शिक्षा र उत्पादन श्रमसँग जोड्ने काम गरिरहेको छ । सरकारको नेतृत्व गर्ने नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले न समाजवादी शिक्षा दिए न त क्रान्तिकारी जनता नै तयार गरे । कम्युनिस्ट पार्टीले जनतालाई समाजवादी शिक्षा दिनुपर्ने हो† समाजवादी आधार तयार गर्नुपर्ने हो; कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीप्रति प्रतिबद्ध बनाउनुपर्ने हो । राज्यले अनिवार्य ११ वर्षे शिक्षा लागु गरेको छ । राज्यले सबै शिष्य र विद्यार्थीहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराएको छ । विश्वविद्यालय र महाविद्यालयमा विद्यार्थीको लागि भत्ताको व्यवस्था गरेको छ । राज्यले विद्यालय जान उमेर नपुगेका बालोद्यानको बन्दोबस्त गरेको छ । राज्यले कामदार जनतालाई एक समाजवादी सांस्कृतिक विकास गरी सुनिश्चित जीवन बनाउन आधुनिक सांस्कृतिक सहुलियतहरू प्रदान गरिरहेको छ । निःशुल्क चिकित्सा व्यवस्था गरिएको छ ।
प्रजग कोरियाको सशस्त्र सेनाको उद्देश्य कामदार जनताको हितको रक्षा गर्नु हो† समाजवादी व्यवस्थाको रक्षा गर्नु हो† सेना र जनतालाई राजनीतिक र वैचारिक रूपमा सुसज्जित पार्ने काम राज्यले गरिरहेको छ । क्रान्तिका उपलब्धिलाई आक्रमणबाट बचाउनु पनि सेनाको जिम्मेवारी हो । नेपाली सेनामा पनि प्रजातान्त्रिक भावना र सेवा हुनुपर्छ । प्रजग कोरियामा नागरिकहरूको कर्तव्य र अधिकारहरू सबैका लागि एक, एक एकको लागि सबै भन्ने सिद्धान्तमा आधारित छ । नागरिकहरूले आफ्नो योग्यताअनुसार काम पाउने र तिनीहरूको कामको गुण र मात्राअनुसार पारिश्रमिक पाउने क्युवाको संविधानमा बन्दोबस्त छ । नेपालमा यस्तो बन्दोबस्त छैन । यहाँ काम–मामको सुनिश्चित छैन । यहाँ न योग्यताअनुसार काम र कामअनुसारकै ज्याला र पारिश्रमिकको नै बन्दोबस्त छ । यहाँ काम पाउन चाकडी गर्नुपर्छ, ज्यू हजुर गर्नुपर्छ । काम नपाएरै लाखौँ युवाहरू विदेश जान बाध्य छन् । उपचार खर्च नपाएरै या समयमा उपचार गर्न नपाएरै कतिको दुःखद निधन हुन्छ । देशमै कामको बन्दोबस्त भएको भए अरु देशको दासी बन्नु पर्दैनथ्यो; देश छोडेर जानु पर्दैनथ्यो । यसअघिको सरकार पनि आफूलाई कम्युनिस्ट भन्ने पार्टीहरूकै नेतृत्व बनेको थियो । तर, व्यवहारमा देशमा कम्युनिस्टको सरकार छ भन्ने कुनै अनुभूति भएन; अनुभूति हुने काम भएन ।
प्रजग कोरियामा नागरिकहरूले निःशुल्क चिकित्सा सेवा पाएका छन् । नागरिकहरू वैज्ञानिक, साहित्यिक र कला क्षेत्रमा संलग्न हुन कुनै रोकटोक छैन । धेरै बाल–बच्चा भएका आमाहरूको काम गर्ने समय घटाएर, शिशु स्याहार केन्द्र तथा बालोद्यानहरूको बन्दोबस्त गरेर आमा र बालबालिकाहरूको विशेष रक्षाको व्यवस्था राज्यले गरेको छ । प्रजग कोरियामा देशभरि नै बालोद्यान र शिशुस्याहार केन्द्रहरूको व्यवस्था छ । प्रजग कोरिया अहिले बुद्धिजीवीकरणको अभियानमा छ । जबकि नेपाल अहिलेसम्म साक्षर मुलुक पनि बनेको छैन । यही हो ठुलठुला दलले शासन गरेको सरकारको उपलब्धि ! नेपाल विकासशील देश पनि बनेको छैन । सरकारले विकास गरेको छ भनेर खोकेरै मात्रै के गर्ने ?
प्रजग कोरियाले शान्ति र प्रजातन्त्र, राष्ट्रिय स्वाधीनता, समाजवाद र सांस्कृतिक स्वतन्त्रताको लागि काम गरेर निर्वासित जीवन बिताएका विदेशीहरूलाई आश्रयको अधिकार प्रदान गरेको छ । नागरिकहरूले राज्यको कानुन मात्र होइन समाजवादी जीवनलाई कडाइका साथ पालना गर्नुपर्ने व्यवस्था प्रजग कोरियामा छ । तर, नेपालमा सरकारमा जाने† आफूलाई ठुला दल भनिने कम्युनिस्ट पार्टीले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार बहुमत जनताको निम्ति केही काम गरेको छैन । कम्युनिस्ट पार्टीको नाउँ भजेर कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचार तोडमरोड गरेर पुँजीपतिवर्गको पृष्ठपोषण गर्ने दल कसरी कम्युनिस्ट हुन्छ ? नेपालका शासक कम्युनिस्ट र सरकारमा जाने कम्युनिस्टहरूले प्रजग कोरियाबाट पाठ सिक्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *