भर्खरै :

सुकुलढोकामा मन्दिर भत्काई बनाइएको राजवैद्यको घर कसरी निजी हुनसक्छ ?

सुकुलढोकामा मन्दिर भत्काई बनाइएको राजवैद्यको घर कसरी निजी हुनसक्छ ?

भक्तपुर, २६ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा केही महत्वपूर्ण विषयमा संसद् र सरकारको ध्यानाकर्षण गराउनुभयो । ध्यनाकर्षणको क्रममा सांसद सुवालले राख्नुभएको मन्तव्यको सार – सं.
नेपाल जैविक र सांस्कृतिक विविधतामा सम्पन्न देश हो । सगरमाथा निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा समावेश प्राकृतिक सम्पदा हुन् । भक्तपुर, काठमाडौँ र ललितपुरका दरबार क्षेत्रहरू, लुम्बिनीको बुद्ध जन्मस्थल, काठमाडौँको बौद्ध र स्वयम्भू महाचैत्य, भक्तपुरको चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीभित्रका सांस्कृतिक सम्पदाहरू हुन् । भक्तपुर दरबार क्षेत्रदेखि तमारी हँुदै तचपाः क्षेत्रसम्मको दायाँ–बायाँका घर–भवनहरू पनि विश्व सम्पदा सूचीभित्रका हुन् । प्राचीन स्मारक संरक्षण ऐनअनुसार एक सय वर्ष पुगेका निजी घर–भवन र वस्तुसमेत सम्पदाभित्र पर्छन् ।
भक्तपुर सुकुलढोका क्षेत्र विश्व सम्पदा सूचीमा पर्दछ । सुकुलढोकामा नवौँ शताब्दीमा निर्माण गरिएको श्रीधरनारायणको मन्दिर थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको मौखिक आदेश पाएका तत्कालीन राजवैद्यहरू दण्डपाणि वैद्य र चक्रपाणि वैद्यसमेत दुई दाजुभाइले श्रीधरनारायण मन्दिरलाई भत्काई घर बनाएका थिए । सो घरको एक ठाउँमा अहिले श्रीधरनारायणको मूर्ति यथावत राखिएको छ । (मूर्तिको तस्बिर देखाउँदै)
प्रा. पुरुषोत्तम लोचन श्रेष्ठको त्रि.वि.को (CNAS) सिनासमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार डण्डपाणि वैद्यले सुकुलढोकामा सो घर बनाउनु अघि त्यहाँ श्रीधरनारायणको मन्दिर थियो । सो मन्दिर मासेर उनले त्यहाँ घर बनाएका हुन् भनेर स्पष्ट लेखिएको छ । (सिनासको प्रतिवेदनमा छापिएको घरको तस्बिर देखाउँदै)
राणा प्रधानमन्त्रीको आदेशमा श्रीधरनारायण मन्दिर भत्काई तत्कालीन राजवैद्य दाजुभाइले बनाएको घर कसरी निजी हुनसक्छ ? मन्दिर भत्काई बनाइएको घर निजी हुनसक्दैन । राणा शासनले पाँचतले मन्दिर कुनै व्यक्तिलाई दिएमा के निजी हुनसक्छ र ? राणा शासनको गलत आदेशलाई यो सरकारले सच्याउनु पर्छ कि पर्दैन ? सरकारले आफ्नो उपस्थिति देखाउनु जरुरी छ ।
सो घर बेचबिखनको लागि मालपोत कार्यालय भक्तपुरले २०५९ साउन ३० गते पुरातत्व विभागलाई पत्र पठाएको थियो । पुरातत्व विभागका एक अधिकारीले सो घरको फुकुवा पत्रमा साउन २८ गते नै दस्तखत गरेका थिए । मालपोत कार्यालयको पत्र पुग्नु दुई दिन अगाडि नै पुरातत्व विभागको अधिकारीले कसरी सो घर बिक्री गर्न मिल्ने र सम्पदा क्षेत्रमा नपर्ने भनी पत्र लेख्न सक्यो । के यो जालसाजी होइन र ?
काठमाडौँ थःवहीको सरकारी कमलपोखरी र बगैँचामा पनि पुरातत्व विभागका तत्कालीन प्रमुख भेषनारायण दाहालले अभिलेखमा नदेखिएको र बिक्री गर्न मिल्ने भनी झूटा व्यहोरा लेखी पठाएको हुँदा अहिले सो सरकारी जग्गा र कमलपोखरीमा पन्ध्र तलाको व्यापारीक भवन बनेको छ । सरकारले सार्वजनिक र सरकारी सम्पदाहरू संरक्षण गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *