भर्खरै :

पृथ्वीका महासागरहरू

पृथ्वीका महासागरहरू

पृथ्वीको सतहमा भएको पानीको ठुलो भाग महासागर हो । महासागरको औसत गहिराइ ३.७ कि.मि. रहेको छ । पृथ्वीको कुल क्षेत्रफलको ७१ प्रतिशत जल सतहले भरिएको छ ।
पृथ्वीको पाँच ओटा महासागरहरूको छोटो विवरण यसप्रकार रहेको छ –
प्रशान्त महासागर
प्रशान्त महासागर सबैभन्दा ठुलो र गहिरो महासागर हो । पृथ्वीको दोस्रो ठुलो महासागर अर्थात् हिन्द महासागरभन्दा यो झन्डै दोब्बर ठुलो छ । यसको क्षेत्रफल १६ करोड ५७ लाख वर्ग किलोमिटर छ । त्रिभुजाकार यस महासागरको सरदर गहिराइ ४३ मि. ६ भने यसले जलमण्डलको ४५.५ प्रतिशत र पृथ्वीकै पूरा सतहको १÷५ प्रतिशत ओगटेको छ । यो उत्तरमा आर्कटिक र दक्षिणमा अन्टार्टिक महासागर (अन्टार्टिका) सम्म फैलिएको र एसिया, अस्ट्रेलिया र अमेरिकाले घेरिएर रहेको छ ।
प्रशान्त महासागर फिलिपिन्सको तटदेखि पानामासम्म ९४५५ माइल चौडा तथा बेरिङ जलडमरुदेखि दक्षिण अन्टार्कटिकासम्म १० हजार ४९२ माइल लामो छ । यसको उत्तरी किनारा केवल ३६ माइलको बेरिङ जलडमरुद्वारा उत्तरी धुवीय सागरसँग जोडिएको छ । प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च हो । यो महासागरको पश्चिममा मारियाना टापुको दक्षिण पूर्वतिर अवस्थित छ । संसारको सबभन्दा अग्लो शिखर सगरमाथाको उचात्न्दा यसको गहिराइ बढी छ ।
विश्वका चर्चित नदीहरू ह्वाङ्हो, अमुर, यान्जे, कोलोराडो, मिसौरी तथा युकनलगायतका नदीहरू प्रशान्त महासागरमा गएर खस्छन् । पृथ्वीमा रहेका अधिकांश सक्रिय ज्वालामुखीहरू प्रशान्त महासागररीय क्षेत्रमा रहेका छन् । जसलाई प्रशान्त अग्निको रेखा (The ring of fire) पनि भनिन्छ । यो क्षेत्र अत्यधिक भूकम्प जाने क्षेत्र पनि हो । पृथ्वीको कुल भूकम्पमध्ये ९० प्रतिशत यहीँ क्षेत्रमा जान्छ ।
आन्ध्र महासागर
आन्ध्र महासागर दोस्रो ठुलो र तेस्रो गहिरो महासागर हो । यो महासागर अङ्गे्रजी अक्षर ‘S’ आकारको छ । यो महासागरको क्षेत्रफल ८ करोड २४ लाख वर्ग किलोमिटर छ भने सरदर गहिराइ ३७०० मि. रहेको छ । यस महासागरको पूर्वी युरोप र अफ्रिका महादेश रहेको छ भने पश्चिमी तटमा उत्तर अमेरिका र दक्षिण अमेरिका रहेका छन् । यो महासागरको सबैभन्दा गहिरो क्षेत्र जेटोमिका ट्रेन्च (पुर्टोरिका द्वीपनिर) हो, जसको गहिराइ ९२०० मि. रहेको छ । यस महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई बर्मुडा त्रिभुज भनिन्छ ।
व्यापारिक जहाजहरूको आउ जाउ र सामुद्रिक यात्राको सघनता रहेको आन्ध्र महासागरलाई ‘वाणिज्य महासागर’ को उपनामले चिनिन्छ । त्यसैले यो महासागर सबभन्दा व्यस्त रहेको छ । सन् १९१२ मा ‘टाइटानिक’ नामक पानीजहाज यही महासागरमा दुर्घटना भएको थियो । यसमा मिसिने प्रमुख नदीहरूमा नाइजर, सेन्टलरेन्स मिसिसिपी, अमेजन, ओरिनो, सेनेगल, राइन, कङ्गो आदि हुन् ।
आन्ध महासागरको सबैभन्दा ठुलो टापु ग्रीनल्यान्डलाई मानिन्छ । उत्तरी सागर, कृष्ण सागर, मध्य सागर, क्यारेवियन सागर, बाल्टिक सागर, भूमध्य सागर यही महासागरको छेउछाउमा रहेका छन् । अमेरिकालाई युरोप, एसिया र अफ्रिकासँग छुट्याउने महासागर आन्ध्र महासागर नै हो ।
हिन्द महासागर
हिन्द महासागर तेस्रो ठुलो र दोस्रो गहिरो महासागर हो । यसको क्षेत्रफदल ७ करोड ३५ लाख वर्ग किलोमिटर रहेको छ । पूर्वी गोलाद्र्धमा परेको यो महासागर संयुक्त अमेरिकाभन्दा ५.५ गुणाले ठुलो छ । यसले जलमण्डलको २०.५ प्रतिशत भाग ओगटेको छ । यो एसिया, अफ्रिका र अस्ट्रेलियाको बिचमा पर्दछ । उत्तरमा लालसागर, उत्तरी पश्चिममा अरबी सागर छ । खाडीहरूमा फारस खाडी, एडेन खाडी, बङ्गालको खाडी आदि रहेका छन् । यस सागरमा ब्रह्मपुत्र, मेकङ, युपे्रmटस, गंगा, सिन्ध, इरावदी, मेनाम, टिग्रिस नदीहरू मिसिन आउँछन् ।
यो महासागरको औसत गहिराइ ३,७४१ मि. (१२,२७४ फिट) रहेको छ भने अधिकतम गहिराइ जाभा ट्रेन्चमा रहेको छ । यो ७,९०६ मि. (२५,९३८ फिट) गहिरो छ । अफ्रिका र अस्टे«लियाका दक्षिणी बिन्दुहरूमा यस महासागरको चौडाइ करिब १०,००० किलोमिटर (६२०० माइल) छ । विश्वको चौथो सबैभन्दा ठुलो द्वीप मडागास्कर यो महासागरको दक्षिण पश्चिममा अवस्थित छ । कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिसस, श्रीलङ्का र इन्डोनेसियाको द्वीप समूहले यस महासागरको पूर्वी सीमा निर्धारण गरेको छ ।
हिन्द महासागरीय क्षेत्रबाट मौसमी वायु चल्ने र त्यसको प्रभावले सो क्षेत्रमा पानी पर्ने हुँदा यसलाई मनसुनी महासागर पनि भनिन्छ । विश्व पेट्रोलियम उत्खननको ४० प्रतिशत यहाँबाट प्राप्त गरिने भएकोले यसलाई तेलको महासागर पनि भनिन्छ ।
यो महासागरको ८० प्रतिशत सतह खुला सागरको रूपमा रहेको छ भने अरु २० प्रतिशत सतह Gulf and Shelf को रूपमा रहेका छन् ।
कुमेरु महासागर
कुमेरु महासागर दक्षिण ध्रुवीय महासागर हो । वृत्ताकारको यो महासागर २ करोड ४४ लाख वर्ग किलोमिटरमा फैलिएको छ । यो महासागरको औसत गहिराइ २४०० मिटर छ । यसले पानीको सतहको ७ प्रतिशत भाग ढाकेको छ । क्षेत्रफलको हिसाबले यो चौथो ठुलो महासागर हो । अन्टार्कटिकालाई घेरेको यो महासागर प्रशान्त र आन्ध्र महासागरसँग जोडिएको छ । वर्षभरि हिउँले ढाकिरहने यो महासागरको सतहमा पानी कम मात्रै देखिन्छ । त्यसैले यसलाई चिसापानीको महासागर पनि भनिन्छ ।
यो विकट महासागरको सबैभन्दा गहिरो भाग स्यान्डबिच टे«न्च हो । यो महासागरले अन्टार्कटिकालाई घेरेको छ । त्यसैले यसलाई Antartic Ocean पनि भनिन्छ । पृथ्वीको स्थल मण्डल अर्थात् महादेशले कुनै प्रभाव नपारेको अर्थात् नबिथोलिएको महासागरको रूपमा यसलाई लिइन्छ ।
सुमेरु महासागर
उत्तर धु्रवीय महासागर वा सुमेरु महासागर पृथ्वीमा रहेको पाँच प्रमुख महासागरमध्ये कम गहिराइ भएको सबैभन्दा सानो महासागर हो । यसको क्षेत्रफल १ करोड ५१ लाख वर्ग कि.मि. छ । यसको सरदर गहिराइ १३३० मिटर रहेको छ भने गहिरो भाग मोलिद्वीप (५६०८ मि.) हो । वृत्ताकार महासागरको रूपमा चिनिने यो नुनिलो महासागर चिसो पानीको महासागरको रूपमा पनि लिइन्छ । आन्ध्र महासागर यसको छिमेकी महासागर हो भने यसले क्यानाडा, डेनमार्क, नर्र्वे, आयरल्यान्ड ग्रीनल्यान्ड, आइसल्यान्ड, स्वेडन, फिनल्यान्ड, उत्तरी अमेरिकासमेत छोएको छ । यो महासागरले पृथ्वीको कुल ४ प्रतिशत जलमण्डलको हिस्सा ओगटेको छ । यहाँको बरफले उत्तरी ध्रुवको वायुमण्डलमा सेतो किरणको परावर्तन गर्दछ र विश्वको हावापानीलाई नियन्त्रणमा राख्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *