भर्खरै :

गाईजात्रा २०८१ को बजेट निकासा रकम पारदर्शी नभएको विरोधमा सार्वजनिक सुनुवाइ

गाईजात्रा २०८१ को बजेट निकासा रकम पारदर्शी नभएको विरोधमा सार्वजनिक सुनुवाइ

काठमाडौँ, ३ जेठ । गाईजात्रा सहयोगी समूह (सायाः ग्वाहाली पुचः) को आयोजनामा पाँगा गाईजात्रा पर्व २०७९ देखि २०८१ सम्मको बजेट निकासा तथा खर्च विवरणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नं. ५ पाँगामा शनिबार सम्पन्न भयो ।
२०८१ मा सम्पन्न गाईजात्रा पर्व सञ्चालनको लागि कीर्तिपुर नगरपालिका र वडा नं. ५ र ८ को तर्फबाट गरी जम्मा एक लाख ३७ हजार ४ सय ७० रुपैयाँ साया ग्वाहाली पुचः बाट सङ्कलन गरी पाँगास्थित क्षितिज युवा क्लवको जिम्मामा चेक बुझिलिए पनि आलताल गरेकोले सार्वजनिक सुनुवाइ गर्न बाध्य भएको पुचःका संयोजक सञ्जय महर्जनले जानकारी दिनुभयो ।
संयोजक महर्जनका अनुसार २०७९ मा एक लाख ७ हजार २ सय ७५ रुपैयाँ सङ्कलन भएको, २०८० मा एक लाख ८ हजार ३ सय ५० रुपैयाँ सङ्कलन गरी गाईजात्रा पर्व आयोजक परिवारलाई हस्तान्तरण गरी खर्च विवरण पनि सार्वजनिक गरिएको थियो । तर, २०८१ सालको उठेको रकम आयोजकलाई नदिएको र साया ग्वाहाली पुचःलाई पनि हिसाब विवरण नबुझाएकोले सार्वजनिक सुनुवाइ गरिएको हो ।
क्षितिज क्लवले कसैसँग पैसा नउठाउने भनेर भित्र भित्र पैसा उठाएर पारदर्शी नगर्ने थाहा भएपछि ग्वाहाली पुचः अगाडि बढेको जानकारी दिँदै उहाँले वाग्मती प्रदेश सांसद पुकार महर्जनले पनि वास्ता नगरेको बताउनुभयो ।
कीर्तिपुर सन्देशका प्रकाशक नजरराम महर्जनले आफ्नो पत्रिकाले छाप्न खोज्दा रोकेको र सम्पादकीय पत्रमार्फत सचेत गरिएको बताउँदै क्षितिज क्लवलाई सङ्कलित रकम दिनु गलत भएको बताउनुभयो ।
‘सहिद’ साप्ताहिक पत्रिकाका सम्पादक नारायण महर्जनले सबैको सहयोगमा गाईजात्रा मनाउने गरेकोमा उठेको रकम फिर्ता नगर्नु र सार्वजनिक नगर्नु बेइमानी हो भन्दै सार्वजनिक सुनुवाइपछि पनि चेतेनन् भने कानुनी कारबाही गर्नुपर्ने सुझाव दिनुभयो ।
राजकुमार महर्जनले जात्रा पर्व व्यवस्थापन समितिको मध्यस्थतामा कार्य अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एकबहादुर महर्जन, जनकलाल महर्जन, रामभोला महर्जन, सुशीला महर्जन, कविकुमार महर्जन, अर्जुन महर्जनलगायतले जुन कार्यको लागि बजेट आएको हो त्यसै क्षेत्रमा खर्च गर्नुपर्ने र सङ्कलित रकम बुझाउनुपर्ने बताउनुभयो ।
पुचःका अध्यक्ष विदुर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सचिव विजेन्द्र महर्जन र रवि महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *