भर्खरै :

समृद्धि कृषि सहकारीको पाँचौँ साधारणसभा सम्पन्न

समृद्धि कृषि सहकारीको पाँचौँ साधारणसभा सम्पन्न

भक्तपुर, ४ जेठ । वि.सं. २०७० असार १९ गते विधिवतरूपमा दर्ता भएको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको शनिबार पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भयो ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानाजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले कार्यक्रमको उद्घाटन गर्दै कृषि उत्पादन गर्ने किसान नै देशको अन्नदाता भएकाले किसानहरूलाई संस्थाले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले देशको समृद्धिको आधार कृषि क्षेत्र पनि भएकोले कृषि क्षेत्रलाई अध्ययन र अनुसन्धानको विषय बनाउनुपर्ने बताउँदै स्वाधीन अर्थतन्त्रको निम्ति कृषि कर्म महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले कृषि क्षेत्रमा काम गर्ने कृषकलाई हेप्न नहुने स्पष्ट पार्दै संस्थाले कृषकका लागि आवश्यक उन्नत जातका बीउबिजन उपलब्ध गराउनुपर्ने, आधुनिक कृषि उपजका उपकरण अनुदानमा उपलब्ध गराउनुपर्ने, कृषि तालिम दिनुपर्नेलगायतका कार्य गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रत्नप्रसाद प्रजापतिले सहकारीको विकास कृषि क्षेत्रको विकासकै लागि सुरु भएकोले यस संस्थालाई क्रियाशील बनाई अघि बढ्नुपर्नेमा जोड दिँदै सहकारी संस्थाले गर्दा नै आर्थिक कारोबारहरूमा महिलाको उपस्थिति बढेको बताउनुभयो । कृषि क्षेत्रलाई अझ व्यवस्थितरूपमा अगाडि बढाउन स्थानीय कृषकहरूलाई विभिन्न तालिम र अनुदान दिनुपर्ने उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले नीतिगतरूपमा भक्तपुर बचतलाई सहजीकरण गर्न यस संस्थाको स्थापना भएको बताउँदै अब यो संस्थालाई निरन्तरता र जीवन्त बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन समितिका कोषाध्यक्ष छोरीमैँया सुजखुले प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक सत्यनारायण साँय्जुले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष रामलक्ष्मी दुवालले स्वागत गर्नुभएको उक्त कार्यक्रममा अञ्जना छुस्याबागले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सत्यनारायण साँय्जुको प्रतिवेदन, आ.व. २०८१/०८२ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र सदस्यता वृद्धिसम्बन्धी विभिन्न प्रस्तावहरू उक्त साधारणसभाबाट पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *