यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
गत शनिबार एकाबिहानै गाजापट्टीमा बमको गर्जन सुरु भयो । उत्तर, दक्षिण, मध्य गाजा सर्वत्र इजरायलले ठुलो बमबारी ग¥यो । यस आक्रमणलाई इजरायली सेनाले गाजामा ‘विस्तार कारबाहीको तयारी’ भनेको छ । इजरायलले खान युनिस, देर अल–बलाह, गाजा सिटीका भिन्न भाग र जाबालियामा हवाई हमला गरेको छ । गाजा सिटीस्थित शाती शरणार्थी शिविरका एक बासिन्दाले भने, “कब्जाकारी सेनाले शाती शिविर खाली गर्ने आदेश पठाएको थियो । पछि त्यो आदेश फिर्ता लिए । त्यसपछि शिविर खाली गर भनेर अर्को आदेश आयो । घरि भाग्ने, घरि फर्किने गर्दा यहाँका बासिन्दाहरू एकदम तनावमा छन् ।”
उनले भने, “हिजो राति तिनीहरूले गाजाभरि बमबारी सुरु गरे । शाती शिविरमा पनि ठुलो बमबारी भयो । रातभरि बमबारी भयो ।”
बमबारीसँगै उत्तरी गाजाबाट रिमोट नियन्त्रित बम हान्ने गाडीहरूले घुसपैठ गरे । त्यो गाडी तल अल–जाअतार टोलमा आएर पड्कियो । यो ठाउँ जाबालियाको पूर्वमा पर्छ । गाडी सिधै मानिसहरू बसिरहेको भवननिर आयो र जोडले विस्फोट भयो । बमका छर्राहरू छिमेकको बेत लाहिया टोलमा पर्ने इन्डोनेसियाली अस्पतालसम्म पुगे । ती छर्राले मात्र पनि धेरै भवन ध्वस्त भएको स्थानीय पत्रकारहरूको भनाइ छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्ला दुई दिनमा मात्र इजरायली आक्रमणका कारण २५० जना प्यालेस्टिनीहरू मारिएका छन् ।
गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘पूरा बल लगाएर गाजामा घुस’ भनेपछि पछिल्लो बमबारी सुरु भएको हो । एक महिनाअघि इजरायल सरकारले नयाँ विस्तृत थल आक्रमणको योजना पास गरेको थियो । त्यसको नाम ‘गिडिअनको रथ’ राखिएको छ । इजरायली सेनाले अहिले त्यही योजना लागु गर्दै छ ।
इजरायली सेना अहिले गाजा ‘कब्जा’ गर्ने सुरमा छ । इजरायली अधिकारीहरूले खुलेरै गाजालाई सदाका लागि कब्जा गर्ने बताउँदै छन् । शनिबार यो आक्रमण सुरु हुनुभन्दा अगाडि इजरायली सेनाले गाजाभरि पर्चा फालेको थियो । पर्चामा समुद्र फाटेको, त्यसमा गाजाका भवनहरू भासिएको बाइबलको चित्र थियो । पर्चाको तल्लो कुनामा डेभिडको तारा बनाइएको थियो र लेखिएको थियो – पवित्र कब्जा ।
उत्तर गाजाका बासिन्दाको भागाभाग
महमुद बासेल गाजाको ‘नागरिक रक्षा’ का प्रवक्ता हुन् । इजरायली आक्रमणका कारण १२ घण्टा पनि नपुग्दै १०० भन्दा बढी मानिसको मृत्यु भएको बासेलले बताए । उनले भने, “उत्तरी गाजाको लागि यो निकै रक्तपात र आपतको समय हो ।” स्वास्थ्य मन्त्रालयको दैनिक रिपोर्ट लेख्छ, “पछिल्लो २४ घण्टामा गाजाका अस्पताहरूमा १५३ सहिद र ४५९ घाइते ल्याइएको छ ।” युद्ध सुरु भए यता ५३,२७२ भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गइसकेको सो मन्त्रालयले जनाएको छ ।
पूर्वी गाजा सिटीबाट मात्र लाखौँ घरपरिवार विस्थापित भएका छन् । एक महिनाअघि नै शुजाइया टोललाई इजरायली सेनाले कब्जा गरेको हुनाले उनीहरू बेघर भइसकेका थिए । भागेर आउनेहरूले अहिले गाजा सिटीका बगैँचा, खेलमैदान र विश्वविद्यालयलाई नयाँ आश्रयस्थल बनाएका छन् । यारमुक खेलमैदान र इस्लामिक विश्वविद्यालय विस्थापितहरूले भरिएको छ ।
गत हप्ता इजरायली सेनाले नयाँ आश्रयस्थल पनि खाली गर्ने धम्की दिएका थिए । खासगरी तिनीहरूले इस्लामिक विश्वविद्यालय लगायत केही विद्यालयलाई छोडेर भाग्न भनेका थिए ।
मे १६ को दिन उत्तरी गाजाबाट भारी सङ्ख्यामा मानिसहरू विस्थापित भए । इजरायली सेनाले थल आक्रमण चर्काएको हुनाले गाजा सिटीका केही बासिन्दा घर छोड्न बाध्य भएका थिए ।
मध्य गाजापट्टी र पूर्वी खान युनिसमा पर्ने अल–करारा क्षेत्रका केही स्थानमा पनि इजरायली सेना पसिसकेको छ । तैपनि, उत्तरको स्थिति त्यो भन्दा कहालिलाग्दो भएको भुक्तभोगीहरूले बताएका छन् ।
४१ वर्षीय सुलेमान अबु सुल्तान बेत लाहियाका बासिन्दा हुन् । उनले उत्तरी गाजामा चर्को बमबारी गरेको हुनाले आफू घर छोड्न विवश भएको बताए । इजरायली सेनाले चेतावनी र खाली गर्ने सूचना नदिई मान्छेहरूको बाक्लो बस्ती रहेका टोलहरूमा घातक मिसाइलहरू हानेको उनले बताए । अबु सुल्तानले भने, “ती घातक मिसाइल नै चेतावनी हुन् । फोन गरेर वा म्यासेज पठाएर चेतावनी दिने दिन गइसके । अब उनीहरू दुईचार सय मान्छे मार्दै बाँकी बचेका जनतालाई चेतावनी दिँदै छन् । हाम्रो शरीर च्यातचुत पार्ने गरी तिनीहरू घातक मिसाइल हान्दै छन् ।”
अबु सुल्तानले आफ्नो पाँच जनाको परिवारलाई गाजा सिटी सार्ने निधो गरे । यहाँ तल अल–हवा टोलमा उनका आइआफन्त छन् । तर, यहाँ पनि स्थिति उति राम्रो नभएको उनले बुझे ।
अबु सुल्तान भन्छन्, “बेत लाहियामा त्यो बमबारी खप्नै सकिएन । बेलाबेला ठुलो गर्जन भइरहन्थ्यो । बमको कुनै ठेगान थिएन । जहाँ पनि खस्न सक्थ्यो । भत्किसकेको घरमा बस्दै थियौँ । बमले बेलाबेला घरको भग्नावशेष खसिरहन्थ्यो । गाजा सिटीमा डर अलि कम होला भन्ने लागेको थियो । तर, यहाँ पनि उस्तै रहेछ । उडिरहने बमवर्षक विमान र तिनले गर्ने बमबारीको गर्जन उस्तै छ ।”
अबु सुल्तानले सोधे, “के यो आतङ्क हामीविरुद्ध मात्र हो त ? विश्वास गर्नै गा¥हो छ । आफ्ना बालबच्चालाई बमबारीबाट जोगाउन र भोकभोकै नमरून् भनेर तिनको पेट भर्न चाहेका न हौँ हामीले । हामीजस्ता साधारण मानिसलाई मार्न यति धेरै गोलाबारुद खसालिँदै छ भनेर पत्याउनै मुस्किल परेको छ मलाई ।”
अमेरिकी साँठगाँठमा गाजा निल्ने योजना
डोनाल्ड ट्रम्पको अरब भ्रमणको पूर्वसन्ध्यामा हमासले इजरायली अमेरिकी बन्धक सिपाही इडन अलेक्जेन्डरलाई रिहा गरेको थियो, सदभाव अभिव्यक्तिका रूपमा । लगत्तै इजरायलले हप्ताभरि बमबारी चर्कायो । यसपछि उसले ‘विस्तार कारबाही’ थालेको हो । इजरायली सेनाले हप्ताभरि नै गाजास्थित युरोपेली अस्पताल र खान युनिसको नासिर अस्पतालमा घरघोर बमबारी ग¥यो । युरोपेली अस्पतालमुनि हमासको ‘कमान्ड–कन्ट्रोल’ मुख्यालय हुनाले त्यहाँ लुकेका हमासका नेताहरूलाई निसाना बनाएको इजरायली दाबी ग¥यो । यो निहुँ मात्र थियो । इजरायली पत्रिका ‘हारेत्ज’ ले इजरायल सरकारसँग आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको जनाइसकेको छ ।
‘ड्रपसाइट न्युज’ नामक समाचार संस्थालाई हमासका अधिकारी बसिम नाइमले एक अन्तर्वार्ता दिए । अमेरिकी दूत स्टीभ विटकफको आग्रहअनुसार नै इजरायली–अमेरिकी सिपाही अलेक्जेन्डरलाई रिहा गरिएको नाइमले खुलाए । अलेक्जेन्डरलाई छोडे गाजामा राहत सामग्रीमा इजरायलले गरेको नाकाबन्दी हटाइदिने वचन दिएका थिए विटकफले । नाकाबन्दी हटाउन विटकफ ‘व्यक्तिगत रूपमै प्रतिबद्ध’ रहेको र ट्रम्पले सार्वजनिक रूपमा युद्धविरामको आह्वान गर्ने तय भएको नाइमले खुलासा गरे ।
तर, हमासका एक वरिष्ठ नेताको भाषामा अमेरिकाले ‘सम्झौतालाई रछ्यानमा मिल्कायो’ ।
युद्धविराम वार्तामा कुनै प्रगति भएन । अरबी मध्यस्थकर्ताहरूसँग विटकफले गाजा युद्ध टुङ्ग्याउन इजरायललाई अमेरिकाले दबाब नदिने बताए ।
यसबिच नेतन्याहु अझ अटेरी बने । इजरायली अखबार ‘माआरिभ’ सँग कुराकानी गर्दै गत हप्ता उनले इजरायली सेनाले ‘गाजामा झन् बढी घरहरू ध्वस्त पारेको र प्यालेस्टिनीहरू जाने कुनै ठाउँ नभएको’ बताए । ‘गाजाका बासिन्दाले अब (गाजा) छोड्ने सोच्नु नै एक मात्र तार्किक निष्कर्ष हुनेछ’ – उनले भने । आधा गाजाबासीले गाजा छोड्न चाहेको नेतन्याहुले बताए । ‘तिनीहरूलाई स्वागत गर्ने देश फेला पार्नु नै अहिलेको समस्या भएको’ उनले जिकिर गरे ।
गाजालाई अनिश्चित कालका लागि कब्जा गर्ने इजरायलको पछिल्लो योजना लागु हुँदै छ । यो दुष्ट योजनाको एउटा हिस्सा हो – राहत वितरणको नाउँमा अमेरिकी सैन्य ठेकेदारहरूलाई घुसाउनु । राहत लिन योग्य परिवार पहिचान गर्ने नाउँमा अमेरिकी ठेकेदारहरू गाजा पस्दै छन् । यसको लागि गाजाबासीहरूलाई इजरायली सेनाले धुलोपिठो पारिसकेको रफाह नजिक यातना शिविरहरूमा जम्मा गरिनेछ । यसपछि बिस्तारै इजरायलले ती गाजाबासीलाई तथाकथित ‘स्वेच्छिक बसाइँसराइ’ को नाउँमा गाजाबाट खेद्नेछ । सारमा, यो भनेको बचेखुचेको गाजाको पूर्ण विनाश र त्यहाँका जनताको पूर्ण सफाया हो ।
इजरायलको योजनामा संरा अमेरिकाको ट्रम्प सरकारको साँठगाँठ छ । गत शुक्रबार ‘एनबीसी’ खबरले ट्रम्प सरकारले १० लाख प्यालेस्टिनीहरूलाई सदाका लागि लिबिया पठाउने योजना बुनिरहेको लेख्यो । प्यालेस्टिनी शरणार्थी लिए बापत एक दशकअघि अरबी देशहरूविरुद्ध आफूले लगाएको आर्थिक प्रतिबन्ध फुकुवा गर्ने अमेरिकाले लोभ देखाएको छ । यो खबरले पुष्टि गर्न ‘एनबीसी’ खबरले उच्चपदस्थ स्रोतको हवाला दिएको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गाजाका १० लाख बालबालिका अहिले भोकमरीको जोखिममा छन् । इजरायलले थोपरेको नाकाबन्दीका कारण गाजाका ७० हजार बालबालिका अहिले ‘गम्भीर कुपोषण’ मा छन् । राष्ट्रसङ्घसम्बद्ध खाद्य सुरक्षा वर्गीकरण (आइपीसी) संसारभरि भोकमरी अध्ययन गर्ने संस्था हो । सो संस्थाले जनाएअनुसार हाल ९६ प्रतिशत गाजावासी ‘अति उच्च खाद्य असुरक्षा’ मा छन् । यीमध्ये २२ प्रतिशत गाजावासी ‘चरम खाद्य असुरक्षा’ मा छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाबाट मारिने गाजावासीको सङ्ख्या ५२ हजार नाघिसकेको र कम्तीमा १० हजार जनता भग्नावशेषहरूले च्यापिएर मरेको घोषणा गरेको छ ।
अहिलेसम्म जेनतेन बाँचेका गाजावासीहरू अब अर्को चरणको जातिसंहारको बाटो हेर्दै छन् । अमेरिकाले आशीर्वाद दिइसकेको छ र इजरायल गाजा कब्जा गर्ने सुरमा छ ।
(कासाम मुआदी र तारिक हजाज ‘प्यालेस्टिनी लेखक सङ्घ’ मा आबद्ध छन् । स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply