भर्खरै :

आगोबाट भागिरहेकी ६ वर्षे नानी

आगोबाट भागिरहेकी ६ वर्षे नानी

उनले एकोहोरो क्यामरामा हेरिन् । तर, आफूले भर्खरै भोगेको त्रासदी सम्झिँदा उनका आँखा एकोहोरिन सकेनन् ।
“म बिउँझिदा जताततै आगो लागेको थियो । ममी बितिसक्नुभएको थियो ।” यो मङ्गलबार मध्यरातमा इजरायलले गरेको बमबारीमा बचेकी वार्द खलिलले भनिन् । त्यो हमलामा उनकी आमा, उनका दुई भाइबहिनी र ३३ अन्य मानिस मारिए ।
गाजा सहरको फाहमी अल–जार्जवी विद्यालयमाथि बमबारी भएपछि आगोको लप्काबिच ६ वर्षकी वार्दको सानो शरीरको छायाँ देखिने भिडियोले संसारै स्तब्ध छ । यो भिडियोले गाजामा इजरायलले गरिरहेको आक्रमणको नृशंसता पुनः एकचोटि उजागर गरेको छ ।
वार्दका बुबा र दाजु पनि बाँचेका छन् तर उनीहरू अस्पतालमा छन् ।
इजरायलले आक्रमण गर्दा विद्यालयमा धेरै परिवारले आश्रय लिइरहेका थिए । तिनमा धेरै बालबालिका थिए ।
निन्याउरो स्वरमा वार्दले सम्झिन्, “बाँच्नलाई म आगैआगोमा हिँडेँ । म आगोको बिचमा थिएँ । कोठाको छतको टुक्रा ममाथि खस्यो । छत चकनाचुर भयो । आगो पोल्ने गरी बल्यो । हेर्नु त ? मेरो हात जल्यो ।” उनले क्यामरामा आफ्नो घाउ देखाइन् ।
आफ्नो परिवारको दुःख बताउँदै गर्दा उनले बर्बरी आँसु झारिन् । उनले भनिन्, “सबै सहिद हुनुभयो । भगवानले माफ गरून् ।”
विद्यालयका अन्य फुटेजमा रगत लत्पतिएका भित्ता र भुइँमा डढेका म्याट देखिन्छन् । यी फुटेजमा उद्धारकर्ता र अत्तालिएका आफन्तले भग्नावशेष र जलेका लुगाबिच बाँचेका पीडितहरूको खोजतलास गरिरहेको देखिन्छ ।
इयाद अल–शेख खालिद वार्दका काका हुन् । वार्दको तस्बिर अनलाइनमा देखेपछि उनी तुरुन्तै विद्यालयमा पसे ।
विद्यालयनजिकै उद्धारकर्ताहरूले वार्दलाई सम्हालिरहेको तस्बिर थियो । त्यसबारे उनले भने, “मैले पत्रकारहरूले पोस्ट गरेको फोटो हेरिरहेको थिएँ । मैले सुरक्षाकर्मीहरूसँग वार्दको फोटो देखेँ । मैले मेरी भतिजीलाई चिनिहालेँ ।” तस्बिरमा वार्दको बालमा लगाएको उज्यालो फिता खरानीले मैलो भएको थियो ।
इयानले सोधे, “यस्तो युद्धमा हुने आक्रमणमा बच्ने बालबालिका कस्ता होलान् ? आफै अनुमान गर्नुस् । उनी मानसिकरूपमा विक्षिप्त हुने नै छिन् । हामी सबै पनि त्यही स्थितिमा छौँ ।”
“वर्णन नै गर्न सकिन्न ।” बाँचेका एकजनाले भने । उनलाई उनका छोरासँगै भग्नावशेषबाट जोगाएका थिए उद्धारकर्ताहरूले । उनले भने, “शरीरका अङ्हरू आगोले डढेका थिए । जलेको गन्ध थियो । हे दैव, हाम्रो मन मरिसकेको छ । हामी क्षतविक्षत भइसकेका छौँ । थकित गलित छौँ । पुग्यो हजुर । हामीलाई पुगिसक्यो ।”
गाजामा विस्थापित मानिसहरू विद्यालयवरपर जम्मा हुँदै आएका छन् । यीमध्ये धेरै विद्यालय राष्ट्रसङ्घसम्बद्ध हुन्छन् । सन् २०२३ अक्टोबर यता नै यही हाल छ ।
मे ७ को दिन इजरायली सेनाले एउटा विद्यालयमा एकै दिनमा दुईपल्ट हमला ग¥यो । त्यहाँ २ हजार प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए । त्यसलाई बुराइज शरणार्थी शिविर नाम दिइएको थियो । हमलामा परी कम्तीमा २९ सर्वसाधारण मारिए । मारिनेमा महिला र बालबालिका पनि छन् ।
प्यालेस्टिनी शरणार्थीका निम्ति राष्ट्रसङ्घीय सहयोग एजेन्सी ‘उन्रा’ ले जनाएअनुसार गाजाका झन्डै तीनचौथाइ विद्यालयमा २०२३ अक्टोबर यता इजरायली सेनाले सिधै बमबारी गरेको छ । भूउपग्रह प्रणालीबाट जम्मा गरेको सूचनाका आधारमा राष्ट्रसङ्घले निकालेको तथ्याङ्क भन्छ – गाजाका ९५ प्रतिशत विद्यालयहरू क्षतिग्रस्त छन् । अधिकांश विद्यालय प्रयोग गर्नै नमिल्ने अवस्थामा छन् ।
राष्ट्रसङ्घबाट सञ्चालित आश्रयस्थलहरू अहिले ‘सुरक्षा खोजिरहेका विस्थापित भीडले भरिएको’ छ । फाहमी विद्यालयमाथि भएको आक्रमणपछि ‘उन्रा’ ले पछिल्लो स्थितिबारे बतायो । इजरायलले विगत तीन महिनादेखि थोपरेको नाकाबन्दीका कारण मान्छेको स्थिति झन् नाजुक बनेको र गाजामा आहारको अभाव रहेकोमा ‘उन्रा’ ले जोड दियो ।
‘उन्रा’ ले भन्यो, “धेरै परिवारले परित्यक्त, निर्माणाधीन वा ध्वस्त भवनमा आश्रय लिइरहेका छन् । सरसफाइको स्थिति नाजुक छ । केही स्थानमा सयौँ मानिसले एउटै चर्पी प्रयोग गर्दै छन् । बालबच्चा र गर्भवती महिलासहित कतिपय मानिसहरू बाहिर खुला स्थानमा सुतिरहेका छन् ।”
स्रोत : अलजजिरा
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *