भर्खरै :

नेताहरू किन मन्दिर धाउँदैनन् ?

  • कार्तिक १३, २०८३
  • मोहिनी
  • विचार
नेताहरू किन मन्दिर धाउँदैनन् ?

अस्ति एउटा कुरा, आज अर्को कुरा भन्नुहोला !
कुरा साँचो हो । जसरी हुन्छ, सत्ताको गुलियो चाख्न पल्केका ‘नेताहरू’ मन्दिर धाउँछन् । जसरी हुन्छ, जनताको ‘मन कब्जा गर्न’ चाहने ‘नेताहरू’ मन्दिर धाउँछन् । तर, जनताका सच्चा र असल नेताहरू मन्दिर धाउँदैनन् ।
लौ, यो त कम्युनिस्ट कुरा भयो भन्नुहोला फेरि !

कम्युनिस्टहरू मात्र होइनन्
कम्युनिस्ट विचार नमान्ने गैरकम्युनिस्ट नेताहरू पनि धर्म र ईश्वरको पछाडि नलागेका धेरै उदाहरण छन् संसारमा ।
संरा अमेरिकालाई बेलायती उपनिवेशवादबाट मुक्त गर्ने र स्वतन्त्रताको जग हाल्ने सबैजसो अमेरिकी राजनेता चर्च वा मन्दिर धाउँदैनथे । उल्टो उनीहरू बाइबलको खण्डन गर्थे । तर्कसङ्गत विचारलाई मलजल गर्थे । अमेरिकी संविधानका मस्यौदाकार मानिने थोमस जेफरसन, बेन्जामिन फ्रेङ्कलिन हुन् वा प्रजातन्त्रको क्लासिक व्याख्या गर्ने अब्राहम लिङ्कन; उनीहरू आफ्नो समयका बुद्धिवादी थिए । ब्राह्मणवादी भाषामा भन्ने हो भने उनीहरू नास्तिक थिए । मर्ने बेला उनीहरूले ईश्वरलाई साक्षी राख्न मानेनन् । (विस्तृत विवरणका लागि क्रिस्टोफर हिचेन्सको पुस्तक ‘महान् छैनन् भगवान’ पढौँ ।)
अमेरिकाका संस्थापक नेताहरूलाई धेरै प्रभावित पारेका विचारक थिए, थोमस पेन । उनी खुला विचारका हिमायती थिए । उनले बाइबलमा भएका विसङ्गतिहरूलाई चिरफार गरेर ‘तर्कवितर्कको युग’ नामक रचना लेखे । नैतिकताका दृष्टिले बाइबलको ‘पुरानो करार’ काम नलाग्ने उनको निष्कर्ष थियो । त्यस्तै, उनको अर्को प्रसिद्ध रचना थियो, ‘मान्छेको अधिकार’ । त्यो रचनामा संसारको कुनै पनि सरकार तीन तरिकाले चल्ने बताए । पहिलो, अन्धविश्वास । दोस्रो, शस्त्रबल । तेस्रो, समाजको साझा हित । यीमध्ये पहिलो खालको सरकारमा धार्मिक मठाधीशहरूको दबदबा हुन्छ, दोस्रोमा कब्जाकारीहरूको रजगज चल्छ र तेस्रो तर्कले चल्छ भन्ने थोमस पेनको निष्कर्ष थियो । उनी आफ्ना विचारलाई निकै सरल भाषामा लेख्थे । त्यसैले, अमेरिकाको वैचारिक जग निर्माणमा उनको ठुलो देन थियो । फ्रान्स र बेलायतमा पनि उनलाई उत्तिकै सम्मान गरिन्थ्यो । तर, धार्मिक मठाधीशहरूका आँखामा उनी सधैँ कसिङ्गर भइरहे । (विस्तृत अध्ययनका लागि बट्र्रान्ड रस्सलको पुस्तक ‘म किन क्रिस्चियन होइन’ पढौँ । नवौँ अध्याय ।)
हाम्रै छिमेकी देश भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू वैज्ञानिक चेतका प्रवद्र्धक थिए । वैज्ञानिक चेत प्रचार गर्न उनले अलग्गै विश्वविद्यालयको जग हाले । वैज्ञानिक दृष्टिकोणबारे उनको यो परिभाषा निकै चर्चित छ, “वैज्ञानिक दृष्टिकोण साहसिलो हुन्छ, आलोचनात्मक हुन्छ । वैज्ञानिक दृष्टिकोण खोज हो, सत्य र नयाँ ज्ञानको । यो एउटा सोच हो, कुनै पनि दाबीलाई नजाँचेसम्म नपत्याउने । यो एउटा हिम्मत हो, नयाँ प्रमाणहरूको प्रकाशमा पुराना मान्यताहरूलाई बदल्ने । वैज्ञानिक दृष्टिकोण भनेको पुराना मनगढन्ते परिकल्पनाको सट्टा जाँचिसकेको सत्यमा विश्वास गर्नु हो । र हो – विचारहरूलाई अनुशासनमा बाँध्ने योग्यता । (गौहर रजाले आफ्नो पुस्तक ‘मिथकदेखि विज्ञानसम्म’ मा उद्धृत गरेअनुसार ।)
मन्दिर धाउन छोड्ने भगतसिंह
भगतसिंहलाई भारतमा शहीद–ए–आजम भनिन्छ । सहिदहरूमा पनि सबैभन्दा उच्च कोटीका सहिद थिए । २३ वर्षको कलिलो उमेरमै भारतको भूत र भविष्यको रेखाचित्र कोरेर उनी बिदा भए । उनले देखाएको बाटोमा हिँडे आज पनि भारत र भारतका बहुसङ्ख्यक जनताका धेरै समस्या समाधान हुने विद्वानहरूको मत छ ।
सन् १९३० को अक्टोबर महिनामा भगतसिंह लाहोर जेलमा थिए । उपनिवेशवादी अङ्ग्रेज सरकारले भगतसिंहलाई फाँसीको सजाय सुनाइसकेको थियो । मर्ने बेलामा पनि ईश्वरको जपतप नगरेको देखेर उनको आलोचना भयो । मृत्यु पर्खिरहेका भगतसिंहलाई साथीहरूले ‘अहङ्कारी’ भन्न थाले । ‘फाँसीमा झुन्डिनुभन्दा अगाडि तिमीले पक्कै ईश्वरलाई सम्झिनेछौ’ भने । भगतसिंहले जवाफ लेख्नैपर्ने भयो । त्यसैले मर्नुभन्दा ५/६ महिनाअघि उनले लेखे एउटा कालजयी लेख – म किन नास्तिक हुँ ? यसमा उनले क्रान्तिकारी साथीहरूलाई गम्भीर जवाफ दिएका छन् ।
भगतसिंह सधैँ नास्तिक थिएनन् । सानोमा आस्तिक थिए उनी । कतिसम्म आस्तिक भने क्याम्पसमा पढ्दै गर्दा उनी दिनहुँ गायत्री मन्त्र जप्थे । उनका हजुरबुबा आर्यसमाजी थिए । त्यो बेला जातीय भेदभावको विरोध गर्ने, बालविवाह र विधवा विवाहको पक्ष लिने प्रगतिशील विचार थियो आर्यसमाजको । भगतसिंहका बुबा उदार सोचका थिए । दुई काका देशभक्त थिए । स्वतन्त्रता सङ्ग्रामीहरूको परिवार थियो ।
क्याम्पस पढ्दै जाँदा भगतसिंहले धर्म र विज्ञानबारे बुझ्दै गए । तैपनि, धर्मको मामिलामा उनी अल्लारे थिए । पछि उनी क्रान्तिकारी सङ्गठनमा लागे । यसबेला पनि धर्मबारे उनीे गम्भीर थिएनन् । उनी समाज र परिवारका लागि मानिदिन्थे । उनी लेख्छन्, “त्यो बेला म रुमानी थिएँ, आदर्शवादी क्रान्तिकारी थिएँ ।”
पछि भगतसिंहले सङ्गठनको नेतृत्व गर्ने जिम्मेवारी पाए । यसपछि सबथोक बदलियो । भारतका क्रान्तिकारीहरू भगवानभरोसे पाराले सङ्घर्ष गर्दै थिए । “लड्दै जाऊ, मर्दै जाऊ, कालकोठरी खाऊ, निर्वासन जाऊ, अङ्ग्रेजहरू आफै भारत छोडेर जानेछन्” – यो सोच व्याप्त थियो स्वतन्त्रता आन्दोलनमा । अन्धविश्वास र रहस्यवाद व्याप्त थियो । क्रान्तिकारीहरू ‘कर्म गर, फलको आशा नगर’ भन्ने ‘भागवात गीता’ को मर्मअनुसार काम गर्दै थिए । जेलमा कतिपय क्रान्तिकारीहरू निरन्तर धर्मग्रन्थको अध्ययन गर्थे । (नेपालमा राणाशासनको विरोध गर्ने क्रान्तिकारीमा पनि यही प्रवृत्ति थियो ।) यो देखेर भारतका कतिपय क्रान्तिकारीहरू निराश पनि थिए ।
सङ्गठनको नेतृत्व सम्हालेपछि भगतसिंहले देशविदेशका क्रान्ति र तिनका क्रान्तिकारीको गहन अध्ययन गर्न थाले । उनी आफै लेख्छन्, “यथार्थवाद मेरो धर्म बन्यो ।” उनले भारतको स्वतन्त्रता सङ्ग्राममा देखापरेका विभिन्न विचारको लेखाजोखा राखे, कमीकमजोरी केलाए । विगतको ठोस समीक्षा गरे । विगत र वर्तमानको ठोस समीक्षाकै आधारमा भविष्यका लागि सटिक मार्गचित्र कोर्न सकिन्थ्यो । भगतसिंहले त्यही गरे ।
भगतसिंहले भारतमा अङ्ग्रेजहरूले रोपेको साम्प्रदायिकताको विषवृत्त नै स्वतन्त्रता सङ्ग्रामको मुख्य बाधक माने । उनले लेखे, “जाति–धर्मको झगडा छोड, सही लडाइँसँग साइनो जोड ।” जनताबिच व्याप्त साम्प्रदायिकताका कारण जनतामा वास्तविक एकता नभएको जाति–धर्मका नाममा विभिन्न सङ्गठन बनेको उनको बुझाइ थियो । त्यसैले अङ्ग्रेज उपनिवेशवादविरुद्ध लड्न सच्चा एकता चाहिन्छ भन्ने उनको निष्कर्ष थियो । यसपछि भगतसिंहका सङ्गठनले ठाउँठाउँमा गएर साम्प्रदायिक एकताको प्रचार गर्न थाले । भारतमा आज पनि यो प्रचार जारी छ । भगतसिंहको नाममा यसखाले धेरै सङ्गठन सक्रिय छन् त्यहाँ ।
धर्मबारे भगतसिंहको बुझाइ वैज्ञानिक छ । सारमा, उनको विचारलाई यसरी राख्छन्, आदिम युगमा धर्मले मान्छेको मनोबल बढाएको थियो । त्यसैले उपयोगी थियो । पछि घमन्डी र लोभी ब्राह्मणहरूले जानाजान जनतालाई अज्ञानी राखे । मनुस्मृतिजस्ता लज्जास्पद कृति लेखे । ‘राजाविरुद्ध विद्रोह गर्नु पाप हो’ भने । उनीहरूको सूत्र थियो, “मान्छेमा अमर बन्ने लोभ जगाऊ र उसलाई लुट्नुसम्म लुट ।” हरेक धर्मका मठाधीशहरूको धनी बन्ने मन्त्र यही हो । (विस्तृत बुझाइका लागि भगतसिंहको कृति ‘म किन नास्तिक हुँ ?’ पढौँ ।)
अन्धविश्वासी बनेर भारतलाई मुक्त बनाउने जिम्मेवारी पूरा गर्न सकिँदैनथ्यो । देशलाई मुक्त गर्न मान्छे साहसिलो बनेर आफ्नै पौरखमा भर पर्नुपथ्र्यो । त्यही भएर भगतसिंह नास्तिक बने । यो कुनै अहमता थिएन । बरु, यथार्थपरक सोच्ने तरिकाले उनी नास्तिक बने ।
सच्चा नेता कस्तो हुन्छ ?
हाम्रोभन्दा पिछडिएको देश हो बुर्किना फासो । यो वर्ष त्यहाँको सरकारले सुन्दरी प्रतियोगिता बन्द गरेर विज्ञान मेला आयोजना ग¥यो । महिलाहरूबिच विज्ञान प्रतियोगिता गरायो । मरुभूमिमा स्याउ फलाइरहेको छ आज बुर्किना फासोले । सिँचाइ आयोजना चलाएर जमिन हराभरा पार्दै छ ।
बुर्किनाबे जनताका आजका नेता इब्राहिम त्राओरे हाम्रो युगका सच्चा नेता हुन् । उनी चर्च वा मन्दिर धाएको खबर छैन । उनले धर्मगुरुहरूलाई अघि लगाएको वा होम गराएको, प्रार्थनासभा गराएको खबर छैन । लाग्छ, वैज्ञानिक चेतले मात्र देशलाई विकासपथमा लम्काउन सक्छ भन्ने विचारमा प्रतिबद्ध छन् उनी । त्यसैले गम्भीर छन् । जनताप्रति जिम्मेवार छन् । विदेशीलाई उपनिवेशवादीहरूसामु झुक्दैनन् । आफ्नै बुद्धि र पौरखमा भर पर्दै छन् । विचारधाराका दृष्टिले न उनी कम्युनिस्ट हुन् न गैरकम्युनिस्ट । बरु, एक सच्चा नेता हुन्; असल नेता हुन्† देशभक्त नेता हुन् ।
आफ्नै भर पर्न ठुलो आँट चाहिन्छ । वैज्ञानिक चेतले त्यो आँट दिन्छ । मन्दिर धाएर, घण्टी बजाएर जनता त लठ्ठ होलान्, देश जहाँको तहीँ रहन्छ । सच्चा नेताले जनतालाई लठ्ठ पारेर सुताउँदैन बरु वैज्ञानिक चेत दिएर बिउँझाउँछ । विज्ञान र प्रविधिमा जोड दिन्छ । कसैको आसे बन्ने होइन, आफ्नो भाग्यको मालिक आफै बन्नुपर्छ भनी सिकाउँछ । यस्तो नौलो समाजलाई बट्र्रान्ड रस्सल ‘असल संसार’ भन्छन् । त्यो समाजबारे उनी लेख्छन्, “असल संसारका निम्ति ज्ञान, करुणा र साहस चाहिन्छ । यसका निम्ति युगौँ अगाडिका अज्ञानी ऋषिहरूका शब्दसामु आफ्नो चेतनालाई कुँजो पार्ने होइन अथवा पछुतोको स्वरमा विगतको स्तुति गाउने होइन । असल संसार बनाउनका निम्ति निडर दृष्टिकोण चाहिन्छ । स्वतन्त्र बुद्धि चाहिन्छ ।” (बट्र्रान्ड रस्सल, म किन क्रिस्चियन होइन, पेज २३ ।)
जसरी हुन्छ, चुनाव जित्ने लोभले गर्दा विगतमा हाम्रा ‘नेताहरू’ ले प्रशस्त्रै अन्धविश्वासको प्रचार गरे । जनतालाई भावुक बनाएर आफ्ना पछि भेँडाजस्तो हिँडाउन सजिलो बाटो हिँडे । मन्दिर धाए, घण्टी बजाए । तर, जनताको बुद्धि तिखारेर, चेतना खारेर तिनको जीवनस्तर उकास्नु नै सच्चा नेताको परिचय हो । यसको लागि कम्तीमा ‘मन्दिर धाउने’ परिपाटी तोड्नुपर्छ । जनताले पनि तथाकथित ‘नेता’ र सच्चा नेता चिन्न सिक्नुपर्छ । यो भेद छुट्याउने एउटा कसी हुन सक्छ – “को मन्दिर धाउँछ ? को धाउँदैन ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *