भर्खरै :

नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू –२

  • कार्तिक १३, २०८३
  • नारायणमान बिजुक्छेँ (रोहित)
  • विचार विशेष
नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू –२

(हाल रास्वपा सरकारका जिम्मेवार व्यक्तिहरू तथा मन्त्रीहरूले बिनाअध्ययन र जानकारी नेपाल–भारत सम्बन्धका बारेमा गलत अवधारणा र अभिव्यक्ति दिँदै आएको हुँदा सबै पाठकको लागि नेपाल–भारत सम्बन्धका गलत समझदारीहरू र सही समाधानका उपायहरूको लागि
नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध र भारत’ पुस्तकको खण्ड १ को अध्याय ३ लाई साभार
गरिएको छ –सं.)
२. के नेपालका विवेकशील र प्रगतिशील जनताको ठुलो राष्ट्र अहङ्कारवाद, हस्तक्षेप र थिचोमिचोविरोधी देशभक्तिपूर्ण सङ्घर्ष ‘केही विदेशी र चिनियाँ कम्युनिस्टहरूको भारतविरोधी भड्काइ’ हो ?
ऐतिहासिकरूपले नै यो कुरो असत्य छ । बेलायती साम्राज्यवाद नै सबभन्दा पहिले नेपाली र भारतीय जनताको बिचमा झगडाको बीउ छर्ने प्रतिक्रियावादी शक्ति हो । सुगौली सन्धि र गोर्खा भर्ती नै नेपाली राष्ट्रको मुटुको किलो हो । तर, बेलायती साम्राज्यवाद भारतबाट गइसक्दा पनि ‘स्वतन्त्र भारत’ का शासकवर्गले आफ्ना छिमेकी देशहरूमाथि बेलायती उपनिवेशवादी नीतिलाई नै लागू गर्दै गयो । २००७ सालको राणाविरोधी सङ्घर्षलाई भारतीय शासकवर्गले नै दिल्लीमा राणा र नेपाली काङ्ग्रेसका दक्षिणपन्थी नेताहरूबिचमा सम्झौता गर्न बाध्य गराइएको थियो । त्यो सम्झौता नेपालको पुँजीवादी क्रान्तिलाई बिचैमा टुङ्ग्याउने एक ‘धोखा’ थियो । त्यसैबेला नेपाली जनताले ‘दिल्ली सम्झौता’ को विरोधमा सङ्घर्ष गरेका थिए । क्रान्तिलाई विजयसम्म अघि बढाउन खोज्ने राणाविरोधी र शोषणविरोधी सङ्घर्षलाई नेपालभित्र भारतले आफ्नो सेना पठाएर दबाउन लगाइयो । भारतीय शासकवर्गको त्यो कदम एक अपराधपूर्ण हस्तक्षेप र थिचोमिचो थियो । त्यहीँबाट नेपाली राष्ट्रमा भारतीय थिचोमिचोविरोधी भावनाको जग बस्न सुरु भएको थियो । फेरि १९५० र त्यसपछिका नेपाल–भारत सन्धिहरूले नेपाललाई भारतीय एकाधिकार पुँजीको एक सुरक्षित बजार वा ‘नयाँ अर्ध– उपनिवेश’ बनाउन खोज्यो । साम्राज्यवाद र उपनिवेशवादविरोधी नेपाली राष्ट्रमा यसरी भारतीय एकाधिकार पुँजीविरोधी भावनाको विकास भयो ।

क्रान्तिलाई विजयसम्म अघि बढाउन खोज्ने राणाविरोधी र शोषणविरोधी सङ्घर्षलाई नेपालभित्र भारतले आफ्नो सेना पठाएर दबाउन लगाइयो । भारतीय शासकवर्गको त्यो कदम एक अपराधपूर्ण हस्तक्षेप र थिचोमिचो थियो ।

यसलाई बेलायती साम्राज्यवादविरोधी भारतीय जनताको स्वतन्त्र हुने भावनासँग दाँज्न सकिन्थ्यो । त्यसबेला स्वतन्त्र भारत र मुक्त चीनको आपसी मित्रता एक उचाइमा पुगिसकेको थियो । त्यसको एउटा ज्वलन्त उदाहरण चिनियाँ जनताको जापानविरोधी लडाइँमा भारतीय जनताले चिनियाँ जनताको मद्दत गर्न एक उपचार दल पठाउनु थियो जुन उपचार दलमा डा. कोटनिस, डा. बसु पनि सदस्य थिए । साम्राज्यवादविरोधी त्यो एकता बढ्दै गएर १९५५ सम्ममा वाङडुङमा चीनका प्रधानमन्त्री चाउ एनलाई र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले अरू एसियाली र अफ्रिकी देशहरूसँग मिलेर ‘पञ्चशील’ जग हाले । एसियाको आकाशमा ‘चीन–भारत–भाइ भाइ’ को नारा गुज्रिँदै गइरहेको थियो ।

लेनिनले भन्नुभएजस्तै “पुँजीको नियति नै यस युगको साम्राज्यवादको मुख्य चरित्र हो ।” नेपाल र भारतको बिचमा बरोबर भइरहने तितो–पिरोको कारण नै यही हो ।

तर, ठीक त्यसै बेला त्यसको विपरीत नेपाली जनतामा भारतीय थिचोमिचोविरोधी भावना एक उचाइमा पुगिसकेको थियो । यसले थाहा हुन्छ कि नेपालमा भारतीय एकाधिकार पुँजीको विरोधी भावना विदेशी या चीनको भड्काइ थिएन बरु नेपाली जनताको राष्ट्रिय जागरण र चेतनाको क्रमिक विकासको द्योतक थियो । भारत र चीनको सीमा विवाद त साम्राज्यवादीहरूको षड्यन्त्रले १९६०–१९६२ मा मात्रै सुरु भएको थियो । नेपाली जनताको देशभक्तिपूर्ण भावनालाई ‘चीनको भड्काइ’ भन्नु स्वयम् नेपाली जनताको राष्ट्रिय चरित्रलाई हेला गर्नु र हाँक दिनु थियो ।
३. नेपाली जनताको भारतीय एकाधिकार पुँजीको थिचोमिचोविरोधी देशको अखण्डता र सार्वभौमिकता जोगाउने सङ्घर्ष, राजनैतिक सीमाको खिचलो, आ–आफ्नो देशको स्वार्थलाई लिएर गरिने अनेक आर्थिक मोलमोलाइ र तानातानी र भावनाका प्रश्नहरू के नेपालका केही जाति र जनसमुदायको ‘भारतविरोधी’ र ‘चीन समर्थक’ प्रवृत्तिको कारण भएको हो ?
अहँ ¤ होइन, यो भारतीय पक्षले विषयवस्तुलाई नै नबुझ्नु हो अथवा तिनीहरू वास्तविकतालाई लुकाउन खोज्छन् । तिनीहरूको कुतर्कले गर्दा कहिलेकाहीँ ‘चोरको खुट्टा काट्भन्दा खुट्टा उचाल्नु’ जत्तिकै हुन गएको छ । त्यस जातिवादी कुतर्कले पुरानो हिन्दू साम्राज्यवाद र बेलायती उपनिवेशवादी संस्कारको गन्धमात्रै प्रदर्शन ग¥यो । आउनुस्, त्यस भारतीय गलत ठम्याइबारे छलफल गरौँ ।
(क) आर्थिक, राजनैतिक र सीमासम्बन्धी मोलमोलाइ, तानातानी र खिचलोको कारण जाति र जाति विशेष हुने गर्दैन । आर्थिक प्रश्न खाली दुई देशको बिचको मित्रता र मोलमोलाइको कुरो होइन बरु यो त आफ्नै परिवार, दाजु–भाइ, गाउँ, इलाका र देशहरूकै बिचको मित्रता र झगडाको कारण बन्दै आएको छ । आर्थिक कारणले नै एउटै गाउँ र इलाकामा नहर, सडक, बिजुली, कल–कारखाना, सदरमुकाम आदि स्थापना गर्ने कुरामा विवाद उठ्छ । सिन्धु नदीको भारत र पाकिस्तानको विवाद, बङ्गलादेश र भारतको बिचमा उठेको फरक्का बाँधको कुरोलाई छोडौँ, गोदावरी, कृष्णा र काबेरी नदीको पानीबारे भारतीय इलाका र प्रान्तहरूमै आपसी तानातानी भएका थिए । एकात्मक सरकारको नमुना सम्झिएको बेलायतमा आज आर्थिक कारणले नै स्कटल्यान्ड र वेल्सको स्वायत्तताको प्रश्न उठ्न गयो । ती विवादहरूको कारण जातिवाद होइन, बरु आर्थिक कारण नै ।
(ख) व्यापकरूपले हेर्दा राजनैतिक मामिलाको भित्री कारण पनि सत्ता र आर्थिक कारण हुने गर्छ– जसको चरम सीमा वर्गसङ्घर्षको रूपमा देखा पर्छ, जाति र जाति विशेष होइन । राजनैतिक सत्ताकै निम्ति दाजुभाइ, बाबु र छोरा, देवर र भाउजूको बिचमा काटाकाट चल्छ, त्यसमा देश र जातिको प्रश्न आउँदैन । बेलायती र युरोपेली जाति नै गएर बसोबास गएर र विकास गरेको अमेरिकामा जनताले राजनैतिक र आर्थिक अधिकारकै निम्ति बेलायती साम्राज्यवादको विरोधमा ‘स्वतन्त्रता सङ्ग्राम’ को झन्डा उठाएका थिए । बेलायती र फ्रान्सेली राज्यक्रान्तिहरू पनि राजनैतिक र आर्थिक कारणबाटै भएका थिए । अफ्रिकी जनताको आजको स्वतन्त्रता र मुक्तिको आन्दोलन पनि यसो हेर्दा ‘कुइरे’ जातिवादविरोधी सङ्घर्षजस्तो लाग्ला तर अन्तिम विश्लेषण गर्दा त्यो पनि एक राजनैतिक र आर्थिक सङ्घर्ष हो । वास्तवमा त्यो सङ्घर्ष पश्चिमी साम्राज्यवादीहरूको मध्यपूर्व कब्जा गरिरहने ‘पेट्रोल राजनीति’ कै एक अङ्ग हो र प्यालेस्टिनी जनताको सङ्घर्ष आक्रमण र उपनिवेशवादविरोधी मुक्ति सङ्घर्षको रूप हो । त्यस्तै नेपाली जनताको भारतीय एकाधिकार पुँजीविरोधी सङ्घर्ष जातिवादी होइन बरु उपनिवेशवादविरोधी सङ्घर्षकै एक रूप हो जसको मुख्य कारण जाति विशेष होइन, आर्थिक र राजनैतिक हो ।
(ग) सीमासम्बन्धी खिचलोमा पनि जाति विशेष कारण होइन बरु आर्थिक र राजनैतिक नै हुने गर्छ । मानिसको जङ्गली अवस्थामा समेत शिकारको निम्ति सीमाको झगडा चल्थ्यो । सभ्य भनिने यस पुँजीवादी समाजमा पनि घरखेतको सानो किल्ला र जग्गाको सीमालाई लिएर दाजुभाइ र परिवारको बिचमा सङ्घर्ष हुने गर्छ । त्यस्तै सीमाकै विषयलाई लिएर नगर र गाउँ, अञ्चल र सङ्घ राज्यका प्रान्त वा राज्यहरूमा समेत खिचलो र विवाद उठ्ने गर्छ । सीमा विवादका कारण पनि जाति र धर्म होइन, राजनैतिक र आर्थिक नै हुने गर्छ । त्यस्तै, नेपाल र भारतको बिचको आर्थिक र व्यापारी लाभको मोलमोलाइ, भूपरिवेष्ठित देशले पाउनुपर्ने पारवहनको अबाध अधिकार, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको कुरो पनि जातीय नभई आर्थिक र राजनैतिक प्रश्न हो ।
बर्मा, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, सिक्किम (अहिले भारतकै अङ्ग भइसकेको छ), चीन र नेपालसँग भारतको आर्थिक राजनैतिक, सुरक्षा र सीमासम्बन्धी या अरू समस्याहरूको कारण प्रमुखरूपले जातीय नभई आर्थिक र राजनैतिक थियो र हो । भारतको विकास गर्दै गएको एकाधिकार पुँजीको थिचोमिचो छिमेकका सबै साना–ठुला देशले सहेरै आएको छ । अहिले त्यो पुँजी हिन्द महासागर, अरब सागर र भूमध्य सागर नाघेर प्रशान्त महासागरसम्म पुगेको छ । लेनिनले भन्नुभएजस्तै “पुँजीको नियति नै यस युगको साम्राज्यवादको मुख्य चरित्र हो ।” नेपाल र भारतको बिचमा बरोबर भइरहने तितो–पिरोको कारण नै यही हो ।
तर, भारतका नेपालविद् सम्झिएका केही विद्वान, जिम्मेवार व्यक्तिहरू र प्रचार–साधनले नेपाल र भारतबिचको सम्बन्धलाई नमिठो पार्नमा नेवार वा अरू केही जाति र जनसमुदायलाई जिम्मेवार ठह¥याएका छन् । त्यो कुरो शत–प्रतिशत असत्य छ । भारतका एक नेपालविद् सम्झिएका विद्वान, मिथिला विश्वविद्यालयका राजनैतिक विज्ञानका रिडर डा. शङ्करकुमार झाले २६ जनवरी १९७६ को ‘हिमेशिया’ भन्ने एक हिन्दी साप्ताहिकमा ‘भारत–नेपाल सम्बन्ध एक विश्लेषण – एक पर्यवेक्षक’ भन्ने लेखमा पनि त्यही कुरो उल्लेख गर्नुभएको थियो । (त्यसबारे हेर्नुस्, यसै पुस्तकको खण्ड– १, दोस्रो पाठको ‘हिमेशिया’ र ‘मातृभूमि’ एउटै ड्याङका मूला ।’)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *