भर्खरै :

नवदुर्गाको देवाली पूजा र द्यो ब्वय्केगु (भोजन चढाउने) बारे सङ्क्षिप्त चर्चा

  • जेष्ठ १५, २०८२
  • नारायणमान वनमाला
  • विचार
नवदुर्गाको देवाली पूजा र द्यो ब्वय्केगु (भोजन चढाउने) बारे सङ्क्षिप्त चर्चा

भक्तपुरमा वर्षभरि नै परम्परागत, सांस्कृतिक तथा देवीदेवताको प्रसिद्ध नाचगानहरू हुने हुँदा भक्तपुरलाई नाचगानको खुला सङ्ग्रहालयको रूपमा मान्न सकिन्छ । दाफा भजन, गुठी तथा मठ–मन्दिरहरूमा हुने परम्परागत गीतसङ्गीत, बाजागाजा, भजन तथा नाचगानले यहाँका मानिसहरूको सभ्यता र सांस्कृतिकस्तरको चित्रण गर्नुका साथै भक्तपुर जिल्लाको महिमासमेत बढाएको छ । वर्षैभरि निरन्तर प्रदर्शन हुने भक्तपुरको प्रसिद्ध नवदुर्गाको ङालाकेगु जात्राले नाचगानको सहरको रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । मानव समाजमा आधारित ऐतिहासिक नवदुर्गा देवगण जात्राको विभिन्न जात्राहरूमध्ये नवदुर्गाको देवाली पूजा (स्वं छा) र द्यो बोकेगु (भोजन चढाउने) पनि पर्दछ ।
नवदुर्गाको देवाली पूजा (स्वं छा)
नवदुर्गाको देवाली पूजा भक्तपुर नगरपालिकाको वडा नं. ९, गछेँमा अवस्थित नवदुर्गा मन्दिरको चोकमा हुने गर्दछ । हरेक वर्ष सिथि चः¥हेको पछि पर्ने आइतबार वा बिहीबारको दिन नवदुर्गा देवगण जात्राको देवाली पूजा (स्वं छा) अर्थात् देवगणको कुल देवता पूजा परम्पराअनुसार हुँदै आएको छ । सोही चलनअनुसार यस वर्ष आज बिहीबार यो पूजा मन्दिरमा हुनेछ ।
देवालीको दिन बिहानै नवदुर्गाका देवगणहरूले आ–आफ्नो घरआँगन सफा शुद्ध गरी परम्परागतरूपमा रङ्गीचङ्गी फूलहरू सजाइएको स्वं खचा (तोलन), फूलको माला, भोजनको परिकार र पूजाका सामग्रीहरू तयार गर्छन् । भोजनको परिकारहरूमा अण्डा, बारा, चतामारी, जाँड, रक्सी, सम्हेबजी, मासुको परिकार, गोजा, अक्षता, फूलका माला, फलफूल, सतुङ आदि पर्दछ । त्यस्तै नवदुर्गा मन्दिरको चोक आँगन पनि लिपपोत गरी सफा गरिन्छ । देवाली पूजा सुरु गर्न मन्दिरको चोकमा नवदुर्गाका मकुन्डो, बाजा प्रदर्शन गराइन्छ । त्यसबेला खिं बाजा, तं बाजा, कंस बाजा, भैरव, महाकाली, बाराही, कुमारी, धोम्हा पोमी, दातिम्हा पोमी, झिम्हा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली र नकिं (मन्दिरको मूल महिला पुजारी) बाट क्रमशः पूजा हुन्छ । फूलबाट सजाएको स्वं खचा मकुन्डोहरूको शिरमा चढाई तान्त्रिकरूपमा पूजा हुन्छ, फूलको माला चोकमा आकर्षक तरिकाले सजाइन्छ र भेडा र कुखुरा बलि दिइन्छ । भैरव, काली र बाराही बन्ने तीन जना देवगणको घाजीनं (सेतो जामा) पोशाक लगाएर मन्दिरको चोकमा पूजा तथा नाच हुन्छ ।
देवाली पूजा गर्ने परम्परा मातृ समाप्ति कालदेखि सुरु भएको देखिन्छ । वर्षभरि आइपरेका समस्या तथा चुनौतीसँग सामना गर्नसक्ने, स्वस्थ हुन, परिवारमा मायाप्रेम, मिलन र शान्ति कायम गर्न शक्ति मिलोस् भनी यो पूजा गर्ने परम्परा रहेको छ । पोषणयुक्त खाना, सरसफाइ तथा पारिवार सम्बन्ध मजबुत बनाउन यस पूजाले प्रेरित गरेको देखिन्छ । किंवदन्तीअनुसार नवदुर्गाको देवाली पूजाको दिनदेखि मनसुन वर्षा हुने जनविश्वास छ । सोही दिन देवगणका सम्पूर्ण परिवारले पूजामा सहभागी भई प्रसाद ग्रहण गर्ने गर्छन् ।
देवाली पूजा भएको आठ दिनपछि जेठ २२ गते बिहीबार यस वर्षको नवदुर्गाको ङालाकेगु जात्रा दरबार क्षेत्रको इछु टोलमा हुनेछ । असार १ गते आइतबार भक्तपुर दरबार स्क्वायर, तलेजु मूलचोकमा सिं जा नकेगु (अन्तिम भोज) कालरात्रि नाच हुनेछ । असार ४ गते बुधबार भलभल अष्टमीको दिन भक्तपुर नगर परिक्रमा गरी वडा नं. ९ ब्रह्मायणी पीठमा नाय्खिं बाजाको साथमा मकुन्डो जलाउने (जले बिज्याकेगु) गरी यस वर्षको नवदुर्गाको जात्रा सम्पन्न हुनेछ ।
द्यो ब्वय्केगु (भोजन चढाउने)
मानिसको बौद्धिक र शारीरिक विकाससँगै मानव सभ्यता र संस्कृतिको विकास पनि विकास भएको देखिन्छ । आहारबिना कुनै पनि जीव संसारमा बाच्न सक्दैन । त्यस्तै मानिस पनि आहार (खाना) बिना बाच्न सक्दैन, काम गर्ने शक्तिको स्रोत नै आहारा हो । मानिसले आफ्नो आहाराको रूपमा विभिन्न वनस्पति तथा मासुजन्य खानेकुरा आगोमा पोलेर वा पकाएर खाँदा खानाको स्वाद र पोषणयुक्त भई बढी ऊर्जा/शक्ति प्राप्त भयो । यसले मानिसमा विभिन्न खानेकुरा विभिन्न तरिकारबाट पोलेर वा पकाएर खाने चलनको विकास भयो । यसरी मानव समाजमा विभिन्न थरीका खानेकुरा विभिन्न तरिकाबाट पकाएर वा बनाएर खाने संस्कृतिको विकास भएको देखिन्छ । मानिसले आफ्नो पोषणयुक्त आहारका लागि कसरी सफा र ताजा खानेकुरा तयार गरी खानुपर्छ भन्ने शिक्षा दिन उदाहरणस्वरूप ‘द्यो ब्वय्केगु’ (भोजन चढाउने) जस्ता परम्परा चलेको देखिन्छ ।
मनले चिताएको कार्य सिद्ध वा पूरा भएमा वा कुनै कार्यमा सफलता प्राप्त भएमा खुसीयाली साटासाट गर्न ‘द्यो ब्वय्केगु’ गर्ने परम्परा नेवार समुदायमा रहेको छ । यो भावनात्मकरूपमा खुसी व्यक्त गर्ने माध्यमको रूपमा लिइन्छ । विशेषतः नेवार समुदायमा हुने व्रतबन्ध, विवाह, गुठी पूजा र अन्य शुभकार्यहरू हुँदा सो शुभकार्यहरू सम्पन्न भएको खुसीयालीमा द्यो ब्वय्केगु (भोजन चढाउने) कार्य गर्ने चलन रहेको छ ।
नेवार समुदायमा कुनै शुभकार्य वा सफलता प्राप्त भएको खुसीयालीमा आफ्नो श्रद्धा र आस्थाअनुसार विभिन्न नेवारी परिकारहरू
(खानेकुरा) वा चौरासी व्यञ्जन पकाएर देवीदेवतालाई चढाउने परम्परालाई ‘द्यो ब्वय्केगु’ रूपमा लिइन्छ । भक्तपुरको नवदुर्गाका जात्राहरूमध्ये ‘द्यो ब्वय्केगु’ लाई पनि एउटा सानो जात्राको रूपमा लिइन्छ ।
नवदुर्गाको नियमित जात्रालाई असर नहुने समयमा ‘द्यो ब्वय्केगु’ जात्रा हुने गर्दछ । यो जात्रामा भक्तजनबाट परम्परागत तरिकाले तयार गरेका विभिन्न थरीका खानेकुराहरू माछा, अण्डा, बारा, चतामारी, मासुको परिकार, गेडागुडीको परिकार, तरकारी, दही, चिउरा, मिठाइ, फलफूल तथा पेयपदार्थहरू जाँड, रक्सी, दूध आदि चढाउने र पूजा गर्ने गरिन्छ । जात्रामा नवदुर्गाका देवगणहरूलाई फूल तथा फलको माला (बिमिरो, खाइसी, झाम्सी आदि फलको माला) लगाई दिने; प्रसाद ग्रहण; बाजाको तालमा नवदुर्गा देवगणको मङ्ल सिद्ध नाच हुने; भक्तजन र देवगणबिच खुसीयाली साटासाटसमेत हुने गरिन्छ । विशेषतः व्रतबन्ध, विवाह, गुठी पूजाजस्ता शुभकार्यहरू सम्पन्न हुँदा भक्तजनबाट ‘द्यो ब्वय्केगु’ गर्ने गरिन्छ ।
भक्तजनबाट नवदुर्गाको आशीर्वाद लिने र परिवारको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गरिन्छ । नवदुर्गा देवगणबाट पञ्चरङ्गी धागो, सम्यबजी, दही चिउरा, मोहनी आदि भक्तजनलाई प्रसादको रूपमा दिने चलन छ ।
स्वस्थ जीवनको लागि सफा, ताजा, पोषणयुक्त आहार कसरी तयार गर्र्ने र कसरी सेवन गर्नुपर्छ भन्ने शिक्षा दिने उद्देश्यले यो ‘द्यो ब्वय्केगु’ परम्परा चलिआएको बताइएको छ । मानिसको रहनसहन तथा स्वस्थकर खानेकुरा खान सिकाउन यो संस्कृतिको विकास भएको देखिन्छ । मानिसको आहारबारे शिक्षा दिने ‘द्यो ब्वय्केगु’ जात्रा एउटा सन्देशमूलक जात्राको रूपमा लिन सकिन्छ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *