भर्खरै :

आधारभूत विद्यालय समितिको साधारणसभा सम्पन्न

आधारभूत विद्यालय समितिको साधारणसभा सम्पन्न

भक्तपुर, २० जेठ । आधारभूत विद्यालय समिति भक्तपुरको २६ औँ वार्षिक साधारणसभा मङ्गलबार भीम आदर्श आधारभूत विद्यालय, लिबालीमा सम्पन्न भयो ।
सभामा भक्तपुर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले आधारभूत विद्यालय विद्यालय तहको जग भएकोले यसलाई बलियो र मजबुत बनाउन शिक्षा शाखाले भूमिका खेलिरहेको बताउनुभयो । आधारभूत विद्यालयको विकासमा समितिले लामो समयदेखि सराहनीय कार्य गर्दै आएको उल्लेख गर्दै सबै मिलेर भक्तपुरको शिक्षा क्षेत्रलाई नमुना बनाउनुपर्ने बताउनुभयो ।
गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले राज्यले माध्यमिक तहसम्म शिक्षा निःशुल्क भने पनि व्यवहारमा लागु गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सामुदायिक विद्यालयको स्थिति खाउँ भने कान्छा बाबुको अनुहार नखाउँ भने दिनभरीको सिकार भन्ने उखान सरह भएको छ । तसर्थ, सरकारले शिक्षामा बजेट वृद्धि गरी निःशुल्क शिक्षाको प्रत्याभूति गर्नुपर्छ ।”
उहाँले विद्यालयको विकासमा त्याग र सामूहिक भावनाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षकहरूले आत्म गौरव गर्नलायकको काम गर्नुपर्ने बताउनुभयो ।
समितिका पूर्वअध्यक्ष एवं सन्तति आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक माकले समितिले समग्र विद्यार्थी, शिक्षक र विद्यालयको हित र सुधारका लागि सामूहिकरूपमा प्रयत्न गर्दै आएको उल्लेख गर्दै समय सुहाउँदो रूपमा विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समितिका अध्यक्ष सूर्यबहादुर फोजूको अध्यक्षतामा भएको सो सभामा अध्यक्षद्वारा प्रस्तुत समितिको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विन्द्रा दुवालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरियो । सभामा समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छा र सचिव असलमाया बनमालाले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *