भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा एड्भान्स पाक शिक्षा तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण

नगर प्रमुख प्रजापतिद्वारा एड्भान्स पाक शिक्षा तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण

भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित एड्भान्स पाक शिक्षा तालिम समापन तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम मङ्गलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सहभागी २० जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले नागरिकलाई आत्मनिर्भर र आर्थिकरूपले सबल बनाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुर नपाले युवा र महिला लक्षित सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
सबै मान्छे सबैमा पूर्ण नहुने तर उसमा विशेष क्षमता र विशेषता हुने बताउँदै उहाँले मानव जीवनको दैनिक जीवनयापनसँग सम्बन्धित पाक शिक्षा धेरै राम्रो व्यवसायको रूपमा रहेको चर्चा गर्नुभयो ।
नेपाल संसारकै राम्रो हावापानी भएको देश भएको बताउँदै उहाँले अब नेपालीहरू विदेश जाने होइन, विदेशीलाई नेपाल भित्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर सांस्कृतिक र पर्यटकीय नगरको रूपमा विकास भइरहँदा यहाँ पर्यटन प्रवद्र्धनमार्फत आर्थिक गतिविधि चलायमान बनाउने धेरै सम्भावनाहरू रहेको बताउँदै प्रमुख प्रजापतिले श्रमलाई सम्मान गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले पाक शिक्षा कला र सिर्जनशीलतासँग जोडिएको पेसा हो भन्दै मौलिक खानाका परिकारहरूलाई होटल व्यवसायीहरूले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले पाक शिक्षालाई अभौतिक सम्पत्तिको रूपमा व्याख्या गर्दै मौलिक खानाको माध्यमबाट पनि भक्तपुरको पहिचान कायम गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् कार्यपालिका सदस्य रोशनमैँया सुवालले प्रशिक्षार्थीहरूले तालिमबाट सिकेको ज्ञान र सीपबाट आफ्नो जीवनलाई अझ परिष्कृत बनाउन टेवा पुग्ने विश्वास गर्दै आजका प्रशिक्षार्थी भोलिको व्यवसायीको रूपमा विकास हुने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, वडा सदस्य हेरा ख्याजु, पाक शिक्षा तालिम प्रशिक्षक विष्णु श्रेष्ठ, प्रशिक्षार्थी रमेश कायस्थले तालिमको उपलब्धि र महत्वमाथि प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *