भर्खरै :

सुडालमा वडास्तरीय किसान भेला सम्पन्न

सुडालमा वडास्तरीय किसान भेला सम्पन्न

भक्तपुर, २० जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ, चानपा – ८, सुडालको आयोजनामा समसामयिक विषयमा वडास्तरीय किसान भेला सम्पन्न भयो ।
उक्त भेलामा नेमकिपा, चाँगुका अध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाले स्थापनाकालदेखि नै किसानहरूको हितमा मोहीयानी हक सुरक्षालगायत बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन गर्दै आइरहेको बताउनुभयो । उहाँले नेमकिपा नभएको भए भ्रष्टाचार, अनियमितता, बेथिति, विकृति, विसङ्गति तथा पुँजीवादी व्यवस्थाविरुद्ध र समाजवादी व्यवस्थाको अपरिहार्यताबारे आवाज उठाउने पार्टी नै हुने थिएन भन्नुभयो ।
पुँजीवादी व्यवस्थाको विकल्प राजतन्त्र नभई समाजवादी व्यवस्था हुने भएकोले उहाँले समाजवादी व्यवस्था स्थापनाको लागि समाजवादी गणतन्त्र प्रचार अभियानमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य निःशुल्क हुने, ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको व्यवस्था हुने, बालबालिकाहरूको निम्ति बाल उद्यान र शिशुशालाको बन्दोबस्त हुने, व्यक्तित्व विकासमा समान अवसर पाउने, योग्यताअनुसारको काम, कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, रोजगारीको व्यवस्था हुने, आर्थिक समानता हुने भएकोले समाजवादको आवश्यकता भएको हो भन्नुभयो ।
उहाँले नेपाल सरकारको तर्फबाट २०८२ जेठ १५ गते प्रस्तुत गरिएको आव २०८२/०८३ को बजेट ज्येष्ठ नागरिक तथा किसानहरूको हितमा नभई मुट्ठीभर पुँजीपतिहरूको हितमा आएको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ, चानपा – ८, सुडालका अध्यक्ष दिलबहादुर रायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेक्राकिसङ्घ, चानपा – ८ का सचिव गणेशप्रसाद तिमिल्सिना र सदस्य केशवप्रसाद खतिवडाले पनि किसान समस्याबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *