भर्खरै :

सामाजिक सञ्जाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरूपयोगबाट हुने स्वास्थ्य असर

सामाजिक सञ्जाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरूपयोगबाट हुने स्वास्थ्य असर

अनावश्यकरूपमा सामाजिक सञ्जालको दुरूपयोग गर्नुपनि समस्या हो भन्ने कुरा विभिन्न अध्ययनबाट पुष्टि भैसकेको छ । यसको सही सदुपयोगका कारण कतिपय ज्ञान, सिद्धान्त र अभ्यास सिकेर आफूलाई सफल बनाउन सकेका उदाहरणहरू पनि प्रशस्त देखिएका छन् । यहाँ सामाजिक सञ्जालको दुरूपयोग भन्नाले त्यस्ता व्यक्ति वा प्रयोगको माध्यम (अकाउन्टस्) लाई बुझिन्छ, जसका कारण समाजमा नकारात्मक भावना वा तरङ्ग फैलिन गई त्यसको असर अन्य व्यक्तिमा स्थानान्तरण हुन सक्छ । यसै सन्दर्भमा सामाजिक सञ्जालको नकारात्मक प्रयोगकर्ताको मोटामोटी वर्गीकरण देहाय अनुसार गर्न सकिन्छ ।
१. समाजमा नकारात्मक सन्देश वा विज्ञापन फैलाउने प्रयोगकर्ता (स्पामर्स), जसमा कुनै महत्वपूर्ण सन्देश प्रवाह भएको हुँदैन र खाली क्षणिक आनन्द वा प्रयोगकर्ताको प्रतिक्रिया जान्नका लागि मात्र हुने गर्छ । यस्ता प्रयोगकर्ताहरू प्रायः आफूलाई अरुसँग तुलना गर्न रुचाउँछन् र यस प्रकारको भावनाले उनीहरूमा इष्र्या र नकारात्मक भावनाको विकास हुन जान्छ ।
२. कुनै लेख, टिप्पणी वा फोटोप्रति सकारात्मक भावनाले अर्थ नलगाई तुरुन्तै नकारात्मक भावना पैदा गरी असान्दर्भिक र नकारात्मकरूपमा प्रतिक्रिया प्रवाह गर्ने प्रवृतिका कारण सोही स्वभाव भएका अन्य व्यक्तिहरू उचालिने हुनाले समाजमा उद्दण्डता र विचारको विषाक्तता फैलिन सक्छ ।
३. सामाजिक सञ्जालमा नकारात्मक भावना फैलाउने व्यक्तिहरूले नक्कली नाम वा परिचय सृजना गरी अरुको नाममा अनावश्यक सन्देश वा भ्रम फैलाउने गर्दछन् । यसबाट अरुको बदनाम गर्ने, तनाव पैदा गर्ने र आफूले कसैबाट लाभ प्राप्त गर्ने (कसैको माध्यममा काम गरेको भएमा) प्रवृत्ति हावी भएको पाइन्छ ।
४. समुदाय वा व्यक्ति विशेषलाई कुनै फाइदालाई नसोची आफूमात्र चर्चित हुनका लागि अनावश्यक सन्देश, कविता, फोटो, भिडियो, प्रतिक्रिया वा टिप्पणी गर्ने प्रयोगकर्ता यस वर्गमा पर्छन् । समाजमा खासै योगदान नहुने र आफूलाई सधै सामाजिक सञ्जालमा कुनै न कुनै रूपमा संलग्न गराई प्रतिष्ठा स्थापित गर्न खोज्नेहरूबाट यस प्रकारको काम भइरहेको पाइन्छ ।
५. आफ्नो छवि कायम गर्न वा अभियन्ताको दर्जा कायम राख्न सामाजिक सञ्जालको प्रयोग गर्ने जसलेगर्दा मौकामा चौका पाउने आशाका अभिलाषीहरूले यस प्रकारले सञ्जालको प्रयोग गरेको पाइन्छ र यस्ता व्यक्तिहरूमध्ये नगन्य मात्रामा केहीले फाइदा लिएको उदाहरण पनि देख्न सकिन्छ ।
६. कुनै परिस्थितिमा तयार भएको विषयवस्तुलाई सो परिस्थिति गुज्रिसकेपछि वा त्यसको औचित्य समाप्तिपछि सोही सामाग्रीलाई बारम्वार सामाजिक सञ्जालमा सियर गरिदिने, जसले गर्दा मूल सन्देशकर्तामा नकारात्मक आँचमा असर पर्न सक्छ ।
हाल सामाजिक सञ्जाल प्रयोग गर्ने नाममा विभिन्न विकृतिहरू छताछुल्ल भएको अनुभव जोकोहीले गर्न सकिन्छ । सामाजिक सञ्जालको अनिधिकृत प्रयोगबाट प्रयोगकर्ताको व्यक्तिगत जीवनका विभिन्न आयामहरूमा समस्या देख्न सकिन्छ । यसबाट समाजमा रहेको अनुशासन, मान्यता र सामाजिक परिपाटीमा नकारात्मक असर परेको अनुभव गर्न सकिन्छ । विद्युतीय माध्यमको अनावश्यक प्रयोगबाट देखिने केहि नकारात्मक प्रभाव देहाय अनुसार रहेका छन् ।
(१) अनावश्यकरूपमा सामाजिक सञ्जालको प्रयोगकर्ताको पारिवारिक वा सामाजिक विच्छेदले गर्दा एकान्तपना हुनु हो । सोका कारण त्यस्ता प्रयोगकर्ताले सञ्जाल मार्फत व्यक्त विचार आफ्नो रुचि वा विज्ञतासँग नभई भावनात्मक रूपमा अनावश्यक चासो देखाई आफ्ना तिक्तता जाहेर गरिरहेका हुन्छन् । कुनै पनि व्यक्तिले सञ्जालमा राखेका कतिपय विचारहरू वास्ता नगरेपनि हुन्छन् । किनकि सबै विषयमा सबै व्यक्ति जानकार हुन् सक्दैन । तथापि यस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना प्रतिक्रिया जाहेर गरिरहेका हुन्छन र त्यस्ता व्यक्तिहरू व्यक्तिगत भेटघाट वा छलफलबाट भन्दा सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गर्न रुचाउँछन् जसले गर्दा उनीहरूमा सामाजिक बिच्छेद वा एकलौटेपनाको विकास हुन पुग्छ ।
(२) सामाजिक सञ्जालबाट प्राप्त विवरणहरू सबै सत्य र तथ्य नहुने हुन्छन । अनावश्यकरूपमा सामाजिक सञ्जाल प्रयोगकर्तामा कुन सत्य, तथ्य वा सामाजिक चासोको विषय हो, त्यसको पर्वाह नगरी प्रकाशित सामग्रीप्रति आफू प्रतिक्रियाशील (रियाक्टिभ) भई नकारात्मक भावना सम्प्रेषण गरेका कारण आफ्नो आत्म–सम्मान गुमाइरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरूमा असन्तुष्टि र नकारात्मक संवेगात्मक प्रणालीको विकास हुन जान्छ र सोहीअनुसारको प्रतिक्रिया सामाजिक सञ्जालमा प्रवाह भइरहेको पाइन्छ ।
(३) अनावश्यकरूपमा घन्टौँसम्म सामाजिक सञ्जालको प्रयोगकर्तामा अस्वभाविक व्यवहार वा चरित्रको विकास हुन सक्छ । यस्ता प्रयोगकर्तामा आफ्नो महत्वपूर्ण समयको ख्याल हुँदैन र राति अवेरसम्म वा बिहान ओछ्यानमै विभिन्न विद्युतिय माध्यममार्फत सञ्जालको निकटमा रहने बानी बस्छ । यसले गर्दा उनीहरूमा गहिरो निन्द्रामा जाने क्षमता गुम्दै जान्छ । पर्दामा लगातार घोत्लिँदा निलो विकिरणको असरले शरीरमा मेलाटोनिन हर्मोनको उत्पादनमा समस्या हुन्छ, जसलेगर्दा निन्द्रामा समस्या उत्पन्न भई मानसिक समस्याको विकास हुन सक्छ ।
सन् २०२३ मा गरेको एक सर्वेक्षण अनुसार ११ देखि १९ वर्ष उमेर समूहका करिव ४१ प्रतिशत व्यक्तिलाई कुनै न कुनै प्रकारको मानसिक समस्या उत्त्पन्न भएको तथ्य प्रकाशन भएको छ ।
(४) सामाजिक सञ्जालको अत्यधिक प्रयोगकर्तामा संवेगात्मक चोट ( रिसाउने, नकारात्मक सोचाइ, अनावश्यक डर, आत्मसम्मानमा कमी र सामान्य सोचाइमा भिन्नता) को विकास हुँदै जान्छ, जसलाई साइबरबुलिङ भनिन्छ । एक अध्ययनका अनुसार साइबरबुलिङ्गको चपेटामा परेका कुल १३ देखि १९ वर्षका व्यक्तिहरूमध्ये करिव १० प्रतिशत साइबरबुलिङ्गको लक्षण देखा परेको पाइएको छ र जसलाई सो उमेर समूहमा देखिने मानसिक रोगको प्रमुख कारण मानिएको छ ।
(५) लगातर लामो समयसम्म सामाजिक सञ्जालको लतको बाढीले गर्दा व्यक्तिको एकाग्रता र व्यक्तिगत विकासका गतिविधिहरूमा अवरोध उत्पन्न हुन्छ । कुनै काम, जिम्मेवारी वा अध्ययन प्रतिव्यक्तिको चासो हराउँदै जान्छ र आफूलाई सञ्जालको एक अभिन्न अङ्गको रूपमा अङ्गीकार गरी आफ्ना व्यवहारहरू प्रकट गर्दै जान थाल्छ र क्रमशः मानसिक र शारीरिक रूपमा व्यक्ति कमजोर बन्दै जान्छ ।
(६) सामाजिक सीप वा सिकाइमा नकारात्मक प्रभाव बढ्दै जानु अर्को एक सामाजिक सञ्जालको अत्यधिक प्रयोगकर्तामा देखिने प्रभाव हो । विशेष गरेर यस्तो प्रभाव देखा पर्दा आमने सामने छलफल र अन्तरक्रियामा कम सहभागी हुने, आत्मनिर्भरतामा कमी हुँदै जाने र नकारात्मकरूपमा टिप्पणी गर्न अग्रसरता देखाउने प्रवृत्तिको विकास हुँदै जान्छ । आफ्ना टिप्पणी वा संदेशप्रति कसको समर्थन वा विरोध छ, चासो राखी विरोधी प्रतिपूर्वाग्रही भावना राख्ने प्रवृत्तिको विकास हुँदै जान्छ ।
(७) सामाजिक सञ्जालको अनाधिकृत प्रयोगकर्ताले सञ्जालमा उपलब्ध गलत सन्देशहरूलाई सेयर, लाइक र टिप्पणी गरिदिनाले समाजमा भ्रम उत्पन्न हुने र गलत समाचार फैलिन सक्छ । यस्ता व्यक्तिहरूमा कुन विषयप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्न उपयुक्त हुन्छ भन्ने ख्याल नगरी एककोहोरोरूपमा आफ्ना कुरा पस्किरहेका हुन्छन् । यस्तो अवस्था भनेको सामाजिक सञ्जालको व्यक्तिमाथि परेको दबाब हो र यसका कारण व्यक्तिका कतिपय महत्वपूर्ण कामहरू छुट्न सक्छन् र उसमाथि समय व्यवस्थापनको दवाव पनि सृजना हुन जान्छ ।
अन्त्यमा, सामाजिक सञ्जालको सन्तुलित प्रयोगबाट आफ्ना विचारलाई संयमित गर्न सकिन्छ । दैनिक कुनै समयमा मात्र यसको प्रयोग गर्ने र हप्तामा कुनै १ दिन यसको प्रयोग नै नगर्ने अभ्यास गर्नु उपयुक्त मानिन्छ र यसलाई सामाजिक सञ्जालको उपवास पनि भन्ने गरिन्छ । यसबाट व्यक्तिले अनावश्यकरूपमा सामाजिक सञ्जालको कुलत छोडी ऊर्जाशील काममा लाग्न प्रेरित गर्छ ।
(ज्ञवाली जनस्वास्थ्य विज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *