शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, २ असार । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिद्वारा आयोजित पूर्वप्राविको पुनर्ताजगी तालिम सोमबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
विद्यार्थी निकेतन मा.वि, साकोठा, भक्तपुरमा भएको सो तालिमको समापन समारोहमा समितिका अध्यक्ष रोशनराज तुइतुईले शिक्षकको पेसा आशा जगाउने पेसा भएको हुँदा अरुलाई असम्भवजस्तै लाग्ने कार्य शिक्षकले सम्भव बनाएर देखाउनुपर्ने बताउनुभयो ।
कक्षा शिक्षणको क्रममा आइपर्ने जस्तोसुकै कठिन परिस्थिति र चुनौतीलाई पनि सहजरूपमा सिर्जनात्मक ढङ्गले समाधान गर्न शिक्षकहरू उत्साही हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
उहाँले अभ्यासमुखी क्रियाकलापमा बढी जोड दिएर अध्ययन अध्यापन गरेमा सामुदायिक विद्यालयका शिक्षकहरूको सिकाइ कौशल कमसल हुने भन्ने भ्रमलाई चिर्न सकिन्छ भन्नुभयो ।
तालिमका सहजकर्ता जुनु शाक्यले आईसीडीपीको तालिमले शिक्षकले बालबालिकालाई गर्ने कडा र कट्टर व्यवहारमा व्यापक परिवर्तन आउने कुरामा विश्वास राख्दै भित्री मनदेखि गरिने जस्तोसुकै कार्यले पनि सकारात्मक परिणाम दिने विचार राख्नुभयो ।
उहाँले आजको आवश्यकता बालबालिकालाई आत्मनिर्भर बनाई सिकाइ र व्यवहारमा परिवर्तन ल्याउनु हो भन्ने कुरामा जोड दिनुभयो ।
तालिमका सहभागी सीतालक्ष्मी छुस्याकीले आफूले जीवनकालमा लिएका विविध तालिमभन्दा आईसीडीपीको तालिम पृथक र गुणस्तरीय रहेको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यार्थी निकेतनका प्रअ न्हुछेबहादुर खाताखोले तालिममा सिकेका ज्ञान र सीपलाई सहपाठी शिक्षकहरूलाई प्रसार गरे तालिमले जीवन्तता पाउने विचार राख्नुभयो ।
समारोहमा शिक्षक केपी छुस्याकीले पनि बोल्नुभएको थियो ।
प्राथमिक तहको तालिम थप दुईदिन सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
Leave a Reply