समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२
धेरै युवाहरू अहिले राजनीतिप्रति खासै चासो राख्दैनन् । उनीहरू राजनीतिलाई नकारात्मकरूपमा लिन्छन् र त्यसबाट टाढा हुन खोज्दै छन् । उनीहरूको दृष्टिमा राजनीति भनेको तोडफोड, आगजनीजस्ता अराजक कामहरू हुन्† जनतालाई ढाँट्ने, छल्ने र झूटो बोलेर देश लुट्ने हो । राजनीतिबारे बुझ्दै नबुझी कतिपय राम्रा र असल युवाहरूले पनि यो भ्रम पालिरहेको पाइन्छ । यो शतप्रतिशत गलत हो ।
राजनीति देश र जनताको इमानदारीपूर्वक गर्ने सेवा हो । देशभक्त, इमानदार र असल मानिसहरूले राजनीति गरेपछि मात्र देशमा परिवर्तन आउनेछ । खराब, बेइमान र देश लुट्ने लुटेराहरूको अधिनबाट देश मुक्त हुन असल युवाहरू राजनीतिबाट टाढा बसेर सम्भव छैन । त्यसैले राजनीतिलाई सबै नीतिको राजा भनिन्छ ।
विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सले ३० वर्षकै उमेरमा विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्र लेख्नुभयो । त्यही घोषणापत्र अध्ययन गर्दै आज विश्वका आधाभन्दा बढी जनसङ्ख्या आ–आफ्नो देशमा समाजवाद स्थापनाका लागि सङ्घर्षरत छन् । फिडेल क्यास्ट्रोले ३५ वर्षकै उमेरमा क्युवामा अमेरिकी समर्थक बातिस्टा सरकारलाई समाप्त गरेर क्रान्ति गर्नुभयो भने त्यही क्रान्तिको नेतृत्व पङ्क्तिमा रहेर साथ दिने चे ग्वेभारा पनि उमेरले युवा अवस्था मै हुनुहुन्थ्यो । युवाहरूले सिङ्गो देश परिवर्तन गर्न सक्ने भएकैले माओ त्सेतुङले भन्नुभएको थियो, “यो संसार तपाईँहरूको हो, हाम्रो पनि हो । अन्तिम विश्लेषणमा तपाईँहरूकै हो । हाम्रो आशा तपाईँहरूमाथि छ ।”
नेपालको सन्दर्भमा २५ वर्षको युवा उमेरमै पुष्पलालले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नु्भयो । अहिले आधाभन्दा बढी नेपाली जनता कम्युनिस्ट पार्टीलाई विश्वास गरी हँसिया–हठौडा झण्डालाई माया गरेर भोट हाल्छन् । भलै ती विभिन्न पार्टीमा विभाजित नै किन नहोस् । का. नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) स्थापना गर्दा उहाँको उमेर भर्खर ३५ वर्षको मात्र थियो । त्यसअघि नै उहाँले ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ र ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ जस्ता वैचारिक र सैद्धान्तिक पुस्तकहरू लेखी सक्नुभएको थियो । यसरी युवा उमेर पनि हो ।
नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । यो उमेर समूहमा लाखौँ युवाहरू छन् । उनीहरू देशको राजनीतिमा आबद्ध भएर देश र समाज परिवर्तनको पक्षमा काम गरेको भए समाज परिवर्तन गर्न समय लाग्ने थिएन । तर, युवा भनेको उमेरमात्र होइन, मुख्य त विचार हो । सही विचार, क्रान्तिकारी विचार बोक्ने जुनसुकै उमेर समूहका भए पनि त्यो युवा नै हुन्छ । आजको सन्दर्भमा पुँजीवादविरुद्ध समाजवादको पक्ष लिनेहरू, साम्राज्यवादविरुद्ध लड्ने देशभक्तहरू जतिसुकै उमेर भए पनि उनीहरूलाई युवाको रूपमा लिइनुपर्छ । किनभने, संसार बदल्न अठोट गरेर हिँड्नेहरू कहिल्यै बुढो हुँदैनन् ।
आश्चर्यको विषय के छ भने युवाहरू देशको राजनीतिप्रति खासै ध्यान दिँदैनन् । उनीहरू विदेशको प्रशंसामा रमाएका देखिन्छन् । अरूको प्रशंसा गरेर देश अघि बढ्दैन भन्ने उनीहरू बुझ्दैनन् । उनीहरू नेपालका राजनीतिक दलहरूलाई तथानाम गाली गरेर मौका पाउनासाथ विदेश पुग्छन् । यसरी रोजगारी र पढाइको नाउँमा विदेशी भूमिमा काम गर्न जाने युवाहरूको सङ्ख्यामात्रै ७० देखि ८० लाख पुगेको अनुमान गरिएको छ । ती नै युवाहरू विदेशी भूमिमा विदेशीकै लागि रगत र पसिना बगाउँदै छन् । युवाहरूको रगत र पसिनासित साटेको रेमिट्यान्समै हाम्रा शासकहरू दङ्ग छन् । १० महिनामा १३ खर्ब रेमिट्यान्स भित्रिएकोमा मन्त्रीहरू गर्व गर्दै छन् । वास्तवमा नेपालका शासकहरूको विरोध गर्दै ऊर्जाशील युवाहरूले देश छोड्नु राम्रो होइन ।
संसार अहिले प्रतिस्पर्धात्मक छ । प्रतिस्पर्धा गर्न नसक्नेहरू अहिले बाँच्न समेत सक्दैनन् । युवाहरूले नेपालीहरूसँग मात्र होइन संसारभरिका युवाहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्नेछ । विज्ञान र प्रविधिमा अघि बढेको, विकास भएको र देश सबै हिसाबले चटक्कै मिलेको नेपाल अहिलेका युवाहरूको चाहना हो । कसैले चाहँदैमा त्यस्तो वातावरण आफैँ तयार हुने होइन । त्यस्तो वातावरण तयार गर्न युवाहरू स्वयम् आफ्नो ज्ञान, सीप र क्षमता देशमै लगाएर अघि बढ्नुपर्छ ।
नेपालको राजनीतिमा अहिलेसम्म सरकारमा गएका दलहरूले व्यक्तिगत फाइदा र दलगत स्वार्थको निम्ति मात्रै काम गरे । कहिले एक्लै त कहिले संयुक्त सरकार बनाएर देशको ढुकुटीमा ब्रह्मलुट गरे । हरेक क्षेत्रमा सरकारी दलका कार्यकर्ताहरू भागबन्डामा नियुक्त गरेर भ्रष्टाचार गरे, परिणाम राजनैतिक दलहरू भ्रष्टाचारमा चुर्लुम्म डुबे र बद्नाम भए । त्यस्ता गलत काम गर्ने राजनैतिक दलका नेता, कार्यकर्ताहरूको हाकाहाकी विरोध र आलोचना गर्नु आजका युवाहरूको कर्तव्य र जिम्मेवारी हो ।
पार्टीका नेताहरू र मन्त्रीहरूले जस्तोसुकै देशघाती र जनघाती काम गरे पनि भविष्यमा सांसद वा मन्त्री बन्ने आशामा त्यसको आलोचना र विरोध नगरी मौन बस्नु र गलत कामको साक्षी बस्नेहरू युवा हुन सक्दैनन् । उनीहरू त समाजका कलङ्कमात्र हुन् । गलत गर्ने नेताहरूभन्दा त्यसलाई आफ्नो स्वार्थको लागि सहेर बस्ने युवाहरू देशका लागि झन् खतरनाक हुन्छन् । यसबारे हाम्रा युवाहरू प्रस्ट हुनु जरुरी छ ।
२०४६ साल र २०६२/६३ को जनआन्दोलनमा युवाहरूको पनि महत्वपूर्ण भूमिका थियो । देशको राजनैतिक परिवर्तनका लागि पार्टी नेतृत्वसँगै धेरै युवाहरूले जेलनेल भोगे, प्रहरीको लाठी र बुट खाए, धेरै अपाङ्ग भए भने धेरैले आफ्नो ज्यान आहुती नै दिए । त्यतिबेलाका युवाहरूले प्रतिगामी तत्वहरूको दमन र पीडा सहेका थिए । ती युवाहरू विभिन्न सरकारका पालामा उपप्रधान तथा मन्त्री समेत भए तर देश र समाजको लागि काम गरेनन् । उल्टै उनीहरू पनि भ्रष्ट, तस्कर र कमिसनखोर बिचौलियाहरूको पछि पछि लागे र एउटै ड्याङका मुला साबित भए ।
अहिले युवाहरूको ठुलो पङ्क्ति नै आफूहरू राजनीतिबाट अलग भएको बताउँदै छन् । वास्तवमा कोही पनि व्यक्ति राजनीतिबाट अलग हुन सक्दैन । परिवर्तनको पक्ष नलिनेहरू प्रतिगामी हुन्छन् । आफू यथास्थितिवादी भनेर कोही भन्छन् भने उनी पनि प्रतिगामी कित्तामै परेका हुन्छन् । फेसबुक वा सामाजिक सञ्जालहरूमा नेताहरूलाई तथानाम गाली गर्दैमा युवाहरूले जिम्मेवारी पूरा गरेको मानिँदैन । हरेक युवा समाज परिवर्तनको लागि लाग्ने प्रण गर्दै अघि नबढेसम्म देशमा ठग, भ्रष्ट, तस्करका नाइकेहरूकै शासन चलिरहन्छ । जस्तोसुकै खोक्रो रुख पनि हुरी बतास नआएसम्म ढल्दैन भनेझैँ क्रान्तिकारी विचार बोकेका देशभक्त, असल र चरित्रवान सङ्गठित युवाहरूको ठुलो जमात भएका पार्टीहरूले आन्दोलन र क्रान्तिको नेतृत्व नगरेसम्म प्रतिक्रियावादीहरू आफै समाप्त हुँदैनन् ।
युवाहरूले के बुझ्न जरुरी छ भने कुनै पनि देशमा यत्तिकै परिवर्तन हुँदैन । एउटा पुस्ताले तत्कालीन शासकवर्गविरुद्ध लडेको परिणाम अर्को पुस्ताले त्यसको उपलब्धि उपभोग गर्न पाउने छ । गङ्गालाल, धर्मभक्त, शुक्रराज, दशरथ चन्दजस्ता युवाहरू राणा शासनविरुद्ध लडेर आफूहरू फाँसीमा झुन्डिन तयार नभएको भए सायद २००७ सालमा क्रान्ति हुने थिएन । २०४६ सालपछि जन्मेका आजका युवाहरूलाई त्यतिबेलाका निरङ्कुश व्यवस्थाले कति दमन गरेको भने थाहा नहुन सक्छ । विद्यालय र कलेजहरूमा इतिहासको विषय पढाइ नहुने हुँदा नेपालको गणतन्त्र प्राप्तिको लागि अग्रजहरूले गरेको योगदानबारे नबुझ्नुलाई युवाहरूको दोष भन्न मिल्दैन । त्यो पाठ्यक्रममा नराख्ने सरकारको दोष हो ।
अहिले राजावादीहरूले टाउको उठाउन थालेका छन् । ती राजावादीहरूको पछाडि युवाहरूको एक पङ्क्ति पनि देखिन्छ । ती युवाहरूलाई देशमा संवैधानिक राजतन्त्र र गणतन्त्र प्राप्तिको लागि अघिल्लो पुस्ताले गरेको त्याग र योगदानबारे जानकारी नभएर राजावादीको पछि लागेका हुन सक्छन् । कतिले नेताहरूलाई गाली गर्दै देश नै त्यागेका छन् र विदेशी नागरिक भएर बसेका छन् । त्यस्ताहरू कर्तव्यच्यूत युवाहरू हुन् । विदेशी भूमिमा बसेर, विदेशी नागरिकता लिएर देशका नेताहरूलाई गाली गर्नुको कुनै औचित्य छैन ।
पुँजीवाद र समाजवादबिच वैचारिक सङ्घर्ष चलिरहेको छ यो निरन्तर चलिरहनेछ । पुँजीवादले जनताको समस्या समाधान गर्न नसकेकै कारण संसारमा समाजवादको उदय भएको हो । समाजवाद संसारमा आजसम्म विकसित विचारहरूमध्ये सबभन्दा नवीन र क्रान्तिकारी विचार हो । २१ औँ शताब्दीलाई समाजवादको शताब्दीको रूपमा बदल्न युवाहरूले बोक्नैपर्ने विचार हो यो । मसानघाटमा खरानी भइसकेको राजतन्त्र पुनःस्थापनाको कुरा गर्नेहरू उमेर कम भए पनि उनीहरू युवा हुनै सक्दैनन् ।
राजनीतिलाई फोहर खेल भनी भाष्य खडा गरेर युवाहरूलाई राजनीतिमै आउन नदिने प्रतिगामीहरूले षड्यन्त्र गर्दै छन् । लाखौँ युवाहरू राजनीतिमा आबद्ध भएमा प्रतिगामीहरूको स्वर्ग डगमगाउनेछ । युवाहरूलाई राजनीतिबाट वञ्चित गर्ने र विदेश पठाउने जुन काम भइरहेको छ, त्यो समाजवादी क्रान्ति रोक्ने उनीहरूको दुष्प्रयास हो । कसैले चाहेर परिवर्तन वा क्रान्तिलाई रोक्न सक्दैन । हत्केलाले सूर्यलाई छेक्ने जतिकै त्यो असम्भव छ । एक दिन युवाहरूको ठुलो पङ्क्ति राजनीतिमा समाहित हुने छ र प्रतिगामीहरूलाई धुलोपिठो पारेर देशमा समाजवादको रातो झण्डा फहराइनेछ । खाली धैर्यताको मात्र खाँचो छ ।
२०८२/३/१
Leave a Reply