भर्खरै :

शासक दलका युवा विद्यार्थी पञ्चायती मण्डले पदचिह्नमा ?

नेपाली काङ्गे्रसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले गत जेठ १४ गते त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोड गरे । तोडफोडमा शङ्करदेव क्याम्पस नेविसङ्घका मदन उपाध्याय र भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति पुकार पराजुलीको संलग्नता रहेको सिसिटिभी फुटेजबाट स्पष्ट देखिए पनि उनीहरू पक्राउ परेनन् ।
प्रहरीले सानोठिमी क्याम्पसका स्ववियु सचिव दिक्पाल कार्की र शङ्करदेव क्याम्पसका विद्यार्थी लोकेश कुँवरलाई जेठ २७ गते पक्राउ गरेको थियो । उनीहरूविरुद्ध प्रमुख जिल्ला अधिकारीको आदेशमा सजिलै छुट्न सक्ने अभद्र व्यवहारको फितलो मुद्दा प्रहरीले दर्ता गरेको समाचार छ । यसकारण, पक्राउ परेको पर्सिपल्ट जेठ २९ गते नै उनीहरूलाई जनही १०–१० हजार धरौटीमा छोडियो । उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयबाटै दबाब आएपछि प्रहरीले कमजोर मुद्दा लगाएको आशङ्का छ । मुख्य आरोपी मदन उपाध्याय गृहमन्त्री रमेश लेखकको सचिवालय निकटका व्यक्ति रहेको चर्चा छ । उपकुलपतिको कार्यालय तोडफोड गर्नेले भोलिका दिनमा जघन्य अपराधसमेत गर्न पछि पर्ने छैन । शासक दलका कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि छुट पाउने जहानियाँ राणा शासन हो र ?
पञ्चायत शासनमा अपराधमा संलग्न मण्डलेहरूलाई विरोध गर्ने नेविसङ्घले आज लोकतन्त्र र गणतन्त्रको नाममा गुण्डाराज चलाउनु खेदको विषय हो । उपकुलपतिको कार्यालय तोडफोडमा संलग्न हुनेहरू नै प्रहरी वृत्तमा पुगेर प्रहरीलाई धम्क्याउने, प्रहरी कार्यालयमा उजुरी दिएको विषयलाई लिएर त्रिविका पदाधिकारीलाई धम्क्याउने र प्रहरी निरीह हुनुपर्ने अवस्थाले देशमा कानुनी शासन नभएको स्पष्ट गर्दैन र ?
गृह मन्त्रालयको आडमा त्रिविमा आतङ्क सिर्जना भएपछि त्रिविका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरू आफ्ना काममा समर्पित भएर लाग्ने अवस्था भएन । कार्यालय तोडफोडमा संलग्न सबैलाई पक्राउ गर्नुपर्नेमा दुई जनालाई मात्र किन पक्राउ गरियो ? के प्रहरीसँग सिसिटिभी फुटेजको रेकर्ड छैन र ? सिसिटिभी फुटेजमा देखिएका सबैमाथि किन छानबिन गरिएन ? साथै उपकुलपतिको कार्यालय तोडफोड भएको वास्तविक प्रमाण हुँदाहुँदै अभद्र व्यवहारको फितलो मुद्दामात्रै किन लगाइयो ?
शासक दलले आफ्ना युवा विद्यार्थीलाई पञ्चायतका मण्डलेको पदचिह्नमा हिँडाएर देश उँभो लाग्दैन । नेपालीमा एउटा उखान छ–“जो पानीमा खेल्छ पानीमै मर्छ, जो आगोमा खेल्छ आगोमै मर्छ” शासक दलका नेताहरू बेलैमा सचेत हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *