जारशाही संसद्मा बोल्शेभिक सांसद – ५
- कार्तिक २३, २०८२
आजभोलि सडक खाना अर्थात् स्ट्रिट फुड नेपालको सहरी जीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनेको छ । काठमाडौँ, पोखरा, धरानदेखि वीरगञ्ज, चितवनदेखि नेपालगञ्जसम्मका सडकहरूमा सजिलैसँग देखिने ‘मोःमो’, ‘चटपटे’, ‘सेल रोटी’, ‘पानी पुरी’, ‘चाट’, ‘भक्का’, ‘पकौडा’, ‘समोसा’, ‘चाउमिन’, ‘घमन्जा’ जस्ता विविध स्वादका परिकारहरूले नेपाली समाजको विविधता र स्वादप्रतिको मोहलाई प्रतिबिम्बित गर्छन् । यस्ता प्रकारका सडक खानाले सांस्कृतिक समृद्धि र आर्थिक अवसर प्रदान गर्ने भए तापनि यसले जनस्वास्थ्य, खाद्य स्वच्छतालगायतका विषयमा नीतिगत चुनौतीहरू पनि सिर्जना गरेको पाइन्छ ।
सस्तो, छिटो र मिठो
नेपालमा सडक खाना व्यवसाय अनौपचारिक क्षेत्रअन्तर्गत पर्दछ, जसले हजारौँ निम्न–आय भएका परिवारहरूलाई रोजगारीको अवसर प्रदान गरेको छ । खासगरी सहरी क्षेत्रमा बसाइँ सरेका, औपचारिक रोजगार नपाएका, महिलाहरू र सीप भएका तर पुँजी नभएका व्यक्तिहरूका लागि यो आय आर्जनको एउटा सजिलो माध्यमको रूपमा रहेको छ । यस्ता खानेकुराहरू सस्तो, छिटो र सहज उपलब्ध हुने भएकाले महोत्सव, साँझको समय तथा मेलाहरूमा विद्यार्थी, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा आन्तरिक तथा बाह्य पर्यटकहरू यसप्रति बढी आकर्षित हुने गरेको पाइन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने खाद्य सुरक्षाको चुनौती रहिरहेको अवस्थामा सडक खाना त्यस्तो समूहको लागि सस्तो मूल्यमा पेटभरि खान सकिने उत्तम विकल्पको रूपमा रहेको छ ।
सांस्कृतिक झल्को
सडक खानाले नेपाली पहिचानको प्रतिनिधित्व पनि गर्ने गर्दछ । नेपालका विभिन्न क्षेत्रीय परिकारहरू जस्तै नेवारी खाजा र यमरी, थकाली खाना, तराईको समोसा र चाट, थारु समुदायको ढिक्रीजस्ता खानेकुरा सडकमा सजिलै पाइन्छन् । यो विविधता स्वादका लागि मात्र नभई नेपाली समाजमा विद्यमान जातीय र सांस्कृतिक सम्पदा झल्काउने उदाहरण पनि हो ।
कत्तिको स्वस्थकर ?
स्वादिलो र सस्तो हुने भएकोले सडक खाना अत्यन्तै लोकप्रिय छ, तर जनस्वास्थ्यका दृष्टिकोणले यो त्यति सुरक्षित मानिँदैन । अस्वस्थकर तरिकाले खाना पकाउने प्रक्रिया जस्तै एउटै तेल पटक–पटक प्रयोग हुनु, अखाद्य रसायनहरूको अधिक प्रयोग, अत्यधिक नुन, मसला र एसिडको प्रयोग, दूषित पानीको प्रयोग, खुला ठाउँमा राखिएका खाना, फोहोरको व्यवस्थापनमा न्यून ध्यान हुनु र खानेकुराको उचित भण्डारण नगर्नु र सडक खानाका कारणले गर्दा उपभोक्ताहरू विभिन्न रोगहरूको जोखिममा पर्ने सम्भावना अत्यन्तै धेरै हुने गरेको छ । जस्तैः– झाडापखाला, टाइफाइड, हैजा, हेपाटाइटिस, पेटसम्बन्धी सङ्क्रमणहरू र फुड पोइजनिङका केसहरूमा सडक खाना नै प्रमुख कारकको रूपमा पाइने गरेको छ ।
नीतिगत एवं व्यवस्थापन पक्ष
नेपालमा सडक खाद्य व्यवसायलाई नीतिगतरूपमै सम्बोधन गर्ने विशेष कानुनी संरचना अझै विकसित भएको छैन । अधिकांश सडक व्यापारीहरू अनधिकृतरूपमा व्यवसाय सञ्चालन गरिरहेका हुन्छन्, जसले गर्दा उनीहरू नगरपालिकाको कर प्रणालीमा समेत समावेश हुन भएका हुँदैनन् ।
सहरी योजना निर्माण गर्दा सडक खानाको व्यवस्थापनलाई पनि नीति निर्माणकै तहबाट समावेश गर्नु आजको आवश्यकता हो । सडक व्यापारीहरूलाई आवश्यक स्वच्छता तालिम दिएर, स्वास्थ्य मापदण्डको पालना, स्थानीय तहमार्फत दर्ता गराई लाइसेन्स प्रणाली लागु गरेर, खाद्य अनुगमन स्वस्थकर र सन्तुलित खानेकुराहरू प्रोत्साहित गर्नु सडक व्यापारलाई व्यवस्थित गरी ‘फुड जोन’ को अवधारणा विकास गर्नु र सुरक्षित फोहोर व्यवस्थापनजस्ता उपायहरू अपनाएमा सडक खानालाई व्यवस्थित एवम् स्वस्थ बनाउन सकिन्छ ।
सडक खाद्य नेपालमा खाना खाने प्रक्रियामात्र नभई, जीविकोपार्जन, सांस्कृतिक पहिचान र सामाजिक प्रक्रियाको एक महत्वपूर्ण अंश हो । यद्यपि, यससँग जोडिएका स्वास्थ्य जोखिम र व्यवस्थापनको चुनौतीलाई नसम्झिएसम्म यो क्षेत्र दीगो र सुरक्षितरूपमा अगाडि बढ्न सक्दैन । नीति निर्माताहरू, स्थानीय तह, स्वास्थ्यकर्मी र उपभोक्ताहरू सबै मिलेर सडक खाद्यलाई सुरक्षित, पौष्टिक र व्यवस्थित बनाउने प्रयास गर्नु आजको आवश्यकता हो ।
(जनस्वास्थ्यकर्मी रिमाल हाल नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखामा कार्यरत छन्)
Leave a Reply