भर्खरै :

राजनीति देश र जनताको पक्षमा हुनुपर्छ

राजनीति देश र जनताको पक्षमा हुनुपर्छ

देशको राजनीति बुझ्न कुन दलले कुन वर्गको प्रतिनिधित्व गरिरहेको छ भन्ने कुरा जनताले राम्ररी पर्गेल्नुपर्छ । देशमा खोलिएका राजनीतिक दलहरूमा सामन्त, पुँजीपति, प्रतिक्रियावादी, भ्रष्टाचारी, कमिसनखोर, अपराधीहरूको सेवा गर्नेदेखि श्रमजीवीवर्गको हितमा खोलिएका दलहरू छन् । देशमा भ्रष्टाचारी र कमिसनखोरलाई पोस्ने, अर्बपति, खर्बपतिहरूको पक्षमा लाग्ने दलहरू मात्र होइन सङ्कीर्णवादी, जातिवादी तथा देश भड्काउने, देश विखण्डन गर्ने चरित्रका दलहरू देखिएका छन् । आफूलाई कम्युनिस्ट भनिएका कति दलहरू झूटको राजनीति गरी कम्युनिस्टको नाउँमा पुँजीपतिवर्गको पक्षमा काम गर्नेहरू पनि यहाँ नभएका होइनन् ।
कम्युनिस्ट पार्टीको नाउँमा, परिवर्तन गर्ने नाउँमा सरकारमा गएर पुँजीपतिवर्गकै पक्षपोषण गर्ने दलले पनि पटकपटक सरकारको नेतृत्व ग¥यो । जनताको बहुदलीय जनवाद भन्दै आमूल परिवर्तनको बाटोलाई भुल्ने दलहरू देखिए । ‘कम्युनिस्ट’ को नाउँमा शासकहरूले नेपाली कामदार जनतामाझ कहिले समाजवाद, कहिले समाजवादी क्रान्तिको ध्वाङ फुकेर झूटको खेती गरे† खेती गरिरहेका छन् । एमाले भाइ–काङ्ग्रेस बनेको राजनीतिक विश्लेषण घटनाक्रमले पुस्टि हुँदै छ । नेकाको सहयोग र समर्थनमा एमालेको नेतृत्वमा सरकार गठन भयो । नेकाको समर्थन र सहयोगमा माओवादीको नेतृत्वमा सरकार गठन भयो । कम्युनिस्ट भनिने दलहरूको कम्युनिस्टविरोधी या पुँजीपतिवर्गको हित गर्ने दलसँग गठबन्धन गर्नुको रहस्य के ? कम्युनिस्ट भनिने दलले पुँजीवादी बन्दोबस्तलाई मलजल गरेसम्म, उनीहरूको पछि लागेसम्म नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्दैन† कम्युनिस्ट पार्टी बलियो हुँदैन । यसले देशमा समाजवाद स्थापना हुँदैन ।
समाजवादको कुरा त नेकाले पनि गरेको थियो । पञ्चायती शासकहरूले ‘शोषणरहित समाज’ स्थापना गर्ने कुरा खोकेका थिए । समाजवाद र समाजवादी क्रान्तिको कुरा खोकेर, लोभलालच बाँडेर यहाँ परिवर्तन सम्भव छैन । समाजवादी क्रान्ति गरेर कामदारवर्गको प्रतिनिधित्व गर्ने समाजवादी व्यवस्था ल्याउनको निम्ति कम्युनिस्ट पार्टीहरूले पूर्वाधारहरू तयार गर्दै जानुपर्छ । सोहीअनुसार जनतामाझ गई सुसूचित पार्ने काम गर्नुपर्छ । समाजवाद स्थापना गर्न व्यक्तिगत सम्पत्तिभन्दा सार्वजनिक सम्पत्तिलाई माया गर्ने, व्यक्तिगत स्वार्थभन्दा समुदायको स्वार्थ हेर्ने, देश र जनताको पनि निःस्वार्थपूर्वक सेवा गर्ने काममा पार्टी नेता तथा कार्यकर्ताहरू जुट्नुपर्छ ।
कामदारवर्गका जनताको सेवा गर्न र गराउन नेपालका कम्युनिस्ट पार्टीहरूले नेपालजस्तै सानो देश क्युवा र प्रजग कोरियाबाट सिक्नुपर्ने हो; त्यहाँको सरकारले जनताको निम्ति के काम ग¥यो ? देश जोगाउन के कदम चाल्यो र प्रगति ग¥यो भन्नेबारे सिक्नु जरुरी छ । आफूलाई ठुला भनिने नेपालका कम्युनिस्ट पार्टीहरू समाजवादी आन्दोलनमा लागेका, श्रमजीवीवर्गको हितमा राजनीति गरिरहेका दलहरूको विरोध गर्छन् र आफू पुँजीवादी दलसँग साँठगाँठ गर्छन् । नेपालका ठुला भनिने कम्युनिस्टहरू पुँजीवादी चुनावबाट समाजवाद आउँछ भन्ने विचार अघि सार्छन् । यो संशोधनवादी विचार हो । संशोधनवादी विचार अँगाल्ने दलहरू अवसरवादी हुन्† अवसरवादी दलले आमूल परिवर्तनको बाटो खोज्दैन ।
कम्युनिस्टहरू देश र जनताको स्वार्थ छोडेर विदेशीको स्वार्थ हेर्दैनन्; देशलाई दूरगामी असर पर्ने कुनै सन्धि सम्झौता गर्दैनन् । विदेशी शक्ति राष्ट्रहरूसँगको असमान सन्धि सम्झौताले देश नै नरहने खतरा निम्तिन सक्छ । देश विकासको निम्ति आर्थिक सहयोग र विकास योजना ल्याइएको छ भनेर आफ्नो देशको स्रोत र साधन सुम्पिने, देशको भूमि मिचे पनि टुलुटुलु हेरेर बस्ने, विदेशी शक्ति राष्ट्रको उठबस या दबाबमा बस्ने कुनै पनि सरकारले देशको भलो गर्दैन । भारतले आफ्नो देशको भूमि मिचेको सन्दर्भमा सरकारले एक शब्द बोलेन । यसको कारण विदेशीले एकपछि अर्काे नेपाली भूमि मिचिरह्यो । नेपालको भूमि साँगुरिँदै गयो । यसबारे देशकै सबभन्दा शक्तिशाली भनिने दलहरूले चुइँक्क बोलेनन् । शासकहरूलाई देश र जनताको समस्याबारे चिन्ता र चासो छैन । उनीहरू जसरी भए पनि दल ठुलो बनाउने, सरकारको नेतृत्व गर्ने, सरकार लम्ब्याउने, सरकारमा जान जुनसुकै दलसँग पनि भागबन्डा या गठबन्धन गर्ने काममा केन्द्रित भए । दल प्रजातान्त्रिक या कम्युनिस्ट जे भनिए पनि हालसम्म सरकारमा गएको दलले श्रमजीवीवर्गको हित या पक्षमा काम गरेन । बरु, उनीहरूले श्रमजीवीवर्गका जनताको मत लिएर उनीहरूकै अहितमा काम गरे । बहुमत जनतामा राजनीतिक, वैचारिक र सांस्कृतिक स्तरको अभावको कारण शासकहरूले फाइदा लिए ।
कुनै दलले सरकारको नेतृत्व गर्दैमा त्यो कम्युनिस्ट पार्टी हुने होइन; न त दुईतिहाइ मत प्राप्त गर्दैमा हुन्छ । कम्युनिस्ट पार्टी दलको नाउँले हुने होइन; उसको काम या व्यवहारले हुने हो । कम्युनिस्ट पार्टीको सिद्धान्त बोकेर पुँजीवादी राजनीति गर्छ भने त्यो दल जतिसुकै ठुलो, बलियो भए पनि कम्युनिस्ट पार्टी हुनेछैन । कुनै पार्टी आफूलाई कम्युनिस्ट दाबी गर्छ तर जातजाति, भाषाभाषी, क्षेत्रीयता र धार्मिक कुरा गरी जनताको मत लिने राजनीति गर्छ । जातजातिको बखान गरेर, साम्प्रदायिक भावना फैलाएर मत लिने दलहरू कसरी सद्दे राजनीति गर्ने दल हुन्छन् ? कम्युनिस्ट भनिएका दलको नेतृत्वमा बनेको सरकारले कमसेकम संविधानमा उल्लेख भएका समाजवादउन्मुख अवधारणअनुसार काम गर्नुपर्ने हो, त्यसलाई लागु गर्न प्रक्रिया अघि बढाउनुपर्ने हो । विगतको कुनै पनि सरकारले त्यो काम गरेन । सरकारको नेतृत्व गरेर दलले सुख सुविधा लियो; नेता कार्यकर्ता पोस्ने काम ग¥यो । सरकारको यस्तै कार्यशैलीले जनतामा असन्तोष बढ्यो; जेन–जी जन्म्यो र उसले एमालेको नेतृत्वमा बनेको शक्तिशाली सरकारलाई लखेट्यो या पन्छायो र सरकार ढल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *