वैदेशिक हस्तक्षेपविरूद्ध जनता सधैँ सचेत रहनुपर्ने
- कार्तिक २३, २०८२

धनुषा, २२ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको चेतनास्तरलाई पहिलो प्राथमिकतामा राखी भक्तपुर नगरपालिकाले काम गर्दै आएको चर्चा गर्दै भक्तपुर नपाले शिशुस्याहार केन्द्र देखि उच्चशिक्षा हासिल गर्ने सात वटा शैक्षिक संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।
धनुषाको जनकपुरस्थित मिथिलाञ्चल एफएमसँगको अन्तरसंवाद कार्यक्रममा उहाँले भन्नुभयो, “क्षेत्रफलको हिसाबले देशकै सानो भक्तपुर नगरपालिका जनघनत्व बढी भएको नगर हो । भनपाले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत विषयहरूलाई प्राथमिकता राखी काम गर्दै आएको छ ।”
प्रमुख प्रजापतिले सामुदायिक विद्यालयको शैक्षिक सुधारलाई नपाले जोड दिँदै आएको र सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले कलेजहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
विद्यालय शिक्षा राम्रो बनाउन शिक्षकहरू नै योग्य र सक्षम हुनुपर्ने धारणा राख्दै उहाँले शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष ढङ्गले परिष्कृत गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै नपाले व्यवस्थित आदर निकेतन सञ्चालनको तयारी गरिरहेको अवगत गराउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले भविष्यमा विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारहरू निर्माणमा जोड दिँदै आएको बताउनुभयो ।
ख्वप विश्वविद्यालत्न्दा पछाडि प्रस्ताव गरिएका विश्वविद्यालयहरू पारित भएर पनि सञ्चालन भइसके तर ख्वप विश्वविद्यालयलाई शासकहरू पूर्वाग्राही सोच राखेरै सम्बन्धन नदिएको उहाँले प्रस्ट पार्नुभयो ।
गरिब तथा जेहेनदार विद्यार्थी शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यले नपाले सहुलियत दरमा शैक्षिक ऋण, छात्रवृत्तिको व्यवस्था गर्दै आएको उल्लेख गर्दै उहाँले भक्तपुरलाई स्वास्थ्यको केन्द्रको रूपमा विकास गर्न खोजिरहेको बताउनुभयो ।
नगरवासीहरूलाई निःशुल्क रगत र अक्सिजन उपलब्ध गराई भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालले ३६५ दिन नै जनतालाई स्वास्थ्य सेवा सुलभ रूपमा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
सांस्कृतिक नगर भक्तपुरमा घुम्ने पर्यटकहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ भन्दै उहाँले कुहिने फोहोरको मल उत्पादन गरी भक्तपुर नपाले कृषकहरूलाई सहुलियतदरमा मल वितरण तथा बीउबिजनहरू वितरण गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले कृषकहरूलाई विषादीको प्रयोग जथाभावी नगर्न कृषकहरूलाई शिक्षित पार्दै आएको र भक्तपुर नपाले सम्पदा पुनःनिर्माणको काम उपभोक्तामार्फत गरिरहेको बताउनुभयो ।
Leave a Reply