भर्खरै :

वैदेशिक हस्तक्षेपविरूद्ध जनता सधैँ सचेत रहनुपर्ने

वैदेशिक हस्तक्षेपविरूद्ध जनता सधैँ सचेत रहनुपर्ने

बारा, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टी बारा जिल्ला समितिको आयोजनामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपालमा पटक पटक राजनैतिक परिवर्तन भए तर मधेसी जनताको जीवनस्तरमा खासै कुनै परिवर्तन नदेखिएको बताउनुभयो ।
विचार र सिद्धान्तबिना भिडको आधारमा हुने परिवर्तन लामो समयसम्म टिक्न नसक्ने चर्चा गर्दै उहाँले नेमकिपाले विचार र सिद्धान्तको आधारमा वैचारिक सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
अस्थिर अवस्थामा विदेशी हस्तक्षेप हुनसक्नेप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वैदेशिक हस्तक्षेपविरूद्धको आन्दोलनलाई थप सशक्त पार्नु आवश्यक छ भन्नुभयो ।
देशलाई पुरानै अवस्थामा फर्काउन भ्रष्टाचारीहरूलाई सजाय दिएर निर्वाचनतर्फ लाग्नु बुद्धिमानी हुने उहाँले बताउनुभयो ।
अन्नको भण्डारको रूपमा रहेको तराई आज बाँझो जमिनमा परिणत हुने खतरा बढ्दै गएको उल्लेख गर्दै उहाँले कम्युनिष्ट भनिने नेताहरूको शासन निजीकरणतर्फ गइरहेको बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “नक्कली कम्युनिस्टले देशलाई भड्खालोमा पारेको छ । निर्वाचनमा पटक पटक शासन सत्तामा गएर जनतालाई धोखा दिने शासकहरूलाई जिताउनु नै जनताको ठुलो गल्ती हो ।”
हरेक वस्तुमा नेपाललाई भारतनिर्भर बनाउने भारतको दुस्प्रयास जारी रहेको छ† भारतले नेपाललाई कहिल्यै स्वतन्त्र हुन नदिएको यथार्थबारे नेपाली जनता सचेत हुनुपर्छ, उहाँले भन्नुभयो ।
समाजवादी देश क्युवा, प्रजग कोरियाको आत्मनिर्भरताको पाठ नेपालले पनि सिक्नुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय प्रजापतिले इजरायलको विरोधमा प्यालेस्टिनी जनताले आफ्नो देशको रक्षाको लागि खेलिरहेको भूमिका सबैको लागि उदाहरणीय बनेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्तिप्रसाद यादवले नेमकिपाका नेता तथा कार्यकर्ताहरूले इमानदारीपूर्वक जनताको सेवा गर्दै आइरहेको चर्चा गर्दै निर्वाचनमा जनता सचेत भए मात्र देशले असल नेतृत्व पाउने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका मधेश प्रदेश समितिका सदस्य सरोज साहले नेमकिपाले भारतीय एकाधिकार पुँजी, सीमा अतिक्रमणको सधँै विरोध गर्दै आएको उल्लेख गर्दै पार्टी स्थापना भएदेखि आजसम्म देशमा भएका विभिन्न चरणका राजनैतिक आन्दोलनहरूमा नेमकिपाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य तथा मधेश प्रदेश समितिका सदस्य रोशनमैंया सुवालले देशमा ठुल्ठुला परिवर्तन र आन्दोलन भए तापनि तराईका जनताको जीवनस्तरमा खासै परिवर्तन नहुनु दुःखद पक्ष भएको बताउनुभयो ।
नेमकिपाले गरिब किसानको हकहितमा काम गर्दै आएको बताउँदै उहाँले नेमकिपाको इतिहास किसान र मजदुरको जनजीविकासँग जोडिएको छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *