भर्खरै :

धान दिवसपछि कोदो मकै दिवस पनि !

धान दिवसपछि कोदो मकै दिवस पनि !

हरेक वर्ष असार १५ गते धान दिवस मनाइन्छ । यो वर्ष पनि मनाइयो । विशेषतः यो दिन राष्ट्रपतिले धान रोपेको कुरा सामाजिक सञ्जालमा फैलियो । यसअघिका वर्षमा पनि कहिले गमलामा धान रोपेर र कहिले बेहुलाले दुबोको माला लगाएझैँ धानको बीउको माला लगाएर मनाइन्थ्यो । दहीच्युरा खानु त परम्परा र फेसन भइहाल्यो । कृषिप्रधान देशमा हाम्रा दैनिक खाद्यान्न आयात गरिन्छ । अनि धान दिवस औपचारिकमा मात्र मनाउनु लाजमर्दो भएको छ । धान दिवसलाई साँच्चै सार्थक बनाउने हो भने त्यो दिन यस्ता कार्यक्रम गरिनुपथ्र्यो जसलाई आगामी दिनमा योजना बनाइने भन्ने आशा गरौँ :
(क) किसानलाई धानको नयाँ जातको जानकारी,
(ख) सिँचाइको लागि ठाउँ–ठाउँमा बनेका नयाँ नहर, कुलोको उद्घाटन र नयाँ ठाउँमा शिलान्यास,
(ग)सरल, सहज र सस्तो खालको प्रविधिको प्रदर्शन,
(घ) नयाँ यन्त्र र औजारको प्रयोग र प्रदर्शन,
(ङ) राष्ट्रियस्तरमा रासायनिक मल कारखानाको शिलान्यास,
(च) प्रदेशस्तरमा प्राङ्गारिक मल, जैविक मल प्रशोधन केन्द्रहरूको सुरुआत,
(छ) पालिकास्तरमा धैचा, एलोजाजस्तो माटोको उर्वरता बढाउने बालीको प्रदर्शन र स्थानीय जातको संरक्षण ।
(ज) चैते धानलाई सुकाउने प्रविधिको प्रदर्शन,
(झ) स्थानीय स्तरमा उत्कृष्ट किसानलाई सम्मान कार्यक्रम,
(ञ) विद्यार्थीहरूलाई रोपाइँ कार्यक्रममा सहभागिता,
(ट) कृषि र किसानलाई बीमाको सुरुआत,
(ठ) धानको न्यूनतम समर्थन मूल्यको घोषणा,
(ड) झिनुवा, अनदी, जेठो बूढो, मार्सी, काला निमकजस्ता मिठा र सुगन्ध आउने स्थानीय रैथाने जातहरूको संवद्र्धन कार्यक्रमको सुरुआत,
(ढ) कृषि पर्यटनको प्रवद्र्धन,
(ण) अहिले वार्षिक ५० औँ अर्बको धान चामल आयातलाई प्रतिस्थापन गर्न देशव्यापी रूपमा कम्तीमा २ लाख हेक्टरमा चैतै धान लगाउने ठाउँको छनोट गर्दै अत्यावश्यक पूर्वाधार जुटाउने वातावरण निर्माण,
(त) सभ्य र शालीन रूपमा रोपाइँ कार्यक्रम सुरु गर्ने, हिलोमा खेल्ने र प्रकृतिको नजिक हुने ।
यी र यस्तै कामलाई सङ्घीय सरकारबाट एकैप्रकारको राष्ट्रिय धान नीति तयार गरेर केन्द्र प्रदेश र पालिका स्तरमा लागु गर्ने ।
धानका साथै कोदो मकै पनि हाम्रा अति उपयोगी र मुख्य बाली हुन् । त्यसैले देशमा कोदो मकैको उत्पादन बढाउने हेतुले ‘कोदो मकै दिवस’ पनि मनाउने कार्यक्रम ल्याउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *