अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
–राकस्था
संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री केपी ओलीले ‘अब देशमा भ्रष्टाचार हुँदैन’ भन्ने विचार राखे । भ्रष्टाचारको धमिराले देशलाई खोक्रो बनाएको यथार्थ प्रधानमन्त्रीले देख्नु सकारात्मक पक्ष हो । आदर्श समाजको परिकल्पना गर्नु पनि सुन्दर पक्ष हो, तर भ्रष्टाचार नामको रोगको जीवाणु पत्ता नलगाई उपचार गर्न सकिन्न । भ्रष्टाचारको हाँगो काट्ने कि जरा ? निक्र्योल गर्नुपर्ने यही हो । ‘स्कूल पढाउन सरकारी नहुने, उपचार गर्न निजी अस्पताल खोज्ने तर जागीर चाहिं सरकारी नै चाहिने’ नेपाली धारणाले मलजल पाइरहेको छ । नेपालीमा एउटा अत्यन्तै चर्चित भनाइ छ, ‘सरकारको काम कहिले जाला घाम’ ।
भ्रष्टाचारले जीवनका हरेक पक्ष गाँजिसकिएको छ । अझ राजनीतिक भ्रष्टाचारले आम जनजीवनलाई प्रभावित बनाई पूरा समाजलाई भ्रष्टाचारउन्मुख बनाएको छ । आजको नेपाली समाजको छायाँझैं बनेको भ्रष्ट आचरणले देशलाई रसातलतिर धकेल्दै छ । सबैले थाहा पाएको तर कति ठाउँमा आँखा चिम्लिदिने विषय हो भ्रष्टाचार । मौका नपाएसम्म इमानदार बन्ने प्रवृत्ति भएसम्म देशको उन्नति एवम् प्रगति कल्पनामात्र हो । भ्रष्टाचार सबैको चासो र चिन्ताको विषय हुनैपर्छ । कार्ल माक्र्स र एँगेल्सले कम्युनिष्ट घोषणापत्रमा समाजवादी व्यवस्था हुँदै साम्यवादी समाजमा मात्र वर्गभेदको अन्त्य भई भ्रष्टाचारको अन्त्यको परिकल्पना गर्नुभयो ।
भ्रष्टाचार अहिलेसम्मको समाज व्यवस्थाको विशेषता नै हो । समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू राज्य वा सार्वजनिक सम्पत्ति हुन्छ, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, निःशुल्क शिक्षा र स्वास्थ्य उपचारको बन्दोबस्त हुने र सरकार जनताप्रति उत्तिकै उत्तरदायी हुने भएकोले भ्रष्टाचार सीमान्त रुपमा नियन्त्रित हुन्छ । सबैलाई आवश्यकताअनुसार सबै बन्दोबस्त राज्यले सुनिश्चित गरेको अवस्थामा एउटा आदर्श समाज बन्छ र त्यहाँ लोभ, पाप, छल, ढाँटजस्ता कुसंस्कारको पनि अन्त्य हुन्छ । आचार्य विष्णुगुप्त चाणक्यले भ्रष्टाचार अनेक रुपमा विद्यमान रहने उल्लेख गर्दै जसरी जिब्रोमा राखेको महको स्वाद नलिन असम्भव हुन्छ ठीक त्यसरी नै कुनै प्रशासकीय अधिकारीको लागि राज्यको राजश्वको एक अङ्ग भक्षण नगर्नु असम्भव हुन्छ भनेका छन् ।
चाणक्यले दास युग एवम् सामन्तवादी समाजलाई देखे तर वैज्ञानिक समाजवादको कुरा युगौंपछि मात्र पत्ता लाग्यो । नत्र उनी पनि भन्न बाध्य हुन्थे, सबैलाई योग्यताअनुसारको काम र आवश्यकताअनुसारको ज्यालाको व्यवस्था हुँदा र एउटा आदर्श समाज विकास भएपछि भ्रष्टाचार बाँकी रहन्न । नेपालको सन्दर्भमा पनि युगयुगदेखि भ्रष्टाचार कायम छ र पछिल्लो चरणमा भ्रष्टाचारले चुली छोएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले बर्सेनि सम्पादन गर्दै आएको तथ्याङ्क हेर्ने हो भने प्रस्ट छ, नेपाल विश्वका चरम भ्रष्ट मुलुकको कित्ताबाट उम्किन सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन समाजवादी मुलुकको हकमा अत्यन्तै पूर्वाग्रही रुपमा प्रस्तुत भएको कुरालाई बेवास्ता गर्न भने सकिन्न । नत्र जुन देशमा उत्पादनका सबै साधनहरू राष्ट्रियकरण गरिएको छ, निजी व्यापार पटक्कै हुन्न, आवास सबै सरकार वा समाजले नै निर्माण र वितरण गरेको हुन्छ, निजी कार बस वा ट्रक आदि हुँदैन, ठेकेदार आदि हुँदैन लुगा र खाद्यान्नसमेत आपूर्ति सरकारबाटै हुन्छ, शिक्षा र स्वास्थ्य उपचारमा समेत निजी खर्च हुँदैन । त्यहाँ भ्रष्टाचारको प्रश्न कहाँबाट आउँछ ?
भ्रष्टाचार आर्थिक लेनदेनसँग मात्र सम्बन्धित छैन । सार्वजनिक क्षेत्रका कर्मचारीले दिने सेवामा ढीलासुस्ती, सार्वजनिक पदमा नियुक्तिमा राम्रो मान्छे होइन आफ्नो मान्छे भर्ना गर्ने, नियम र कानुनविपरीतका काम हुँदा आँखा चिम्लिने, अपराधीलाई छोड्ने र निरपराधीलाई कैद गर्ने आदि भ्रष्टाचारका अनेक रुपमध्ये केही हुन् । लाखौं रुपैयाँको मोबाइल फोन बोक्ने तर अफिसको फोनबाटै व्यक्तिगत व्यवसाय चलाउने, इँटा ढुवानीको क्रममा बाटोमै इँटा गायव पार्ने, अफिसमा घण्टौं फेसबुक चलाएर दिन कटाउने, अफिसबाट दिएको पेट्रोल सुविधाको दुरुपयोग गर्ने, सरकारी गाडी व्यक्तिगत वा पारिवारिक प्रयोजनमा लाने, कार्यालयका कर्मचारीलाई जबरजस्ती व्यक्तिगत काममा प्रयोग गर्ने, सामान किन्न जाँदा कमिसनमा भाग खोज्ने आदि नेपाली जनस्तरबाट समेत हुँदै आएको पाइन्छ ।
कानुनको कमजोरीबाट फाइदा उठाउने प्रवृत्तिलाई पनि भ्रष्टाचारको रुपमा लिनु आवश्यक छ । भ्रष्टाचार नियन्त्रणका अनेक संस्था बने तापनि भ्रष्टाचार नियन्त्रण भएको पाइन्न । उल्टो भ्रष्टाचार त संस्थागत हुँदैछ । तलदेखि माथिसम्मको मिलेमतोमा भ्रष्टाचार भएपछि तैं चुपमै चुपको स्थिति छ । स्थिति यति गम्भीर भइसकेको छ कि घूस नदिई वा सरल रुपमा काम भयो भने उल्टो शङ्का मान्नुपर्ने स्थिति छ, कतै फस्ने पो हो कि वा काम कच्चा पो हुने हो कि भनी ! भ्रष्टाचार दालभातजस्तो स्वाभाविक हुन पुग्नु समाजको नैतिक मूल्य र मान्यताको स्खलनको लक्षण हो । एकपटक नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईले अलिअलि घूस खाए पनि हुन्छ भनेको कुरा चर्चामा थियो । अलिकति भ्रष्टाचारलाई छोडौं भन्ने उनको भनाइ सरल वा ख्यालको विषय देखिन्छ, तर अण्डा चोर्ने छोरालाई छुट दिएपछि डाँकू बनेको यथार्थ भुल्नु कदापि हुन्न । जसरी अपराध सानोबाट सुरु हुन्छ र अपराधी ठूल–ठूला अपराध गर्न पुग्छ त्यस्तै भ्रष्टाचार पनि सानैबाट सुरु हुन्छ । राज्यको बागडोर सम्हाल्नेहरूले भ्रष्टाचारबाट देशको अर्थतन्त्रलाई भड्खालोमा पु¥याएको यथार्थ जगजाहेर छ । अहिले नेपाली राजनीतिको मुलीको काम गर्ने भनिएका चार दलका नेताहरूको नालायकपनमात्र होइन तिनको भ्रष्ट चरित्रको कारण देशमात्र होइन नयाँ पुस्ता पनि सङ्कटमा छ । तिनकै अनुकरण वा तिनकै निर्देशनमा विद्यार्थी राजनीतिलाई समेत भ्रष्टाचारमा कुहाउने कुत्सित प्रयास गरिँदै छ । स्ववियु निर्वाचन यसको एउटा ज्वलन्त नमुना बन्दै छ ।
भ्रष्टाचार ठूलालाई चैन सानालाई ऐनको उपमा बनेको छ । बहिदार, खरिदार वा सोसरहका पदमा रहनेहरूलाई भ्रष्टाचारमा कारबाही हुन्छ । खोला धमिल्याएको निहँुमा ब्वाँसोले पाठोको घाँटी निमोठेजस्तै कुरा नमिलेपछि साना र निमुखालाई बलिको बोका बनाएका घटना पनि यथेष्ट छन् । ‘म कुटेझैं गर्छु, तँ रोएझैं गर’ भन्ने उखानसँग मेल खान्छ, भ्रष्टाचार नियन्त्रणका नेपाली सरकारी अङ्गहरूका गतिविधि । आफ्नो काम वा अस्तित्व देखाउन कहिलेकाहीं कुम्भकर्ण निद्राबाट बिउँझेझैं ती अलिकति सल्बलाउन थाल्छन् तर अनुसन्धान तहकीकात गर्दा मुद्दा चलाउन आवश्यक पर्ने सबुदहरूको पर्याप्त सङ्कलन नहुँदा वा नगरिँदा प्रमाण नपुगी अपराधीहरूले छुट्कारा पाएको प्रशस्त उदाहरण छन् । सिंहदरबारका पदाधिकारीहरू इमानदार भएका भए प्रहरी र प्रशासनकै मिलेमतोमा भ्रष्टाचारले नेपालमा यति धेरै विकृति आउने थिएन भन्ने व्यापक जनताको धारणामा शङ्का गर्ने कुनै ठाउँ छैन । सर्वसाधारण जनता सामान्यतः इमानदार छन् तर न्यूनतम आवश्यकता पूरा गर्न मानिस कहिलेकाही विचलित हुन्छन् । गरिबी भ्रष्टाचारको कारण हो भन्ने कुरामा केही सत्यता हुँदाहुँदै पनि नेपालमा हुने भ्रष्टाचारका ठूला काण्डका सूत्रधार धनी र पहुँचवाल नै हुन् ।
उपभोक्तावादी पूँजीवादी संस्कृतिमा जसरी पनि धनी बन्ने प्रतिस्पर्धाले मानिसलाई भ्रष्टाचारमा अभ्यस्त बनाइरहेको छ । केटाकेटीलाई पढाउने पिरलो, डेरामा बस्दा हुने कचकचले आफ्नो छुट्टै घर बनाउने ध्याउन्ना, कुनै घातक रोग लागेको खण्डमा औषधि उपचार गर्न बैड्ढमा पैसा थुपार्नेपर्ने चिन्ताबाट अन्धो बनेपछि मानिसलाई अनैतिक कामतिर उन्मुख गरेको पाइन्छ । मानिस चिनिने आधार धन सम्पत्ति हुन थालेबाट त्यसले कसरी कमाएको भन्ने कुरालाई मतलब राख्न छोडेको पाइन्छ । भ्रष्टाचारी तिरष्कृत हुनुको साटो सम्मानित हुन थालेबाट भ्रष्टाचार मौलाएको कुरा पनि उत्तिकै सत्य हो । पैसाले इज्जत किन्ने होडबाजीले मानिसलाई अनैतिक बनाइरहेको छ । पैसा दिएर सम्मान गराइमाग्ने, पुरस्कृत हुने, स्वनामधन्य लेखक बन्ने, आफ्नो जीवनी लेखाउने आदि विकृति कथित बुद्धिजीवी र द्रव्यका कुवेरहरूले गर्दै आएका छन् । खेताला शिक्षक राख्नेलगायत काम गर्ने कालु मकै खाने भालुहरू ठूला कार्यक्रमका मञ्चहरूमा विराजमान हुँदा त्यसैको अनुकरण गर्ने वा त्यसैलाई मूलधारको संस्कार मान्ने गरेको यथार्थलाई चिर्नैपर्छ । भ्रष्टाचारको फोहरको थुप्रोमा आदर्श समाज निर्माण गर्न सम्भव छैन । भ्रष्टाचारको जरा भनेकै पूँजीवादी संरचना हो ।
पूँजीवादी व्यवस्थामा भ्रष्टाचार केही हदमा नियन्त्रण हुन्छ निर्मूल हुन्न । त्यसैले भनिन्छ, भ्रष्टाचार पूँजीवादी व्यवस्थाको छायाँ हो । पूँजीवादी बन्दोबस्तमा सामाजिक मूल्यमान्यता र मानिसको मनोभावनामै भ्रष्टाचार निहित रहेको हुन्छ । व्यक्तिगत स्वार्थ नै भ्रष्टाचारको मूल हो । भ्रष्टाचार नियन्त्रणको निम्ति निरोधात्मक र दण्डात्मक उपाय कडाइपूर्वक अपनाउन राज्य उत्तिकै उत्तरदायी एवम् जिम्मेवार हुनु जरुरी छ । मानिसको निम्नतम आवश्यकता पूरा हुने वातावरण बनाउने जिम्मेवारी राज्यको हो । भ्रष्टाचारविरोधी भावना जनस्तरबाटै उठाउन सकिन्छ, त्यसको लागि भ्रष्टाचारीविरोधी आन्दोलन चाहिन्छ । सम्पत्तिमा सीमा, आमोदप्रमोद र झिलिमिलीमा कडा नियन्त्रण, अपराधीमाथि कानुनी कारबाही, भ्रष्टाचार नियन्त्रणका कानुनका छिद्र हटाउने बन्दोबस्त, सादा जीवन र उच्च विचारको संस्कृतिको प्रचार आदि भ्रष्टाचार नियन्त्रणका केही उपाय हुन् । त्यसमा पनि शासकहरू भ्रष्टाचारबाट बच्नु पहिलो सर्त हो । सुत्केरी गराउँदा चिकित्सकले सामान्य अवस्थामा शल्यक्रिया गर्दैन, सिटामोलको प्रयोगले पुग्छ भने पनि एन्टिबायोटिक्स खान दिंदैन । भ्रष्टाचारलाई समूल हटाउन भने पूँजीवादी व्यवस्था नै हटाउनुपर्नेमा कसैले द्विविधा नराखे हुन्छ ।
Leave a Reply