भर्खरै :

आरएसएसले किसानलाई भन्यो -‘सोचाइ परिवर्तन गर… र गाईमा आधारित खेती गर’

– सवेरा
जतिखेर महाराष्ट्रको नाशिकदेखि मुम्बईसम्म ५० हजार किसानहरूले ऐतिहासिक लामो हिंडाइ (विरोध प्रदर्शन) गर्दै थिए, त्यसैबेला महाराष्ट्रको नागपुरमा राष्ट्रिय स्वयम्सेवक संघ – आरएसएसको उच्च सामूहिक अ· अखिल भारतीय प्रतिनिधिसभाको तीनदिने सम्मेलन सम्पन्न भएको थियो । वार्षिक रुपमा हुने उक्त सम्मेलन यस वर्ष मार्च ९ देखि ११ सम्म भयो । तर, उक्त सम्मेलनले किसानहरूको पक्षमा कुनै पनि प्रस्ताव पारित गरेन । जबकि उक्त सम्मेलनमा भाजपाबाट महाराष्ट्रको मुख्यमन्त्री बनेका देवेन्द्र फद्नाभिस स्वयम् र भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाह पनि उपस्थित थिए ।  उक्त सम्मेलनले देशको आर्थिक वा सामाजिक विषयहरूमा कैयौं प्रस्तावहरू पारित ग¥यो, तर किसानहरूका समास्याबारे तिनीहरू पूर्णतया मौन रहे । त्यो मौनतालाई देखेर सञ्चारकर्मीहरूले आरएसएसका नवनिर्वाचित महासचिव सुरेश ‘भैयाजी’ जोशीलाई पत्रकार सम्मेलनमा सोधे – ‘किसान समस्या र किसानहरूको लङ मार्चका सम्बन्धमा तपाईंहरूको दृष्टिकोण के हो ?’ भैयाजीले त्यसमा अत्यन्तै सावधानी अपनाएर जवाफ दिए – ‘कृषि नीति परिवर्तन गर्न जरुरी छ र सरकारले किसानहरूले सुपथ मूल्य पाउने सुनिश्चित गर्नुपर्छ ।’
त्यसपछि उनले थप दुईटा कुरा जोडे जुन अर्थहीन छन् ।  पहिलो – समस्याको बारेमा सोच्नु र समाधान निकाल्नु तिनीहरूको (सरकारको) काम हो । दोस्रो – किसानहरूले पनि आफ्नो सोचाइ बदल्नुपर्छ र खेती गर्नेबेला तिनीहरूले सरकारको नीतिमाथि ध्यान दिनुप¥यो । उनले किसानहरूलाई विरोध प्रदर्शनमा उत्रनुको साटो संयमताको दृष्टिकोण अङ्गाल्न सुझाव दिए ।  आरएसएस सत्तारुढ भारतीय जनता पार्टी – बीजेपीको वैचारिक आधार हो । यसले सरकारलाई दलित र आदिवासीहरूका लागि आरक्षणदेखि आर्थिक नीति बनाउने, सीमा सुरक्षा गर्नेदेखि आपत्काल सामना गर्नेसम्मका सबै विषयमा आफ्नो सल्लाह – सुझाव दिने गर्छ । कृषिका बारेमा आरएसएस प्रमुख मोहन भागवतले ३० सेप्टेम्बर २०१७ का दिन विजया दशमीको सम्बोधनमा धेरै कुरा भनेका छन् । आरएसएसका नेताहरूले अहिले केन्द्रीय सरकार र विभिन्न राज्य सरकार चलाइरहेका छन् ।
प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहसमेत आरएसएसका वरिष्ठ सदस्य हुन् । त्यस्तै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फद्नाभिस पनि ।  फेरि पनि आरएसएसले भन्दैछ कि किसानहरूका बारेमा सोच्नु सरकारहरूको काम हो । सरकारलाई दिनुपर्ने सल्लाह – सुझाव वा निर्देशन केही छैन ।  सायद यसको कारण भैयाजीकै भनाइमा लुकेको छ । उनले भनेका थिए – किसानहरूले आफ्नो सोचाइ बदल्नुपर्छ र खेती गर्नेबेला सरकारको नीतिमाथि ध्यानदिनुपर्छ । सडक प्रदर्शनमा उत्रनुभन्दा संयमताको दृष्टिकोण अङ्गाल्नुपर्छ । उनको आशय हुनसक्छ केन्द्रमा र कैयौं राज्यहरूमा हिन्दूराष्ट्रमैत्री सरकारले शासन गरिरहेका छन् र किसानहरूले आन्दोलनका नाममा ती जहाजलाई हल्लाउनुहुँदैन, विशेषगरी किसानहरूले रातो झण्डा बोक्नुहुँदैन । यो व्याख्यालाई आरएसएससम्बद्ध किसान सङ्गठन भारतीय किसान सभाका राष्ट्रिय सचिव मोहिनी मोहन मिश्राको भनाइले सत्य सावित गरिदियो ।  मिश्राले सञ्चारमाध्यमहरूसित भने – ‘यस किसिमका विरोध प्रदर्शनले हामीलाई कहीँ पनि पु¥याउँदैन । भर्खरैमात्र पनि तिनीहरूले (किसानहरूले) सडकमा अवरोध सिर्जना गरे । यो सही तरिका होइन । भारत सरकार किसानहरूलाई फाइदा हुने नीतिहरू लागू गर्न चाहन्छ तर सरकारले किसानहरूको हितमा केही गर्न पनि समय त लाग्छ । तिनीहरूले (प्रदर्शनकारी किसानहरूले) प्रतिक्षा गर्नुपर्छ ।’
नभनिएको सत्य के हो भने आरएसएस सुरुदेखि नै किसानहरूको शत्रु रहँदै आएको छ । विशेषगरी कम्युनिष्टहरूले नेतृत्व गरेको अखिल भारतीय किसान सभामा सङ्गठित किसानहरूसित आरएसएस र भारत सरकारको शत्रुता रहेको छ । अखिल भारतीय किसान सभाले संगठित गरेका र आयोजना गरेका विशाल किसान प्रदर्शनहरूलाई तिनीहरूले पचाउन सकेका छैनन् ।  त्यति मात्र होइन, किसान समस्याबारे आरएसएसको दृष्टिकोण के हो भन्ने स्पष्ट छैन । विगत दुई वर्षदेखि भारतका सबैजसो ग्रामीण क्षेत्रमा किसानहरूको विरोध प्रदर्शन चर्केको छ तर आरएसएस र भाजपा पूर्णतः मौन छन् । यथार्थमा आरएसएस र भाजपा किसानप्रति शत्रुता राख्छन् भन्ने तथ्य आरएसएसका प्रमुख मोहन भागवतको सम्बोधनबाटै प्रस्ट हुन्छ । भागवतलाई आरएसएसको मर्यादा क्रममा प्रतिनिधिसभाभन्दा माथि नै राखिन्छ र उनको भनाइलाई ब्रम्हवाक्य जत्तिकै मानिन्छ ।  बेला मौकामा भागवतले गर्ने सम्बोधनलाई आरएसएसको आधिकारीक नीतिको घोषणा पनि मानिन्छ । आफ्नो पछिल्लो विजया दशमीको सम्बोधनमा भागवतले कृषि समस्याका बारेमा लामो चर्चा गर्दै किसानहरूले राम्रो उत्पादन मूल्य पाउनुपर्ने, बढीभन्दा बढी प्रविधि उपलब्ध गराउनुपर्ने, बाली बिमा योजना र माटो परीक्षण आदि योजना अविलम्ब लागू हुनुपर्ने बताएका थिए । अन्तमा उनी कृषि समस्याबारे आफ्नो विचारको चुरोमा आइपुगे – हाम्रो देशका ठूलो सङ्ख्याका किसानहरू स–साना खेत भएकाहरू हुन् तिनीहरूसित सिंचाइ सुविधा छैन । किसानहरूले स–साना खेतमा खेती गरिरहेसम्म कृषि विकास सम्भव छैन ।
किसानहरूका लागि गाईपालनमा आधारित खेती गर्नु, विषादीरहित र कम पूँजीले हुने खेती गर्न सजिलो बाटो हुनसक्छ । त्यसैकारण सङ्घका स्वयम्सेवकहरू, सबै सम्प्रदायका सन्तहरू, अरु स्वयम्सेवी संगठनहरू र व्यक्तिहरूले गाई संरक्षण र गाईपालनलाई बढावा दिने गतिविधि गरिरहेका छन् ।  त्यसैले आरएसएसको लक्ष्य देशका दुईतिहाई साना किसानहरूको परम्परागत समाज र आधुनिक खेती प्रणालीलाई ध्वस्त पार्नु भएको स्पष्ट हुन्छ । उनीहरूका अनुसार यदि ८५ प्रतिशत घरपरिवारले गाईपालन गर्ने हो भने खेतीपाती गर्ने ४५ प्रतिशत किसानहरूले गाईको पिसाब, गाईको गोबर आदिलाई मलको रुपमा प्रयोग गर्नसक्नेछन् र तिनीहरूको समस्या स्वतः समाधान हुनेछ । सिंचाइ सुविधाका सम्बन्धमा पनि भागवतको किसानहरूलाई निर्देशन सरकारी योजनालाई सहयोग गर्नु र साधगुरु (जग्गी बासुदेव) ले झैं ‘सामाजिक प्रयास’ मार्फत योजना सम्पन्न गर्नु भन्ने छ ।  आरएसएसको दृष्टिकोणअनुसार किसानहरूलाई कुनै माग नराख, कुनै विरोध नगर, लङमार्च वा कुनै अभियानमा सामेल नहोऊ, आफ्नो सोचाइ बदल, सरकारसँगै काम गर र गाईपालनमा आधारित खेती गर भनिएको छ । यही नै सत्तारुढ भाजपाको वैचारिक अभिभावक आरएसएसको कृषिसम्बन्धी समग्र दृष्टिकोण हो र सङ्घर्ष गरिरहेका भारतका करोडौं किसानहरूलाई दिएको उपहार हो ।
तर आज खाए भोलि के खाउको अवस्थामा पुगेका, खडेरीले वर्षौंदेखि खेतीपाती गर्न नपाएका, कतै अन्न, फलफूल र तरकारी फलाएर पनि न्यूनतम लागत मूल्य नपाएका किसानहरूलाई आरएसएस र भाजपाको आदर्शले एक थोपा पानी र एक पोको राहतसम्म दिंदैन । खेतीपातीका लागि लिएको ऋणको चक्रवर्ती व्याज बढ्दै गएको छ, किसानहरू कहिल्यै ऋणमुक्त नहुने अवस्था आएको छ, किसानहरूले आफ्ना सामाजिक र अन्य कार्य राम्ररी गर्ने आर्थिक हैसियत बनाउन सकेका छैनन् । यस्तो भूमिसुधार र बृहत् कृषि क्रान्तिविना गाईपालनमा कुनै समाधान हुनसक्दैन ।
 प्रस्तुतिः प्रकाश   

Leave a Reply

Your email address will not be published. Required fields are marked *