भर्खरै :

लेखक, कवि, कलाकार तथा सांस्कृतिककर्मीहरूको भेला

लेखक, कवि, कलाकार तथा सांस्कृतिककर्मीहरूको भेला

भक्तपुर, ३१ असार । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समिति गाईजात्रा व्यवस्थापन समितिको आयोजनामा लेखक, कवि, कलाकार तथा सांस्कृतिककर्मीहरूको भेला मङ्गलबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गाईजात्रामा सरकार र समाजलाई जिम्मेवार बनाउने प्रस्तुतिहरू हुनु जरुरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकार र समाजका पक्षलाई जिम्मेवार बनाउने गरी गाईजात्रामा प्रस्तुति दिएर जनतालाई सचेत बनाउनु जरुरी छ ।”
सरकारमा गएका सबै राजनीतिक दलहरू नाममा फरक भए पनि काममा एउटै पुँजीवादी र प्रतिगामी भएको विषय जनताले बुझ्ने गरी प्रस्तुति दिनु आवश्यक छ भन्दै सांसद सुवालले महँगी र भ्रष्टाचारको काण्डमा सरकारका मुख्य–मुख्य पदाधिकारी र अधिकारीहरू नै जवाफदेही हुने विषय पनि प्रस्ट पार्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले अगाडि भन्नुभयो, “सरकारमा गएका नेताहरू गतिला नभएपछि तिनका कार्यकर्ताहरू गतिला नहुने स्पष्ट छ । जिल्ला जिल्लाका विद्यालयहरूमा शिक्षक प्रभावकारी नबनाई विद्यार्थीलाई सङ्घ र प्रदेश राजधानीमा बोलाउने सम्बन्धित अधिकारी यसका दोषी हुन् ।”
उहाँले प्यालेस्टिनी जनतामाथि इजरायली फासीवादले गरिरहेको बमबारी र भूमि कब्जा, युक्रेनको भूमि र दुर्लभ खनिज साम्राज्यवादीहरूको कब्जाको विरोध एवम् खण्डन पनि हुनु आवश्यक छ भन्नुभयो ।
करोडौँ सङ्ख्यामा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर दाल, चामल, तरकारीसमेत भारतबाट आयात गर्नु देशघात नै भएको बारे पनि प्रस्तुति गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले जनताका कलाकारहरूले नाम र पैसाभन्दा देश र जनताको सेवा गर्ने भावनाले मेहनत गर्नुपर्ने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, जनताका लेखक र कलाकारले साहित्यिक र सांस्कृतिकरूपले कसरी देश र समाजको सेवा गर्न सकिन्छ भनी चिन्तन गर्नु आवश्यक छ । हामीले आफ्नो अनुभवले लेख्नुपर्छ, निर्देशन पर्खेर होइन आफ्नो जिम्मेवारी हो भनी लेख्नुपर्छ । जनताको समस्या र पीडाप्रति संवेदनशील भई लेख्नुपर्छ ।
उहाँले परम्परागत पर्व गाईजात्रालाई जनतालाई सचेत र जागरुक बनाउन रचनात्मक रूपमा उपयोग गर्नुपर्ने बताउँदै गाईजात्रा एक सांस्कृतिक अभियान नै भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका उपाध्यक्ष लक्ष्मीभक्त लासिवाले गाईजात्रामा प्रस्तुत गरिने सांस्कृतिक विधाले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जनतालाई सचेत र सजग पार्ने सन्देशसहितको हुनपर्ने बताउनुभयो ।
उहाँले समाजमा लागुपदार्थको दुव्र्यसनी र अपराध बढ्दै गएको बताउँदै समाजलाई जागरूक बनाउने प्रस्तुतिहरू प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका संयोजक गंगाराम ज्याख्वको सभापतित्वमा भएको भेलामा नेमकिपा भनसका पुरुषोत्तम तमखुले पनि प्रगतिशील साहित्य र सांस्कृतिक गतिविधिको आश्यकताबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *