भर्खरै :

ख्वप विश्वविद्यालय र नेपालको कानुन

ख्वप विश्वविद्यालय र नेपालको कानुन

महिना दिन पहिले काम विशेषले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग भेट हुँदा कुरै कुरामा वर्तमान कानुनमा नगरपालिकाले विश्वविद्यालय चलाउन दिनेबारेमा स्पष्ट नलेखेको कुरा भयो । नगरपालिकालाई १२ कक्षासम्मका विद्यालय चलाउने बन्दोबस्त छ† हामी केही गर्न सक्दैनौँ भनी पूर्वशिक्षामन्त्री विद्या भट्टराईले व्यक्त गर्नुभएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो । भक्तपुर क्षेत्र न. १ का सांसद प्रेम सुवालले विश्वविद्यालय भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने विषय हटाएर अर्को प्रस्ताव लिएर आउनु विधेयक अगाडि बढाइदिन्छु भन्ने कुरा आफू सामुन्ने राखेको बताउनुभयो । त्यस्तै, एकदुई जना जातिवादी र सङ्कीर्ण विचारका व्यक्तिहरू भक्तपुर नगरपालिकालाई विश्वविद्यालय चलाउन स्वीकृति दिए बाँकी ७५३ वटै नगरपालिकाहरूले पनि विश्वविद्यालय चलाउन स्वीकृति माग्दा अप्ठेरो पर्ने खतरा देखाउँछन् । सबै नगरपालिकाले विश्वविद्यालय चलाउन दिन सक्ने क्षमता र आवश्यकता अनुभव गरेमा रोक्ने कसले भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यी सबै कुराले के स्पष्ट हुन्छ भने नेकपा भनिने नाममात्रको पार्टी बिचौलिया वा पुँजीपतिहरूको एजेन्टहरूको पार्टी हो, पुँजीपतिहरूको सेवक हो । यी पार्टीमा देश र जनताको सेवा गर्ने मनसाय देखिँदैन । उनीहरू नेपाली जनताको चेतनाको स्तर उठाउन चाहँदैनन् भन्ने संवेदनशील बुद्धिजीवीहरूको ठम्याइ छ ।
भारत सन् १९४७ मा ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भयो । त्यहाँका केही राज्यहरू केरला, पश्चिम बङ्गाल, त्रिपुरा आदिमा कम्युनिस्ट पार्टीहरूले निर्वाचनमा जितेर प्रान्तीय सरकार गठन गरे । त्यहाँको कम्युनिस्ट सरकारले भूमिको पुनः वितरण, शिक्षा तथा स्वास्थ्य सेवामा व्यापक जनताको पहुँच वृद्धिको कार्यक्रम सञ्चालन गरेको थियो । आज केरला राज्य शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतकै पहिलो र नमुना राज्यमा गनिन्छ ।
सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनगणतन्त्र चीनको स्थापना भयो । चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको नेतृत्वमा चीनमा सुरुदेखि नै भूमिसुधार, शिक्षा, स्वास्थ्य, जन कम्युन (सहकारी) को स्थापनालगायत काम सुरु भएको थियो । त्यही आधारभूमिमा टेकेर सन् १९७८ पश्चात् चीनको आर्थिक विकासले गति लियो र आज चीन संसारको दोस्रो ठुलो आर्थिक महाशक्ति बन्न सफल भयो । आज विश्वले चीनले गरेको चमत्कारिक विकास बडो अभिरुचिका साथ हेर्दै छ । भारतका बुद्धिजीवीहरू सूक्ष्म ढङ्गले के कति कारणले सन् १९९० तिरको भारतभन्दा पछाडि रहेको देश ३०–३५ वर्षको अवधिमा चीन कसरी विश्वकै दोस्रो अर्थतन्त्रमा परिणत भयो ? यसरी चमत्कारिक विकास गर्न चीन कसरी सफल भयो भन्ने विषयमा चिन्तन गर्दै छन् । केही प्रतिक्रियावादी भारतीयहरू चीनलाई शत्रु देश ठान्छन् । तर, भारतीय बुद्धिजीवीहरू चिनियाँहरूको राम्रो अभ्यासबाट सिक्नुपर्ने सुझाव दिन्छन् ।
शिक्षाकै कारण चीन दु्रतगतिमा विकास भएको हो । चीनले शिक्षालाई उत्पादन श्रमसँग जोड्यो । त्यहाँको शिक्षा प्रणालीले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन ग¥यो । एसियाका सबैजसो देशहरू आ–आफ्नो कुल गार्हस्थ उत्पादनको ४ देखि ६ प्रतिशतसम्म खर्च गर्छन् । चीनले ४ प्रतिशत खर्च गर्छ, भारतले ४.१ देखि ६ प्रतिशतसम्म खर्च गर्छ । नेपालले शिक्षा क्षेत्रमा कुल गार्हस्थ उत्पादनको ४.६ प्रतिशत खर्च गर्छ तर प्रतिफल सोअनुसार देखिएन । हाम्रो देशमा दुई किसिमको शिक्षा बन्दोबस्त छ – निजी र सरकारी । सरकार निजी क्षेत्रले सञ्चालन गरेको शिक्षण बन्दोबस्त नै चलोस् भन्ने पक्षमा छ । निजी क्षेत्रको शिक्षण महँगो छ । बहुमत सर्वसाधारण जनताले महँगो शिक्षा धान्नै सक्ने अवस्था छैन । शिक्षामा सर्वसाधारण जनताको पहुँच पु¥याउने उद्देश्यअनुरूप भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको माग गरिरहेको छ । सरकारले ४०– ५० लाख रूपैयाँमा पढाइरहेको चिकित्सा शिक्षा (एमबीबीएस) को सट्टा भक्तपुर नगरपालिकाले १५–१६ लाखमा पढाउने र चिकित्सा शिक्षा सबै जनताको पहुँचमा पु¥याउने अभिप्रायका साथ ख्वप विश्वविद्यालयको अभियान अगाडि बढाइरहेको हो । तर, कम्युनिस्ट भनिने सरकारको नेतृत्वले बिचौलियाहरूको उद्देश्यअनुसार संविधानको आडमा स्थानीय तहलाई विश्वविद्यालय चलाउने कानुनी प्रावधान नरहेको बताई ‘कोपिलामै निमोठ्ने’ दुष्प्रयास गर्दै छ । यसरी स्थानीय सरकारले विश्वविद्यालय चलाएको उदाहरण के अन्यत्र छैन ? अवश्य छ । उदाहरणको लागि क्युवा र चीनको शैक्षिक इतिहासलाई हेर्न सकिन्छ । पुँजीवादी देश जापान, फिलिपिन्स आदि देशको शैक्षिक इतिहास अध्ययन गरेमा प्रस्ट हुन्छ – त्यहाँका केही विश्वविद्यालयहरू स्थानीय सरकारले नै चलाइरहेको छ ।
हालसालै इजरायलद्वारा ध्वस्त गरेको गाजामा १२ वटा विश्वविद्यालयहरू थिए । गाजाको क्षेत्रफल नेपालको काठमाडौँ उपत्यकासँग तुलना गर्दा हुन्छ । गाजा क्षेत्रमा विस्तारित सुरूङको सञ्जाल विकासमा पक्कै पनि विश्वविद्यालयहरूले ठुलै भूमिका खेलेको हुनुपर्छ भन्ने अनुमान गरिएको छ ।
त्यस्तै, अमेरिका र इजरायलको आक्रमण खेपिरहेको इरानमा २,१८३ वटा विश्वविद्यालयहरू छन् । अमेरिका र इजरायलजस्ता साम्राज्यवादी देशहरूसँग डटेर लडिरहन सक्नुमा निश्चय पनि त्यहाँका विश्वविद्यालयहरूको ठुलै भूमिका होला ।
हार्वड, प्रिन्स्तोन, एमआईटी, स्टानफोर्ड आदि विश्वविद्यालयहरूको कारण अमेरिका शिक्षाको गन्तव्य भएको हो भन्नेमा शङ्का छैन । संसारकै पुरानो विश्वविद्यालयहरूजस्तै अक्सफोर्ड विश्वविद्यालयलगायत अहिले सञ्चालनमा रहेका विश्वविद्यालयहरू नगरपालिकाहरूको सक्रिय संलग्नता रहेको जगजाहेर नै छ ।
अहिलेसम्मको कम्युनिस्ट इतिहास विभिन्न किसिमको प्रयोगमार्फत आजको अवस्थासम्म पुगेको हो† पुरानो संरचना ध्वस्त पार्दै नयाँ सिर्जना हुँदै आएको हो । आफूलाई साँचो अर्थमा आमूल परिवर्तनकारी शक्ति ठान्नु हुन्छ भने हामीकहाँ चलिराखेको पुरानो संस्कार त्यागेर देखाउन सक्नुपर्ने हो नत्र केको लागि परिवर्तन ? केको लागि गणतन्त्र ?
जहाँसम्म भक्तपुर नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न दिए अरू नगरपालिकाले पनि माग गर्नसक्छ भन्ने प्रश्न छ ? सबैजसो नगरपालिकाको आ–आफ्नै किसिमको विशेषता छ । कसैको कृषि, उद्योग, व्यापार क्षेत्रमा राम्रो होला, कसैको पर्यटकीय क्षेत्रमा, कसैको अरू कुनै क्षेत्रमा राम्रो होला । ती सम्भावनालाई राम्ररी केलाएर आ–आफ्नो क्षेत्र अनुकूल नगरपालिकाले जनताको सेवा गर्नु उचित हुन्छ । भक्तपुर नगरपालिकाले विश्वविद्यालय सञ्चालन ग¥यो भनेर सबै नगरपालिकाहरूले पनि त्यस्तै गर्नुपर्छ भन्ने होइन । तर, क्षमता भएका अरू पालिकाहरूले माग गरेमा सञ्चालन गर्नु दिनु जायज नै हुनेछ ।
हिन्दू विश्वविद्यालय विद्वान् श्री माल्वीयले स्थापना गरेका हुन् । आर्थिकरूपले सक्षम काठमाडौँ महानगर, ललितपुर महानगर, वीरगञ्ज महानगर आदि नगरहरूले चाहेमा विश्वविद्यालय खोल्न सक्ने क्षमता राख्छन् । ती नगरपालिकाहरूले विश्वविद्यालय सञ्चालन गर्न माग गरेमा स्वीकृति दिनु नै उचित हुनेछ । काठमाडौँमा हाल सञ्चालनमा रहेका सरकारी विश्वविद्यालयहरू राम्रोसँग सञ्चालन नभइरहेको घामजस्तै छर्लङ्ग भएकोले केही टिप्पणी गरिरहन नपर्ला ¤
भक्तपुर नगरपालिकाले सञ्चालन गर्न खोजेको विश्वविद्यालय आफ्नै बलबुट्टामा नै खोल्न खोजेको हो । यसमा सङ्घीय सरकारलाई कुनै किसिमको आर्थिक भार पर्न दिन खोजेको होइन । काठमाडौँ विश्वविद्यालय नेपालको पहिलो निजी क्षेत्रबाट खोलेको विश्वविद्यालय हो । यो विश्वविद्यालयको विधेयक पारित गर्दा विधेयकमा स्पष्टसँग सरकारलाई कुनै किसिमको आर्थिक भार नपर्ने बुँदा उल्लेख छ । सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी ख्वप विश्वविद्यालयको विधेयक स्वीकृतिको लागि नगरपालिकाले पटक–पटक अनुरोध गरिरहेको हो । के नगरपालिकाको हैसियत कुनै निजी क्षेत्रको जति पनि देख्दैन ? यो सरकारको के दृष्टिकोण होला ? निजी क्षेत्रलाई जति पनि नगरपालिकालाई विश्वास नगर्नु पूर्वाग्रही हुनु हो । सरकार पुँजीपति र बिचौलियाहरूको सेवक हुनु हो ।
भक्तपुरका केही बुद्धिजीवीहरूले नेमकिपा पार्टी अध्यक्ष रोहितकै कारणले नगरपालिकाले ख्वप विश्वविद्यालयको स्वीकृति पाउन नसकेको आरोप लगाए । उनीहरूको विचारमा पार्टी अध्यक्ष बिजुक्छेँले अलिकति झुकेरै भए पनि, भागबन्डा गरेर भए पनि विश्वविद्यालयको विधेयक पास गराउनुपर्दथ्यो । तर, भक्तपुरले भक्तपुरकै लागि मात्र विश्वविद्यालयको माग गरेको होइन । भक्तपुरले खोलेका कलेज र अन्य विश्वविद्यालयले आज पनि समग्र देश र जनताकै सेवा गरी आएका छन् । भक्तपुर नगरपालिका कुनै किसिमको भागबन्डाको पक्षमा छैन । भागबन्डाको राजनीतिले गर्दा देशमा सञ्चालित विश्वविद्यालयहरूले हाल भोगिरहेको हविगतबाट नेपाली जनता राम्रोसँग परिचित छन् । नेपालका सचेत जनता त्यो किसिमको फोहोर राजनीतिबाट टाढा रहन चाहन्छन् । भक्तपुरलाई विश्वविद्यालय चलाउन स्वीकृति नदिएर सस्तोमा चिकित्सा शिक्षा पढाउने, देशको ७५३ पालिकालाई आवश्यक स्वास्थ्य जनशक्तिको आपूर्तिमा तगारो हाल्ने, गरिब जनतालाई डाक्टर, इन्जिनियर पढ्न नदिने सामन्ती सोच हो । राणा प्रधानमन्त्री चन्द्रशमशेरजस्तै आन्दोलनबाट आएको गणतान्त्रिक सरकारको सोच शिक्षाविरोधी देखिँदा सबै आश्चर्य मान्दै छन् । प्रतिगामी सोचको विरोधमा आजका जनता सङ्घर्ष गर्न तयार छन् ।

नगरपालिकाले सञ्चालित केही विश्वका विश्वविद्यालयहरू
१. टोकियो मेट्रोपोलितन युनिभर्सिटी, टोकियो, जापान
२. ओसाका सिटी युनिभर्सिटी, ओसाका, जापान
३. नर्थ चाइना युनिभर्सिटी अफ टेक्नोलोजी, चीन
४. साङ्घाई युनिभर्सिटी, साङ्घाई, चीन
५. निन्ग्बो युनिभर्सिटी, चीन
६. वेन्चाओ युनिभर्सिटी, चीन
७. सेन्जेन युनिभर्सिटी, चीन
८. चोन्ग्किङ युनिभर्सिटी, चीन
९. थिएन्चीन्को चेन्ग्जिआन् युनिभर्सिटी, चीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *