भर्खरै :

बाराही बचतको २७ औँ स्थापना दिवस

बाराही बचतको २७ औँ स्थापना दिवस

भक्तपुर, ४ साउन । भक्तपुरको गःपलीस्थित भक्तपुर पार्टी भेन्यूमा बाराही बचत तथा ऋण सहकारी संस्था लि. को २७ औँ स्थापना दिवस तथा प्रशंसापत्र वितरण कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कृष्णगोविन्द लाखाजुले असहज परिस्थितिमा पनि लाभांश दिन सक्ने गरी नाफामा वृद्धि गरी खराब ऋणलाई न्यूनीकरण गर्नसक्नु, तरलता व्यवस्थापन गर्नसक्नु, नियमित मासिक बचतमा विशेष जोड दिएर संस्थालाई परिचित गराउनु सराहनीय काम हो भन्नुभयो ।
संस्थाका सचिव विष्णुप्रसाद सुवालले असार महिनासम्मको यथार्थ आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगतका वर्षदेखि नै संस्थाले रणनीतिक योजना तय गरी संस्था सञ्चालन भइरहेको बताउनुभयो ।
अतिथि लाखाजुले संस्थाका संस्थापक २६ जनालाई सम्मान, नियमित मासिक बचतकर्ताहरूमध्ये मासिक एकजनाका दरले १२ महिनाको १२ जना नियमित बचतकर्ता र १२ जना बालबचतकर्तालाई सम्मान स्वरूप मायाको चिनो र प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा राधेश्याम सुवालले रक्तदान कार्यले पुनर्जीवन दिने भएकोले यसलाई जीवनदान भनिएको बताउनुभयो ।
सभापति सुवालले मन, वचन, र कर्मले रक्तदानजस्तो महान् कर्ममा लाग्न उत्प्रेरित गर्नुभयो ।
कार्यक्रममा सञ्चालक पुनेन्द्रप्रसाद कुसी, उपाध्यक्ष बलराम प्रजापति, संस्थापक प्रतिनिधि पुण्यकृष्ण भुजु, लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण नागाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *