भर्खरै :

दुवै देशको हितका लागि नेपाल–भारत सीमा नियमन जरुरी

दुवै देशको हितका लागि नेपाल–भारत सीमा नियमन जरुरी

भारतको दिल्ली र हिमाञ्चलमा औषधि उद्योग सञ्चालन गरिरहेका एक भारतीय नागरिक व्यापारको सिलसिलामा नेपाल आए । उनको व्यापार राम्रो नभएपछि उनले काठमाडौँमा मदिरा पसल खोले । मदिरासँगै लागु पदार्थको कारोबार पनि सुरु गरे । नेपाली नागरिकलाई भिजिट भिसामा थाइल्यान्ड घुमाउन लाने र फर्कँदा हाइब्रिड गाँजा बोकाएर ल्याउने उनको धन्दा सार्वजनिक भयो । केही समयअघि त्रिभुवन विमानस्थलमा बैङ्ककबाट नेपाल फर्केका दुई जनाको सुटकेश जाँच गर्दा हाइब्रिड गाँजा र कोकिन फेला प¥यो । यी लागु पदार्थ कारोबारका नाइके भारतीय नागरिक अमरजित सिंह रहेको प्रहरी अनुसन्धानबाट खुल्यो ।
सीमा क्षेत्रबाट अन्तःशुल्क र भन्सारबिनै एक अर्को देशमा मालसामान ओसारपसार हुन्छ । सुरक्षाकर्मीहरूकै आडमा तस्करहरूले मालसामान ओहोर–दोहोर हुने पुरानो जनगुनासो हो । केही महिनाअघि तस्करी रोक्न खोज्दा भारतीय तस्करहरूको आक्रमणबाट नेपाली सुरक्षाकर्मीको ज्यान गएको थियो ।
करिब एक हजार आठ सय किलोमिटर लामो खुला सीमा रहेको नेपाल–भारतबिच सूचना आदानप्रदानको संयन्त्र भरपर्दो छैन । भारतीय पक्षले नेपाललाई महत्वपूर्ण सूचना नदिएको पूर्वसुरक्षा अधिकारीहरूको अनुभव छ । सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरूको दादागिरी बढ्दो छ । अपराधी खोज्ने बहानामा भारतीय सुरक्षाकर्मी हतियारसहित राजधानी काठमाडौँसम्म आएको घटना पनि पुरानो हो । आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाली सुरक्षाकर्मी सक्षम हुँदाहुँदै बिनासूचना भारतीय सुरक्षाकर्मी हतियारसहित काठमाडौँ आउनु नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो ।
२०८२ साउन ६ र ७ गते नयाँदिल्लीमा नेपाल–भारतबिच गृह सचिवस्तरीय सुरक्षा बैठक हुँदै छ । यस्तो बैठक हरेक वर्ष हुनुपर्ने थियो । तर, भारतकै बेवास्ताको कारण लामो समयसम्म बैठक हुन सकेको थिएन । बैठक भए पनि औपचारिकतामा सीमित गरिन्थ्यो । नेपालको सत्ता राजनीतिमा लामो समयदेखि भारतको हस्तक्षेप कायम छ । शासक दलहरू भारतीय शासक वर्गसामु नतमस्तक छन् । जसको परिणाम नेपाली जनता कष्ट भोग्न बाध्य छन् । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका निम्ति सीमा नियमन गर्नु अपरिहार्य छ । नेपाल–भारतबिचको गृहसचिवस्तरीय बैठकमा नेपाली पक्षले सीमा नियमन गर्नुपर्ने विषय जोडदाररूपले उठाउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *