भर्खरै :

जनताका साहित्यकार बर्ताेल्ड ब्रेख्त – १

जनताका साहित्यकार बर्ताेल्ड ब्रेख्त – १

बर्ताेल्ड ब्रेख्तको वास्तविक नाम आचर्न बर्थोल्ड फ्रीडरिक ब्रेख्त हो । उनका लागि कविता रचना गर्नु र नाटक लेख्नु दुई फरक कुरा थिएनन् । आफ्ना कविताबारे ब्रेख्तको भनाइ के थियो भने उनले प्रायः नाटकका लागि काम गरेका छन्, त्यसैले सधैँ नै बोलीचालीको भाषामा सोचेका छन् । बोलीचालीको यस भाषालाई कवितामा विशेष ढङ्गले राख्ने टेकनिक (प्रविधि) लाई उनी ‘भङ्गिमा’ भन्ने गर्दथे ।
प्रतीकवाद र रोमान्सलाई समाप्त पार्ने काममा ब्रेख्तको ठुलो भूमिका रह्यो । त्यति मात्र होइन, जर्मन साहित्यका केही पुराना परम्पराहरूको आड लिएर उनले छन्द, कथाशैली, लोकगीत र उखान–टुक्काहरूलाई आफ्ना कवितामा पुराना कविमध्येका हेनरिख हाइनेले जत्तिकै सशक्त रूपले उपयोग गरे । ब्रेख्तका कविताहरूमा तीखो तर साधारण भाषा पाइन्छ । व्यङ्ग्यको प्रवाहले शैलीलाई बाँधेको हुन्छ । एउटै कवितामा थुप्रै आरोह–अवरोह, असम्बद्धता वा तेल र तेजाबको गन्ध एकै पटक हेर्न पाइन्छ ।

युद्धका विरोधी
बर्ताेल्ड ब्रेख्तको जन्म १० फरवरी १८९८ मा जर्मनीको बाभेरिया प्रान्तको अग्सबर्ग नामक सहरोन्मुख गाउँमा भएको थियो । अग्सबर्गमा उनका बाबु एउटा कागज कारखानामा प्रबन्ध निर्देशक थिए । आमा बाबुको सम्बन्ध किसान परिवारसित थियो । उनका बाबु एक रोमन क्याथोलिक थिए र आमा लुथर मतकी अनुयायी थिइन् । बालककालमा ब्रेख्तको पालनपोषण लुथर पद्धतिबाटै भयो । प्राथमिक र माध्यमिक स्कूलसम्म शिक्षा अग्सबर्गमा पूरा गरेपछि सन् १९१७ को शिशिर (माघ–फागुनको महिना) मा ब्रेख्तले म्युनिख विश्वविद्यालयमा चिकित्साशास्त्रको पढाइमा प्रवेश गरे ।
तर, डाक्टरी पढ्ने क्रममा उनको रुचि बढी जसो कविता र नाट्य–लेखनतिरै रहिरह्यो । उनका केही प्रारम्भिक कविता अग्सबर्गको एक अखबारमा पहिल्यै प्रकाशित भइसकेका थिए । पहिलो विश्वयुद्धको अन्तिम वर्षमा ब्रेख्तलाई सेनामा भर्ती हुन बोलाइयो । किनभने, उनी चिकित्साशास्त्रको पढाइ गर्दै थिए । यसकारण, उनलाई लडाइँको अग्रीम मोर्चामा नपठाएर सेनाको चिकित्सा कोरमा भर्ना गरियो । सेनाको नोकरीले उनको जीवनमा जुन प्रभाव पा¥यो, त्यसको परिणामस्वरूप उनी जीवनभर युद्धका विरोधी वा शान्तिको पक्षमा रहे । यो शान्तिकामी दर्शनको प्रभाव पछि गएर उनको राजनीतिक दृष्टिकोणमा पनि प¥यो ।
सुरुका वर्षहरूमा ब्रेख्तका केही खास मित्रहरूमा सबभन्दा बढी मिल्ने साथी पेन्टर–डिजाइनर क्यास्पर नेहर थिए । उनी अन्तिम समयसम्म पनि ब्रेख्तका घनिष्ठ सहयोगी रहिरहे । ब्रेख्त आफ्ना गाथा–कविता (ब्याले) आफै लेख्थे, आफै तिनमा सङ्गीत भर्दथे र अनि आफ्ना मित्रहरूलाई यी गीत आफै गाएर सुनाउँथे ।

लेखन यात्रा
उनले पहिलो नाटक ‘बल’ सन् १९१८ मा लेखे । यस नाटकमा एक जना युवा कविका त्यस्ता उदात्त भावनालाई नाट्यकथाको आधार बनाइएको छ, जो जीवनको नशामा मस्त भएर यति बढी उन्मत्त हुन्छ कि ऊ सम्पूर्ण सामाजिक परिपाटीलाई तिलाञ्जली दिएर आवारा र हत्यारा बन्न पुग्दछ ।
शासक विलियम केइसरको पतन भएपछि ब्रेख्त फेरि म्युनिख फर्किए । युनिभर्सिटीको पढाइतिर उनको यसपटक पनि त्यति ध्यान गएन र नाटकहरूको लेखन–मञ्चनतिरै उनको बढी अभिरूचि रह्यो । केही समयसम्म उनी अग्सबर्गबाट प्रकाशित हुने एउटा वामपन्थी अखबार दर भोक्सविलेको नाट्य समीक्षक पनि भए । सन् १९१९ मा ब्रेख्तले आफ्नो दोसो नाटक ड्रम्स इन दि नाइट मञ्चन गर्न लियोन फेख्तवाङ्गरलाई दिए । फेख्तवाङ्गर त्यतिखेर म्युनिखस्थित ‘कामरस्पीले थिएटर’ का साहित्यिक सल्लाहकारमध्येका थिए ।
पछि उनले उपन्यास लेखनमा पनि निकै नाम कमाए । ब्रेख्तसित फाख्तवाङ्गरको मित्रता पनि जीवनभर रह्यो । फाख्तवाङ्गरले ‘ड्रम्स इन दि नाइट’ लाई उच्चस्तरीय नाटक मानेर त्यसको खुबै प्रशंसा गरे । २९ सेप्टेम्बर १९२२ मा यस नाटकको पहिलो मञ्चन भयो र यसैसित एक सफल र सक्षम नाटककारका रूपमा ब्रेख्तले चाँडै मान्यता पाए । मेधावी युवा प्रतिभालाई दिइने गरेको त्यस वर्षको ‘क्लाइस्ट पुरस्कार’ पनि यस नाट्य–रचनाका लागि ब्रेख्तलाई दिइयो । नाटककारका रूपमा पाएको यो पहिलो सफलताको उल्लासमा ब्रेख्तले त्यसै वर्ष नोभेम्बर महिनामा युवा अभिनेत्री मारियाने जोफसित बिहे गरे ।

किशोरा अवस्थामा ब्रेख्त

पुँजीवादमाथि प्रहार र दादा आन्दोलन
ब्रेख्तको नाटक ‘ड्रम्स इन दि नाइट’ को कथामा माक्र्सवादको प्रभाव छैन । सङ्क्षेपमा यस्तो कथा यस्तो छ ः पहिलो विश्वयुद्धताका युद्धमोर्चाबाट घर फर्कँदा एकजना सिपाहीले आफ्नी प्रेमिकालाई अर्कैले गर्भवती बनाएको पाउँछ । यस्तो अवस्थामा प्रेमिकाको कामबाट खिन्न भएर जनवरी १९१९ को स्पार्टाकसवादीको कम्युनिस्ट क्रान्तिकारी विद्रोहमा भाग लिनुको सट्टा त्यो सिपाही त्यही प्रेमिकासित सुविधाभोगी जीवन बिताउन पो राजी हुन्छ । यस नाटकपछि ब्रेख्तले सन् १९२१ मा ‘इन दि जङ्गल अफ सिटिज’ नाटक लेखे । यसमा उनको दिशाहीन दृष्टि जारी रह्यो ।
यस नाटकको पहिलो प्रदर्शन मार्च १९२३ मा म्युनिखमा भएको थियो । सन् १९२४ मा ब्रेख्त त्यतिखेरको जर्मनीको राजनीतिक र रङ्गमञ्चीय दुवै गतिविधिको प्रमुख केन्द्र बर्लिन गए । त्यहाँ उनले म्याक्स राइनहट्र्सको डोयचे थिएटरमा केही समयसम्म नाटक लेखक एवं सम्पादन सहयोगीका रूपमा काम गरे । बर्लिनमा उनी विशेषतः वामपन्थी कलाकार र बुद्धिजीवीहरूमाझ लोकप्रिय हुँदै गए र केही समयमै यस वृत्तको केन्द्रबिन्दुका रूपमा स्थापित भए । सन् १९२८ मा उनले पहिलो पत्नी मारियाने जोफसित पारपाचुके गरे र अभिनेत्री हेलेने वाइगलसित बिहे गरे ।
ब्रेख्तको कलाको मुख्य प्रवृत्ति पुँजीवादी दृष्टिमाथि तीव्र प्रहार गर्नु थियो । वास्तवमा पहिलो विश्वयुद्धको अन्त्यमा जर्मनीका जनता नराम्रो किसिमले अपमानित र सन्त्रस्त भइसकेका थिए । त्यो बेला ब्रेख्तका केही साहित्यिक मित्र कला र साहित्यको ‘दादा आन्दोलन’ सित सम्बन्धित थिए । स्थापित व्यवस्थाविरूद्ध नकारवादी आन्दोलनका रूपमा दादा आन्दोलनको थालनी सन् १९१६ को वरिपरिबाट ज्युरिख, स्विट्जरल्यान्डमा भएको थियो र सन् १९२० को आधा–आधीसम्ममा यस आन्दोलनका गतिविधिको प्रमुख केन्द्र पेरिस बन्न पुगेको थियो ।
‘दादा आन्दोलन’ का समर्थकले पुँजीवादी कला मूल्यलाई समाप्त पार्ने अभिभारा लिएका थिए । पुँजीवादी मूल्यमाथि तीखो प्रहारको उदाहरण ब्रेख्तको त्यस अवधिमा लेखिएको घरेलु स्रोतसङ्ग्रह शीर्षकको कवितासङ्ग्रहमा पाइन्छ ।
यी कविताको अङ्ग्रेजी अनुवाद एरिक बेन्टलीले सन् १९२७ मा ‘म्यानुअल अफ पिटी’ नाम दिएर प्रकाशित गरेका थिए । यी कवितामा एक युवा व्यक्तिका त्यस्ता भावना छन्, जसले आफूमाथि चारैतिरबाट भाग्य, युद्ध, यौनाकाङ्क्षा र मृत्युले आक्रमण गरेको र यस आक्रमणबाट एकदमै सन्त्रस्त भइरहेको पाउँछ । यसपछि ब्रेख्त जति–जति इतिहासको सुसङ्गत एवं वैज्ञानिक विवेचनायुक्त माक्र्सवादी विचारको प्रभावमा आए, त्यति–त्यति यो अराजक नकारवादको प्रभाव उनका रचनामा हराउन थाल्यो ।

माक्र्सवादको प्रभाव
यसपछि ब्रेख्तले माक्र्सवादी विचारधारालाई नै त्यस्तो एकमात्र उपाय माने, जसको माध्यमबाट मानिसका दुःखको समाप्ति हुन सक्दछ । बीसौँ शताब्दीको तेस्रो दशकका अन्तिम वर्षहरूमा ब्रेख्तलाई माक्र्सवादी विचारधाराबाट परिचित गराउने व्यक्ति थिए कार्ल कोर्श । उनी एकजना प्रखर माक्र्सवादी चिन्तक हुनुका साथै राइखस्टाग (जर्मन संसद्) मा कम्युनिस्ट सदस्य पनि भइसकेका थिए ।
प्रयोगधर्मी नाटक ‘बाल’ को अवधिमा ब्रेख्त अत्यधिक यौवनानन्दमा मग्न थिए । यसपछि केही समयसम्म उनमा फ्रान्सेली प्रतीकवादी कवि पल वरलीन, अर्थर रिम्बाउ, अङ्ग्रेजी उपन्यासकार रुडयार्ड किपलिङ, जर्मन नाटककार ज्यार्ज बुखनेर र फ्राङ्क वेडेकिन्डको पर्याप्त प्रभाव परेको थियो । माक्र्सवादी विचारधाराबाट प्रभावित भएर उनले लेखेको पहिलो रचना ‘म्यान इज म्यान’ हो । यो नाटक पहिलोपटक ड्रामस्टडमा सेप्टेम्बर १९२६ मा मञ्चन गरिएको थियो ।
त्यसको झन्डै दुई वर्षपछि बर्लिनको सिफ बाउरदम थिएटरमा उनको नाटक ‘श्रीपेनी अपेरा’ को मञ्चन भयो । यसले ब्रेख्तलाई आशातीत ख्याति दिलायो । यो नाटक अत्यधिक लोकप्रिय हुनुको एउटा ठुलो कारण कुर्त वेइलको मोहक सङ्गीत पनि थियो । ९ मार्च १९३० मा लाइपसित्गमा एउटा अर्को ‘अपेरा राइज एन्ड फल अफ दि सिटी महोगनी’ को सफल मञ्चन भयो । यसको सङ्गीत पनि कुर्त वेइलले नै निर्माण गरेका थिए । यी नाटकमा ब्रेख्तले अराजकता, यौनलिप्सा, लोभ र हिंसालाई पुँजीवादी समाजको निरङ्कुशता र स्वार्थको देन मानेका छन् ।

माक्र्सवादी आत्मानुशासन
यही क्रममा ब्रेख्तले अरु पनि थुप्रै शिक्षाप्रद नाटक र अपेरा लेखे । ती नाटकको उद्देश्य जनतालाई माक्र्सवादको आत्मानुशासन र आत्मनिषेधलाई बुझाउनु हो । उल्लेखनीय के छ भने यी शिक्षात्मक नाटकमा पनि ब्रेख्तले कलात्मकताका उन्नत मापदण्डलाई राम्ररी स्थापित गरेका छन् । के प्रस्ट छ भने यस्तो गर्दा उनले आफ्नो प्रारम्भिक लेखनको ओजस्विता र स्पष्ट कथनशैलीलाई निपुणताका साथ निर्वाह गरेका छन् । यस श्रृङ्खलाअन्तर्गत लेखिएका नाटकहरूमा माक्र्सवादी आत्मानुशासनको कतिसम्म पालन गरिएको छ भने व्यक्ति स्वयम् आफ्नो बलिदान गर्नसम्म राजी हुन्छ । ‘ही हु सेज यस एन्ड ही हु सेज नो’ नाटक पनि सामूहिक उद्देश्यका लागि आत्मोत्सर्गको समस्यामा केन्द्रित छ । सन् १९३० मा मञ्चन गरिएका दुई नाटक ‘दि एक्सेप्सन एन्ड दि रुल’ र ‘दि मेजर्स टेकन’ पनि शिक्षात्मक नाटकमध्येका उत्तम मानिन्छन् ।
‘फैसला’ ब्रेख्तको शिक्षात्मक नाटकमा उत्कृष्ट कृति मानिन्छ । यसको सङ्गीत हान्स आइसलरले तयार पारेका थिए । यस नाटकको कथामा के देखाइएको छ भने चिनियाँ क्रान्तिको क्रममा अनुशासन भङ्ग गर्ने एक कम्युनिस्ट युवा क्रान्तिकारी पछि आफूलाई सफाया गरियोस् भन्नेमा राजी हुन्छ । ऊ के तर्क दिन्छ भने यस्तो गरेको खण्डमा जुन जनसङ्घर्षलाई उसले खतरामा पारेको हो, त्यो पुनः जारी रहन सक्दछ ।
यी साना शिक्षात्मक नाटकहरूपछि ब्रेख्तले दुइटा लामा शिक्षात्मक नाटक अरु लेखे । यस श्रृङ्खलामा पहिलो लामो नाटक उनले माक्सिम गोर्कीको उपन्यास ‘आमा’ को कथालाई आधार बनाएर यही शीर्षक दिएर लेखे । यसको मञ्चन १२ जनवरी १९३२ मा भयो । दोस्रो नाटक उनले ‘सेन्ट जोन अफ स्टकयाई’ लेखे । यस नाटकमार्फत उनले सन् १९२९ को भयानक आर्थिक मन्दीका कारणलाई शिकागो मासुबजारको उतार–चढावको माध्यमबाट अनावरण गरे । जतिखेर यो नाटक लेखिएको हो, त्यतिखेर जर्मनीको राजनीतिक स्थिति धेरै बिग्रिएको थियो, त्यसैले यस नाटकको मञ्चन हुन सकेन । तर, धेरै काँटछाँट गरेपछि ११ अप्रिल १९३२ मा यस नाटकको रेडियो रूपान्तर अवश्य प्रसारित गरियो ।

निर्वासित जीवन
३० जनवरी १९३३ मा हिटलरले जर्मनीको सत्तामा कब्जा जमाएपछि ब्रेख्तलाई अब जर्मनी बस्न सकिँदैन भन्ने लाग्यो । फलस्वरूप उनको जीवनमा निर्वासनको लामो सिलसिला प्रारम्भ भयो । यसै क्रममा उनी सबभन्दा पहिले जर्मनीबाट निस्किएर डेनमार्क गए । त्यहाँ उनी फिन टापुको सेभेन्डबर्ग नाउँको सहरोन्मुख गाउँमा बसे ।
हिटलरको शासनको पहिलो वर्षमा त्यहाँ बसेर उनले लेखेका नाटकको विषयवस्तु धेरैजसो प्रचारात्मक थियो । अतः तिनको महत्व धेरै मात्रामा अल्पकालिक नै रह्यो । उदाहरणका लागि नस्लवादमाथि प्रचण्ड व्यङ्ग्यका रूपमा लेखिएको उनको नाटक ‘दि राउन्ड हेड्स एन्ड दि पिकहेड्स’ र त्यस अवधिमा हिटलरको जर्मनीमा व्याप्त भयलाई देखाउने स–साना एकाङ्की नाटकको सङ्ग्रह ‘फियर्स एन्ड मिजरिज अफ दि थर्ड राइख’ लाई लिन सकिन्छ । एउटा अर्को नाटक उनले स्पेनी गृहयुद्धको विभीषिकाबारे पनि लेखे, त्यसको शीर्षक ‘सेनोरा क्यारर्स राइफल’ थियो ।
मार्च १९३८ मा जर्मनीले अस्ट्रियालाई अधिग्रहण गरेपछि ब्रेख्तले कस्तो अनुभव गर्न थाले भने केही गरे पनि युद्धलाई टाल्न सम्भव छैन र भविष्यमा जे–जस्तो भए पनि अहिलेको परिस्थितिमा यसलाई बदल्नु उनको सामथ्र्यभन्दा परको कुरा हो । यस्तो सोचेर उनले आफ्नो लेखनलाई गम्भीर वैचारिक दर्शनतिर मोड्नु नै सर्वोपरि माने र उनी पूर्ण मनोयोगले त्यही दिशामा संलग्न भए ।
यस किसिमले उनको रचनात्मक संसारको सर्वाधिक सृजनात्मक युगको थालनी भयो । उनले आफ्नो प्रारम्भिक जीवनको रचनात्मक ऊर्जा र शिक्षात्मक युगको वैचारिक अनुशासनलाई गाँसेर यस अवधिमा आफ्ना रचनामा एक गहन काव्यरूपकता प्रदान गरेर त्यसलाई नवीन रूप दिए ।

निरन्तर प्रहार
यस अवधिको सर्वाधिक उल्लेखनीय नाटक ‘दि लाइफ अफ ग्यालिलियो’ हो । यस नाटकले एउटा त्यस्तो संसारमा रहेको प्रतिभाशाली वैज्ञानिकको साहसपूर्ण उत्तरदायित्वलाई व्यक्त गर्दछ, जो चारैतिरबाट आफूलाई प्रतिद्वन्द्वीहरूले घेरिएको पाउँछ । यसै अवधिको दोस्रो महत्वपूर्ण नाटक ‘दि गुड वुमन अफ सेचुवाँ’ हो । लोभमा आधारित समाजमा राम्रा मानिस भेटिनु अलिकति पनि सम्भव छैन भन्ने यसको कथासार छ ।
उनले ती वर्षको युद्धको त्रासदीका बरोमा अर्को एउटा नाटक ‘मदर करेज एन्ड हर चिल्ड्रेन’ लेखे । यस नाटकमा उनले के देखाएका छन् भने युद्धका त्रूmरताका लागि सोझा– साझा मानिस पनि दोषी हुन्छन्, खासगरी त्यस अवस्थामा जतिखेर यस्ता मानिस आफ्ना सानातिना क्रियाकलापका लागि युद्धमा सहायक हुन्छन् र त्यसलाई महत्व दिने गर्दछन् ।
दोस्रो विश्वयुद्धको खतरा जति–जति प्रस्ट हुन थाल्यो, ब्रेख्तलाई अब आफू डेनमार्कमा बस्नु पनि सुरक्षित छैन भन्ने लाग्न थाल्यो । यही सोचेर उनी अप्रिल १९३९ मा स्वीडेन र त्यसको एक वर्षपछि फिनल्यान्ड गए । फिनल्यान्डको पृष्ठभूमिका उनले नयाँ नाटक ‘मिस्टर पुन्टिला एन्ड हिज सर्भेन्ट माटी’ लेखे ।
पुँजीवादी निपुणता र मानवीय उदारता यी दुई तत्वमा सामञ्जस्य हुनु असम्भव छ भन्ने कुरालाई नाटकमा देखाउने प्रयास गरिएको छ । यही अवधिमा उनले दि रेजोस्टिबल राइज अफ अर्तुरी प्रहसन (क्यारिकेचर) हो । यसमा हिटलरको तुलनामा शिकागोका हिंसात्मक गुन्डाहरूसित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *