भर्खरै :

भक्तपुरमा नाचैनाच

  • भाद्र १, २०८२
  • कृष्ण आचार्य
  • विचार
भक्तपुरमा नाचैनाच

सापारू पर्व २०८२ धेरै हर्ष उल्लासका साथ मनाइयो । ख्वप अथवा भक्तपुर नाचगानको राजधानी भनेर चिनिएको छ । हाम्रा पुर्खाहरूले यसलाई धेरै मेहनत र लगनका साथ बनाए र बचाए । आज यो कला र संस्कृति हाम्रो सम्पत्ति भयो । बिचको केही समय यहाँ नाचगान सुस्ताएको थियो । अहिले फेरि यसले सार्थकता पाएको छ । हरेक अग्रज बाजेहरूदेखि युवा तथा साना भाइबहिनीहरूसमेत उत्साह र गौरवका साथ नाचगानमा संलग्न छन् । यसले हाम्रो कला संस्कृति तथा संस्कारको भविष्य उज्ज्वल र दीर्घकालीन हुने देखिन्छ । लोप हुन लागेको, अस्तित्वविहीन भएका कतिपय नाचहरूले पनि आज जीवन्तता पाएका छन् । नयाँ नयाँ नाचगानहरूको पनि सृजना भएको छ, यसलाई हामीले हृदयदेखि स्वागत गर्नैपर्छ, नयाँ सृजनालाई उत्साहित गर्नैपर्छ ।
सापारू पर्वमा जे जति नाचगानहरू उत्साहका साथ प्रदर्शनहरू भइरहेका छन् त्यसको प्रत्यक्ष श्रेय भक्तपुर नगरपालिका, भक्तपुरका कलाकर्मी साथी र सांस्कृतिक गुरुहरूलाई नै जान्छ । कलाकर्मी साथी तथा सांस्कृतिक गुरुहरूको मेहनत, लगनशिलता, परिश्रम र भक्तपुर नगरपालिकाको सोच र हौसलाले आज फेरि भक्तपुरलाई नाचगानको राजधानी नै हो भनेर स्थापित गर्ने अवसर मिलेको छ ।
भक्तपुर नगरपालिकाले नाचगानको प्रतियोगिता गरी पुरस्कारको व्यवस्था गरेको छ; यो राम्रो पक्ष नै हो । जसले नाचगान गर्दैन† यसको महत्व बुझ्दैन; बुझेर बुझ पचाउँछ; त्यस्ताले विरोध गर्नु स्वाभाविक हो । तर, कला संस्कृतिमा रमाउन चाहने, माया गर्ने र पुर्खाको नासो बचोस् र बचाइ राख्नुपर्छ भन्ने सोच भएकाहरूलाई भक्तपुर नगरपालिकाले व्यवस्था गरिदिएको पुरस्कार अमृत समान नै हो । आज जे जति नाचहरू प्रदर्शन भइरहेका छन् त्यो हाम्रो हो; त्यसलाई तेरो मेरोमा मात्र सीमित नगरौँ, समग्र नेपाल र नेपालीको सम्पत्ति हो भनेर सोचौँ । त्यसैले यो भएन त्यो भएन भनेर सामाजिक सञ्जालमा जथाभावी नलेखौँ । सकारात्मक सुझावहरू राखौँ ।
भक्तपुर नपाले युवाहरूलाई विभिन्न रोजगारीमूलक तालिम दिने गरेको छ । भनपाले कला संस्कृति, मठ–मन्दिर, पाटी, धारा र इनारको जीर्णोद्धार गरेर उदाहरणीय कार्य गरेको छ । नगरपालिकाको हौसलाले भक्तपुरमा परम्परागत नाचगान र सांस्कृतिक डाफा भजनहरू निरन्तर चलिरहेका छन् । तर यहाँ खिं (बाजा) मर्मत गर्ने अनुभवीहरूको कमी छ । बाजा बनाउने र मर्मत सम्भार गर्ने तालिमको व्यवस्था मिलाइदिएको खण्डमा रोजगारीको साथै बाजा मर्मत सम्भारमा सहजता हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *