भर्खरै :

चिकित्सा शिक्षामा कोटा बढाउने नाउँमा सरकार निजी मेडिकल कलेजका मालिकहरूलाई पोस्दै

चिकित्सा शिक्षामा कोटा बढाउने नाउँमा सरकार निजी मेडिकल कलेजका मालिकहरूलाई पोस्दै

चिकित्सा शिक्षा विद्यार्थीहरूको सबभन्दा बढी आकर्षण भएको विषय हो । राम्रा राम्रा विद्यार्थीहरू अधिकांशले एमबीबीएस पढ्ने इच्छा राख्छन् । तर, त्यही शिक्षालाई नेपाल सरकारले केही वर्षदेखि काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने व्यवस्था गरेको छ । त्यसबाट धेरै विद्यार्थीहरू चिकित्सक बन्नबाट बन्चित भएका छन् भने कैयौँ विद्यार्थीहरू महँगो शुल्क तिरेर निजी मेडिकल कलेज वा विदेश गएर अध्ययन गर्न गएका छन् । सरकारले डा. गोविन्द के.सी.सँग गरेको गलत सम्झौताले यो स्थिति आएको हो ।
नेपालमा हाल ८९ वटा मेडिकल कलेज सञ्चालनमा रहेकोमा १५ वटा मात्र सरकारी कलेजहरू छन् । हालै बसेको चिकित्सा आयोगको बैठकले विभिन्न विषयमा सीट सङ्ख्या बढाउने निर्णय ग¥यो । एमबीबीएसतर्पm ४९५ सीट बढाउने निर्णय गरेकोमा सरकारीतर्पm १३० वटामात्र बढाएको छ भने बाँकी सबै निजी कलेजहरूलाई स्वीकृति गरेको छ । सरकारी सीट सङ्ख्या वृद्धि २६.२६ प्रतिशत रहेको छ भने निजी ७३.७३ प्रतिशत रहेको छ । त्यस्तै बिएस्सी नर्सिङमा ४४० सीट वृद्धि गरेकोमा पनि सरकारी र निजीको औसत त्यस्तै देखिन्छ ।
अब नेपालमा एमबीबीएस पढ्ने विद्यार्थीहरूको सङ्ख्या वार्षिक २६३५ पुगेको छ भने बिएस्सी नर्सिङमा २४३० र बीडीएस ६२५ पु¥याइएको छ । जति सीट बढाइएको छ त्यसमध्ये अधिकांश निजी क्षेत्रकै छ । नेपाल सरकार अर्थ मन्त्रालयले आर्थिक भार वहन गर्न नसक्ने भनेका कारण सरकारी सीट बढाउन नसकेको सरकारी पदाधिकारीहरूले लाचारी व्यक्त गरेका छन् ।
सरकार किन निजी क्षेत्रलाई जोड दिन्छ ?
२०४६ सालको राजनैतिक परिवर्तनपछि बनेको नेकाको सरकारले उदारवादी अर्थतन्त्र अवलम्बन ग¥यो । सबै क्षेत्रमा पाइला पाइला गरी निजी क्षेत्रलाई खुला गर्दै लगियो । शिक्षा, स्वास्थ्यजस्ता जनताको आधारभूत विषयमा समेत लगानी योग्य बनाइयो । निजी विद्यालय र कलेजहरूमा पुँजीपतिवर्गले लगानी गर्न थाल्यो । अर्बौँको लगानीमा मेडिकल कलेजहरू खुल्न थाले र शिक्षालाई नाफासँग जोड्न थालियो । एक जना विद्यार्थीसँग चिकित्सा शास्त्र अध्ययनको लागि ५०/६० लाख असुल्दै रातारात करोडपतिहरू अर्बपति बन्न थाले । शुल्कको नाउँमा हाकाहाकी जनता लुट्दा पनि सरकार लाचार बनिरहेको छ । मेडिकल कलेजहरूले विद्यार्थीहरूमाथि गरेको यो चरम शोषण हो, अन्याय हो ।
आर्थिक रूपले सम्पन्न मेडिकल कलेज मालिकहरूले शिक्षालाई व्यापार बनाएर अत्याचार गर्दै छन् । स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीहरूलाई सरकारी नियमानुसार मासिक रु. ४८ हजार दिनुपर्नेमा १८ हजारमात्र दिने गरेकोले विद्यार्थीहरूबाट त्यसको चर्को विरोध भयो । आन्दोलनको कारण महिनौँ मेडिकल कलेजहरू बन्द भए । निजी मेडिकल कलेजका मालिकहरू विद्यार्थीहरूको बन्द हडतालबाट टसमस चलेन बरु सरकार ती मेडिकल व्यापारीहरूसामु झुकेर सम्झौता गर्न पुग्यो । निजी मेडिकल कलेजहरूको मागबमोजिम सीट सङ्ख्या बढाउन सरकार तयार भयो । अहिले सीट सङ्ख्या वृद्धि गरेकोमध्ये ७३.७३ प्रतिशत निजी क्षेत्रमा वृद्धि गर्नुको कारण पनि यही हो । विद्यार्थीको आन्दोलनले निजी मेडिकल कलेज सञ्चालकहरूले मनग्य फाइदा लिए । सीट सङ्ख्या बढाउनेबित्तिक्कै एउटा कलेजको विगतको भन्दा वार्षिक २०/२५ करोड बढी नाफा हुने भएको छ । यसैलाई भनिन्छ, ‘काम गर्ने कालु मकै खाने भालु’ ।
निजी मेडिकल कलेजहरूको सङ्ख्या वृद्धिसँगैै चिकित्सा शिक्षा झन्झन् महँगो हुँदै गएको छ । क्षमता भएर पनि सरकारी कोटामा अध्ययन गर्न नपाएकै कारण कैयौँ विद्यार्थीले चिकित्सा शिक्षा पढ्नबाट वञ्चित हुनुपरेको छ भने कैयौँ विद्यार्थीहरू घर जग्गा बैङ्क तथा वित्तीय संस्थामा धितो राखेर पढ्न बाध्य छन् । पढाइ सकिएपछि पनि ती चिकित्सकहरूले सरकारी जागिर खाने अवसर प्राप्त गर्न सक्दैनन् । तिनीहरू निजी क्षेत्रमै काम गर्न बाध्य हुन्छन् । निजी क्षेत्रको चरम शोषणको कारण कतिपय चिकित्सकहरू निराश हुन्छन् । बिरामीको सेवा गरेर जीवन बिताउने उद्देश्यका साथ डाक्टर बनेका कैयौँ विद्यार्थीहरू निजी अस्पतालले दिने तलब सुुविधाले ऋण तिर्न सक्ने अवस्था नदेखेपछि देश छोड्ने निष्कर्षमा पुग्छन् । चिकित्सकहरू विदेश पलायन हुनुको प्रमुख कारण यही हो ।

चिकित्सकहरू किन विदेश पलायन हुन्छन् ?
नेपालमा चिकित्सक उत्पादन जुन अनुपातमा भइरहेको छ त्यतिकै सङ्ख्यामा बिदेसिने गरेको पाइन्छ । नेपालका सरकारी अस्पतालहरूमा चिकित्सकहरूको अभाव छ, उपत्यका बाहिर धेरै जिल्लाहरूमा डाक्टरहरूको अभावका समाचारहरू आइरहेका छन् । नेपाल सरकारले २०४८ सालदेखि हालसम्म सरकारी अस्पतालहरूमा दरबन्दी थप गरेको छैन । स्वास्थ्य सेवा भनेको ठुल्ठुला भवनहरूमात्र होइन, आवश्यक जनशक्ति र उपकरणहरू पनि हुन् । यसले विभिन्न कलेजबाट चिकित्सक बनेर आएकाहरूले उचित सुविधासहितको काम नपाउँदा अधिकांशले विदेश रोज्ने गरेको पाइन्छ ।
नेपालमै काम गर्न भनी बसेका चिकित्सकहरू पनि विदेशको तुलनामा निकै कम सुविधामा काम गर्नुपरेको दुखेसो गर्छन् । अमेरिका, अस्ट्रेलिया, जापानको कुरा होइन नेपालकै छिमेकी देशहरू भारत, माल्दिभ्सको भन्दा पनि चिकित्सकहरूले निकै कम सुविधा पाएको भन्दै काम गर्न छिमेकी देश जाने गरेको पाइएको छ । त्यहाँ २–३ वर्ष काम गरेर फर्केर चिकित्सा क्षेत्रमा स्नातकोत्तर गर्ने भनी माल्दिभ्स र भारत जानेहरूको सङ्ख्या पनि अहिले कमी छैन । नेपाल सरकारले नेपाली जनताको सेवाको निम्ति राम्रा राम्रा चिकित्सकहरू नेपालमै बस्ने वातावरण तयार गर्नेतर्फ ध्यान देओस् । यही तरिकाले चिकित्सक विदेश जाने हो भने हामीले जतिसुकै चिकित्सक उत्पादन गरे पनि त्यो विदेशीहरूको सेवाको निम्ति मात्र हुनेछ । नेपालीहरूको सेवाको निम्ति हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *