महिलाहरूका विलापका विभिन्न कारण र तर्कहरू !
- भाद्र १६, २०८२
नेपाली साहित्यका पाठकहरू र साहित्यप्रेमीहरू गोविन्दप्रसाद लोहनीबारे सचेत नेपालीहरू थोरै र धेरै जानकार छन् भन्नेबारे दुविधा मान्नुपर्ने छैन । गोविन्दप्रसाद लोहनी नेपाली साहित्यका एक प्रगतिशील कथाकार, लेखक र एक चिन्तक हुन् । नेपालको राजनीतिक डबलीमा ‘भूमिसुधार’, जोताहा किसानहरूको मोहियानी हक, ऋण मुक्ति र बचत कोषमार्फत सहकारी आन्दोलनको निम्ति गरिब किसानहरूको आर्थिक सहजीकरणको एक महत्वपूर्ण आर्थिक पाइला थियो – जसको एक भित्री चिन्तक र सल्लाहकार गोविन्दप्रसाद लोहनी नै थिए । लोहनी तत्कालीन नेपालको अर्थतन्त्रका जानकार एक राजदूत र देशभित्रकै एक कूटनैतिक व्यक्तित्व थिए ।
प्रचारमा आउन नचाहने र आफ्नो काममा पनि निरन्तर लागिरहने उनी विदेश भ्रमण गरेका देशहरूबारे नेपाली जनतामा जानकारी पु¥याउनुलाई आफ्नो कर्तव्य सम्झन्थे । नेपाली साहित्यकै एक चर्चित व्यक्तित्व ईश्वर बरालसँगको लोहनीजीको आलोचना र प्रत्यालोचनाहरूको श्रृङ्खला नेपाली साहित्यकै एक महत्वपूर्ण दस्ताबेजहरू हुन् । ती सबैलाई साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो सम्पत्ति सम्झिदिएको भए नेपाली साहित्यमा नयाँ एक उदाहरण प्रस्तुत हुने थियो ।
२०६५ सालमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौँपत्रको प्रयोजनका लागि प्रस्तुत ‘शोधपत्र’ ले गोविन्दप्रसाद लोहनीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययनको धेरै विषय उजागर गरेको राम्रो विषय हो । शोधपत्र प्रस्तुतकर्ता विष्णुप्रसाद बस्यालको त्यो एउटा गुनिलो काम हो । त्यस गुणकारी कामलाई घचघच्याउने काम गर्नुहुने सहप्राध्यापक डा. देवी सुवेदी (नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर, काठमाडौँ) निश्चय पनि धन्यवादका पात्र हुन् ।
लोहनीजी पनि एक कर्मचारी तर आजका आफूलाई जान्ने बुझ्ने सम्झ्ने कर्मचारीहरूजस्तै देशप्रतिको कर्तव्य बिर्सेर पैसा कमाउने, विदेशीको चाकडी गर्ने, विदेश बस्ने, डलरको अगाडि आफ्नो र देशको मर्यादा बिर्सने एवम् विदेशीको हित हुने कामलाई प्राथमिकता दिने थिएनन् ।
विद्यार्थीकालमै बनारसमा गोविन्दप्रसाद लोहनीले नेपाली काङ्ग्रेसको मुखपत्र युगवाणीमा काम गरेका थिए । २००७ सालको राणाविरोधी क्रान्तिमा लाग्दा तीन वर्ष ढिलो अर्थशास्त्रमा स्नातकोत्तर गरे । २०१० सालमा बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरे । यो नै लोहनीको औपचारिक शिक्षा समाप्त भएको शोधपत्रमा उल्लेख छ ।
गोविन्दप्रसाद लोहनी स्व–अध्ययनमा अत्यन्त मेहनती हुनाले पश्चिमी साहित्यबाहेक राहुल सांस्कृत्यान, प्रेमचन्द्र, यशपाल, अमृत राय, डा. राजेश राघव आदि प्रगतिशील भारतीय साहित्यकारहरूको साहित्यबाट प्रभावित हुनु स्वाभाविक हो । माक्र्स, एङ्गेल्स, लेनिन, प्रिन्स कोपाटकिन, बट्रम र सेल, हावर्ड फास्ट, माओ त्सेतुङ आदिका पुस्तकहरूबाट पनि शिक्षित भए । अन्तर्राष्ट्रिय लेखक, कवि र कलाकारहरूकै समाचारपत्रहरूको अध्ययनका कारण उनी अन्तर्राष्ट्रिय राजनीतिबारे पनि जानकारी राख्थे ।
मध्यमवर्गको परिवारमा हुर्केको हुँदा २०१२ सालमा शिक्षकको पेसा छोडेर नेपाल बैङ्कका कर्मचारी भए । २०१४ सालमै नेपाल राष्ट्र बैङ्कबाट अस्ट्रेलिया तालिममा गए । २०१६ सालमा आर्थिक अनुसन्धान विभागको मुख्य अधिकृत भए । अनि पछि अधिकृतबाट सहसचिव र राष्ट्र बैङ्कको सल्लाहकारमा पदोन्नति भए ।
२०२१ सालमा उनी श्री ५ को सरकारको पञ्चायत र भूमिसुधार मन्त्रालयमा दुई वर्ष काजमा काम गरे । २०२९ सालदेखि २०३६ सालसम्म राष्ट्रिय योजना आयोगमा काम गरे । २०३६ सालदेखि २०४१ सालसम्म पाकिस्तानमा शाही नेपाली राजदूत भई काम गरे । राजदूतावासबाट फर्केपछि उनी जागिरे जीवनबाट अवकाश प्राप्त गरे ।
xxx
बनारसमा अध्ययनकै सिलसिलामा अन्य राजनीतिक कार्यकर्ताजस्तै उनी जुलुस, सभा र गतिविधिमा लागे । गान्धी, नेहरू, सुभाषचन्द्र बोस, एम.एन. रायजस्ता नेताका विचार र भाषण सुन्न जान्थे । २०१२ सालमा लोहनी काङ्ग्रेस पार्टीबाट नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश भए र झन्डै चार वर्षपछि उनले स्वतन्त्र जीवनयापन गरे । तर, उनी प्रगतिशील साहित्यिक संस्था र गतिविधिमा लागे । उनी नेपाली, संस्कृति, हिन्दी, अङ्ग्रेजी र रुसी भाषाका लेखक, कवि र कलाकारहरूबाट प्रेरित हुँदै गए ।
गोविन्दप्रसाद लोहनीका प्रकाशित कथासङ्ग्रह हुन् – ‘कामरेड जाने होइन ?’ (२००९), ‘नेतृत्वको भोक’ (२०१०) । यसबाहेक समाजवादी देशहरूका चर्चित विषयमा पनि कलम चलाएको प्रस्टै छ – (१) यो हो सोभियत रूस (२००७), (२) चिनियाँ जनसङ्घर्षको इतिहास (२००९), (३) आजको चीन २००९, (४) नेपालमा भूमिसुधारको उपलब्धि (२०२३), (५) राजनीतिक अर्थशास्त्र, (६) द्वन्द्वात्मक भौतिकवाद (मौलिक), (७) माक्र्सवादी शब्दकोश, (८) ऐतिहासिक भौतिकवाद, (९) माक्र्सवादी लेखसङ्ग्रह, (१०) विश्व किसान मजदुर क्रान्तिको सङ्क्षिप्त इतिहास, (११) माक्र्सदेखि माओसम्म, (१२) जनवादी नेपालको रूपरेखा ।
अन्य ५०० जति लेख र रचनाहरूको रूपरेखा, रचना, प्रगति, बगैँचा, द्वन्द्व, साहित्य, जनविकास, डाँफेचरी, युगवाणी, जनयुग, मसाल, गोरखापत्र (विशेषाङ्क), धर्ती, ज्योति, संस्कृति आदि पत्रपत्रिकामा छापिएको ‘शोधपत्र’ ले उल्लेख ग¥यो ।
तर ईश्वर बरालसँगको गोविन्दप्रसाद लोहनीको सैद्धान्तिक वाद–प्रतिवाद धेरैजसो रचना, रूपरेखा, प्रगति, द्वन्द्व, साहित्य, जनयुग, मसाल, धरती आदि पत्रिकाहरूमा छापिएको सङ्कलन गर्नु र प्रकाशित गर्नु आवश्यक देखिन्छ ।
त्यस्तै लोहनीको सरकारी विदेश भ्रमणका लेखहरू धेरैजसो गोरखापत्र र विशेषाङ्कहरूमा छापिएका थिए । अन्य पत्रपत्रिकामा पनि छापिए ।
भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स, अस्ट्रेलिया, अमेरिका, रुस, चेकोस्लोभाकिया, रुमानिया, हङ्गेरी, चीन, जापान, रोम, जर्मनी, फ्रान्स, स्विडेन, डेनमार्क, ग्रिस, टर्की, इजिप्ट, इजरायल, लेबनान, इरान, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, सिङ्गापुर, हङकङ, दक्षिण कोरिया र केन्या आदि देशबारे लेखहरू छापिएका थिए । ती सबैलाई एउटै पुस्तकमा प्रकाशित गरेमा नेपाली भाषा र साहित्यको सेवा हुने अनुमान र अनुभव गर्ने धेरै पाठकहरू छन् ।
गोविन्दप्रसाद लोहनीका लेख र रचनालाई खोतल–खातल गरी सबै पाठकहरूलाई एउटै ठाउँमा जानकारी दिने शोधकर्तालाई साधुवाद !
Leave a Reply