आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
भक्तपुर नगरपालिकाले आफ्नो चुनावी घोषणापत्रअनुसार शिक्षा र स्वास्थ्य क्षेत्रको साथै देशको ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको घामजतिकै छर्लङ्ग छ । यो मानव सभ्यताको विकास र चिह्न पनि हो । भक्तपुरमा मूर्त अमूर्त सांस्कृतिक सम्पदाहरू, शिक्षा, स्वास्थ्यलगायत विकास निर्माण, पुनःनिर्माणका कामहरू भक्तपुरकै जनताको साथ र सहयोगमा सम्पन्न हुँदै आएको हो । यी सम्पदा देश विदेशका जनताले उपयोग गर्दै आएका छन् । यसबारे संस्कृतिविद्हरूले अवलोकन अध्ययन र अनुसन्धान, गरिरहेका छन् । सरकारले ख्वप विश्वविद्यालयको स्वीकृति दियो भने यसको क्षेत्र अझै बढ्नेछ । यसले देशकै सेवा गर्नेछ ।
भक्तपुर नगर सांस्कृतिक सम्पदामा धनी, सफा र पुरानो सहर हो । यो सांस्कृतिक सहर हेर्न विश्वका बर्र्सनि लाखौँ पर्यटकहरू आइरहेका छन् । यो हामी सबैको लागि गौरवको कुरा हो । पुर्खाले आफ्नै खुट्टामा उभेर सिर्जेको सम्पदाको संरक्षण गर्नु सबैको कर्तव्य हो । यो देशको आफ्नै साझा सम्पत्ति हो भन्ने अपनत्व जगाएर माया गर्नु, जोगाउनु पनि त्यतिकै आवश्यक छ । यो नयाँ पुस्तामा आकर्षित गर्नु अझ आवश्यक छ । यहीँ उद्देश्यले भक्तपुर नगरपालिकाले २०८२ भदौ २२ गते आइतबार नगरको मूल बाटोको दक्षिणपट्टि रहेको ऐतिहासिक पुखू, कुण्ड चिनाउने र संरक्षण गर्ने उद्देश्यले जनताको सहभागितामा बाजागाजासहित सांस्कृतिक पदयात्रा सम्पन्न गरेको छ । नगरपालिकाले यस्तै पदयात्रा मूलबाटोको उत्तरपट्टि रहेको २१ वटा पोखरी चिनाउन २०७९ सालमा सम्पन्न गरिसकेको छ । २०८० पुस १४ गते सांस्कृतिक पदयात्रा पनि सम्पन्न गरिसकेको छ । स्थानीय सरकारलाई संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय पाठ्यक्रम बनाउन सफल भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको उद्देश्यअनुसार विद्यार्थीले आफ्नै आँखाले हेरेर, अवलोकन गरेर इतिहास, सभ्यता, सम्पदा पढ्न, सिक्न, अनुसन्धान गर्न सहयोग भएकोमा दुईमत नहोला । यी सम्पदाका भविष्यका रक्षक भनेका विद्यार्थी भाइबहिनीहरू हुन् ।
भक्तपुरका मठ, मन्दिर, विहार, पोखरी, कुण्ड, दह, ढुङ्गेधारा, इनार, कुवा, पाटी, चोक, डबली आदि लिच्छवि र मल्लकालमा बनेको पाइन्छ । हाम्रा पुर्खाले दूरदृष्टि राखेर यी सम्पदाहरू बनाएका हुन् । यसको जगेर्ना नगरपालिकाले जनताको सहयोगमा गर्दै आएको देखिन्छ ।
स्थानीय ठाउँको नामअनुसार नदी खोलाको नाम रहेको पाइन्छ । जस्तैः सिद्ध पुखू, न पुखू, भाज्या पुखू, रानी पुखू, बा¥हे पुखू, मङ्गल पुखू आदि । भक्तपुर नगरका पोखरी र ढुङ्गेधाराको पानीको मुख्य स्रोत भनेको राजकुलो हुँदै ल्याएको नगरकोट फेदीको महान पोखरीबाट आउने सङलो पानी हो । हाल त्यो स्रोत, कुलो अव्यवस्थित बसाइँसराइ बसोबासका कारण नष्ट भएका छन् । मुहान पोखरीदेखि मूलढोकासम्म ठाउँ ठाउँमा रहेका ढल, ढुङ्गेधारा, पाटी, सत्तल, शिवालय पनि अतिक्रमण र पुरिएर नष्ट भएको अवस्था छ । यसलाई उत्खनन र संरक्षण गर्न सकेको खण्डमा भक्तपुरको सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र महत्वको दायरा अझ बढ्नेछ । हाल भक्तपुर नगरका पोखरीहरूको पानीको मुख्य स्रोत भनेकै वर्षा र मुल हुन् ।
पुर्खाले भक्तपुर नगरको उपयुक्त ठाउँ ठाउँमा पोखरीहरूको निर्माण गर्नु भनेको जनजीविकाको सहजताको लागि हुन् भन्दा फरक नपार्ला । आज त्यस्ता ऐतिहासिक, सांस्कृतिक पोखरीहरू स्वार्थी मान्छेहरूले हडप्ने प्रयास गर्दै आएका छन् । यसमा सरकार मूकदर्शक छ । केही पोखरीहरू स्थानीय जनताले लडेर फिर्ता लिन सफल भएका छन् । यो देशकै सम्पत्ति हो । देश रहे हामी रहन्छौँ† देशै रहेन भने हामी पनि रहँदैनौँ । उदाहरण सिक्किम हाम्रो अगाडि छ ।
हिजोका हाम्रा पुर्खाले बाटोघाटो, धारा आजको जस्तो दमकलको विकास र सुविधा नभएको अवस्थामा पोखरीको निर्माण गरिएको छ । ती पोखरी पानी लिन, नुहाउन, लुगा धुन तरकारीलगायतका अन्य उपभोग्य वस्तुहरू पखाल्न प्रयोग गर्थे । कसैको घरमा, कुनै ठाउँमा आगो लाग्यो भने निभाउन स्थानीय जनताले त्यसलाई उपयोग गर्थे । पोखरीको पानी सिँचाइ गर्न पनि प्रयोग गर्थे । पुर्खाहरूले दीर्घकालीन आत्मनिर्भर सोच राखेर ती पोखरी बनाएको पाइन्छ । पुर्खाको सोच, इतिहास, शिक्षा, अनुभव लिएर देश निर्माणमा अगाडि बढ्नु आवश्यक छ ।
भक्तपुर नगरमा रहेका ४० वटामध्ये ३५ वटा पोखरी, कुण्ड, दह अस्तित्वमा रहेका छन् । यहाँका अधिकांश पोखरी, कुण्ड, दह भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोगमा पुनः निर्माण गरेर संरक्षण गरिसकेको छ । हाल न पुखूको पर्खाल बनाएर सिँगार्ने काम भइरहेको छ । त्यस्तै नगरका ८८ वटा ढुङ्गेधाराहरू रहेकोमा अधिकांश धाराको पुनःनिर्माण गरेर राम्रो र सुन्दर बनाइसकेको छ । तर, भार्वाचोको भक्तपुर क्याम्पसपछाडिको सोकिँ अजिमा हिटी लोप हुने अवस्थामा पुगेको छ । त्यसलाई स्थानीय जनताको सहयोगमा यथासक्य चाँडै पुनःनिर्माण गर्नु आवश्यक छ ।
भक्तपुर नगरपालिकाले अधिकांश पोखरीहरूमा विभिन्न बत्ती, फोहरा विभिन्न जनताका रङ्गी माछा पालेर जनताको मन जितेको छ । जुन वातावरणीय र सुन्दरताको दृष्टिकोणले महत्वपूर्ण छ । माछापालनले एकातिर पोखरीको पानी सफा, राम्रो सुन्दर देखिएको छ भने अर्कोतिर आनन्द लिने ठाउँको रूपमा विकास भएको छ । भक्तपुर नगरमा ऐतिहासिक पोखरीहरू सबभन्दा बढी ६ वटा वडा नं २ क्षेत्रमा देखिन्छ । यो वडा भक्तपुर दरबारसँगै अवस्थित छ । यहाँ भूमिगत पानीको स्रोत पनि रहेको छ ।
रानी पुखू, सिद्ध पुखू, भाज्या पुखू, नः पुखू, काल दह, मचाफोङ्ग पुखू, धमा पुखू, त¥हाँ पुखू, छुम तँ पुखू, तेखा पुखू, तलेजु सुनधारा पुखू, भण्ड पुखू, दुममाजु पुखू, मङ्गलाछेँ (थुचो गणेश) पुखू , मङगल कुण्ड, लैको पुखू (पाँचकुने), खःलाँ ख्यो पुखू, कुमारी पुखू, भौल्वाछेँ पुखू, ख्यो पुखू, नाग पुखू, चोर्चा पुखू, बारे पुखू, याता न्हुँद पुखू, खँचा पुखू, जेँला पुखू, लामु गः पुखू, सला गणेश पुखू, च्याम्हासिंह पुखू, गरुड कुण्ड, कमलविनायक पुखू, ग्वङ्ग पुखू, बहःख पुखू क्वाठडौँ पुखू यहाँका पोखरीहरू हुन् ।
Leave a Reply