धादिङ कारागारमा गोली लागेर दुई कैदीबन्दीको मृत्यु, सातजना घाइते
- भाद्र २५, २०८२
काठमाडौँ, २४ भदौ । जेन जी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् ।
मङ्गलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधनलगायत भवनमा क्षति पु¥याएका छन् ।
प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूको समूह राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर आगजनी गरेका हुन् ।
देउवा दम्पतीमाथि आक्रमण
पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा दम्पती कुटिएका छन् ।
बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर प्रदर्शनकारीले शेरबहादुर र उनकी पत्नी आरजुमाथि कुटपिट गरेका हुन् । उनीहरूलाई बाहिर निकालिँदै गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।
प्रहरीको गोली लागेर कालिमाटीमा दुई जनाको मृत्यु
काठमाडौँको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेन जी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो ।
कालिमाटी चोकमा मङ्गलबार दिउँसो २ बजे यो घटना भएको हो ।
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् ।
नेता सिंह र उनको परिवारका सदस्यहरूलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । स्रोतका अनुसार उपप्रधानमन्त्री सिंह नेपाली सेनाको सुरक्षामा छन् ।
आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । त्यसपछि प्रदर्शनकारीले सिंह निवासमा आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रदर्शनकारीले जलाए पूर्वराष्ट्रपति विद्या भण्डारीको घर
प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले मङ्गलबार पूर्वराष्ट्रपति भण्डारीको भङ्गालस्थित निवासमा आगजनी गरेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।
पूर्वराष्ट्रपतिको निवासमा आगजनी भएको छ । उहाँलाई सुरक्षित स्थानमा लगिएको छ । प्रदर्शनकारीहरू अहिले पनि उहाँको निवास वरिपरि नै छन् ।
प्रधानमन्त्री केपीशर्मा ओलीले राजीनामाको घोषणा गरे पनि काठमाडौँलगायत देशभर प्रदर्शन रोकिएको छैन । प्रदर्शनकारीहरूले निरन्तर तोडफोड र आगजनी गरिरहेका छन् ।
राजनीतिक संवादको माध्यमबाट शान्तिपूर्ण समाधान निकाल्न प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको अपिल
नेपालका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गरेका छन् ।
मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी सशस्त्र प्रहरी बल, महानिरीक्षक नेपाल राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि ओली नेतृत्वले नै कार्य सञ्चालन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले नै सरकारका सञ्चालन गर्न सक्ने गरी तोकेका छन् ।
ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेछ भनी तोकेका हुन् ।
“नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनी तोक्नुभएको छ,” राष्ट्रपति कार्यालयका उपसचिव रूपेशजंग थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Leave a Reply