भर्खरै :

विषयवस्तुको सन्तुलन आवश्यक

  • भाद्र २८, २०८२
  • प्रेमचन्द्र झा
  • विचार
विषयवस्तुको सन्तुलन आवश्यक

पत्रकारिता लोकतन्त्रको चौथो अङ्ग हो भन्ने आदर्श भनाइले मात्र होइन, व्यवहारमै पनि पत्रकारको भूमिका समाजमा अत्यन्त महत्वपूर्ण हुन्छ । जनताको आवाज बन्ने, सत्ताको निगरानी गर्ने र तथ्यमा आधारित सूचना प्रवाह गर्ने पत्रकारको पेसा चुनौतीपूर्ण मात्र होइन, जोखिमपूर्ण पनि छ ।
वर्तमान सामाजिक, राजनीतिक र प्रविधिमैत्री परिवेशमा पत्रकारहरू अनेक खालका जोखिमको सामना गर्दै आएका छन् । युद्ध, महामारी, दङ्गा, प्राकृतिक विपत्ति, आपराधिक घटना र शक्तिशालीवर्गको विरोधका बिच पत्रकारले सत्य खोज्ने प्रयत्न गर्छन् । यस्ता संवेदनशील र जोखिमयुक्त अवस्थामा पत्रकारले आफ्नो कार्य निष्पक्ष र जिम्मेवार तरिकाले गर्न सकून् भन्ने हेतुले केही महत्वपूर्ण सावधानी र आचारसंहिता अपनाउनु जरुरी हुन्छ ।
पत्रकारिता पेसामा सत्यतथ्य खोज्ने जोशले कहिलेकाहीँ सुरक्षालाई नजरअन्दाज गरिन्छ । तर, कुनै समाचारभन्दा पनि जीवनको मूल्य ठुलो हुन्छ । सत्य उजागर गर्ने प्रयास गर्दा जीवनलाई जोखिममा पार्नु बुद्धिमानी होइन । जोखिमयुक्त क्षेत्र वा घटनास्थलमा जाँदा सुरक्षाका आवश्यक उपायहरू अवलम्बन गर्नु अनिवार्य छ ।
सुरक्षाको एउटा अभिन्न पक्ष पत्रकारको पेसागत आचरणसँग जोडिएको हुन्छ । तथ्य नघटाई प्रस्तुत गर्नु, पक्षपात नगर्नु, अफवाहमा विश्वास नगरी प्रमाणसहित मात्र समाचार प्रकाशन गर्नु पत्रकारिताको मेरुदण्ड हो । पक्षपाती, उत्तेजक वा झूटो समाचारले पत्रकारलाई मात्र होइन, समग्र सञ्चार जगतलाई नै सङ्कटमा पार्न सक्छ । त्यस्ता समाचारको कारण विवाद, धम्की, आक्रमणसम्मको जोखिम आउन सक्छ । अतः स्रोतको विश्वसनीयता, जानकारीको पुष्टि र विषयवस्तुको सन्तुलन अत्यावश्यक हुन्छ ।
अपराध, राजनीतिगत विवाद, धार्मिक वा जातीय विषय, महिला हिंसा, बालबालिका वा यौनजन्य विषयहरू अत्यन्त संवेदनशील हुन्छन् । यस्ता विषयमा रिपोर्टिङ गर्दा सम्बन्धित व्यक्ति वा समुदायको सम्मान, गोपनीयता र कानुनी अधिकारको ख्याल राख्नुपर्छ । यस्ता विषयहरूमा रिपोर्टिङ गर्दा सम्भावित कानुनी, सामाजिक वा व्यक्तिगत जोखिमको समेत विश्लेषण गर्नुपर्छ ।
भौतिक सुरक्षाजस्तै डिजिटल सुरक्षा पनि आजको युगमा अत्यावश्यक भएको छ । अनलाइन रिपोर्टिङ, सामाजिक सञ्जालमार्फत सूचना प्रवाह, इमेल, मेसेज आदिमा गोपनीयता र डेटा सुरक्षाको ख्याल गर्नुपर्छ । कहिलेकाहीँ पत्रकारहरू साइबर हमलाको शिकार हुन्छन्, विशेषगरी विवादास्पद वा शक्तिशाली समूहबारे रिपोर्टिङ गर्दा । यस्तो अवस्थामा साइबर सुरक्षा विशेषज्ञ वा आफ्नो संस्थाको आइटी विभागसँग समन्वय गर्नु राम्रो हुन्छ ।
पत्रकारले आफ्नो पेसागत दक्षता बढाउनु मात्र होइन, सङ्कट व्यवस्थापन, आपत्कालीन प्रतिक्रिया, सुरक्षात्मक उपाय र जोखिम मूल्याङ्कनसम्बन्धी तालिम लिने अभ्यास गर्नुपर्छ । नेपालमा केही संस्थाहरूले समयसमयमा यस्ता तालिम सञ्चालन गर्छन्, जसमा सहभागी भई आत्मसुरक्षाका उपायहरू सिक्न सकिन्छ ।
पत्रकारको स्वतन्त्रता सुनिश्चित हुनु अत्यावश्यक भए पनि त्यो स्वतन्त्रतामा जिम्मेवारीको अनुभूति पनि हुनुपर्छ । प्रेस स्वतन्त्रता भनेको मनपरी गर्ने छुट होइन† यो तथ्य, प्रमाण र निष्पक्षताको आधारमा सत्य सार्वजनिक गर्ने अधिकार हो । त्यसैले, पेसागत इमानदारी, निष्ठा र समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै मात्र पत्रकारिता गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *