भर्खरै :

अफ्रिकालाई वास्तविक आकारमा देखाउन आवश्यक

अफ्रिकालाई वास्तविक आकारमा देखाउन आवश्यक

अफ्रिकी सङ्घले विश्वको सबैभन्दा लोकप्रिय नक्सालाई आफ्नो महादेशको आकारलाई वास्तविकरूपमा देखाउने नक्साबाट विस्थापित गर्नुपर्ने माग राखेको छ । यो माग सरकार प्रमुखबाट भन्दा भूगोल विभागबाट आउनुपर्ने हो जस्तो लाग्न सक्छ । तैपनि, राजनीतिमा, प्रतीकहरूले ठुलो अर्थ राख्छन् । हाल आम प्रचलनमा रहेको ‘मारकाटोर प्रोजेक्सन’ नक्सा १६ औँ शताब्दीमा बनाइएको थियो । यो नक्सा युरोपेली नाविकलाई विश्वका कुना–कुना गएर ती ठाउँमाथि विजय र व्यापार गर्ने बाटो पहिल्याउन उपयोगी रह्यो । यसले शताब्दीयौँदेखि हामीले संसारलाई कसरी हेर्छौँ भन्ने कुरालाई नजानिँदो गरी आकार दिएको छ ।
उच्च अक्षांशहरूलाई वास्तविकताभन्दा बढी तन्काएर र भूमध्यरेखीय क्षेत्रलाई खुम्च्याएर देखाउने मर्केटर प्रोजेक्सनले पाँच महादेशलाई वास्तविकताभन्दा भिन्न आकारमा देखाउँछ । यस नक्साले युरोप र उत्तरी अमेरिका महादेशलाई यथार्थभन्दा बढी ठुलो देखाउँछ । जबकि अफ्रिका र दक्षिण अमेरिका भने तिनको आकारभन्दा साना देखिन्छन् । यस नक्सामा कुनै भूमिको आकार कति धेरै तोडमोड गरिएको छ भनेर ग्रिनल्यान्ड एउटा उदाहरण हो । मर्केटर प्रोजेक्सनमा ग्रिनल्यान्ड करिब अफ्रिकाजत्रै देखिन्छ । जबकि वास्तविकतामा भने अफ्रिका ग्रिनल्यान्डभन्दा १४ गुणा ठुलो छ । यो नक्साले उत्तरी क्षेत्रको जमिनलाई ठुलो र केन्द्रमा देखाउन खोज्दा दक्षिणको जमिन भने परिधीय रूपमा खुम्चेको छ ।
नक्साको प्रयोग समुद्री ढुवानीमा मात्र सीमित भएको भए यस्तो तोडमरोड सायद क्षमायोग्य हुने थियो । तर, पुस्तौँदेखि नीति–निर्माता र बालबच्चाका लागि विश्वको प्रतिनिधित्व गर्ने यो नक्साले शक्तिशालीको बढाइँचढाइ गर्ने र बाँकीलाई कमजोर देखाउने काम गरेको छ । शिक्षाविद् मार्क मोनमोनियरले आफ्नो पुस्तक ‘रुम लाइन्स एन्ड म्याप वार्स’ मा साम्राज्यहरू कक्षाकोठाका नक्साले भन्दा राजनीति र अर्थशास्त्रमार्फत सञ्चालित थिए भन्ने तर्क गरेका थिए । यही तर्कलाई समातेर आलोचकले पनि ‘मर्केटर प्रोजेक्सन’ लाई पश्चिमी साम्राज्यवादको हतियारको रूपमा ‘अनावश्यक’ बढी बहसमा ल्याइएको बताउने गर्छन् । हुन त औपनिवेशिक शक्तिलाई आफ्नो औचित्य पुष्टि गर्न नक्साको आवश्यकता पर्दैन ।
तथापि, नक्साले यसको विश्व दृष्टिकोणलाई स्वीकार्य बनाउन निश्चित नै मद्दत गर्छ । ‘मर्केटर प्रोजेक्सन’ भन्दा राम्रा विकल्प पहिल्यैदेखि विद्यमान छन् । सन् २०१८ मा पहिलोपटक सार्वजनिक भएको ‘इक्वेल अर्थ प्रोजेक्सन’ पछिल्लो उदाहरण हो । यसले मर्केटरको दृश्यात्मक विन्यासलाई कायम राख्दै भूमिहरूको सटिक क्षेत्रफल प्रदान गर्छ । त्यसअघि पनि वास्तविक क्षेत्रफल प्रस्तुत गर्ने प्रयास भएका थिए । तिनमा ‘गुड होमोलोसिन’ वा ‘पिटर्स प्रोजेक्सन’ ले मर्केटर प्राजेक्सनका गल्ती सम्बोधन गर्ने कोसिस गरेका थिए । तथापि, उल्लिखित कुनै पनि नक्सा पूर्ण भने छैनन् । हुन पनि गोलाकार पृथ्वीलाई समतलरूपमा प्रतिनिधित्व गर्न केही कुरामा सम्झौता गर्नैपर्ने हुन्छ । यसमा पूर्णता होइन, इमानदारी बढी महत्वपूर्ण हुन्छ । इमानदारीका लागि नक्सामा भएका विकृतिलाई स्वीकारिनु आवश्यक हुन्छ ।
मर्केटर प्रोजेक्सनले सटिक क्षेत्रफल प्रस्तुत नगर्ने विषय लामो समयदेखि बहस थियो । तर, सो बहस सानो प्राज्ञिक समूहमा सीमिति थियो । आरोन सोर्किनको टीभी सो ‘वेस्ट विंग’ ले यस विषयलाई व्यापक जनतामाझ लोकप्रिय बनाइदियो । सन् २००१ मा पहिलोपटक प्रसारण भएको त्यस सोको एक चर्चित दृश्यमा नक्साकारको एक समूहले ‘ह्वाइट हाउस’ का प्रेस सचिवलाई ‘मर्केटर प्रोजेक्सन’ ले पुस्तौँदेखि मानिसलाई ग्रिनल्यान्ड झन्डै अफ्रिका बराबर रहेको भ्रम सिर्जना गरिदिएको बताउँछन् । हुन त टीभी सोमा यसलाई हास्य रूपमा प्रस्तुत गरिएको छ, तैपनि यसले गम्भीर सत्य इङ्गित गर्छ ।
गलत नक्साले कहिलेकाहीँ हामीलाई गलत निष्कर्षमा पु¥याउने जोखिमसमेत हुन्छ । अर्थात्, यसको प्रभाव बृहत्तर हुन्छ । व्यवसायमा होस् वा राजनीतिमा, सत्यविनाको दृष्टिकोण काल्पनिक हुन्छ । ‘वेस्ट विंग’ को उल्लिखित दृश्य पनि नेतृत्वको चरित्रबारे नै केन्द्रित थियो । भनाइ नै छ, महान् नेताहरूको सफलताका लागि भविष्यको कल्पनाले मात्र पुग्दैन, वर्तमानको स्पष्टता पनि अवश्यक हुन्छ । स्पष्टता तथ्यहरूले ल्याउँछन्, पुरानो पूर्वाग्रहको विकृतिबाट होइन ।
‘मर्केटर प्रोजेक्सन’ नक्सा निःसन्देह साम्राज्यवादी युगमा युरोपेली प्राथमिकताका आधारमा तयार गरिएको थियो । यसलाई सर्वस्वीकार्य नक्साका रूपमा प्रयोग गरिरहनु युरोपेली साम्राज्यवादी युगका प्राथमिकतालाई निरन्तरता दिनु हो । यसविपरीत ‘इक्वेल अर्थ प्रोजेक्सन’ लाई अपनाउनु भौगोलिक रूपमा मात्र राम्रो होइन कि प्रतीकात्मकरूपमा पनि महत्वपूर्ण छ । यसले अफ्रिका छापामा कम हुनेछैन जब, वास्तवमा, यो स्केल र प्रतिज्ञामा विशाल छ । आलोचकले नक्सा परिवर्तन गर्नु केवल प्रतीकात्मक हुने भन्दै खिल्ली उडाउन सक्छन् । तर, प्रतीकहरूले आमधारणालाई आकार दिन्छन् र धारणाले निर्णयलाई निर्देशित गर्छन् । अफ्रिकालाई सानो देखाउनु कालान्तरमा यसलाई सानो व्यवहार गर्ने बाटो खोल्नु हो । तर, यसको आकारलाई वास्तविकरूपमा चित्रण गरियो भने यसको भूगोल र सम्भावनालाई बेवास्ता गर्न गाह्रो हुन्छ । यस अर्थमा अफ्रिकी सङ्घको माग ठीक छ ।
(द गार्जियनको २२ अगस्टको सम्पादकीयबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *