भर्खरै :

भाग्न होइन, दुनियाँ बद्ल्न सिकाउने मनिषी राहुल सांकृत्यायन

राहुल सांकृत्यायनलाई किसान र मजदुरहरु प्रेमले राहुल बाबा भनेर बोलाउँछन् । उनी ठूला विद्वान थिए । धेरै भाषा र विषयका उनी जानकार थिए । उनले चाहेका भए उनी ठूलठूला किताबका ठेली लेखेर आरामसँग इज्जत र धन कमाउन सक्थे । तर उनी वास्तवमै एक जना कर्मयोद्धा थिए । उनले बहुमत जनता, गरीब किसान र मजदुरहरुको दुर्दशा तथा उनीहरुको मुक्तिको विचारलाई आफ्नो दायित्व सम्झे । उनीहरुसँग बसेर उनीहरुलाई जागृत गर्ने काम गरे र संघर्षहरुमा उनीहरुको साथै रहे । उनी वास्तवमै जनताको आफ्नो मान्छे थिए ।
आफ्नो सुविधासम्पन्न कोठाभित्र बसेर संसार र संसारका घटनाक्रमलाई तटस्थ व्याख्या गर्ने तमाम लेखक–बुद्धिजीवीभन्दा राहुल बाबा फरक छन् । जनताको दुर्दशा र सामाजिक परिवर्तनबारे ठूल्ठूला कुरा गर्ने तर पद–ओहदा अनि पुरस्कार भने पछि मरिहत्ते गर्ने लेखक–बुद्धिजीवीभन्दा राहुल भिन्न खालका छन् । राहुलले आफ्नो प्रतिभाको सदुपयोग समाज परिवर्तन र जनतालाई जगाउनमा गरे । त्यही लक्ष्य पुरा गर्न उनले सरल र सीधा भाषामा स–साना पुस्तक र सयौं लेखहरुमात्र लेखेनन् बरु जनताबीच गएर दासता र अन्यायको विरोधमा संघर्ष गर्ने संगठनकर्ताको भूमिका समेत निभाए ।

राहुलको जन्म भारतको पूर्वी उत्तर प्रदेशको आजमगढ जिल्लाको एउटा पिछडिएको गाउँमा भएको थियो । बाल्यकालमैजमेर बसेको र रुढीवादले ग्रस्त समाजप्रति उनको मनमा वितृष्णाभाव भरियो र विद्रोह गर्दै उनी घरबाट भागे । तेह« वर्षको उमेरमा उनी एउटा मन्दिरको महन्त(पुजारी) बने । अनि आर्य सामाजिक कार्यकर्ता बनी समाजका रुढी र मानसिक दासताविरुद्ध जागरण फैलाउने काममा लागे । तर भारतीय समाजमा जरा गाडेर बसेको सदियौं पुरानो गतिरोध, अन्धविश्वास, कुपमण्डुकता र जातीयताजस्ता सामाजिक विकृतिलाई लिएर उनको विद्रोही मन अधैर्य बन्यो । उनी त्यस्ता सामाजिक समस्याको समाधान आर्य समाजले गर्न सक्दैन भन्ने निष्कर्षमा पुगे । उनले बौद्ध धर्म अंगाले तर बौद्ध धर्मसँग पनि समाजमा बराबरी र न्याय कायम गर्ने कुनै उपाय थिएन । राहुलसँग भएका सबै प्रश्नहरुको जवाफ बौद्ध धर्मसँग पनि प्राप्त हुन सकेन । समानता र न्यायमा आधारित र हरेक प्रकारका शोषण तथा भेदभावबाट मुक्त समाज बनाउने बाटो खोज्दै जाने क्रममा राहुल माक्र्सवादी विचारधारासम्म पुगे । उनी गेरु वस्त्र फुकालेर मजदुर र किसानहरुको लागि लड्ने र उनीहरुको दिमागमा रहेका कुनै पनि हिनभावना तोड्ने कामलाई आफ्नो जीवनको लक्ष्य बनाए । उनले बुझे–‘कम्युनिष्टहरु समाजको आर्थिक निर्माण नयाँ तरिकाबाट गर्न चाहन्छन् र त्यो निर्माण रफ्फु भरेर वा कतै टुटेफुटेको जोडेर हुन सक्दैन । एक प्रकारले त्यो काम नयाँ जगमा नयाँ निर्माण गरेरै मात्र हुनसक्दछ । भारतका साधारण जनताको गरिबी यति धेरै व्यापक छ, त्यसको लागि अनन्ततिर इसारा गर्न सकिंदैन । हामी हाम्रो काममा तुरुन्त जुटिहाल्न जरुरी छ ।’

उनको भनाई थियो–‘जनतासामू आफ्नो विचार निर्धक्क भएर राख्नुपर्दछ र त्यहीअनुसार काम गर्न जरुरी छ । हुन सक्छ, केही समयसम्म जनताले तपाईको भावना नबुझ्न सक्छ वा भ्रममा रहन सक्छन् । तर अन्तमा तपाईको असल उद्देश्यले हिन्दु, मुसलमान सबै गरीब जनतालाई तपाईको साथमा आबद्ध गरिदिनेछ ।’
आफूलाई गरीब जनतासँग जोड्न र रुढीवादी परम्परामाथि चर्को प्रहार गर्न राहुलले सर्वसाधारण जनताको बोलीचालीको भाषामा ‘भागो नहीं दुनिया को बदलो’, ‘दिमागी गुलामी’, ‘तुम्हारी क्षय’, ‘नइकी दुनिया’, ‘मेहरारुन के दुरदसा’, ‘साम्यवाद ही क्यों’ जस्ता स–साना पुस्तकहरु लेखेर जनतालाई जागृत गर्ने कामको शुरुवात गरे । साथै उनले गाउँ–गाउँ घुमेर किसान तथा गरीबलाई जगाउन र अंगे्रज शासन तथा जमिन्दारहरुको विरोधमा लड्न संगठित बनाउने कामको शुरुवात गरे । उनलाई धेरै पटक जेलमा राखियो तर उनले आफ्नो लेख्ने धर्म त्यागेनन् । उनका कतिपय किताब त जेलमा लेखिएका पनि छन् ।
राहुल दुरदर्शी थिए । त्यसकारण भारतीय समाजको तर्कहीनता, अन्धविश्वास, सदियौं पुरानो गतिरोध, कुपमण्डुकता आदिलाई घाइते बनाएरै मात्र अघि बढ्न सकिने कुरा उनलाई राम्ररी थाहा थियो । भारतको स्वतन्त्रता आन्दोलनमा धर्मको प्रवेशसँगै उनले धार्मिक विभाजनमाथि प्रहार गर्न जरुरी भएको कुरा बुझिसकेका थिए । उनले धर्मको विरोधमात्र गरेनन् बरु धर्मलाई आज केबल जनताबीच विभाजन ल्याउने र शासक वर्गको सत्ता जोगाउने हतियारको रुपमा मात्र प्रयोग भइरहेको बताए । उनले प्रष्ट शब्दमा भने–‘धर्मको नाममा बञ्चरो चलाउने काम भइरहेको छ र त्यसकारण आज धर्मका विभिन्न धाराबीच मेलमिलापको कुरा पनि कहिलेकाहीं सुनिने गरेको छ । तर के त्यो सम्भव छ ? ‘धर्मका धाराहरुले तपाईलाई वैरभाव राख्न सिकाउँदैन ।’– यो झुटको के ठेगान । यदि धर्मले वैरभाव नसिकाएको भए दारी र टुप्पीको लडाईमा हजारौं वर्षदेखि हाम्रो देश किन पागल बनेको छ ? पुरानो इतिहासलाई छोडौं, आज पनि भारतका शहर र गाउँमा एउटा धर्मको मान्छे अर्को धर्मको मान्छेको रगत पिउन आतुर किन बन्ने गरेको छ ? वास्तवमा कुरा के हो भने धर्मले वैरभाव राख्न सिकाउँछ । दाजुभाईलाई दाजुभाईको रगत पिउन सिकाउँछ ।’ हिन्दुस्तानको एकता धर्महरुबीचको एकतामा हुनसक्दैन । बरु धर्मको चित्तामा मात्र हुनसक्छ ।’
किसानहरुको लडाई लड्ने क्रममा राहुलले अंग्रेज शासनको अन्त्य र किसानले जमिन पाउने बित्तिकै समस्याको समाधान नहुने कुरा राम्ररी बुझेका थिए । उनले स्पष्ट शब्दमा श्रमिक जनताको वास्तविक स्वतन्त्रता साम्यवादी बन्दोबस्तमा मात्र हुने कुरा बताए । उनले लेखे,‘खेतमा काम गर्ने मजदुरहरुले आफ्नो आर्थिक मुक्ति साम्यवादी बन्दोबस्तमा मात्र हुने कुरा राम्ररी बुझ्न जरुरी छ, आज क्रान्तिको शुरुवात भएको छ र यो क्रान्ति साम्यवादसम्म चालु रहनेछ ।’

उनी बिना थकान काममा लागिरहे । भारतीय समाजमा रहेका हरेक प्रकारका विकृति, हरेक प्रकारका दिमागी दासता, सबै प्रकारका अन्धविश्वास, सबै गलत परम्परामाथि उनले प्रहार गरे । तिनका विरोधमा जनतालाई शिक्षित बनाउने काममा लागिरहे । उनी श्रमिक जनतालाई माया गर्थे र श्रमिक जनताकै पक्षमा आफ्नो जीवन बलिदान गरे । उनको जीवन छोटो रह्यो, तर उनको काम भने अथाह रह्यो । सदियौंदेखि गहिरो निद्रामा सुतेको भारतीय समाजलाई जगाउन सजिलो काम पक्कै थिएन । बाहिरी शत्रुसँग लड्न सजिलो थियो तर आफ्नै समाजमा बसेको दुश्मन र आफैभित्रको संस्कार, मूल्य–मान्यता, रीतिरिवाजविरुद्ध लड्न जनतालाई तयार पार्न त्यत्तिकै गाह«ो थियो । राहुललाई एक किसिमको वैचेनीले सधैं घेरेकै हुन्थ्यो । यो काम कसरी सम्भव छ ? कति धेरै काम बाँकी छन् । उनी एक समयमा दुई–दुई पुस्तक लेखिरहेका हुन्थे । रेलमा यात्रामा गर्दा, सभा–सम्मेलनहरुको बीचमा हुने घण्टा–आधा घण्टाका समय र सुत्ने समयसमेत कटौती गरी उनले लेख्ने कामलाई निरन्तरता दिएकै हुन्थे । लगातारको कामले उनको अग्लो, बलवान, सुन्दर शरीर पनि जर्जर बन्दै गयो । तर उनी रोकिएनन् । दिमागमा भीषण दबाब पर्दा हुने स्मृति गुमाउने रोगबाट आक्रान्त नहुँदासम्म यो लगातारको यात्रा रोकिएन । उनले सम्झने क्षमता सबै गुमाए । आर्थिक समस्याले उनलाई पनि घे¥यो । पुरा उपचार पनि गर्न नपाउँदै सन् १९६३ को अप्रिल १४ को दिन ७० वर्षको उमेरमा उनको निधन भयो । मजदुर किसानहरुका राहुल बाबा विदा भए । तर उनले सल्काएको चिरागले देखाएको बाटोमा अघि नबढी भारतमा क्रान्ति गर्न सम्भव छैन । आज हाम्रो समाजलाई जस्तो क्रान्तिकारी पुनर्जागरण र प्रबोधनको आवश्यकता छ, त्यसको लागि राहुल सांकृत्यायनको जीवन र कर्म सदैव प्रेरक बनिरहन आवश्यक छ ।
मजदुर विगुल अखबारको हिन्दी लेख नेपालीमा अनुवाद
पोस्टर राहुल फाउन्डेसनको तर्फबाट सत्यम वर्माको सौजन्यमा
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *