भर्खरै :

उजाड साइबेरियामा कैद र निर्वासन

उजाड साइबेरियामा कैद र निर्वासन

डिसेम्बर विद्रोहपछि धरपकड सुरु भयो । पक्राउ परेका ५८९ जना युवामध्ये १२१ जनालाई राज्यविरुद्ध जघन्य अपराधमा मुद्दा चलाइयो । जार निकोलस प्रथमले अनुसन्धान समिति गठन गरे । समितिले पाँचजना डिसेम्बरवादी नेताहरूलाई घोडाले चारतिर तानेर मार्ने सजाय सुनायो । थप ३१ जना क्रान्तिकारीहरूलाई मृत्युदण्डको सजाय तोक्यो । यो सजाय जारको सल्लाहमै तोकिएको थियो । जनतासामु दयालु देखिन र क्रान्तिकारीहरूका परिवारको सहानुभूति बटुल्न जारले ३१ जनाको मृत्युदण्डको सजाय खारेज गरे । त्यस्तै, पाँच मुख्य नेताको निर्मम मृत्युदण्ड फाँसीमा फेर्ने निर्णय गरे ।
१८२६ जुलाई २५ (१३) को दिन झिसमिसेमा ५ जना क्रान्तिकारी नेतालाई फाँसीमा झुन्ड्याइयो । त्यही दिन बिहान मुद्दा चलाइएका बाँकी सय जनाभन्दा बढी डिसेम्बरवादीलाई पिटर्सबर्गको पिटर–पाउल किल्लाको भित्री चोकमा भेला पारियो । त्यहाँ उनीहरूलाई ‘सदाको लागि साइबेरियामा कैद र निर्वासन’ को सजाय सुनाइयो । यो सजाय पाउनेमा कुमार सेर्गेइ त्रुबेत्स्कोइ, कुमार येभगेनी ओब्लेन्स्की, कुमार सेर्गेइ भोल्कोन्स्की, निकिता मुराभ्योभ, मात्भेइ मुराभ्योभ–अपोस्तोल, मिखाइल लुनिन, तन याकुश्किन, अलेक्सान्दर मुराभ्योभ, तन सुखिनोभ, निकोलाई प्यानोभलगायत ३१ अगुवा क्रान्तिकारी थिए । मृत्युदण्ड खारेज गरिएका यी बागीलाई साइबेरियामा १५ देखि २० वर्षको कैद र बाँकी जीवन साइबेरियामै निर्वासनमा बिताउनुपर्ने सजाय तोकिएको थियो । उनीहरूलाई सर्वस्वहरण गरेर सदाका लागि राजनीतिक हकअधिकारबाट वञ्चित गरिएको थियो ।
साइबेरियामा पनि सूर्य चम्किन्छ !
साइबेरिया रूसको एसियाली भागमा पर्ने विशाल भू–भाग हो । युरोपेली रूस र एसियाली रूसको सिमाना युराल पहाड हो । युराल पहाडको पूर्वी फेदबाटै साइबेरियाली क्षेत्र सुरु हुन्छ । अहिलेको एसियाको नक्सामा हेर्दा पूर्वमा चीन, बिचमा मङ्गोलिया र पश्चिममा कजाखस्तानको उत्तरमा रहेको रूसी भूभाग नै साइबेरिया क्षेत्र हो । डिसेम्बर क्रान्तिताका साइबेरियामा रूसी जातिका जनता कमै बस्थे । त्यहाँ आदिवासीहरूको पातलो बसोबास थियो । पश्चिम साइबेरिया मूलतः मैदानी क्षेत्र हो भने येनिसी नदीपूर्वको पूर्वी साइबेरिया पठार र पहाडले भरिएको क्षेत्र हो । १६ औँ शताब्दीअघि यो भूभाग ‘ताम्रवर्णी पशुपालकहरू’ को अधीनमा थियो । त्यसलाई मङ्गोल साम्राज्य भनिन्थ्यो । उक्त साम्राज्य कमजोर हुँदै गएपछि साइबेरियालाई रूसले आफ्नो अधीनमा पारेको थियो । यद्यपि, साइबेरिया युरोपेली रूसबाट धेरै टाढा पर्छ । हावापानीको हिसाबले यो धेरै चिसो ठाउँ हो । त्यसैले साइबेरियालाई कालापानी सजाय दिने वा अपराधीलाई निर्वासनमा पठाउने ठाउँको रूपमा रूसले प्रयोग गर्न थालेको थियो । यो चलन १८ औँ शताब्दीबाट सुरु भएको थियो ।
मृत्युदण्ड खारेज गरेर साइबेरियाको कैद र निर्वासनको सजाय घोषणा भयो । यो सुनेर एक क्रान्तिकारी उत्साहित भए । उनले भने, “साइबेरियामा पनि सूर्य चम्किन्छ ।” लाख कठिनाइ भए पनि जाडोले कठ्याङ्ग्रिने साइबेरियाको कैद र निर्वासनले डिसेम्बर वादीहरूको दृढतालाई गलाउन सक्दैन भन्ने उद्गार थियो त्यो ।
विशाल साइबेरियाली भूमिको यात्रा सजिलो थिएन । कैदीहरूलाई साइबेरियाको सबभन्दा पश्चिमी भाग बैकाल तालपारिको नेर्चिन्स्क नगर वरपरको धातुका खानीहरूमा कठोर श्रम गराउने रूस सरकारको योजना थियो । नेर्चिन्स्क नगर पिटर्सबर्गबाट ७ हजार ५ सय किलोमिटर टाढा थियो । बाटोघाटो र मौसमको असुविधाका कारण घोडाको बग्गीमा जाँदा पनि २ महिना लाग्थ्यो । १९२६ जुलाई महिनामा डिसेम्बरवादीहरूको पहिलो खेपको यात्रा सुरु भयो । त्रुबेत्स्कोइ, ओब्लेन्स्की, भोल्कोन्स्कीजस्ता मुख्य नेताहरू सम्मिलित यो पहिलो समूहलाई बग्गीमा लगिएको थियो । पिटर्सबर्गको गर्मीमा यात्रा थालेको सो टोली नेर्चिन्स्क पुग्दा पश्चिम साइबेरियामा हिउँ पर्न थालिसकेको थियो । सबै क्रान्तिकारीहरू उनीहरूजत्तिकै भाग्यमानी थिएनन् । सेनाको तल्लो तहका क्रान्तिकारीहरूलाई हिँडाएरै साइबेरिया पु¥याइएको थियो । पिटर्सबर्गबाट हिँडेको ६ महिनामा जारले प्रतिवेदन माग्दा उनीहरूले आधा बाटो पनि छिचोलेका थिएनन् । धुलाम्य र हिलाम्य बाटोमा हिँडेर र घस्रेर पश्चिम साइबेरियाली खानी र बस्तीहरूमा पुग्दा वर्षदिन नाघिसकेको थियो ।
सुरुमा धेरैजसो क्रान्तिकारीलाई बैकाल ताल पश्चिमका स–साना गाउँमा छरेर राखिएको थियो । केहीलाई भने अलि नजिक पश्चिम साइबेरियाका गाउँहरूमा राखिएको थियो । नभागून् भनेर हरेक क्रान्तिकारीमाथि कडा निगरानी राखिन्थ्यो । उनीहरूलाई श्रम गराउन अधिकारीहरूले सोचेजस्तो सबै ठाउँमा खानी थिएनन् । त्यसकारण, धेरै क्रान्तिकारीलाई राज्यको भेडीगोठ र घोडा राख्ने तबेलाहरू सफा गर्ने काम दिइयो । बस्तीको बाटो बढार्ने, माटो खन्ने र अन्न कुट्ने मिलहरूमा काम लगाइयो । सुखसयलमा हुर्केका कुलीन परिवारका डिसेम्बरवादीहरूलाई कठ्याङ्ग्रिने चिसोमा अँध्यारा र ओसिला कोठाहरूमा राखियो । बसाइँको असुविधाकै कारण धेरैको स्वास्थ्य बिग्रँदै गयो । केहीले त्यो अवस्था सहन नसकेर मानसिक सन्तुलन पनि गुमाए । तर, अधिकांश बागीहरूले हार मानेनन् । आफू बसेको ठाउँमा उनीहरूले स्थानीय आदिवासी जनतासँग सम्पर्क बढाए । स्थानीय जनताको शिक्षाको निम्ति स–साना पाठशालाहरू स्थापना गर्न थाले । स्थानीय जनतासँगको बागीहरूको सम्बन्ध तानाशाही राज्यको निम्ति टाउको दुखाइको विषय थियो । जारको मनमा पूर्वी साइबेरियामा आफ्नो तानाशाहीविरुद्ध विद्रोहको आगो बल्न सक्ने डर पलायो । उसै पनि टाढाका बस्तीहरूमा छरिएर बसेका क्रान्तिकारीहरूमाथि निगरानी गर्न कठिन थियो । त्यसकारण, १८२७ को सेप्टेम्बरदेखि पूर्वी साइबेरियामा छरिएर रहेका करिब ५० जना क्रान्तिकारीलाई चिता गाउँमा सामूहिक कैदमा राख्ने बन्दोबस्त मिलाइयो । त्यो गाउँ चीनको सिमानातिर पथ्र्याे । एकै ठाउँमा बस्न पाउँदा डिसेम्बरवादीहरूबिच वैचारिक आदानप्रदान र भौतिक सरसहयोग झन् सहज भयो ।
क्रान्तिकारी महिलाहरू
डिसेम्बर विद्रोहमा भाग लिएका युवामध्ये धेरै अविवाहित थिए । थोरैका मात्र जहान र बालबच्चा थिए । ‘सदाका लागि साइबेरियामा कैद र निर्वासन’ को सजाय क्रान्तिकारीहरूका परिवारको निम्ति ठुलो झट्का थियो । तर, केही महिलाले साइबेरिया पुगेरै क्रान्तिकारी पतिलाई साथ दिने साहसिलो निर्णय गरे । कुमार सेर्गेइ त्रुबेत्स्कोइकी पत्नी एकातेरिना त्रुबेत्स्काया, निकिता मुराभ्योभकी पत्नी अलेक्सान्द्रा मुराभ्योभा र कुमार सेर्गेइ भोल्कोन्स्कीकी पत्नी मारिया भोल्कोन्स्काया साइबेरिया गए । उनीहरूलाई गनेर ११ जना महिला आफ्ना पतिलाई साथ दिन साइबेरिया बसाइँ सरे । अन्य ७ जना क्रान्तिकारीका आमा र दिदीबहिनी पनि त्यहाँ पुगेका थिए ।
ती महिलाहरू कुलीन परिवारमा नोकरचाकरका साथ शारीरिक श्रम नगरी सुखसयलमा हुर्केका थिए । उनीहरूको लागि साइबेरिया बसाइँ सजिलो थिएन । तर, अप्ठ्यारो समयमा क्रान्तिकारीहरूको उत्साह कायम राख्न र अर्थपूर्ण जीवनलाई निरन्तरता दिन उनीहरूले त्यो कठिन बाटो रोजे । पतिलाई जस्तै क्रान्तिकारी पत्नीहरूलाई पनि मानपदवी, खानदानी पहिचान र पारिवारिक सम्पत्ति त्याग्न लगाइएको थियो । बालबच्चासमेत साइबेरिया लाने अनुमति थिएन । आफ्नो परिवारको मात्र होइन, ती महिलाले निर्वासनमा रहेका सम्पूर्ण क्रान्तिकारीहरूको निःस्वार्थ सेवा गरे । जाडोको लुगा नभएका क्रान्तिकारीहरूलाई उनीहरूले आफ्नो न्यानो कपडा दिन्थे† तिनको लुगा सफा गरिदिन्थे† खाना बनाइदिन्थे । केही वर्षभित्र साइबेरियामा निर्वासित परिवारहरूको अलग बस्ती नै बन्यो ।
निर्वासनमा सुरुसुरुमा क्रान्तिकारीहरूलाई श्रम र कैदको सजाय तोकिएको थियो । कैद अवधि सकाएरमात्र क्रान्तिकारीहरूले साइबेरियामा सामान्य जीवन बिताउन सक्थे । कैदको अवधिभर क्रान्तिकारीहरूलाई जहानपरिवारसँग बस्ने अनुमति थिएन । हप्तामा दुईचोटि एक–एक घण्टामात्र अधिकारीहरूको उपस्थितिमा भेट्न दिइन्थ्यो । कैदीहरूलाई चिट्ठी लेख्ने वा अरू कुनै लेखरचना कोर्ने अनुमति थिएन । निर्वासनको बाटो रोजेका महिलाहरूले सबै कैदीहरूको नाममा चिट्ठी लेखेर तिनका घरघरै पठाइदिन्थे । एक महिलाले हप्तामा सालाखाला १० देखि २० वटा चिट्ठी लेख्नुपथ्र्याे । कहिलेकाहीँ अरूका चिठी लेख्दालेख्दै आफ्नै घरपरिवार र बालबच्चालाई समेत चिठी लेख्न भ्याउँदैनथे ।
क्रान्तिकारी महिलाहरूले स्थानीय अधिकारीहरूलाई दबाब दिए । कैदी र रैथाने आदिवासीहरूको स्वास्थ्य उपचार गर्न स्वास्थ्य केन्द्र तथा पाठशालाहरू स्थापना गर्न सक्रिय भूमिका खेले । ती महिलाहरू डिसेम्बरवादीहरूको निम्ति बाँच्ने भौतिक र नैतिक आडभरोसा साबित भए ।
रूसी महाकवि अलेक्सान्दर पुश्किन धेरै बागीहरूका सहपाठी र मित्र थिए । उनले क्रान्तिकारी चेलीहरूप्रति समर्पित कविता लेखे । कविताका केही हरफ यस्ता छन् :
‘साइबेरियाका गहिरा खानीहरूमा
तिम्रो महिमा र धीरता उदाहरण बनेर रहनेछ ।
तिम्रो कठिन मिहिनेत खेर जाने छैन,
तिम्रो उच्च विचार सदा प्रमाण बनेर रहनेछ !’
पेत्रोभ्स्की जेल
सुरुमा धेरै क्रान्तिकारीले केही वर्षभित्रै आममाफी घोषणा हुने आशा गरेका थिए । मिखाइल लुनिनजस्ता क्रान्तिकारीहरू भने त्यस्तो आशा गर्दैनथे । बरु उनीहरूले चीनको सिमाना पार गरेर जापान भाग्ने योजना बनाउँदै थिए । तर, योजना सफल भएपछि विदेशमा के गर्ने भन्ने दुविधा बढ्यो । आफ्नो योजनाले गर्दा नभागेका क्रान्तिकारी साथीहरूमाथि झन् कडाइ गरिने अर्को आशङ्का पनि बढ्यो । त्यसैले उनीहरूले भाग्ने योजना त्यागे ।
सन् १८२८ को गर्मीमा चीनको सिमानाभन्दा २० किलोमिटरमात्र टाढा रहेको जेरेन्थुइ खानीमा दुःखद घटना घट्यो । क्रान्तिकारी तन सुखिनोभको नेतृत्वमा सशस्त्र विद्रोह गर्ने र सीमापार भाग्ने योजना बन्यो । सुखिनोभ दक्षिणी विद्रोहका सक्रिय नेता थिए । विद्रोह असफल भएपछि उनी ककेसिया क्षेत्रमा भाग्न सफल भए । सयौँ साथीहरूलाई जारको हातमा छोडेर एक्लै विदेशिन उनको मनले मानेन । त्यसैले उनी फर्के, पक्राउ परे र साइबेरिया निर्वासित भएका थिए । निर्वासनबाट भाग्ने योजनाको सूचना अगाडि नै चुहियो । सरकारले सुखिनोभलाई दोस्रोचोटि मुद्दा चलायो र ज्यान सजाय दियो ।
जेरेन्थुइको घटनापछि सरकारी अधिकारीहरू झन् चनाखो बने । निर्वासित क्रान्तिकारीहरूमाथिको निगरानी झन् कडा भयो । सन् १८३० को सेप्टेम्बरमा चिताका डिसेम्बरवादीहरूलाई अर्कै कारागारमा सारियो । पेत्रोभ्स्की जेल भर्खरै निर्माण गरिएको व्यवस्थित छाउनीजस्तो कारागार थियो । त्यहाँ क्रान्तिकारीहरूलाई सामूहिकरूपमा बस्ने व्यवस्था हटाई हरेकलाई छुट्टाछुट्टै कोठामा राख्न थालियो । नुहाउन र चर्चमा प्रार्थना गर्ने बेलाबाहेक कैदीहरूलाई सधैँ सिक्री लगाइएको हुन्थ्यो । यस्तो कडा व्यवस्थाले गर्दा कैदीहरू भाग्न सक्ने अवस्था रहेन ।
आममाफीको घोषणा नभए पनि क्रान्तिकारीहरूका घरपरिवारको उच्च अधिकारी र जारसँग निरन्तर ताकेता गर्न छोडेनन् । यसकारण, केही वर्षपछि प्रशासन कैदीहरूप्रति बिस्तारै खुकुलो बन्न थाल्यो । महिलाहरूलाई कैदी पतिसँग बस्ने छुट दिइयो । कैद तथा कठोर श्रमको समय २० वर्षबाट १५ हुँदै केहीको १० वर्षमा झारियो ।
सन् १८३५ देखि १८३७ सम्ममा प्रायः सबै क्रान्तिकारीहरूलाई कैदबाट मुक्त गरी साइबेरियाका विभिन्न बस्तीमा बसालिएको थियो । प्रत्येकलाई गर्जो टार्न केही बिघा जमिन उपलब्ध गराइएको थियो । डिसेम्बरवादीहरूले सामान्य जीवन बिताउन थाले । तर, उनीहरूलाई युरोपेली रूस फर्कने अनुमति थिएन । न त जफत गरिएको सम्पति, मानपदवी नै फर्काइएको थियो । केही क्रान्तिकारीहरूलाई सामान्य सैनिक जवानको रूपमा ककेसियामा इरान र टर्कीसँगको लडाइँमा भाग लिन पठाइयो । बिस्तारै उनीहरूले लेख्ने स्वतन्त्रता पाए । अझै पनि युरोपमा बस्ने नातेदारहरूलाई लेख्ने अनुमति उनीहरूले पाएका थिएनन् । लेखिएका हरेक रचनाको काँटछाँट हुन्थ्यो । केहीले भित्रभित्रै आत्मकथा र डिसेम्बर विद्रोहको इतिहास लेख्न सुरु गरे । साइबेरियामा व्यापार गर्ने धेरै रूसी व्यापारीहरू डिसेम्बरवादीहरूप्रति सहानुभूति राख्थे । ती व्यापारीहरूले युरोपेली रूस र डिसेम्बरवादीहरूबिच सूचना आदानप्रदान गर्न महत्वपूर्ण सहयोग गरे । कैद भोगेपछि बसोबास गरिएको नयाँ ठाउँमा पनि क्रान्तिकारीहरू निरन्तर प्रशासनको निगरानीमा रहन्थे । शङ्कास्पद व्यवहार देखिए क्रान्तिकारीहरूलाई पुनः साइबेरियाको जेलमा कोचिन्थ्यो ।
साइबेरियाली जीवनमा डिसेम्बरवादी प्रभाव
साइबेरियाली जनता डिसेम्बरवादीहरूप्रति सकारात्मक थिए । उनीहरूको निम्ति डिसेम्बरवादीहरू ‘जार निकोलसको शपथ लिन नमान्ने साहसी जर्साबहरू’ थिए । साइबेरियाको सांस्कृतिक र राजनीतिक जीवनमा ती क्रान्तिकारीहरूले ठुलो प्रभाव छोडे । बसोबास गराइएका नयाँ ठाउँमा उनीहरूले विद्यालयहरू स्थापना गरे । आदिवासीहरूको शिक्षामा ठुलो योगदान गरे । अनेक स्थानमा महिला शिक्षालय पनि स्थापना भए । क्रान्तिकारीहरूले स्थानीय जनताको निम्ति आफूले जानेका विदेशी भाषाका कक्षा चलाउन थाले । उनीहरूसँगै साइबेरियाली जनताले पश्चिम युरोपका नयाँ–नयाँ विचार र पुस्तकहरू पढ्न थाले । उनीहरूकै प्रभावले साइबेरियाको कला र सङ्गीतमा युरोपेली छाप देखिन थाल्यो ।
पहिले साइबेरियामा नदेखिएका तरकारी, नगदेबाली र अन्नका बीउहरू एवम् कृषिका नयाँ–नयाँ तरिकाहरू डिसेम्बरवादीहरूले त्यहाँ भित्याए । सुर्ती, जौ र फापरजस्ता बालीहरू उनीहरूले नै भित्याएका थिए । उनीहरूले हरित गृहको माध्यमबाट बेमौसमी खेतीको प्रविधि पनि साइबेरियामा प्रयोग गरे । आधुनिक चिकित्सा पढेका क्रान्तिकारीहरूले साइबेरियामा स्थानीय जनताको उपचारमा सहयोग गरे ।
सन् १८५५ मा जार निकोलसको मृत्युपछि नयाँ जार अलेक्सान्दर दोस्रोले डिसेम्बरवादीहरूलाई आममाफीको घोषणा गरे । आममाफीसँगै उनीहरूले आफ्नो राजनीतिक अधिकार र सम्पत्ति फिर्ता पाए । केहीले पुरानो मानपदवी पनि पाए । तर, त्यतिबेलासम्म निर्वासनमा पठाइएका १२१ जना डिसेम्बरवादीहरूमध्ये ६५ जनाको मृत्यु भइसकेको थियो । बाँकी धेरैले युरोपेली रूस फर्कने इच्छा देखाएनन् । रूस फर्के पनि उनीहरूलाई पिटर्सबर्ग र मस्कोमा बसोबास गर्ने अनुमति थिएन । उनीहरू साइबेरियाको जीवनमै अभ्यस्त भइसकेका थिए । युरोपेली रूस फर्कन कतिको परिवार नै बाँकी थिएन । उनीहरू साइबेरियाका स्थायी बासिन्दा बने । तिनै डिसेम्बरवादीहरूको कारण साइबेरियामा पहिलो पुस्ताका बुद्धिजीवीहरूको उदय भयो ।

स्रोतः रुसको डिसेम्बर विद्रोह
(जारविरुद्ध षड्यन्त्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *