भर्खरै :

माक्र्स र कम्युनेली समाज – ४

माक्र्स र कम्युनेली समाज – ४

माक्र्सले सुरुदेखि नै समाजका सामुदायिक सम्पत्ति र सामुदायिक सुशासनको गहिरो अध्ययन गर्नुभयो । त्यही आधारमा माक्र्सले नयाँ खोजहरूको महत्व ठम्याउनुभयो र आफूले जीवनभर विकासित गर्दै आएको आधारभूत दृष्टिकोण नबदली ती खोजलाई समेट्नुभयो । ‘जातीय नोटबुक’ मा प्रायः कम्युनेली सम्बन्धमा जोड दिइएको छ । मोर्गनको ‘प्राचीन समाज’ मा उल्लेख सामुदायिक सम्पत्ति, आवास र भूमिको स्वामित्वसम्बन्धी २७ अनुच्छेदमा समानान्तर रेखा कोरी, मार्जिनमा छोटा टिप्पणी लेखी रेखाङ्कन गरिएको छ । माक्र्सका अघिल्ला रचनामा नातागोता र लैङ्गिक सम्बन्धमा जोड दिइएको थियो । मोर्गनको पुस्तकबाट लिइएका टिपोटमा ती विषयमा अझ बढी जोड दिइएको छ । खासगरी हौडेनोसौनी (फ्रान्सेलीहरू इरोक्वा सङ्घलाई ‘हौडेनोसौनी’ भन्थे भने अङ्ग्रेजहरू ‘पाँच राष्ट्रको सङ्घ’ भन्थे) ले प्रारम्भिक कुल÷गोत्र समाजको चिन्ह थियो । हौडेनोसौनीबारे मोर्गनले गरेको अध्ययनबाट माक्र्स प्रभावित हुनुभयो । मोर्गनको चित्रणका आधारमा माक्र्सले लेख्नुभयो, “इरोक्वा गोत्रका सबै सदस्य व्यक्तिगत रूपमा स्वतन्त्र थिए तर तिनीहरू एकअर्काको स्वतन्त्रताको रक्षा गर्न बाध्य थिए ।” हौडेनोसौनीहरू लाम्चो घर बनाउँथे । ती घरमा धेरै परिवारहरू बस्थे । ती घरको वर्णन मोर्गनले आफ्नो पुस्तक ‘अमेरिकी आदिवासीहरूका घर–गृहस्थी’ (सन् १८८१) मा गरे । उनले लेखे, “(ती घर) पाँच, दश र बीस परिवार अटाउने ठूला थिए र त्यसमा बस्ने प्रत्येक परिवारले साम्यवादको अभ्यास गर्थे ।” मोर्गनले लेखे, “(समाजको उन्नत चरण) प्राचीन गोत्र समाजको स्वतन्त्रता, समानता र भाइचाराकै पुनर्जीवित र अझ विकसित रूप हुनेछ ।” यो चित्रणको टिपोट गर्दै माक्र्सले यसमा विशेष जोड दिनुभएको छ ।
सम्पत्ति मूलतः प्रकृतिको दोहनबाट बनेको माक्र्सले बुझाइ रह्यो । युरोपेली उपनिवेशवादीले चलाएको भूमिको लुटलाई सही ठह¥याउन ‘सम्पत्तिविहीन जाति’ को मिथक बनाइएको थियो । सम्पत्तिसम्बन्धी माक्र्सको दृष्टिकोणले त्यो मिथकको पर्दा च्यातिदियो । कोभालेभ्स्कीको ‘सामुदायिक भूस्वामित्व’ बाट माक्र्सले अल्जेरियासम्बन्धी टिपोट लिनुभयो । कोभालेभ्स्कीको आँखाबाट माक्र्सले देख्नुभयो, “(पछिल्लो छोटो अवधिलाई छोड्ने हो भने) अरब, टर्की र फ्रान्सले सयौँ वर्षसम्म शासन गर्दासमेत नाता सम्बन्धमा आधारित सङ्गठन तथा भूस्वामित्वका अभेद्य र अविछिन्न सिद्धान्तहरू चुँडाउन सकेनन् ।” दीर्घकालीन विद्रोहले मात्र त्यो सामुदायिक भूस्वामित्व जोगाउन सकेको हुनसक्छ । स्वास्थ्य लाभका लागि माक्र्सले अल्जायर्समा दुई महिना बिताउनुभएको थियो । त्यही बेला उहाँले घोषणा गर्नुभयो, “क्रान्तिकारी आन्दोलनबिना (अल्जेरियालीहरू) पतन र विनाशतर्फ जानेछन् ।” उसैगरी माक्र्सले कोभालेभ्स्कीकै रचनाबाट उद्दरण लिएर भारतमा बेलायतले चलाएको ‘किसानहरूको सामुदायिक तथा निजी सम्पत्तिमाथि लुट मच्चाएकोमा’ विशेष ध्यान दिनुभयो ।
सन् १८८३ मा बित्नुभन्दा अगाडि माक्र्सको स्वास्थ्य निकै खस्कियो । त्यसकारण, उहाँले ‘जातीय नोटबुक’ लाई पुस्तकको आकार दिन सक्नुभएन । उहाँले पुस्तक लेख्ने मन बनाइसक्नुभएको थियो । यद्यपि, माक्र्सको मृत्युपछि एँगेल्सले मोर्गन, मौरेरलगायत अध्येताहरूबाट माक्र्सले गर्नुभएका जातीय खोजहरूलाई अघि बढाउन खोज्नुभयो । एँगेल्सको लेख ‘मार्क’ (सन् १८८२) को पाण्डुलिपि पढेर माक्र्सले टिप्पणी गर्नुभएको थियो । एँगेल्सको रचना ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ (सन् १८८४) भने माक्र्सको मृत्युपछि प्रकाशित भएको थियो । एँगेल्सको विश्लेषण खासगरी विभिन्न संस्कृतिमा देख्न पाइने गोत्र/कुल समाजका नातागोता तथा लैङ्गिक सम्बन्धको जाँचबुझमा आधारित थियो । उत्तर अमेरिकाका इरोक्वा, पेरुका इन्का, भारत–जाभाका ग्रामीण समुदाय, रुसका ओब्शचिना, युरोपका केल्टिक कुल, प्राचीन ग्रीक र जर्मन मार्क गरी विभिन्न समय र स्थानमा सर्वत्र ठूला पारिवारिक समुदाय, साझा बसोबास, साझा भूस्वामित्व, साझा खेतीपाती र सहकारी श्रम रहेको एँगेल्सले तर्क गर्नुभयो । यी पुरातन सामुदायिक सम्बन्धका छाप प्राचीन ग्रीक फ्रेटरी (phratry) र रोमन गोत्रहरू (gens) मा पनि देख्न सकिन्छ ।
(टिपोट : एँगेल्सको लेख ‘मार्क’ उहाँकै अर्को रचना ‘समाजवाद : काल्पनिक र वैज्ञानिक’ को सन् १८९२ संस्करणको परिशिष्टमा छापिएको बताइन्छ । खासमा त्यो लेख सन् १८८२ को पहिलो जर्मन संस्करणमा छापिएको थियो । छाप्नुअघि एँगेल्सले काँटछाँट गर्नका लागि त्यो लेख माक्र्सलाई पठाउनुभएको थियो । माक्र्सले ‘ट्युटोनिक मार्क’ प्रथाबारे आफ्नो ‘जातीय नोटबुक’ मा टिपोट गरिसक्नुभएको थियो । ती टिपोट मौरेरको कृतिमा आधारित थिए । तैपनि एँगेल्सको लेख ‘मार्क’ र भेरा जासुलिकलाई लेखेको पत्रमा माक्र्सले गर्नुभएको टिपोटमा माक्र्सको विचार अझ विकसित भयो । यो विषयमा माक्र्स र एँगेल्सको विचार लगभग दुरुस्त थियो ।)
एँगेल्सले उद्घोष गर्नुभयो, “पितृसत्तात्मक पारिवारिक समुदाय विश्वव्यापी नभए पनि सर्वत्र फैलिएको थियो । यो समुदाय मातृप्रधान साम्यवादी परिवार र आधुनिक एकल परिवारबिचको बिचको चरण थियो ।” तिनीहरूको आर्थिक एकाइ गोत्र थियो, पारिवारिक समुदाय थियो वा बिचको साम्यवादी नातागोता समूह थियो अथवा भूमिको अवस्थाअनुसार यी तीनै समूह अस्तित्वमा थिए भन्ने बहस लामो समयसम्म चलिरह्यो । तर, इतिहासकार टासिटसको वर्णन केलाउँदा मार्क वा ग्रामीण समुदाय नभई पारिवारिक समुदाय नै सबैभन्दा अगाडि आउने दाबी कोभालेभ्स्कीले गरे । यही पारिवारिक समुदाय जनसङ्ख्या बढेर गएर धेरैपछि ग्रामीण समुदायमा विकसित भएको कोभालेभ्स्कीको तर्क रह्यो ।
(टिपोट : एँगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ मा ‘आदिम साम्यवाद’ सम्बन्धी कठोर अवधारणा छ भनी कहिलेकाही पुस्तकलाई नै अस्वीकार गरिन्छ । यही निहुँमा आफ्नो पुस्तक ‘सबथोकको बिहानी’ (द डन अफ एभ्रिथिङ) मानवशास्त्री डेभिड ग्राबेर र पुरातत्वविद् डेभिड वेनग्रोले एँगेल्सको विश्लेषणलाई खारेज गरेका छन् । तर, एँगेल्सले आफ्नो पुस्तकमा कही पनि ‘आदिम साम्यवाद’ पदावलीको प्रयोग गर्नुभएको छैन । यो पदावलीलाई त दोस्रो र तेस्रो इन्टरनेसनलले माक्र्सवादको व्याख्या गर्दा ऐतिहासिक भौतिकवादमा थपेका थिए । एँगेल्सले शिकारी र खाना सङ्कलक समाजहरूलाई जनाउन ‘आदिम साम्यवाद’ पदावली कहिल्यै प्रयोग गर्नुभएन । उहाँले ती समाजलाई जटिल रक्तनाताको आँखाले हेर्नुभयो । तर, उहाँले ती समाजमा रहने ‘कम्युनेली/सामुदायिक’ तत्वलाई पहिल्याउनुभयो । एँगेल्सको तर्क परम्परागत समाजमा रक्तनाता, समुदाय र समानतावादमा केन्द्रित थियो । उहाँको यो खाकाको लय सामान्यतया त्यस यता यस क्षेत्रमा गरिएका खोजसँग मिलेको छ । एँगेल्समाथि एकखाले निरपेक्ष, शुद्ध र परिपूर्ण ‘आदिम साम्यवाद’ को विचार थोपरेपछि ग्राबेर र वेनग्रोले सम्पत्ति–सम्बन्धहरू एँगेल्सले सोचेभन्दा ‘अस्पष्ट’ भएको घोषणा गर्छन् । उनीहरू श्रमको लैङ्गिक विभाजनमा जोड दिन्छन् । मानौँ, यो तर्कले एँगेल्सको तर्कको खण्डन हुन्छ । यसो गर्दा तिनले श्रमको लैङ्गिक विभाजनबारे एँगेल्सकै विचारलाई बेवास्ता गरे । तथापि, सिकारी र खाना सङ्कलक समाजका साथै पछिका धेरै समाजमा सामुदायिक सम्पत्ति र तुलनात्मक रूपमा समान बन्दोबस्ती थियो भन्ने तथ्यलाई अस्वीकार गर्न मिल्दैन । यसरी, एँगेल्सले ‘आदिम साम्यवाद’ पदावलीको जडसुत्रे प्रयोग गरेकोमा विरोध जनाउँदै ग्राबेर र वेनग्रो आफैले सिकारी र खाना सङ्कलक समाजहरूलाई ‘मूलभूत साम्यवाद’ भनेका छन् । जब कि उनीहरूको आरोप सर्वथा गलत छ ।)
एँगेल्सको अवधारणा प्रारम्भमा अति पुराना शिकारी र खाना सङ्कलन गर्ने कबिला समाजहरूमा जगेडा अर्थतन्त्र थिएन । आर्थिक अर्थमा उत्पादनमा भन्दा बढी समाजिक व्यवस्था नातासम्बन्ध तथा जनसङ्ख्याको पुनरुत्पादनमा केन्द्रित थियो ।
रुसी कम्युनको तत्कालीन मुद्दाले माक्र्स र एँगेल्सको विचार निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्यो । यो मुद्दा सुरुमा सन् १८४७–१८५२ मा उठेको थियो । त्यही बेला ब्यारन भोन हाक्सथाउजेन–एबेनबर्गले जारको मद्दतले रुसको कृषि सम्बन्धबारे पुस्तक लेखेका थिए । (उनी जर्मनीका कुलिन र सरकारी अधिकारी हुनुका साथै भूदासप्रथाका समर्थक थिए ।) पुस्तकमा ब्यारनले रुसमा मिर (ओब्शचिना) को चलन रहेको खुलाए । यो खोजले रुसमा जनवादी राजनीतिको विकासमा ठूलो भूमिका खेल्यो । सुरुमा माक्र्सले रुसको मिर प्रथामा खासै केही देख्नुभएन । त्यसलाई उहाँले पुरातन कम्युनेली व्यवस्थाको पतनको रूपमा लिनुभयो । तर, सन् १८६९ मा युवा रुसी विद्वान भीभी बेर्भी (फ्लेरोभ्स्की) को पुस्तक ‘रुसमा कामदार वर्गको अवस्था’ पाएपछि माक्र्सले रुसी भाषा सिक्न ठूलो उत्सुकता र समर्पण देखाउनुभयो । एक वर्षभित्रै उहाँले रुसी भाषा सिक्नुभयो । उहाँले रुसको जनवादी राजनीतिको गहिरो अध्ययन गर्नुभयो । यसपछि मिर प्रथाको समकालीन महत्वबारे उहाँको विचार बदलियो ।
रुसी कम्युनबारे माक्र्सको विकसित दृष्टिकोण पछि प्रकट भयो । सन् १८८१ मा भेरा जासुलिचलाई लेखेको पत्रमा र पछि सन् १८८२ मा (एँगेल्ससँग मिलेर) लेखेको ‘कम्युनिस्ट घोषणापत्र’ को दोस्रो रुसी संस्करणको भूमिकामा त्यो विकसित दृष्टिकोण आयो । जासुलिचलाई लेखेको पत्रमा माक्र्सले रुसी मिर सामुदायिक खेतीको सबैभन्दा विकसित रूप भएको र यसका छापहरू युरोपमा ‘सर्वत्र’ र एसियाका केही भेगमा पाइएको विचार राख्नुभयो । सिजरको पालाका जर्मन कबिलाहरूमा जस्तो प्रारम्भिक रूपहरू नातासम्बन्धमा आधारित रहेको र तिनमा सामुदायिक जीवनयापन र सामूहिक खेतीपाती पाइन्थ्यो । त्यसको विपरीत एक शताब्दीपछि इतिहासकार टासिटसले गरेको जर्मन मार्क प्रथाको वर्णनअनुसार ती किसानी कम्युन (मार्क) मा (भूमिको आवधिक पुनः वितरण गरिने) गाउँले सामुदायिक स्वामित्वसँगै निजी घर र खेती पनि अस्तित्व रहेको पाइन्छ । सो किसानी कम्युनमा सम्पत्तिको ‘दोहोरो’ रूप देखियो । त्यो कम्युन प्रचुर स्रोत हुनुका साथै आउँदो विघटन तथा निजी सम्पत्तिको क्रमिक उदयको सङ्केत थियो । त्यस्तो स्थितिमा रहलपहल सामुदायिक सम्पत्ति घाँटीको जन्तर जस्तो बन्ने निश्चित थियो ।
उन्नाइसौँ शताब्दीमा रुस र एसियामा भेटिएका सामुदायिक कृषि परम्पराका बचेखुचेका सबै रूपमा कृषि कम्युनका उनै आधारभूत विशेषता र ‘दोहोरोपन’ पाइयो । (एसियाको तुलनामा रुसी रूप बाह्य उपनिवेशवादी शक्तिको विकृत प्रभावबाट मुक्त थियो ।) जहाँ जहाँ कृषि साम्यवाद बचेका थिए ती ‘कम्युनमाथि लगभग केन्द्रिकृत निरङ्कुश शासन’ को नियन्त्रण थियो तर ‘स्थानीय सानो–संसार’ को रूपमा तिनले आफ्नो अस्तित्व जोगाएका थिए । यी सबैबाट एउटा प्रश्न उब्जियो – रुसी कम्युन वा मिर नयाँ कम्युनिस्ट समाजको विकासको आधार बन्न सक्छ कि सक्दैन त ? माक्र्सको मोटामोटी जवाफ यस्तो थियो – एक, रुसी कम्युन नातागोतामा आधारित थिएन  । दुई, यसमा ‘समकालिकता’ थियो । यसको अर्थ यसले ‘पुँजीवादी व्यवस्थाका कठोर ताडनामा नपरी’ त्यसका ‘केही सकारात्मक उपलब्धिहरू’ आत्मसात गर्न सकेको थियो । तीन, राष्ट्रिय स्तरमा यसको अस्तित्व थियो । यी यावत कारणले गर्दा रुसी कम्युन मिर भर्खर विकसित भएको सहकारी श्रममा आधारित नयाँ सामुदायिक÷कम्युनेली समाजको केन्द्र बन्न सक्छ । समकालीन पुँजीवादी समाजको सङ्कटले आफै ‘आधुनिक समाजलाई उत्पादनको ‘पुरातन’ सामूहिक स्वामित्वको उन्नत चरणतिर फर्किन’ प्रेरित गर्न सक्छ । तर, यो परिवर्तनका लागि समकालीन समाजवादी आन्दोलनहरूमा आधारित क्रान्ति आवश्यक रहन्छ नै ।
‘कम्युनिस्ट घोषणापत्र’ को दोस्रो रुसी संस्करणको भूमिकाको पुछारमा माक्र्स र एँगेल्सले लेख्नुभयो, “रुसी क्रान्ति पश्चिमा जगतमा सर्वहारा क्रान्तिको संकेत बन्यो र यी दुवै एकअर्काका पुरक बने भने रुसको किसानी सामुदायिक भूस्वामित्व एक कम्युनिस्ट विकासको थालनी बिन्दु बन्न सक्छ ।”

भूत र भविष्यमा कम्युनेली समाज
आफू हुर्केको ट्रिर क्षेत्रमा सामुदायिक भूस्वामित्वका अवशेषहरू बाँकी रहेको तथ्यले आफूमाथि गहिरो छाप पारेको माक्र्सले जीवनभरि बेलाबेला दोहो¥याइरहनुभयो । यी पुरातन सम्पत्ति–सम्बन्धबारे युवा छँदा माक्र्सले आफ्ना वकिल बुबासँग छलफल गर्नुभएको थियो । उहाँले टासिटसको पुस्तक ‘जर्मानिया’ को उल्था किशोर वयमा नै पूरा गर्नुभयो । यसबाट पनि माक्र्सको दृष्टिकोण द¥हो बन्यो । एरिस्टोटल र एपिक्युरसका रचनामा ग्रीक पोलिसको सामुदायिक प्रकृतिको चर्चा थियो । माक्र्सले अध्ययनको सुरुआती चरणमै तिनको अध्ययन गर्नुभयो । दोस्रो, राइनिश जाइतुङको प्रबन्ध सम्पादकको रूपमा उहाँले वनजङ्गलमाथि किसानहरूले आफ्नो परम्परागत अधिकार गुमाएको मुद्दा केलाउनुभयो । तेस्रो, समाजको आधार दोहन/स्वामित्व हो भन्ने हेगेलको धारणालाई अङ्गीकार गर्नुभयो । यी तीनै कुराले माक्र्सको दृष्टिकोण निर्माणमा मलजल गरे । सन् १८४२ मा माक्र्सले लेख्नुभयो – सम्पत्तिको उदय ‘प्रकृतिको मूल शक्ति’ र मानव श्रमबाट भयो । उबेलाको जर्मनीमा वनजङ्गलबाट दाउरा लिन पाउने परम्परागत/सामुदायिक अधिकारमा यो कुरा प्रस्टसँग देखिन्थ्यो । मानव अस्तित्वका आधारभूत दोहनका सबै रूपसँग त्यो अधिकार मेल खान्थ्यो ।
साम्यवादप्रति माक्र्सको दृष्टिकोण सुरुदेखि नै ऐतिहासिक भौतिकवादी थियो । उहाँले मानव जातिको उद्भव सामाजिक रूपमा भएको भनी जोड दिनुभयो । उहाँले यस विषयमा फ्रान्सेली समाजवादी र जर्मनीका युवा हेगेलपन्थीहरूबिच त्यसबेला चल्तीमा रहेका व्यक्तिवादी, आदर्शवादी, रुमानी र काल्पनिक दृष्टिकोणको खण्डन गर्नुभयो । आफ्ना प्रारम्भिक रचनादेखि नै माक्र्सले मानव जातिले प्रकृतिको दोहन स्वाभाविक र सामुदायिक रूपमा गर्दै आएको† मानव इतिहासभरि नै मानव श्रमको उपजको रूपमा सम्पत्ति–सम्बन्धको सामाजिक विकास भएको; र यो कुरा पुँजीवादी निजी सम्पत्तिको अलगावपूर्ण सम्बन्धको ठिकविपरीत रहेको तथ्यमा जोड दिनुभयो । यो बुझाइमा गहिरो मानवशास्त्रीय दृष्टिकोण र संस्कृतिको श्रम सिद्धान्त अन्तर्निहित छ । यसबाट उत्पन्न हुने सामाजिक अस्तित्वको अवधारणा (सत्तामीमांशा) ले माक्र्सले गर्नुभएको राजनीतिक अर्थशास्त्रको समग्र आलोचनाको जग बनायो । अतीतले मानव जातिको भविष्यको सङ्केत दिन्छ र उच्चतर कम्युनेली समाजको रचनाका माध्यमबाट वर्तमानलाई बदल्न सकिन्छ भन्ने विचार सुरुदेखि नै माक्र्सको चिन्तनमा पाइन्छ ।
माक्र्सको चिन्तनको जगमा कम्युनेली समाजको निकै महत्वपूर्ण स्थान छ । त्यसकारण, सामुदायिक सम्पत्ति तथा सामुदायिक सुशासनका अनेक रूपहरू केलाउन उहाँले आफ्नो समयमा उपलब्ध सम्पूर्ण ऐतिहासिक तथा मानवशास्त्रीय सूचनाहरूमा भर पर्नुभयो । उहाँले पुराना खेतीपातीमा आधारित कम्युन र सहरी कम्युनका बनोटको पनि जाँचबुझ गर्नुभयो । उहाँले ग्रीक र रोमन इतिहासका साथै औपनिवेशिक प्रशासकका सरकारी ढड्डा र सुरुसुरुका जातीय अध्ययनका कृतिको गहिरो अध्ययनमा आफूलाई होम्नुभयो । यो अध्ययन र अनुसन्धानलाई अन्य माक्र्सवादीहरूले अघि बढाए । खासगरी रोजा लक्जेम्बर्गले यो अध्ययनलाई अघि बढाउनुभयो । अन्त्यमा अतीतले वर्तमान र भविष्यबिच पुलको काम गर्छ भन्नेमा माक्र्स विश्वस्त हुनुभयो । मानव जातिको प्राकृतिक र स्वतःस्फूर्त सामुदायिक जगले अझ उच्च समाजमा पुनर्जीवन पाउनेछ । युरोपमा मात्र होइन क्रान्तिमार्फत संसारभर त्यसले नवजीवन पाउनेछ । इतिहासकार एरिक हब्सबामले लेखे, “माक्र्सका विचारको कुनै पनि गलत व्याख्या ‘माक्र्सले पश्चिमका उन्नत औद्योगिक देशहरूबाटै क्रान्तिको अपेक्षा गर्नुभएको थियो’ भन्नु जत्तिको विकृत हुन सक्दैन ।”
हाम्रो युगमा पनि चिनियाँ क्रान्तिमा सुरुसुरुमा जीवन्त जनकम्युनहरू देखापरे । ती कम्युनमा सामूहिक भूस्वामित्वका प्रणाली थिए । त्यस्तै भेनेजुयलामा विविधतापूर्ण कम्युन देखापर्दैछन् । भेनेजुयला अहिले ‘कम्युनेली राज्य’ रच्ने सङ्घर्षमा छ । हाम्रो युगका यी दुई उदाहरणबाट के देखाउँछन् भने मानव जातिले भविष्य देख्ने नै हो भने एउटा कम्युनेली समाजको रचना अत्यावश्यक छ । त्यो कम्युनेली समाज खासमा सम्बद्ध÷एकताबद्ध उत्पादकहरूको, उत्पादकद्वारा र उत्पादककै लागि हुनेछ ।
(जोन बेलमी फोस्टर ‘मन्थ्ली रिभ्यू’ पत्रिकाका सम्पादक हुनुहुन्छ । उहाँ संरा अमेरिकाको ओरेगन विश्वविद्यालयमा समाजशास्त्र अध्यापन गर्नुहुन्छ ।
स्रोत : मन्थ्ली रिभ्यू । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *