भर्खरै :

उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने सरकार जरुरी

उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने सरकार जरुरी

भक्तपुर, १० असोज । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा मार्गनिर्देशन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले देशको अर्थतन्त्र कर्मचारीको तलब र सुविधासमेतको लागि विदेशीसँग ऋण लिनुपर्ने गरी कमजोर भएको र कतिपय स्थानीय तहको पनि कमजोर आर्थिक अवस्था रहेको बताउनुभयो ।
अक्टोबर समाजवादी क्रान्तिपछिका १८–२० वर्षमा सोभियत सङ्घको सरकारले रुसलाई संसारको दोस्रो अर्थतन्त्र बनाएको तर आजसम्मका नेपाल सरकारहरूले सार्वजनिक ऋण २७ खर्ब, वर्षको व्यापारघाटा १५ खर्ब, बेरुजु ४ खर्ब रुपैयाँ पु¥याएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “चौध ओटा साम्राज्यवादी देशको उपनिवेशबाट सन् १९४९ मा चीन मुक्त भयो र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनमा समाजवादी व्यवस्था अघि बढ्यो । दुई वर्षअघि अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सि चिनफिङले चीनमा गरिबी निवारण भएको बताउनुभयो । संरा अमेरिकामा गरिबी निवारण भएको छैन भने जातीय विभेद बढ्दो छ ।”
नयाँ पुस्तालाई तयार गर्ने महत्वपूर्ण ठाउँ विद्यालय नै हो । नेपालका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर भएको सार्वजनिक भइरहेको छ । यसतर्फ शिक्षकहरूले थप मिहेनत गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘देश हाम्रो हो, हामीले बनाउने हो’ बताएको सार्वजनिक भयो । २०७२ सालको संविधान घोषणा भएयता एमाले अध्यक्ष ओली ३ पटकमा ५ वर्षभन्दा बढी प्रधानमन्त्री भए तर त्यतिबेला देश र जनताको हितमा केही गर्न सकेनन् । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवास, अख्तियारको भवन आगजनीमा परेपछि भदौ २४ गते राजीनामा दिएको ओलीले अहिले ‘देशै हामीले बनाउने’ भन्नुको अर्थ नहोला ।”
संविधानको धारा १३२ (२) मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश भइसकेका व्यक्ति कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य नहुने उल्लेख भएअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरेको संविधानसम्मत भएको मान्न नसकिने धारणा राख्दै सचिव सुवालले भन्नुभयो, “राष्ट्रपति पौडेललाई यस्तो कदम उठाउन शासक दलहरू नेका, एमाले, माओवादी, एसले सहमति दिएको पनि संविधानसम्मत छैन ।”
गरिबको सहकारी संस्थामा जम्मा गरिएको रकम रवि लामिछानेले लगेको बताउनेहरू अहिले सरकारमा पुगेको हुँदा अब जनताको बचत ठगी गर्नेबाट असुल गराई जनतालाई फिर्ता गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।
नेपालमा निर्वाचन धाँधलीरहित नभइरहेको अवस्थामा संसारको १७१ भन्दा बढी देशमा रहेका नेपालीलाई धाँधलीरहित ढङ्गले मतदान गराउनु सजिलो नहुने धारणा राख्दै उहाँले पहिला नेपालभित्र स्वच्छ निर्वाचन हुनु जरुरी छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “देश र जनताको समस्या समाधानको लागि प्रधानमन्त्री र मन्त्री हुनेहरू परिवर्तन भएर पुग्दैन, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुनु आवश्यक छ ।”
साम्राज्यवादले इराकमा आक्रमण गरेको बेला त्यहाँको सेनाले इराकी नेता सद्दाम हुसेनलाई साथ दिएनन् भने लिबियाका नेता कर्णेल गद्दाफी साम्राज्यवादको गुप्तचरबाट मारिए, उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “कर्मचारीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रकाशित हाम्रा पुस्तकहरू अध्ययन गर्नु जरुरी छ । पुँजीवादी विचार बोक्ने नयाँ पुस्ता र नयाँ पार्टीको औचित्य हुँदैन । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने समाजवादी विचार अँगाल्ने पुराना पुस्ताले पनि देशलाई हाँकेको धेरै देशको उदाहरण छन् । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने सरकार जरुरी छ । नेका, एमाले र माओवादी सरकारकै बाटोमा हिँड्ने सरकारको औचित्य छैन ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाडपर्वमा रमाइरहँदा अनपेक्षित घटनाहरू घट्न सक्ने हुँदा राष्ट्रसेवक कर्मचारीहरू चनाखो हुनुपर्ने बताउँदै बिदाको समयलाई रचनात्मक कार्यहरू गरेर आफ्नो समयलाई सही ढङ्गले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले जसरी देश रक्षाको निम्ति देशका सुरक्षाकर्मीहरू सदैव तैनाथ हुन्छ, त्यसरी नै कर्मचारीहरू पनि आफ्नो कर्तव्यबारे सचेत भएर लाग्नुपर्ने बताउँदै देश विकासका मेरुदण्डको रूपमा रहेका युवाहरूलाई देशमै केही गर्न सक्ने गरी कार्यक्रमहरू अगाडि ल्याउनुपर्ने बताउनुभयो ।
जेनजी आन्दोलनको क्रममा विदेशी राष्ट्रहरूसँगको महत्वपूर्ण दस्ताबेजहरू सबै जलिसकेको अवस्थामा त्यसको परिणाम अब नेपाली आफैले भोग्नुपर्ने बताउँदै उहाँले वर्तमान प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक रहेको प्रस्ट पार्नुभयो ।
समाजवादी र पुँजीवादी व्यवस्थाबिचको भिन्नताबारे अवगत गराउँदै नगर प्रमुख प्रजापतिले समाजवादी व्यवस्था आम जनतामा केन्द्रित व्यवस्था हो र यसले व्यापक जनताको हितमा काम गर्ने बताउनुभयो ।
देशमा व्याप्त भ्रष्टाचार र अनियमित गतिविधिका कारण समाजमा बढ्दै गएको आक्रोश जेनजीमार्फत पोखिएको बताउँदै उहाँले भ्रष्टाचारीलाई छानबिन गरी कारबाही गर्नु आवश्यक भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले दसैँमा आफ्ना व्यक्तिगत गतिविधिसँगै कर्मचारीहरूले सामाजिक र राजनैतिक गतिविधिमा सचेतना अपनाउनुपर्ने बताउनुभयो ।
मित्र राष्ट्र चीन भ्रमणको आफ्नो अनुभव सुनाउँदै कुनै समय एउटा अविकसित गाउँको रूपमा रहेको चीनको शान–नान सहरले अकल्पनीय रूपमा विकास गर्न सफल भएको बताउनुभयो ।
उहाँले शान–नान सहर भ्रमणमा धेरै कुरा सिक्ने अवसर मिलेको बताउँदै कृषि, सहकारी, उद्योग आदि सबै क्षेत्रमा सरकारको लगानी रहेका कारण विकास गर्न सहज भएको हो भन्नुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले चीनको शान–नान प्रान्त द्रुतगतिमा विकास भइरहेको बताउँदै मित्रराष्ट्र देशबाट सिकेर नेपालले पनि यहाँको सामाजिक र आर्थिक विकासमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *