साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन – ७
- कार्तिक २५, २०८२

भक्तपुर, १० असोज । बाल विकास सेकेन्डरी स्कूल लिबाली, भक्तपुरमा शिक्षकहरूबिच दसैँ शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
उक्त अवसरमा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले भारतीय विस्तारवादले इतिहासदेखि नै नेपालका महत्वपूर्ण दस्ताबेज नष्ट गरेर नेपाललाई सिक्किमीकरण गर्न खोजेको प्रस्ट पार्दै अहिले जेनजीका नाममा भएको अन्तरध्वंस पनि त्यसैको सिलसिला भएको बताउनुभयो ।
देशको हितमा भएको आन्दोलन भए किन देशका महत्वपूर्ण धरोहरलाई निशाना बनाइयो ? किन आउने चुनावमा जनतालाई सचेत पारेर बहुमत ल्याई भ्रष्ट र दलाललाई उदाङ्ग्याउने आँट गरिएन ? भन्ने प्रश्न गर्दै उहाँले अहिले सेलिब्रेटी भनाउनेहरू कतै न कतैबाट परिचालित भएको ठोकुवा गर्नुभयो ।
उहाँले शिक्षकहरूमा सामूहिक भावना हुनुपर्ने धारणा राख्दै एक्लै अघि बढ्न खोज्ने मानिस कहिल्यै सफल नहुने बताउनुभयो । अध्ययनशील मानिसले हरेक क्षेत्रमा अघि बढ्ने भएकोले शिक्षकहरूलाई अध्ययनशील बन्न उहाँले सल्लाह दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले विद्यालय/कलेजहरू राजनीतिक सुझबुझ राख्ने थलो बन्नुपर्ने धारणा राख्दै शिक्षक, प्राध्यापक र विद्यार्थीमा राजनीतिबारे ज्ञान हुनैपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको नयाँ पुस्तामा राजनीतिको गहिरो ज्ञान नहुँदा नेपालमा भर्खरैको वितण्डा मच्चिएको धारणा राख्नुभयो ।
अमेरिकाले देशभित्रकै जनतालाई मध्यपूर्वमा भिडाएर आफ्नो स्वार्थपूर्ति गर्न खोजिरहेको बताउँदै नयाँ पुस्तालाई यसबारे सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू सीता प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, सृष्टि प्रधान, गङ्गा वैद्य, वीणा कर्माचार्य, विजेश्वरी फैजु र चिनियाँ भाषा शिक्षिका राजमतीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले विद्यालयको सातौँ गीत तजिलजि पनि सार्वजनिकीकरण गर्नुभयो ।
दसैँको अवसरमा विद्यार्थीहरूबिच पनि शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
त्यस्तै सांस्कृतिक कार्यक्रमसहितको शुभकामना कार्यक्रम लिशा इङ्गलिस सेकेन्डरी स्कूलमा पनि भएको थियो ।
Leave a Reply