भर्खरै :

कला : जीवन–दर्शन र यथार्थ – ५

कला : जीवन–दर्शन र यथार्थ – ५

कलाको जगत्मा विज्ञानमा झैँ यथार्थको एक टुक्रालाई अरू भागसँग छुट्टयाएर हेर्न मिल्दैन । विज्ञान मूक, निश्चल र अचेतनमा प्रयोग गर्दछ– कला चेतना, इच्छा र गति भएका प्राणीहरूको जीवनमा । मनोविज्ञानको क्षेत्र पनि कलाको क्षेत्रसँग मिल्दछ । त्यसैले मनोविज्ञान–विज्ञानका अन्य क्षेत्रभन्दा ज्यादा जटिल छ । मानव व्यवहारभन्दा बढ्ता जटिल कुराहरू केही छैनन् । सरलबाट जटिलतिर बढ्नु विज्ञानको विधि हो । अतः मानव मनको खोज गर्न पशु मनको प्रक्रियापट्टिबाट ठिक्कै हो । तर सरलले व्याख्या गर्न खोज्दा अति साधारणीकरण हुने खतरा पनि उत्तिकै हुन्छ । आदिम र आजको सामाजिक मानव उही वस्तु होइन । मानवको व्यक्तित्व समाजको देन हो । तर आजसम्मको मनोविज्ञानले मनुष्यलाई समाजबद्ध मनुष्य वा सम्पूर्ण मनुष्यमा लिएको छैन । अतः व्यक्तिगत चिकित्साको मनोविज्ञानका न्यूटन, डार्विन र आइन्स्टाइन उत्पन्न हुन बाँकी नै छ । आजसम्म पनि मनोविज्ञान धेरै मात्रामा दर्शन र विश्वास (धर्म) को क्षेत्र बनेको छ । फ्रायड, एडलर, जूड आदिका विशेष शब्दावली र प्रणालीमा ध्यान दिए पौराणिक र धार्मिक ग्रन्थका प्रतीकहरू– देव, दानव, प्रकृति, पुरुष, वर्जित, फल, ईशाइ, पुराणको कथा, तृष्णा, शाश्वत स्फूर्ति आदि – मनोविज्ञानमा पनि पाउनु हुनेछ । सायद धार्मिक रूपमा र ज्यादै सरलीकरण गरेर पेस गरेकोले नै मनोविज्ञान आजको युगको धर्मजस्तो बनेको छ । मानव रहस्य बुझ्ने दाबी एक–दुई मनोविज्ञानका पुस्तक पढेर जो पनि गर्दछन् फ्रायडको नाम लिनु नै आधुनिकताको लक्षण बनिसक्यो । सेक्ससम्बन्धी उदार र चाखलाग्दा कुराको गन्ध पाएर शिक्षित युवक समुदाय यतापट्टि निकै आकर्षिक भएका छन् । जीवनसम्बन्धी घोर व्यक्तिवादी, भोगवादी (Hedonist), पलायनवादी दृष्टिकोण भएका असामाजिक तत्वहरूलाई फ्रायडवाद सैद्धान्तिक आधार बनेको छ । विज्ञानलाई धार्मिक रूपमा पेस गर्दा त्यो विज्ञान सस्तो र भ्रमात्मक बन्ने नै भो । सडकका पेटीमा योगासन र मनोबलका चमत्कार देखाएर हिँड्नेहरूले योग, हिप्नोटिज्म आदिलाई जति विकृति र भ्रान्तिपूर्ण रूप दिइरहेका छन् त्यतिकै आजका कुरैपिच्छे स्याडिज्म, मेसोसिज्म, साइको सोसाइटिक, इन्फेरिओरिटी कम्प्लेक्स, परभर्सन, सब्लिमेसन आदि शब्दहरूको प्रयोग गर्ने तथाकथित विद्वत् समाजले मनोविज्ञानको विरूपीकरण गरिरहेका छन् । विचरा मनोवैज्ञानिकहरू आफू स्वयम् कुनै निर्णयमा पुगिसकेका छैनन् तर उनका अन्ध अनुयायीहरू विश्वका सारा कुराको जड यौन भन्ने व्याख्या दिएर विजय–नाद गर्दै हिँड्दछन् । मनोविज्ञानलाई अन्धविश्वास र अङ्कलको क्षेत्रबाट विज्ञानको क्षेत्रमा लान वस्तुगत र व्यवहारवादी शारीरिक मनोविज्ञान (Objective, behaviourist phsycology) पट्टि अझ धेरै खोज गर्न बाँकी नै छ । फ्रायडको केवल जीव वैज्ञानिक दृष्टिकोण र अहिलेसम्मका वस्तुवादी व्यवहारवादीहरूको केवल यान्त्रिक वस्तुगत दृष्टिकोण दुवै समग्र मानवको अध्ययन गर्न असफल भएका छन् । एकाङ्गी सत्यहरूको जोड सम्पूर्ण सत्य हुँदैन । मनको क्षेत्रमा आज उषाको प्रथम किरणसम्म परेको छ, पूर्ण सूर्योदय हुन एकाध शताब्दी लाग्न सक्दछ । मध्याहन त कता हो कता । एडलरले सामाजिक मानवतिर बढ्ने केही प्रयास अवश्य गरे, तर उनको पनि झुकाव सजिलोपट्टि नै हुँदै गयो । युग आफ्नो रहस्यमय कल्पना सागरमा डुबेर अन्तरमुखी प्रक्रियाद्वारा मानवको सत्य थाहा पाउने प्रयासमा छ । तर, आदिम मानवका आदिम, सरल कल्पनाबाट उत्पन्न भएका दन्त्यकथा, नृत्य आदिबाट आजको जटिल सामाजिक जीवनका समस्याहरूको विषयमा कतिसम्म प्रकाश पर्न सक्ला विवादास्पद नै छ ।
आजको मनोवैज्ञानिक सिद्धान्तअनुसार कथा लेख्ने धेरैजसो साहित्यकारहरूले मानव व्यक्तित्व र समाजको बिचमा चल्ने अन्तद्र्वन्द्वलाई सामञ्जस्य र सन्तुलनमा ल्याउनुसट्टा झन् असन्तुलन र विकृति उत्पन्न गर्न पट्टि लागेका छन् । कला र विज्ञानको लक्ष्य हुनुपर्दछ मानवलाई अधिकाधिक सुखी, सचेत, स्वतन्त्र, स्वस्थ, सबल र सुन्दर बनाउनु । मनोवैज्ञानिक सिद्धान्तअनुसार लेख्ने साहित्यकारहरूले त जीवनलाई खण्डित, विकृत र असामाजिक नै बनाएका छन्, मनको रहस्योद्घाटन गरेर ‘अहम्’ तथा ‘सामाजिक अहम्’लाई अन्ध प्रवृत्तिहरूको दासत्वबाट मुक्त गर्नुको सट्टा यस्ता प्रवृत्तिहरूको अगाडि आत्मसमर्पण गरेर पशुत्वतिर बढ्नु नै मानवको चरमादर्श भन्ने प्रचार गरेको मात्र देखिन्छ । प्रयोगवाद (Empiricism वा Pragmatism) अति–यथार्थवाद (Surrealism) अति–आधुनिकतावाद (Ultra–modernism) अस्तित्ववाद (Existentialism) आदि प्रवृत्तिहरूकाले आजको युरोपीय साहित्यलाई खोक्रो र रोगग्रस्त नै पारेका छन्, झन् फ्रायडवादको सबभन्दा बढ्ता प्रचार भएको अमेरिकाको सामाजिक जीवन र साहित्यको त कुरै नगरौँ । मनोविज्ञानलाई व्यावसायिक कूटनीतिक प्रचारात्मक साधनको रूपमा प्रयोग गर्दा परमाणु बम, विषालु ग्याँस र राष्ट्रलाई नपुंसक बनाउने औषधिभन्दा पनि बढ्ता हानिकारक बनाउन सकिन्छ ।
जहाँसम्म मानवको गहन संवेदना र अनुभूतिलाई प्रकाशमा ल्याउने प्रश्न उठ्दछ– आजका मनोवैज्ञानिक लेखकभन्दा पहिलेका धेरै सफल लेखकहरूले नै यस दिशामा पनि बढ्ता सफलता पाएका पाउँछौँ । सेक्सपियर, मोपासाँ, टाल्सटाय, दोस्तोभस्की, चेखब, जेक लन्डन, इमली ब्रन्टी, रवीन्द्र र शरद्चन्द्र आदि यसका प्रमाण छन् । जीवनको पाठशालामा पढेको मनोविज्ञान झन् गहन र व्यापक हुँदोरहेछ, प्रयोगशालाको ज्ञानभन्दा धेरै स्पष्ट, व्यावहारिक र यथार्थवादी हुँदो रहेछ । उनको आँखाअगाडि छानिकन ल्याइएका विकृत, असाधारण र असामाजिक प्राणी मात्र हुँदैनन् समग्र जीवनमा उनीहरू पौडी खेल्दछन् । त्यसैले उनका पात्रमा पाठकहरूले आफ्नै परिचितहरूको चित्र देख्दछन् उनका कथामा जिन्दगीको कहानी पाउँदछन्, उनका वर्णन र चित्रणमा आफ्नो अनुभूतिले वाणी पाएको देख्दछन् ।
अतः साहित्यलाई मनोविश्लेषणका नियमहरूले व्याख्या गर्न खोज्नु वा मनोविज्ञानका सिद्धान्तहरूलाई पात्रहरूको रूपमा साहित्यमा उतार्न खोज्नु एकाङ्गी दृष्टिकोण मात्र हुन्छ । साहित्य अचेतन मनको खेल मात्र होइन, न्युरोटिक कन्ल्फिक्ट्को उपज स्नायविक द्वन्द्व मात्र होइन, वासनाको उन्नयन, ‘सब्लिमेसन अफ द लिबिडो’ मात्र होइन । ह्याम्लेटलाई त हामी (Oedipus Complex) पितृघाती जटिलताले व्याख्या गरौँला तर त्यही नाटकका अन्य पात्रहरू जसको प्रभावले ह्याम्लेटको व्यक्तित्वलाई त्यो रूप दिएको छ, को विषयमा के गर्ने ? न्युरोटिकको जटिलता वैयक्तिक कुरा हो । अतः यसको अनुभूति सबैले गर्न सक्दैनन् र यस्तो न्युरोटिकले लाखौँ करोडौँ मानिसको ऐतिहासिक गतिलाई आफ्नो जटिलताको रङ्गमा कसरी रङ्गाउन सक्दछ ? हिटलरको मनोविश्लेषण गरेर उसको व्यवहार बुझ्न सकिएला तर फासिज्मको झन्डामुनि एकत्र हुने करोडौ जर्मन, इटालियन, जापानी आदिको ऐतिहासिक व्यवहारको यौन व्याख्या कसरी गर्ने ? साहित्यको नाम त्यही वस्तुले मात्र सार्थक गर्न सक्दछ जसमा सम्प्रेषण होस, जसले अरूको भावनालाई छुन सकोस् । अतः साहित्य मुख्यतः सामाजिक चेतनाको (चेतन मनको) फल हो न कि निष्प्रयास सङ्गठन (Free association), स्वप्न वा प्रलाप हो । अनुभूति, भाषा, अभिव्यक्ति सबैमा सामाजिक सम्बन्ध स्पष्ट छन् ।
पूर्णतः व्यक्तिगत अचेतनबाट साहित्य सृजना हुन सक्तैन, काव्यसम्म सम्भव भए पनि कथा साहित्य त असम्भव नै छ । यथार्थ जगत्प्रति न्युरोटिक (स्नायविक गडबडीले ग्रस्त) को भावना सधैँ एक विशिष्ट दिशातिरै लागेको हुन्छ तर सधँै मानिसको भावनामा बाहिरी र भित्री प्रभाव परिरहन्छ । न्युरोटिकको जटिलता अचेतनमा हुन्छ जसको उसलाई ज्ञान हुँदैन । अतः ऊ अन्धप्रवृत्तिहरूद्वारा चालित र यसैलाई मुक्ति, स्वतन्त्रता सम्झन्छ, आत्माको सन्देश भन्ठान्दछ, मेसिनझै हुन्छ । बाह्य जगत्का नियम, व्यवस्था आदि सब उसको दृष्टिमा नेल, हत्कडी हुन्छन्, आत्मा अर्थात् जीववैज्ञानिक अन्ध प्रवृत्तिहरू भौतिकताको कठोर बन्धनमा छटपटाइरहेको अनुभव गर्दछ, (यद्यपि उसको आत्माकै इच्छा पनि भौतिक नै हुन्छ । जस्तैः प्रेयसीको न्यानो वक्षमा कहिल्यै नछुट्टिने गरेर टाँसिने इच्छा, एकान्त जङ्गलमा छहराको किनारमा बसेर अनन्तकालसम्म मधुवालाको हातले मद्यपान गर्ने आकाङ्क्षा, लेखक वा कवि वृद्धावस्थातिर ढल्कँदै गएको छ भने यौन–इच्छाको ‘आध्यात्मीकरण’ कृष्ण वा प्रकृतिदेवीमा इच्छा) अव्यावहारिक, अतार्किक र अवैज्ञानिक भए तापनि भावुकतामा आनन्द अवश्य छ । अतः उपयोगिता पनि । वास्तवमा साहित्यकारको जटिलता (कम्प्लेक्स) अचेतन र चेतनको द्वन्द्व, व्यक्तिको वासना र समाजको आवश्यकता तथा सीमाहरूको टक्करको फल हो । यस्तो टक्करले साहित्यकार मात्र होइन अन्य बौद्धिक व्यक्ति पनि पीडित हुन्छन् । व्यक्ति महत्वपूर्ण कि समाज ? यो प्रश्न नै आजका ठुला ठुला वादहरूको मूलमा देखिन्छ । यो प्रश्नको उत्तरमा दुई अतिहरू निस्केका छन्– बट्रककन्ड रसेल र यस्तै अराजकतावादीहरूको एक अति र सामूहिकताभित्र व्यक्तिलाई बेपत्ता पारिदिने अर्को अति । वास्तवमा हामी अझ गहिरोमा गयौँ भने दुवै अतिको मूल इच्छा उही छ–अरूको निम्ति सामूहिकता, आफ्नो निम्ति पूर्ण निरङ्कुशता । बट्रककन्ड रसेलको व्यक्तित्वलाई पूर्ण स्वतन्त्रता दिँदा अरूको स्वतन्त्रता हनन हुन्छ र सबैलाई पूर्ण स्वतन्त्रता दिए यति उधुम मच्चिन्छ कि बट्रककन्ड रसेलले आफ्नो व्यक्तित्वको प्रदर्शन गर्ने पाउन्नन् । व्यक्ति र समाजको बिचमा नदी र त्यसमा उठिरहेका तरङ्गहरूजस्तो सम्बन्ध भयो भने मात्र कल्याण हुन सक्दछ । तरङ्ग नदीको प्रवाहबाट स्वतन्त्र छैन तापनि उसको व्यक्तित्व छँदैछ । सारांश यो हो कि साहित्य धेरै मात्रामा चेतन र स्वतन्त्र अवस्थाको फल हुन्छ किनभने यो एक नियोजित र सङ्गठित इच्छापूर्ति हो । समाजलाई बिर्सेर व्यक्तित्व, स्वतन्त्रता, इच्छापूर्ति आदिको अर्थ नै के हुन्छ ?
वस्तुगत जीवनका अन्तर्विरोध नै मनोजगत्का अन्तर्विरोधको आधार हो किनभने मनोजगत्का सङ्घर्ष इच्छाहरूको सङ्घर्ष हो र इच्छाको पूर्ति भौतिक रूपबाटै हुन्छ (अतिन्द्रिय इच्छाको कल्पनासम्म पनि हामी गर्न सक्दैनौँ), इच्छाको उत्पत्ति पनि भौतिक क्रिया हो । तैपनि भौतिक संसारलाई तुच्छ भन्दै नाक चेप्राउने महानुभावहरूले आफ्ना भौतिक इन्द्रियद्वारा भौतिक अनुभव र भौतिक चेतनाद्वारा अभौतिक सत्यहरू घोषणा गरिरहेकै छन् चाहे त्यो इच्छापूर्ति वा स्नायविक गडबडीको उपज नै किन नहोस् । साहित्यमा रहस्यवादी प्रवृत्ति यस्तै अभौतिक लोकको चर्चा गर्दछ (तर यस्ता शब्दमा साधारण शिक्षित मानिसले बुझ्नै नसकेर त्यसै प्रभावित भइहाल्दछन् र बुझ्ने मानिसले निरर्थक प्रलाप मानेर पनि जटिल कल्पनाको आनन्द सम्झन्छन् र केही बुद्धिजीवीले साधारण आम जनताभन्दा आफूलाई धेरैमाथि उठेको देखाउन समर्थनमा टाउको हल्लाइ हाल्दछन्) रहस्यवादका पनि अनेक रूप हुन्छन् र सबै रहस्यवादलाई फजुल सम्झनु भूल हो । जसरी भौतिक जीवनका अन्याय र उत्पीडनले द्रवित भएर मानव आकाशतिर हात जोड्दछ, त्यसैगरी एक विराट् चेतनाको कल्पना गरेर त्यसलाई आफ्नो वेदना सुनाउन सक्छ । मानवताको निम्ति आह्वान गर्ने व्यक्तिको बाटोमा हामी अविश्वास गर्न सक्छौँ तर उसको भावनामाथि श्रद्धा गर्न करै लाग्दछ । रवीन्द्र, मिल्टन, प्रसाद, टाल्सटाय आदिको रहस्यवाद यही कारणले नै प्रगतिशील मानिन्छ ।
चेतना वस्तुगत जीवन (Concrete living) बाटै उत्पन्न हुन्छ । प्रकृति, समाज र व्यक्तिको क्रिया–प्रतिक्रिया सक्रिय व्यवहार सामाजिक मानवको सामाजिक श्रम र सङ्घर्ष तथा यसैको आधारमा बनेको चेतना र अनुभूतिबाट विचार बन्दछ । सामाजिक वातावरण र मानिस दुवै परस्पर निर्भर र परस्पर क्रिया–प्रतिक्रियाका एक शृङ्खला हुन् । विचारको क्षेत्रमा एकदम नयाँ चेतना त्यसै आकस्मिक रूपले उत्पन्न हुँदैन र कसैको मस्तिष्कमा उत्पन्न भइहाल्यो भने पनि समाजलाई त्यसको आवश्यकता अनुभव नहुञ्जेल प्रकाशमा आउँदैन । कणादको परमाणुवाद बीसौँ शताब्दीमा मात्र प्रकाशमा आयो यसभन्दा पहिले तीन हजार वर्षसम्म केही दार्शनिकबाहेक अरूलाई थाहासम्म थिएन र ती नै दार्शनिकले पनि यसलाई विशेष महत्व दिएका थिएनन् । त्यस्तै भारतका आदिम प्रजातन्त्रीय अथवा भौतिकवादी विचारधाराहरूको खोज गर्ने आवश्यकता हामीले आज मात्र अनुभव गरेनौँ, राष्ट्रिय आयोजनालाई अर्कै आर्थिक व्यवस्थाको कुरा सम्झेर उपेक्षा गरिरहेका देशहरूले आयोजनाका सिद्धान्तलाई समस्त साधन लगाएर जनतालाई बुझाउनुपर्ने जरुरत परेको पनि देखिरहेछौँ । भूमिसुधार र राष्ट्रियकरणको उच्चारण गर्नु आज अनर्थ वा डर लाग्दो विचार मानिन्न । भौतिक वातावरण र भौतिक जीवन बदलिएपछि मात्र नयाँ चेतना उत्पन हुँदोरहेछ वा फैलिँदोरहेछ । तर, हामीले यो पनि बिर्सनुहुँदैन कि भौतिक वातावरण र भौतिक जीवन आफै बदलिन्न । मानवको प्रयासले नै परिवर्तन आउँदछ र प्रयास गर्नुभन्दा पहिले मानवको अगाडि एक आदर्श आवश्यक हुन्छ । घटना, देश, काल र व्यक्तित्वको योग हो । अतः गतिशील यथार्थवाद देश (अर्थात् यथार्थको तात्कालिक र क्षणिक चित्र) भन्दा काल (यथार्थमा परिवर्तन, गति, परम्परा र विकास) ऐतिहासिक तत्वमा ज्यादा महत्व दिन्छ । यथार्थ जीवन देश र कालमै फैलिएको हुन्छ । अतः गतिशील यथार्थवादले मात्र समग्र चित्र खिच्न सक्दछ । उपन्यास र कथाले यथार्थलाई गतिको रूपमा (प्रक्रियाको रूपमा, विकासको रूपमा, ऐतिहासिक रूपमा, नयाँ–नयाँ गुणको उत्पत्तिको रूपमा) लिन्छ । देश काल सम्बन्धी (Spato temporal relation) लाई छाडेर कथा बन्नै सक्दैन । काव्यमा साहित्यकारको ‘अहम्’ आफै बोल्दछ । आफ्नै व्यक्तित्व र भाषामा बोल्दछ । अतः काव्यमा समयको मूल्य छैन । तर कहानी र उपन्यास यति स्वप्निल र स्वतन्त्र हुन सक्तैनन् किनभने यहाँ लेखकको ‘अहम्’ले सामाजिक पृष्ठभूमिलाई छोड्न मिल्दैन । रविन्सन क्रुसोलाई समेत फ्राइडे र चराचुरुङ्गीको आवश्यकता प¥यो । उपन्यास वा कथा मानव व्यवहारका चित्र हुन् र व्यवहार सामाजिक तत्व । संसारमा एक्लो बाँच्नुभन्दा बरु शत्रुहरूले घेरिएरै भए पनि मानव समाजमै बस्न चाहनु मनुष्यको स्वाभाविक इच्छा हो । शून्य पृथ्वीमा एक्लै भएर, अमर भएर बस्न पनि कोही चाहन्न । घटना, व्यवहार र उद्वेगहरू नभए जीवनको के अर्थ ? भिखारी जेलको मुफ्तको खानाभन्दा सडकको जुठ्यान नै बरु मन पराउँदछ । यदि काव्यलाई हामीले स्वप्न माने कथालाई दिवास्वप्न भन्नुपर्दछ । कथा र उपन्यास मानवको ‘अहम्’ लाई बाह्य यथार्थको गतिको अनुकूल बनाउने प्रयास हो । ‘अहम्’ को दुःखान्त हुन नदिनका निम्ति त्यसलाई गतिशील बाह्य यथार्थको अनुकूल नबनाइ हुन्न । जीवनको प्रवाहलाई व्यक्तिको ‘अहम्’ले मोड्न सक्दैन, स्वयम् आफू नै त्यस प्रवाहमा नबगेर आफ्नै व्यक्तित्व टुक्रिन्छ (Schizophrenia का रोगीहरूको जस्तो) । भ्रान्तिलोकमा आफ्नो विजय दुन्दुभी बजाएर के गर्ने जब कि वास्तविक संसार हामी माथि हाँस्न थाल्दछ ।
ऐतिहासिक र विकासवादी दृष्टिकोण भएकाले गतिशील यथार्थवाद परम्पराबाट विच्छिन्न हुनुलाई नै प्रगतिशील मान्दैन आजका केही फ्रेन्च लेखकहरूले देखाएको तथाकथित वैज्ञानिक नैतिकताको मापदण्डलाई हामी प्रगतिशील मान्न सक्दैनौँ । जीवनका सबै क्षेत्रमा हामी कृत्रिमताले बेरिएका छौँ– सभ्यता र संस्कृति तथा हाम्रो जीवनको प्रक्रिया र भावना सबै आदिम प्राकृतिक अवस्थाबाट छुट्टिसकेको छ । यस्तो अवस्थामा हामी यौनस्वातन्त्र्यको अवस्थामा अब फेरि कसरी फर्कन सक्दछौँ ? यदि यो सम्भव नै छ भने पनि यसको आवश्यकता किन ? फेरि समाजको अर्कै सङ्गठन नगरी यो सम्भव नै कसरी हुनसक्दछ ? समाजवादी समाजमा मात्र यो सम्भव हुनसक्ला तर यी नयाँ नैतिकतावादीहरू समाजवादलाई पनि दासत्वको बाटो मान्दछन् । आभिजात्यवर्गका कहिल्यै तृप्त नहुने भोगवादबाट यस्ता विचार निस्कनु स्वाभाविकै हो । वस्तु उत्पादन (Commodity production) को युगमा पनि सारा नारीहरूको यौवन त बजारमा ‘स्वतन्त्र रूप’मा किन्न पाइँदैन । अतः नयाँ नैतिकताको नाममा नित्य नयाँ–नयाँ सौन्दर्यमा डुब्ने सिद्धान्त आवश्यक पनि त छ । नयाँ नैतिकता यी क्रान्तिकारी सिद्धान्त र चलन पेरिसबाट विश्वभर फैलिरहेछ र आभिजात्यवर्गको ठुलो भागले पेरिसबाट सिकेर आफ्ना आफ्ना देशका उच्च समाजमा यसलाई सम्माननीय रूप दिएर चलाइरहेका छन् । प्रत्येक नयाँ प्रयोग र नवीनता प्रगतिशील हुन्न । मौलिकता देखाउन समाजको विरोधमा जानु अस्वस्थकर र विकृतिमा रुचि देखाउनु आवश्यक छैन । वास्तवमा मौलिकता अधिकांशतः अभिव्यक्तिमा देखिन्छ न कि उल्टो कुरापट्टि जानमा । अभिव्यक्तिको उद्देश्य हुन्छ इच्छित प्रभाव उत्पन्न गर्ने । अतः नवीनता र नयाँ–नयाँ प्रयोग स्वयम् साध्य नभएर साधन हुनुपर्दछ । स्नायविक मानवको स्वाभाविक जिन्दगी नै यथार्थवादको क्षेत्रभित्र आउँदछन् । निःसन्देह पागल, अपराधी र विकृत इच्छा भएका मानव पनि संसारमा छन् तर समाज त्यसैले भरिएको वा त्यस्तैद्वारा चलेको छैन । त्यस्ता व्यक्ति इतिहासका चालकशक्ति होइनन् र यथार्थवादले यस्ता चरित्रलाई गौरवान्वित गर्दैन । यस्ताको दुःखान्त नै देखाउँदछ किनभने वास्तविक जगत्मा पनि यस्ता विकृत प्राणीहरूको दुःखान्त नै भएको पाइन्छ । फेरि मानव प्रकृति (Human nature) कहिल्यै नबदलिने कुरा पनि होइन । मानवभित्र शैतान लुकेको छैन, मानव स्वभावैले खराब वा असल हुँदैन, परिस्थितिले नै मानवको प्रकृति निर्धारित गर्दछ । अचेतन मन (जीव वैज्ञानिक मन) पनि बाहिरी प्रभावले बदलिन्छ । लाइसेनको र पाब्लोभले जीव वैज्ञानिक र शारीरिक मनोवैज्ञानिक प्रयोगहरूद्वारा यो सिद्ध पनि गरिसकेका छन् । अतः अचेतनको व्यवहार सब समाजमा र सब काममा उस्तै हुँदैन । डा. म्यालिनोभ्स्कीले कैयौँ जङ्गली जातिहरूमा oedipus complex नै छैन भन्ने सिद्ध गरेका छन् ।
आजका अधिकांश विद्वान् लेखकहरू आफ्नो युगको ज्ञान, विज्ञान, शिल्प, समाजको गठन र व्यवस्थाप्रति सजग छन् तर आफ्ना समस्त ज्ञानलाई वस्तुको क्षेत्रमा मात्र प्रयोग गर्दछन् । गतिशील यथार्थवादी एक पाइला अगाडि सरेर यी ज्ञान–विज्ञानलाई मानवको सामाजिक सम्बन्धमा पनि प्रयोग गर्दछन् । सामाजिक सम्बन्धलाई वैज्ञानिक र बौद्धिक पुनःसङ्गठन नगरी आजको ज्ञान, विज्ञान र उच्च शिल्पको प्रयोग व्यापक रूपमा हुनसक्दैन । योजना (Planning) आजको महावाक्य हो र नियोजन त्यस बेलासम्म सम्भव हुँदैन जहिलेसम्म उत्पादन शक्ति र उत्पादन शिल्पको उत्पादन सम्बन्धसँग अन्तर्विरोध माथिल्लो स्तरमा खत्तम हुन्न । विज्ञानलाई अँगालो हाल्ने साहस आजका लेखकमा हुनै पर्दछ । विज्ञानसँग त ती नै डराउँदछन् जसको अस्तित्व नै अन्धकार माथि निर्भर छ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *