प्रमको सम्बोधन के कार्यान्वयन होला ?
- आश्विन १०, २०८२
देशको एक मुख्य आयस्रोत पर्यटक क्षेत्र पनि हो । नेपाल एक पर्यटकीय केन्द्र हो । यहाँका ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र प्राकृतिक महत्वका सम्पदाहरू आन्तरिक र बाह्य पर्यटकहरूका आकर्षण केन्द्र हुन् । पर्यटकीयहरूको गन्तव्यस्थल बनाउन र यहाँको मौलिक सम्पदाको संरक्षण गर्न भक्तपुर नगरपालिकाले मठ, मन्दिर, देवालय, शिवालय, पाटी, पोखरी, ढुङ्गेधारा, इनार, विहार, चैत्य आदिको पुनःनिर्माण, जीर्णाेद्धार तथा मर्मत सम्भार गर्दै आएको हो । यहाँ मौलिक शैलीको सम्पदा र प्राकृतिक सम्पदा नभएको भए पर्यटकहरू खासै अवलोकन गर्न आउँदैनन्; आए पनि निकै थोरै हुन्छ । यो बेला बाह्य पर्यटकहरूको निम्ति उपयुक्त समय हो । अहिले पर्यटकहरू आगमन हुने समय हो । पर्यटकीय सिजनको सुरुआतको ढोका मानिने यो सिजनमा जेनजीको आन्दोलन भयो । आन्दोलनमा देशकै अमूल्य सम्पत्तिको रूपमा रहेको संसद् भवन, सर्वाेच्च अदालत, सिंहदरबार जल्यो । देशको सम्पत्तिमा आगो लगाएर ध्वस्त पार्ने व्यक्ति या समूह कहिल्यै सद्दे हुन सक्दैन† सच्चा नागरिक हुन सक्दैन । देशमा हुने यस्ता ध्वंसात्मक आन्दोलनले नेपाल र नेपालीको निम्ति कुनै हित हुनेछैन ।
बाह्य पर्यटकहरू आउने यही समयमा जेनजी आन्दोलन भयो । यो आन्दोलनको स्वर देश विदेशमा फैलियो । फेरि आन्दोलनको चर्चा परिचर्चा भइरहेको कारण देशमा पर्यटकहरूको आगमन सङ्ख्या घटेको छ । पर्यटक बढ्नुपर्ने बेला घट्नुको कारक ध्वंसात्मक आन्दोलन पनि मानिएको छ । आन्दोलनको बेला पर्यटकहरूमा असुरक्षित हुने डर हुन्छ । अझै आन्दोलन रोकिएको स्थिति छैन । आन्दोलनरत एक पक्षले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै छ । आन्दोलनकारीहरूले सरकार चलाउने छन् भनी हालको सरकारलाई खबरदारी गर्दै छन् । यही कारण हरेक दिन पर्यटकहरू आउने सङ्ख्या घट्दै गएको हो । अध्यागमन विभागले अद्यावधिक गरेको सेप्टेम्बर १–१८ सम्मको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा नेपालमा आउने पर्यटकको सङ्ख्या ८ हजारले घटेको छ । यसको असर भक्तपुरलगायत देशका मुख्य मुख्य सहरहरूमा असर परेको छ ।
पर्यटकहरू घट्नु भनेको आयस्रोत कम हुनु हो । आयस्रोत कम भएपछि आयआर्जन र विकासमा बाधा पुग्छ । आन्दोलनको क्रममा होटेल, रेस्टुराँ र होटलहरू पनि आगजनी भएका छन् । देशका विशेषतः सहरका अधिकांश जिल्ला प्रहरी कार्यालय ध्वस्त भए । अहिले पनि सबै जिल्ला प्रहरी कार्यालय सञ्चालनमा आएको छैन; कार्यालयमा सबै सुरक्षाकर्मीहरू फर्केका छैनन् या राम्ररी परिचालन भएका छैनन् । आफू असुरक्षित हुने हिसाबले पनि पर्यटकहरू नेपाल आउँदैनन् । पर्यटकहरूको आगमन सङ्ख्यामा सबभन्दा बढी प्रभाव पर्यटकीय स्थलमा नै पर्छ । राजधानी र वरपरका सहरमा प्रभाव पर्छ । बाह्य पर्यटकले यसअघि गरेको बुकिङसमेत रद्द भएको पर्यटन व्यवसायीहरू बताउँछन् । पर्यटकले बुकिङ रद्द गरेपछि होटेलसँगै पदयात्रा, प्याराग्लाइडिङ, रेस्टुरेन्टलगायतका पर्यटकलक्षित सेवामा असर पर्नु स्वाभाविक हो । पर्यटक पस्ने रेस्टुराँहरू बन्द हुनु भनेको आयआर्जन कम हुनु मात्र होइन; रोजगारी पनि गुमेको हुन्छ । आन्दोलनकै कारण बाह्य पर्यटक मात्र होइन आन्तरिक पर्यटक पनि खासै नआएको पर्यटन व्यवसायीहरूको मत रहेको छ ।
देशमा २० लाखभन्दा बढी बाह्य पर्यटक पु¥याउने सरकारको लक्ष्य छ । कति देशले त यो वर्षलाई पर्यटन वर्ष ठानी नेपालमा बढी पर्यटकहरू पु¥याउने लक्ष्य राखेको छ । वार्षिक २० लाख आन्तरिक तथा बाह्य पर्यटन भित्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष २०२५ जारी भएको थियो । सरकारले पर्यटकहरूको निम्ति नेपाल घुम्ने पर्यटकीय स्थल हो, नेपाल शान्त र सुरक्षित छ, यहाँ घुम्न लायक असङ्ख्य पर्यटकीय स्थलहरू रहेको सन्देश बाँडेको थियो । तर, जेन जी आन्दोलनले नेपाल सुरक्षित छ भन्ने सन्देशमा असर पु¥याएको छ । यसबाट देशको मात्र होइन विभिन्न सहर र स्थलहरूको आम्दानी घट्नेछ । यसले गर्दा कति नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकाहरूले बनाएको योजनामा समेत असर पर्ने स्थिति उत्पन्न हुन्छ । नेपालले पनि विश्व पर्यटन दिवस मनायो । तर, त्यो दिवसले बाह्य पर्यटकहरूलाई कुनै राम्रो सन्देश दिन सकेको छैन । अतः यो वर्ष पर्यटकहरू घट्ने पर्यटन व्यवसायीहरूको अभिमत छ ।
Leave a Reply