भर्खरै :

“नेपालको पर्यटन प्रवद्र्धनमा सांस्कृतिक नगर भक्तपुरको उच्च स्थान रहेको छ”

“नेपालको पर्यटन प्रवद्र्धनमा सांस्कृतिक नगर भक्तपुरको उच्च स्थान रहेको छ”

भक्तपुर, २२ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा सांस्कृतिक सम्पदा पदयात्राअन्तर्गत आइतबार नगरको दक्षिणी भेगमा रहेका १६ वटा ऐतिहासिक तथा धार्मिक पोखरीहरूको पदयात्रा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “नेपालमा विश्व सम्पदा सूचीभित्र परेका दुई प्राकृतिक र आठ सांस्कृतिकसमेत दस ओटा छन् । भक्तपुर जिल्लाको दरबार क्षेत्र, चाँगुनारायण मन्दिर दुईओटा विश्व सम्पदा सूचीभित्र परेका हुन् । भक्तपुर दरबार क्षेत्रमा लाय्कु, तौमढी र तौमढीदेखि तचपालसम्मको मुख्य सडकको दायाँ बायाँ विश्व सम्पदाको सूचिभित्र परेको छ । काभ्रेको पनौती, लुम्बिनीका थप केही ठाउँ पनि विश्व सम्पदा सूचीमा समावेश हुने प्रक्रियामा छ । विश्वका १७० देशको १२४८ स्थान विश्व सम्पदा सूचीमा परेको सार्वजनिक भएको छ ।”
उहाँले भन्नुभयो, “विदेशी मित्रलाई समेत स्वागत गरेर हाम्रो सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम भइरहेको बेला संसारकै एक भाग प्यालेस्टिनमा इजरायली आक्रमणले सन् २०२३ अक्टोबर ७ यता ३ लाख संरचना आंशिक वा पूर्ण क्षति भएको छ । गाजा क्षेत्रमा ८० प्रतिशत पुरातात्विक क्षेत्र विनाश भएको छ । सय वर्षभन्दा पुरानो मठसमेत तारोमा परेको सार्वजनिक भयो । इ

जरायलले जानीबुझी प्यालेस्टिनी भूमि कब्जा गर्न गाजा क्षेत्रमा नरसंहार गरिरहेको छ । ९० प्रतिशत विद्यालय र विश्वविद्यालय इजरायली बमबारीमा परेको हुँदा गाजा क्षेत्रका सात लाख बालबालिका विद्यालय र कलेज जान पाएका छैनन् ।

विद्यालय, धार्मिक र सांस्कृतिक स्थल विनाश हुँदा गाजा क्षेत्र भयावह अवस्थामा रहेको छ । यसको अर्थ गाजा क्षेत्र समाप्त पार्ने इजरायली नियत रहेको पुष्टि हुन्छ ।”
सांसद सुवालले भन्नुभयो, “एकसय दिन यता गाजा क्षेत्रको २०० ओटा पुरातात्विक क्षेत्र इजरायली निशानामा परेर ध्वस्त भएको छ । प्यालेस्टिनको मठ, मस्जिद, चर्च, पुराना बस्ती सबै ध्वस्त पारिएको छ । युनेस्कोका अनुसार दुई वर्षयता १९० पुरातात्विक सम्पदा नष्ट भएको सार्वजनिक भयो । संसारका न्यायप्रेमी जनतासँगै नेपाली जनताले पनि युद्धको विरोध गर्दै छन्; आम विनाशकारी हतियार उत्पादन र बिक्रीको विरोध गर्दै छन् ।”
बेलायती यात्री ई.ए. पावेलले भक्तपुर अवलोकन गर्न छुटे आधा संसार छुटे सरह हुने बताएकोले नेपालको पर्यटन प्रवद्र्धनमा भक्तपुरको उच्च स्थान रहेको पुष्टि हुने सांसद सुवालले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सम्पदा पुनः निर्माण, जीर्णोद्धारमा उल्लेख्य जनसहभागिता नै भक्तपुरको विशेषता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा सम्पदा अन्त्य हुनु भनेको इतिहास समाप्त हुने हुँदा सम्पदाको महत्व घट्ने काम कसैबाट नहोस् भन्नेतर्फ भक्तपुर नगरपालिका अत्यन्त सचेत छ । भनपाले आफ्नै बलबुत्तामा १६९ वटाभन्दा बढी सम्पदाहरू पुनः निर्माण गरिसकेको छ ।”
घाँसे मैदानमा रहेको भाज्या पुखुलाई लामो समयपछि आकर्षक पोखरीको स्वरूपमा फर्काएको उल्लेख गर्दै प्रमुख प्रजापतिले भक्तपुरमा ४० वटा पोखरीमध्ये ३४ वटा अस्तित्वमा रहेकोले ती सबै सम्पदाहरूलाई पुनःनिर्माण गर्ने प्रयास भक्तपुर नपाबाट हुँदै आएको बताउनुभयो ।
बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर नपाको आयोजनामा भएको सम्पदा पदयात्रा सम्पदाहरूको अवलोकन मात्र नभई अध्ययन गर्ने अवसर पनि बनेको बताउनुभयो ।
उहाँले भक्तपुरको खँचास्थित खँचा पोखरी विशेष महत्वको रहेको हुँदा यस पोखरीको विस्तृत अध्ययन अनुसन्धानको खाँचो रहेको औँल्याउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले समाजलाई बुद्धिजीवीकरण गर्दै हरेक क्षेत्रलाई नमुना बनाउने प्रयासमा जोड दिँदै आएको र भनपाले सांस्कृतिक प्रतियोगिताहरूको आयोजना गरी संस्कृतिकर्मीहरूलाई उत्साहित गर्ने काम पनि गर्दै आएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका रोहिणी खनालले सम्पदा पदयात्राले भक्तपुरका सम्पदाहरू उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो ।
नेपाल कला परिषद्का आयुषा श्रेष्ठले भक्तपुरका मूर्त र अमूर्त सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्ने हेतुले भक्तपुर नपासँग सहकार्य गरी सम्पदा पदयात्रा कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो ।
सम्पदा पदयात्रा कार्यक्रमको समापन कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र उद्घाटन कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख अतिथि प्रेम सुवाललगायतले खाद्य स्टल तथा भक्तपुर घरेलु उद्योगका स्टलहरू अवलोकन गर्नुभएको थियो ।
भक्तपुरको पोखरी चिनौँ, सम्पदा संक्षणमा अघि बढौँ ¤ भन्ने नाराका साथ भनपा वडा नं. ९ को सूर्यमढी टोलबाट सुरू भएको सांस्कृतिक सम्पदा पदयात्रा नाय खीं बाजासहित जेँला पुखु, खँचा पुखु, याता (न्हुँद) पुखु, गोल्मढी बारे पुखु, कुमारी पुखु, खँला (ख्यो) पुखु, लैको पुखु, तलेजु मन्दिर परिसरभित्र रहेको सुनधारा पुखु, भक्तपुर तलेजु परिसरभित्रको मूल चोकको उत्तर पश्चिम कुनामा रहेको दुमाजु पोखरी, भक्तपुर दरबार क्षेत्रको मध्यमा अवस्थित भण्ड पुखु (भण्डार पुखु), वडा नं. ३ नासमनाको नासमना पुखु (मङ्गलकुण्ड पोखरी), मङ्गलाछेँ पुखु, वडा नं. ४ देगमना टोलमा अवस्थित देगमना पुखु र वडा नं. ३ स्थित तेखा पुखु हुँदै दूधपाटीस्थित भाजु पुखुमा पुगेर समापन भयो ।
भक्तपुरको सांस्कृतिक गतिविधि तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी जस्तै लाखे प्याखं, फाकंदली, नागाचा प्याखं, देवी प्याखं, सङ्गीत, लुसी प्याखं, परम्परागत वाद्यवादन, माक प्याखं, हनुमान प्याखं, बासुरी बाजा, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी केन्द्रहरूसमेत राखिएको थियो ।
सम्पदा पदयात्रा ¥यालीमा सहभागी भक्तपुर नपाका जनप्रतिनिधि, विदेशी पर्यटक, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, कर्मचारी, भक्तपुर पर्यटन सद्भाव सङ्घ, महिला स्वास्थ्य स्वयम्सेविका, पर्यटक प्रहरी, नेपाल स्काउट, स्थानीय पथप्रदर्शक, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, विद्यालय, ट्राफिक प्रहरी, सहकारी संस्था, सांस्कृतिक समूह, भक्तपुर पर्यटन स्थानीय पथप्रदर्शक परिचालन समिति, घरेलु उद्योगी व्यवसायी, स्थानीय दाफा भजनलगायत स्थानीय जनताको उत्साहजनक सहभागिता थियो ।
सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम भक्तपुर नगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्ड, नेपाल कला परिषद्, भक्तपुर पर्यटन विकास समिति, होटल एसोसिएसन अफ भक्तपुर, प्रहरीलगायतको सहकार्यमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *