“नेपालको पर्यटन प्रवद्र्धनमा सांस्कृतिक नगर भक्तपुरको उच्च स्थान रहेको छ”
- भाद्र २२, २०८२
परिस्थितिले पनि यो काम गर्न सक्दछ र धेरै कलाकृतिमा हामी कुरूप र निर्दयी परिस्थितिसँग नायकको सङ्घर्ष परेको पनि पाउँदछौँ । नायकको सफलता वा दुखान्तसँग कलाकृतिको सफलता बाँधिएको छैन । ह्यामलेट, मदर, कुली, नाना, अपराध र दण्ड, अन्ना करेनिना, जीवित लास, गोदान आदि पनि सफल छन्, फेरि शाकुन्तलदेखि युवक प्रहरीसम्मका अनेकौँ सुखान्त रचना पनि उत्तिकै मात्रामा सफल छन् । द्वन्द्व बाह्य मात्र हुँदैन, आन्तरिक पनि हुन्छ तर आन्तरिक द्वन्द्वलाई बाह्य द्वन्द्वबाट अलग्ग छुट्टयाउन हुन्न किनभने मन, शरीर र वातावरणको परस्पर क्रिया–प्रक्रिया नै जीवन हो । ऋणात्मक र निषेधात्मक तत्वलाई तथा द्वन्द्वलाई साहित्यको मर्यादा भित्र नगन्ने व्यक्तिहरूले प्राचीनदेखि आधुनिकसम्मका अनेक महान् रचनालाई साहित्यमा नगने पनि हुन्छ । वाल्मीकि र व्यासले आफ्नो युगका महान् समस्याहरू देखाउनु तथा निषेधात्मक तत्वलाई अनावरण गर्न लाज मानेनन् भने रवीन्द्र, रोमा रोलों, गोर्की, बारबुस, प्रेमचन्द, लुसुन, वेल्स रशमात्र किन पछाडि हट्थे । फासिज्म, अन्याय र मानवद्वारा मानवको शोषण, संस्कृति र कलाको व्यावसायिकीकरण, विज्ञानको दुरूपयोग आदि हाम्रो युगका प्रमुख समस्याहरूमा हाम्रो युगका महान् साहित्यकारहरूले कलम चलाएका मात्र होइनन् सङ्गठित रूपले आगो पनि ओकलेका छन् । रवीन्द्रनाथले फ्यासिस्ट नागुचीलाई खुलापत्र, रोमा रोलौँले लेखेका निबन्धहरू, गोर्कीका लेखहरू, व्यङ्ग्यहरू, प्रेमचन्दको ‘महाजनी सभ्यता’ नामक लामो लेख र ‘मङ्गलसूत्र’ नामक उपन्यास साहित्यका विद्यार्थीहरूलाई थाहै छ । उता पराजयवादी र पलायनवादी इलियट, एज्रा पाउन्ड, फाउस्ट, जेम्सज्वायस, आन्द्रेजिद, जाँ पाल सात्र्रले मानवताको आँसुलाई निर्लिप्त, निष्पक्ष, उदासीन र ठन्डा दृष्टिले हेरिरहे, विशुद्ध कला अथवा फासिज्मलाई नै पुष्टि दिने वर्णवाद, कट्टरपन्थी इसाई धर्म, प्रत्येक परिस्थितिलाई आवश्यक ठानेर घुँडा टेक्न उपदेश दिने, अनेक वादहरूको झन्डा उचाल्ने जसबाट दानवीशक्तिलाई निष्कृय सहयोग र मौन समर्थन प्राप्त भयो ।
युगअनुसार यथार्थवादको रूप र अर्थ पनि बदलिँदै आएको छ । मानवको अन्य ज्ञान र स्थापनाहरूको पनि त यही हाल छ । ईश्वर, पदार्थ, नैतिकता, धर्म, परमाणु आदि दृष्टिकोण पनि युगअनुसार बदलिएकै छन् । बदलिँदै जानु, नयाँ–नयाँ ज्ञान थप्दै जानु, युगको आवश्यकताअनुरूप बदलिँदै जानु, बेचल्ती कुरा छाड्दै जानु नै गतिशील र सजीव दर्शन हो । पलपल परिवर्तनशील जगत् र जीवनभित्र कहिल्यै नबदलिने अन्तिम महावाक्य पागलले सिवाय अरू कसैले भन्न सक्दैन । मानिस आफ्नो अनुभव र यही भूतको (भूतकाल) दृष्टिले भविष्यको व्याख्या गर्दछन् । तर, प्रकृतिका इतिहासको प्रत्येक पुनरावृत्तिमा भिन्नता हुन्छ । अतः मानिसका भविष्य सम्बन्धी सबै कथनहरू भूतको आधारमा गरिएको अङ्कल वा अन्दाज मात्र हुन्छन् । यान्त्रिक युगभन्दा पहिले जीवन ज्यादै मन्द चालले बग्दथ्यो । अतः हजारौँ वर्षसम्मको भविष्यवाणी गर्न सकिन्थ्यो । आज जीवन तीव्र वेगले बगिरहेको छ, एक सिद्धान्त निस्केको दस–पन्ध्र वर्षपछि नै त्यसको खण्डन हुन्छ, दृष्टिकोण, दर्शन, ज्ञान, व्यवस्था र मूल्यहरू बदलिइरहन्छन् । परिवर्तनको यो वेग विज्ञानको प्रगतिसँगसँगै झन् बढ्दै जाला भन्ने विद्वान्हरूको अन्दाज छ । प्रकृति र मानव जीवनकै यो हाल छ भने यथार्थवादले आफ्नो बदलिँदै आएको दृष्टिकोणमा किन लाज मान्ने ? यो त यथार्थवादको प्रगति हो । जीवन र जगत्को पहिले भन्दा ज्यादा विस्तृत, गहिरो र प्रमाणिक व्याख्या दिनसक्नु तथा यी दुवै माथि मानवको नियन्त्रण बढाउन सक्नु नै प्रगति हो । प्रत्येक सिद्धान्तको श्रेष्ठता वा प्रगतिशीलता जाँच्ने मापदण्ड यही हुनुपर्दछ जस्तो मलाई लाग्दछ । अन्यथा केवल भावनात्मक बहस सिवाय कुनै पनि व्यावहारिक निष्कर्षमा पुग्न सकिन्न । अठारौँ र उन्नाइसौँ शताब्दीको यथार्थवाद अर्थात् फ्लेवेयर, बाल्ज्याक, जोला, फिल्डिङ, चाल्र्स डिकेन्स, भिक्टरह्युगो आदिको यथार्थवाद वर्णनात्मक र निर्लिप्त यथार्थवाद थियो जसलाई आजकल प्राकृतवाद या फोटो यथार्थवाद (Photographic realism) भनिन्छ । उनीहरूको दृष्टिकोण विस्तृत थियो तर त्यसमा गहिराइ थिएन, उनीहरू रोगीको लक्षणपट्टि मात्र ध्यान दिन्थे, मूल कारण बुझ्दैनथे । गतिरोध र उकुसमुकुस त अनुभव गर्थे तर त्यसको कार्यकारण बुझ्दैनथे । कारण बुझ्नु नै चेतन हुनु हो र चैतन्य नै स्वतन्त्रता (यो शब्द दार्शनिक अर्थमा प्रयोग गरेको छु) को बाटो हो । सामाजिक गतिरोधको हल फ्लेवेयरले सार्वजनिक शिक्षा र बालिग मताधिकारमा देखे, जोलाले माथिल्लो वर्गसँग नारीको प्रतिशोधमा । उनीहरू जीवनका चित्रकार थिए, केही मात्रामा आलोचक पनि थिए तर मार्गदर्शक थिएनन् । आफैले बाटो नदेखेपछि अरूलाई बाटो देखाउन पनि त सकिन्न । त्यो युग पनि त्यस्तै थियो– दोसाँधको युग जर्जर शक्तिहरूमाथि अविश्वास तर नयाँ उत्पन्न भएर बढ्न लागेको शक्ति बालक अवस्थामै जताततै अनिश्चय र अविश्वास । आजको धेरै स्पष्ट र आँखा अगाडि नै भइरहेका परिवर्तन देखेर पनि पुरानै यथार्थवादअनुसार चल्ने साहित्यकारमाथि पो आश्चर्य । टाल्सटायले एक खुट्किलामाथि उक्लेर मार्ग पनि देखाउन खोजे । युग जीवनको यथार्थलाई व्यापक र सूक्ष्म दृष्टिले हेरे तर ऐतिहासिक शक्तिहरूलाई चिन्न नसकेर अतीतको पुनःस्थापनमै समस्याको हल देखे । भविष्यको अस्पष्ट र अज्ञात मार्गमा बढ्ने दुस्साहस गर्न ऐतिहासिक शक्तिहरूको ज्ञान, साहस, लगन, अप्रत्यासित परिस्थितिमा पनि बाटो खोज्न सक्ने प्रतिभा आदि चाहिन्छ । मानिसको स्वाभाविक प्रवृत्ति हुन्छ, जाने बुझेको बाटो अर्थात् अतीततिरै फर्कनु । आधुनिक मनोविज्ञानले यस्तो प्रवृत्तिलाई Infentile regression भनिन्छ । टाल्सटायले मेसिन, मुद्रा, विनिमय, केन्द्रीय सत्ता तथा नागरी सभ्यतालाई नै सारा सङ्कटको मूल सम्झेर यी सबैको बहिष्कार गरेर शान्त, स्थिर र सरल ग्रामीण जीवनपट्टि फर्कनु नै समस्याको समाधान ठाने । यस्तो भावुकता आजको युगमा पनि मानिसको हृदयमा उठ्दछ तर मानिस बाल्यकालतिर फर्कन सक्दैन, भूतमा वर्तमान अटाउन्न, वर्तमानको हल त भविष्यतिर जानुमा छ र भविष्यको निर्माण वर्तमान गतिविधिले निर्धारित गर्दछ । जोला र बाल्जाकको आलोचनात्मक यथार्थवाद, टाल्सटायको विश्लेषण, भिक्टर ह्युगोको सहानुभूति र वायरन, सेली आदिका क्रान्तिकारी कल्पना र रोमान्स मिसाएर गोर्कीले आफ्नो गतिशील यथार्थवाद निकाले । उनको ‘मदर’ यसको नमुना हो ।
प्रथम महायुद्धपछि मानव जीवनमा धेरै परिवर्तनहरू आए र १९३० देखि त उथलपुथल नै सुरु भयो । आस्था र विश्वासहरू डगमगाए । राजनैतिक, आर्थिक, दार्शनिक र नैतिक तथा सांस्कृतिक जीवनमा विशृङ्खलता उत्पन्न भयो । साहित्यमा विशेष गरेर फ्रेन्च, जर्मन र अङ्ग्रेजी साहित्यमा यसको ठुलो प्रभाव प¥यो । गतिशील यथार्थवादको खुब प्रसार भयो र यसको प्रतिक्रिया स्वरूप नयाँ पलायनवाद पनि जन्मियो । अबुद्धिवाद, घोर व्यक्तिवाद, रहस्यवाद, आधुनिक विज्ञानको विशेष गरेर मनोविज्ञान र जीवविज्ञानको विकृत र गलत समझ तथा मध्यमवर्गीय अहङ्कार नै यो नयाँ प्रतिक्रियाको चरित्र हो । राजनैतिक, आर्थिक प्रतिक्रिया फासिज्म, नाजिज्म, सैनिकवाद आदिको रूपमा फैलिए । प्रजातान्त्रिक उदारता हराउन थाल्यो । स्पेनको गृहयुद्धदेखि त युरोप र अमेरिकाका लेखकहरू प्रगति र प्रतिक्रियाको शिखरमा स्पष्टरूपले छुट्टिए । एज्रा पाउन्ड फासिज्मतिर यति आकर्षित भए कि उनलाई जेलमा समेत खाँद्नुप¥यो । इलियटको यस्तै हाल थियो । तर, आखिर विजय सत्यकै भयो । काडवेल र राल्फ फक्सले प्रजातन्त्रको रक्षामा ज्यानै फ्याँके । रवीन्द्र, रोमा रोलाँ र प्रेमचन्दले कलमको टुप्पोबाट आगो ओकले । बारबुस, पाल एलुबेर, थोमस मुन, लुइ अरागाँ, इलिया एरिन्बुर्ग, फादाएब, माओदुन, दिडलिङ आदिले अथक सङ्घर्ष गरेर नयाँ सांस्कृतिक आन्दोलन चलाए । फासिज्म हार्यो । तर, जहिलेसम्म प्रतिक्रियाका शक्ति रहन्छन् फाजिज्मको खतरा बाँकी नै रहन्छ । जागरुक रहने, सतर्क रहने, सङ्गठित रहने आवश्यकता आज पनि उत्तिकै छ । स्वतन्त्रता र प्रजातन्त्रको मूल्य नै सतत् जागरुकता र सङ्गठित शक्ति हो ।
आजको युगको सबभन्दा उन्नत, उदात्त र व्यावहारिक विचार धारालाई प्रभावशाली कला रूप दिनु नै आजको नयाँ यथार्थवादको मुख्य समस्या हो । हरबर्ट रिडको भनाइअनुसार यो यथार्थको गत्यात्मक रूप हो । गतिका नियमले भित्री र बाहिरी दुवै यथार्थलाई देखाउँछन् । आजको यथार्थवादी कलामा जीवनका दुवै आधारभूत कुराहरू– ‘श्रम र प्रेम’, (‘अर्थ र काम’) ले स्थान पाउनुपर्दछ । धर्म (कर्तव्य आचरण व्यवहार) र मोक्ष र दर्शन, जीवनको उद्देश्य पत्ता लगाउने, अन्ध–प्राकृतिक र सामाजिक नियमलाई मानवको नियन्त्रणमा ल्याउने अन्ध–नियमको जालबाट मोक्षको आधार पनि ‘अर्थ र काम’ नै हुन् । सम्पूर्ण जीवनका यी दुई आधारभूत चरणहरू दार्शनिक आदर्श हुन् र एकलाई अर्कोसँग छुट्टयाउन खोज्नु एकाङ्गी जीवन वा खण्डित जीवन देखाउनु मात्र हो । मानवको चेतन, अचेतन सारा प्रवृत्तिहरूको सार हो जीवनेच्छा । जीवनको अस्तित्व श्रम (सामाजिक उत्पादन– आर्थिक प्रगति) मा निर्भर छ । यसमा पनि शङ्का गर्ने व्यक्तिहरू छन् तर तिनको विशेष महत्व छैन, किनभने तिनको सारा व्यवहारले नै अर्थको महत्व देखाइरहेका हुन्छन् । मुखले जे भनून्, जगत्लाई मिथ्या भ्रम भनेर पनि तिनीहरूको अस्तित्वका लागि सामाजिक उत्पादनका वस्तु चाहिन्छ नै । भारत जस्तो देशले पनि त पञ्चवर्षीय योजनाकै बाटोमा लाग्नु परिरहेको छ र जीवनको अमरत्व प्रेममा आत्मसात् गर्ने (आफूमा मिलाउन खोज्ने, पचाउन खोज्ने, आफ्नो क्षतिपूर्ति गर्न खोज्ने) र आत्मप्रसार गर्न खोज्ने (आफूलाई सङ्ख्या र गुणमा बढाउने, स्थान र कलामा फैलाउने, संसार ढाक्न खोज्ने) प्रवृत्ति मानवको मुख्य जीव वैज्ञानिक प्रवृत्ति हो । मानव व्यवहार चेतन वा अचेतन रूपले यी नै दुई प्रवृत्तिको अभिव्यक्ति हो । जीवन अर्थ र काम प्रधान हुन्छ । धर्म र मोक्षका तत्वहरू सौन्दर्य र परिष्कारका तत्वहरू, कला र संस्कृति यी नै दुई जीव वैज्ञानिक प्रवृत्तिका उदात्त (Sublimated) रूप मात्र हुन् – यो कुरा हामीले बिर्सनु हुँदैन । मानवको कामप्रवृत्ति सामाजिक प्रभावले गर्दा एउटा प्रेरक शक्ति, संयोजक शक्ति (Cohesive force) बनेको छ । अतः प्रेम र रोमान्सलाई सृजनात्मक शक्तिको रूपमा, जीवन र मानवका महान् रचनाप्रति प्रेम र आस्थाको रूपमा, सुकुमार प्रणय र परिष्कृत सौन्दर्यप्रति अनुराग तथा वीभत्स, असत्य, अन्याय तथा करोडौँ करोडौँ मानवले अमानवीय जीवन बिताउन विवश हुनुपर्ने अवस्थाप्रति तीव्र घृणाका रूपमा प्रयोग हुनुपर्छ । गोर्की लेख्दछन्, “तिमी घृणा गर्न सक्तैनौ भने तिम्रो प्रेमको केही पनि मूल्य छैन, तिम्रो प्रेम नपुंसकको भावनात्मक प्रेमजस्तो मात्र हुन्छ जसले प्रेयसीलाई चिसो उच्छ्वास सिवाय अरू केही दिन सक्तैन ।” प्रेम मानव संस्कृतिको एक विशिष्ट उन्नत भावनात्मक रूप हो । सौन्दर्य, कोमलता, स्निग्धता, पवित्रता, लालित्य आदिले जीवनमा आस्था, उल्लास र परिपूर्णता उत्पन्न गर्दछन्, उदात्त भावना जगाउँदछन् र उदात्त भावनाले जीवनको प्रगतिशील आदर्श खडा गर्दछ । आदर्शले हाम्रो कार्य निर्धारित गर्दछ । कार्यमा, व्यवहारमा गरिने प्रयास नै मानवको बहुमुखी प्रगति वा पतन निर्भर छ । सौन्दर्य भावनालाई सत्य र शिवसँग जोड्ने हाम्रा प्राचीन साहित्यशास्त्रीयहरू कति गहिरोसम्म पुगेका रहेछन् स्पष्ट छ । सूक्ष्म सौन्दर्यबोध तथा परिष्कृत र उदात्त प्रेम भावना समाजयन्त्रका तेल हुन्, सभ्यता र संस्कृतिका सिमेन्ट हुन्, आदर्शतिर तान्ने इन्जिन हुन् । स्वस्थ जीवनका निम्ति स्वस्थ रुचि, स्वस्थ भावना, स्वस्थ कल्पना, स्वस्थ स्वप्न र स्वस्थ आदर्श अत्यावश्यक छ ।
आजको यथार्थवादले मानव जीवनका सबै पक्षलाई र विशेषरूपले ती पक्षलाई– जो युगका मुख्य समस्याको रूपमा अगाडि आएका छन्, देखाउनुपर्दछ । श्री हृदयचन्द्रजीको यो भनाइ ठीक हो कि आजको साहित्यमा राजनीतिलाई प्रशस्त स्थान दिनुपर्दछ । यो कुरा हामीले भन्नुभन्दा पहिले नै महान् साहित्यकारहरूले आफ्नो रचनाद्वारा देखाउँदै आएका छन् । राजनैतिक चर्चा नभएको उपन्यास बहुतै कम पाइन्छ चाहे त्यो प्रगतिशील राजनीति होस् या अज्ञेय, आर्थर केस्लर, जर्ज अरवेल, आन्द्रे जिद, अर्नेस्ट हेमिडवे आदिको प्रगति विरोधी राजनीति । प्रजातन्त्रको एक महत्वपूर्ण कुरा नै यही हो कि देशको राजनीतिमा जनताको हात होस् र अन्तिम निर्णय गर्ने शक्ति पनि । प्रजातन्त्रीय देशको प्रजातान्त्रिक जीवनबाट विषयवस्तु लिने यथार्थवाद राजनीतिजस्तो महत्वपूर्ण कुराबाट कसरी बाँच्न सक्छ । आजका राज्यहरूले जीवनका प्रत्येक क्षेत्रलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले सञ्चालित गरिरहेका हुन्छन् । ‘थोरैभन्दा थोरै शासन गर्ने, आवश्यक खराब वस्तु, जस्ताको तस्तै छोड, प्राकृतिक व्यवस्थामा हात नहाल भन्ने सत्रौँ–अठारौँ शदीका राज्यसम्बन्धी सिद्धान्तहरू आज कहीँ पनि मानिएको छैन । वैज्ञानिक व्यवस्था नियोजित हुन्छ, नियमित हुन्छ, अतः सबै कुराको केन्द्रलाई प्रभावित पार्नु नै समस्त जीवनलाई प्रभावित पार्नु हुन जान्छ । अतः आजकल जीवनका जुनसुकै क्षेत्रका मानिस पनि केन्द्रीय सत्तामा आफ्नो प्रभाव पार्न चाहन्छन् । आफ्नो जीवन आदर्शलाई कार्यान्वित गराउने बाटो नै यही छ । अतः आजको जीवन राजनीति–प्रधान छ । सम्पूर्ण व्यक्तिको सम्पूर्ण जीवन देखाउन राजनीति, अर्थनीति, मनोभावना, सामाजिक व्यवहार आदि सबै कुरा साहित्यमा ओर्लनुपर्दछ । सामाजिक जीवनबाट साहित्यको भिन्नै स्वतन्त्र अस्तित्व छैन । मध्ययुगीन दार्शनिकले पृथ्वीलाई जगत्को केन्द्र मानेझैँ आजका केही अहम् केन्द्रित साहित्यकार साहित्यको स्वतन्त्र, विलक्षण, शाश्वत रूपको र त्यस साहित्यको केन्द्रबिन्दुको रूपमा आफूलाई सम्झेर यो मिथ्या विश्वासमै शान्ति पाउँदछन् । यो उनको इच्छापूर्ति मात्र हो । साहित्यको आफ्ना केही शिल्पगत विशेषता छन् भन्ने हामी स्वीकार गर्दछौँ । तर, यस्ता वैयक्तिक विशेषताहरू कला र विज्ञानका कुन क्षेत्रमा छैन र ? साहित्यको शाश्वत रूपको कल्पना मानवको अमर हुने इच्छाको बौद्धिकीकरण
(Rationalisation) मात्र हो । पुनर्जीवनको सिद्धान्त खत्तम भएपछि त्यसको ठाउँमा अन्य कुरा राख्नै पर्दछ । भावुकता कति खोक्रो हुन्छ तर कति आवश्यक पनि । अमरत्व पाउने भावुकता नभए त्याग, बलिदान, साहस, अन्ध–वीरता आदि कति सम्भव हुन्थ्यो विचार गर्नुपर्ने कुरा छ । परिवर्तन वा नियमबाहेक जगत्मा अरू केही पनि शाश्वत छैन जस्तो मलाई लाग्दछ । साहित्य दीर्घजीवी अवश्य हुन सक्दछ र यसका निम्ति हजारौँ वर्ष पहिले लेखिएर पनि आजसम्म जीवित साहित्यका विशेषतापट्टि हामीले ध्यान दिनुपर्दछ । यस्ता साहित्यमा संवेदनाको स्तर, कलात्मक तत्व र सामाजिक चेतनाको सन्तुलन मिलेको हुन्छ । मानव जीवनका केही मन्दगतिले बदलिने (अतः शाश्वत जस्तो लाग्ने) मौलिक प्रवृत्तिहरूको सजीव चित्रण हुन्छ र आफ्नो युगको पृष्ठभमिमा राखेर हेर्दा यथार्थवादी हुन्छन् । ‘शाश्वत शाश्वत’ भनेर कराउने अधिकांश आधुनिक लेखक आफ्नो जीवन कालसम्म पनि जीवित नरहेको देख्दा पो आश्चर्य लाग्दछ । वाल्मीकि, व्यास, कालीदास, होमर, सेक्सपियर, गेटे, पुस्किन, चेखब, गोर्की, प्रेमचन्द र रवीन्द्रनाथ आदिले अमरत्वको घोषणा नगरेर पनि आजसम्म उत्तिकै जीवित छन् । अतः शाश्वत भाव अपरिहार्यशील सत्य, युगको आँधी तुफान, बाढी र भूकम्पमा पनि पर्वतझैँ निश्चल रहने ‘नदीको द्वीप’ जस्तो स्थिर समाजको हास्य रूदनप्रति असंवेदनशील प्रस्तरमूर्ति जस्तो जडीभूत एकान्त सत्य, चिरन्तन, अजर, अमर साहित्य कस्तो होला र कहाँ होला ? मेरो विचारमा त युगवाणी बन्नु नै युगयुगको वाणी हो, कालजयी बन्नु हो । महान् साहित्यकारहरू हामीलाई यही बताउँछन् । आधुनिक मनोविज्ञानले ‘अहम्’ को विकृतिका अनेक रूपमाथि प्रकाश हालेको छ । आफ्नो दृष्टिकोणलाई आफैले बुझ्न विज्ञानका यी नयाँ खोजहरूको हामीले अध्ययन गर्नेपर्दछ ।
इतिहासको नियम बुझेर, समाजको गतिशास्त्र बुझेर त्यही अनुकूल साहित्य सृजना गर्नु नै गतिशील यथार्थवाद हो । यस्तो यथार्थवाद परिवर्तनका नियम र कार्य–कारणको सम्बन्ध अर्को शब्दमा भनूँ भने जीवनको व्याख्या गर्ने आफ्नो लक्ष्य बन्दछ । मानवका आन्तरिक र बाह्य (मनोगत र वस्तुगत) द्वन्द्वको चित्रण गर्नु, जटिलताको विश्लेषण गर्नु र गति देखाउनु नै यसको उद्देश्य हो । संसार बदल्न र यही प्रक्रियामा आफू पनि बदलिन लागेको मानवको विश्लेषण गर्नु, अचेतनरूपमा चलिरहेको अराजकतापूर्ण रूपमा चलिरहेको यो विराट् सामाजिक प्रक्रियाप्रति मानवलाई सचेतन गर्नु जसले गर्दा मानव र उनका आकाङ्क्षाको जगत्का नियम र आवश्यकतासँग ३ र ६ को सम्बन्ध हुन नपाओस् र इच्छाको दुःखान्त नहोस् – यही गतिशील यथार्थ हो । जीवन र जगत्को द्वन्द्व देखाउनु नै आजको यथार्थवाद हो ।
स्रोत : गोविन्द लोहनीका दार्शनिक रचनाहरू
Leave a Reply