भर्खरै :

भक्तपुर नगरपालिका र चीनको शाननान नगरपालिकाबिच भगिनी सम्बन्ध नवीकरण

भक्तपुर नगरपालिका र चीनको शाननान नगरपालिकाबिच भगिनी सम्बन्ध नवीकरण

भक्तपुर, १२ असोज । भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिच्याङ स्वशासित क्षेत्र अन्तर्गतको शान–नान नगरपालिकाबिच भगिनी सम्बन्धको असोज ४ गते एक समारोहबिच नवीकरण सम्झौता सम्पन्न भयो । सम्झौतामा भक्तपुर नगरपालिकाको तर्फबाट उपप्रमुख रजनी जोशी र शान–नान नगरपालिकाका उपप्रमुख चाङ वेईले हस्ताक्षर गर्नुभयो ।
समारोहमा शान–नान नगरपालिकाका उपप्रमुख वेईले सिच्याङ स्वायत्त क्षेत्र स्थापना भएको ६० औँ वर्षगाँठ र यालोङ्ग सांस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा दुई नगरपालिकाबिच भगिनी सम्झौतामा हस्ताक्षर गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।
चीन र नेपाल इतिहासकालदेखि नै असल छिमेकी, असल साथी र असल साझेदार रहेको चर्चा गर्दै उहाँले महोत्सवमा भक्तपुरको सहभागिताले अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको र आपसी बुझाइ, मित्रता र विश्वासलाई प्रगाढ बनाउने दुर्लभ अवसर प्राप्त भएको बताउनुभयो ।
उहाँले चिनियाँ राष्ट्रपति सि चिनफिङको भनाइ उद्धृत गर्दै भन्नुभयो, “विगत ७० वर्षमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र नेपालबिचको सम्बन्ध सधैँ आपसी सम्मान, समान व्यवहार र पारस्परिक सहयोगमा अडिग रहेको छ ।”
“शान–नान तिब्बती सभ्यताको उद्गमस्थल हो । शान–नान सहर लामो इतिहास र समृद्ध संस्कृतिले भरिपूर्ण छ ।
यहाँ तिब्बतको पहिलो खेतीयोग्य जमिन, पहिलो दरबार र पहिलो मन्दिर पनि छ । यालोङ संस्कृतिको जन्म यही भएको हो ।” उपप्रमुख वेईले भन्नुभयो ।
उपप्रमुख वेईले दुई नगरपालिकाबिच संस्कृति, व्यापार, मानवीय आदानप्रदान र स्वास्थ्यको क्षेत्रमा सहकार्य बढ्दै गएको अवस्थामा अबका दिनमा विज्ञान, कृषि, वातावरण संरक्षणलगायतमा पनि अवसर र साझेदारी खोजिने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपाली र तिब्बती जनताबिचको सम्बन्ध इतिहास जतिकै पुरानो भएको उल्लेख गर्दै आपसी सहयोग र साझा हितलाई ध्यानमा राखी भगिनी सम्बन्ध स्थापना भएको बताउनुभयो ।
नेपालमा भूकम्प र कोभिड महामारीको कठिन समयमा शान–नान नगरपालिकाबाट प्राप्त सहयोगको भक्तपुरवासी जनताले उच्च मूल्याङ्कन गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “पूर्वाधार विकासमा साझेदारीसँगै दुवै देशका भाषा र साहित्यको अनुवाद, शैक्षिक अनुसन्धान र मानवीय संशाधन आदानप्रदान गर्न पाएमा दुवै देशका जनताको हित हुनेछ ।”
उपप्रमुख जोशीले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण तथा नयाँ पुस्तामा सीप हस्तान्तरण भइरहेको जानकारी दिँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन मार्गनिर्देश गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सिच्याङ स्वशासित क्षेत्र स्थापनाको ६० औँ वर्षगाँठको अवसरमा भक्तपुर नगरपालिका र नेपाली जनताको तर्फबाट तिब्बती जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाबारे सङ्क्षिप्तमा अवगत गराउनुभयो ।
समारोहमा शान–नान नगरपालिका शिक्षा शाखा प्रमुख सिरेन लुओबु, नगर वाणिज्य विभाग प्रमुख सुओ लाङ रेन्चेङ, पर्यटन तथा सांस्कृतिक विभाग प्रमुख चेन शिङबी र नगर स्वास्थ्य उपसमितिका उपसचिव छिमी लाचेनले शाननान नगरका विकास निर्माण र सभ्यता विकासको विषयमा चर्चा गर्नुभयो ।
सोही समारोहमा शान–नान नगरपालिकाका उपप्रमुख चाङ वेईले दुवै नगरबिचको मित्रताको प्रतीकको रूपमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई ल्याप्रोस्कोपी मेसिन उपहारस्वरूप हस्तान्तरण गर्नुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख जोशीले शान–नान नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै नेपाली जनताको उपचार सेवामा महत्वपूर्ण योगदान साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *