‘जेनजी आन्दोलन शासक दलहरूप्रति चरम असन्तुष्टिको परिणाम हो’
- आश्विन १२, २०८२
भक्तपुर, १२ असोज । ४६ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र होटल एशोसियसन अफ भक्तपुरको संयुक्त आयोजना तथा भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समिति, पर्यटक प्रहरी भक्तपुर र भक्तपुर पर्यटन सद्भाव सङ्घको समन्वयमा आयोजित ‘आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन र दिगो रूपान्तरण’ विषयक प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “उत्पादन श्रमसँग जोडिएको विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क भए आत्मनिर्भर अर्थतन्त्र बनाउन मद्दत हुनेछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पचास वर्षअगाडि नै आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिलाई जोड दिने र घरेलु तथा साना उद्योग विकास गर्नुपर्ने विषय समेटेर पुस्तक लेख्नुभएको हो । नयाँ पुस्ताले यो पुस्तक अध्ययन गरेर नेपाललाई आत्मनिर्भर बनाउन मद्दत गर्नसक्नेछ ।”
संसारको जुनसुकै कुनाको प्रविधि र उत्पादन बिनारोकावट सबै देशलाई उपलब्ध गराउनु नै विश्वव्यापीकरण भएको स्पष्ट पार्दै उहाँले विश्व व्यापार सङ्गठनका सदस्यले प्रविधि र वस्तुमा अधिकार जमाउनु विश्वव्यापीकरणमा अवरोध तेस्र्याउनु हुने बताउनुभयो ।
युक्रेनमा रूसविरूद्ध अमेरिकी साम्राज्यवादको छद्म युद्ध हो । इजरायलका यहुदीवादीहरूले १०८ वर्षअघि प्यालेस्टिनी जनताको भूमि कब्जा गर्दै छ । अमेरिकी साम्राज्यवादले युक्रेन र इजरायललाई हतियार बेचेर युद्ध गराएको हो, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, कुनै देशको भूगोल र संस्कृति अध्ययन पर्यटन प्रवद्र्धनभित्र पर्दछ । नेपालको सांस्कृतिक सम्पदालाई पर्यटन प्रवद्र्धनसँग जोड्न पच्चीस वर्षअगाडि भक्तपुरमा अन्तर्राष्ट्रिय सम्मेलन पनि भएको थियो । पर्यटनसँगै सांस्कृतिक अतिक्रमण हुनेतर्फ सबै सचेत हुनु आवश्यक छ ।”
भदौ २३ र २४ गतेको नयाँ पुस्ताको असन्तोषसँगै घुसपैठ हुँदा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसँगै देशको जिल्ला–जिल्लामा सरकारी भवन आगजनी भयो । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी भ्रष्टाचारीहरूलाई जेल थुने कानुनी व्यवस्था जरूरी छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्री फेरिँदैमा देश र जनताको समस्या समाधान हुँदैन । भदौ २४ गते मादक पदार्थ खाएका समूह घुसपैठ भई सरकार भवन जलाउने विषय उठाएको सार्वजनिक हुँदै छ ।”
उहाँले भन्नुभयो, “सरकारमा गएका दल र तिनका नेताहरूले निःस्वार्थरूपले देश र जनताको सेवा नगरेकोमा जनता असन्तुष्ट थिए । यसलाई हतियार बनाई साम्राज्यवादीहरूले देश खरानी बनाउने नीति लिए । नेपाली जनता प्रायोजित विध्वंसबारे सचेत हुनु जरूरी छ । नयाँ पुस्ता दाबी गरेकाहरूले प्रधानमन्त्री र मन्त्री बन्ने इच्छा प्रकट गरेको सार्वजनिक भयो । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण नगरेसम्म आमूल परिवर्तन हुनेछैन ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति नारालाई सार्थक बनाई यसलाई पर्यटन विकासका आधार बनाउन चुनावी घोषणा पत्रअनुसार नै लागिपरेको बताउनुभयो । उहाँले यहाँको मौलिक तथा परम्परागत प्रविधि, सभ्यता र पहिचान, स्थानीय घरेलु उत्पादन र पेसामार्फत भविष्यमा दिगो पर्यटन विकासमा आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा पनि चीनको पर्यटन विकासबाट सिक्दै सरोकारवाला सबै मिलेर पर्यटन उद्योगको विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका वतावरण तथा पर्यटन समितिका संयोजक एवम् वडा नं ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले छिमेकी मुलुक चीनमा खाद्य उत्पादनलाई जोड दिई कृषि उत्पादनलाई विशेष प्राथमिकता दिइरहेको बताउनुभयो । उहाँले चीनमा कृषि उत्पादनमा आत्मनिर्भर भएर आफूलाई बढी भएको उत्पादन विदेशमा समेत निर्यात गरी त्यहाँको अर्थतन्त्र बलियो बनाएको बताउनुभयो । उहाँले चीनमा हरेक उत्पादनलाई पर्यटनसँग जोड्ने विभिन्न उत्सवहरूको समेत आयोजना गरी स्थानीय पर्यटन बजारको विकास गरेको स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तक वर्तमान अर्थतन्त्रको अवस्थामा पनि उत्तिकै सार्थक रहेको बताउनुभयो ।
नेपालमा पर्यटन उद्योगको ठुलो सम्भावना भएको र दिगो पर्यटनमार्पmत आर्थिक विकास पनि सम्भव रहेको धारणा राख्दै उहाँले पर्यटन उद्योगको विकासमार्फत बढ्दो युवाहरू विदेश पलायनलाई रोक्न सकिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका सदस्य रमिला दुवाल, घरेलु तथा साना उद्योग सङ्घ नेपालका सदस्य वीरेन्द्र जति, भक्तपुर होटल व्यवसायी सङ्घका स्नेहा मास्के र भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिका सदस्य रामसुन्दर भेलेले भक्तपुरको पर्यटन विकास र यस उद्योगबाट आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदानबारे विचार राख्नुभएको थियो ।
Leave a Reply