पर्वलाई रचनात्मक ढङ्गले मनाउनुपर्नेमा जोड
- आश्विन १२, २०८२
भक्तपुर, १२ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्स र स्वास्थ्यकर्मीहरू चाडपर्वको बेला अन्य सामान्य अवस्थामा भन्दा सक्रिय र सेवाको भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा काम गर्नेहरू राज्यको सुरक्षा निकायमा काम गर्ने पुलिस र सेनाले जस्तै जुनसुकै बेला तयारी अवस्थामा रहनुपर्ने प्रमुख प्रजापतिले बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा अध्ययनरत नर्सिङका विद्यार्थी र शिक्षकबिच शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भर्खरै भएको सरकार परिवर्तनसम्मको घटनालाई सामान्य रूपमा लिन नहुने बताउँदै जनताको सही आवाजलाई नसुन्ने शासक दलहरू पतन हुने नेपाल एक उदाहरण बनेको छ भन्नुभयो ।
उहाँले नेपाली सेनाको परमाधिपति रहेको शीतल निवास, सुरक्षा घेरामा रहेको सिंहदरबार, सर्वोच्च अदालत र अख्तियारलगायत सार्वजनिक सम्पत्ति जोगाउन नसक्नुमा सुरक्षा प्रणालीमाथि पनि प्रश्न उठेको छ भन्नुभयो ।
इराकका सेना प्रमुखले अमेरिकासँग मिलेमतो गरेपछि सद्दाम हुसेनलाई पक्राउ गरी अमेरिकाले फाँसी दिएको उदाहरण दिँदै उहाँले अमेरिकी साम्राज्यवादले आफ्ना दलालमार्फत शासकहरू परिवर्तन गरी धेरै देशहरूमा आफ्नो अनुकूल सरकार बनाउने गर्छ भन्नुभयो ।
राजनीति, न्याय र आर्थिक क्षेत्रमा प्रभाव पार्न सक्ने मानिसहरूलाई आफ्नो प्रभावमा पारेर अमेरिका विश्वमा आफ्नो स्वेच्छाचारी प्रदर्शन गर्दै छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डाक्टर रत्नसुन्दर लासिवाले हरेक विद्यार्थीले अत्यन्त मेहनत र परिश्रम गरी भविष्यमा राम्रो नर्स बन्ने कोसिस गर्नुपर्ने बताउँदै चाडपर्वमा आफ्नो क्षेत्र सरसफाइ गर्न आग्रह गर्नुभयो ।
संस्थानका नर्सिङ इन्चार्ज ईश्वरी डङ्गोलले भदौ २३ र २४ गते भएको घटनामा सीटीभीटीअन्तर्गत १८ वटा नर्सिङ विभागको परीक्षा कापी जलेको हुँदा पुनः परीक्षा दिनुपर्ने अवस्था आएको बताउँदै त्यसको लागि तयारी भएर बस्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । विद्यार्थीहरूले कार्यक्रममा दसैँको बासुरी धुन बजाएर मनोरञ्जन प्रदान गरेका थिए ।
Leave a Reply