चिनियाँ क्रान्तिकारी साहित्यकार लु सुन
- आश्विन १२, २०८२
चिनियाँ समयअनुसार बेलुकीको ७ बज्दै थियो । सिमसिम पानी परिरहेको थियो । तिब्बती जनता यसलाई फ्लावर रेनिङ (Flower Raining) भन्न रुचाउँदा रहेछन् । शान–नान जिम्नास्टिक रङ्गशालामा स–साना स्कूले नानीहरूदेखि हजारौँको सङ्ख्यामा युवा तथा ज्येष्ठ नागरिकहरूको हर्षोल्लासको आवाज गुञ्जायमान थियो । एकैछिनमा चिसो स्याँठ चल्यो । आयोजकहरू हतारिँदै सबैलाई बाक्लो ज्याकेट, पातलो प्लास्टिकको रेनकोट र सानो अक्सिजन सिलिन्डर वितरणमा जुट्न थाले । ओहो ! एकैछिनमा चिसो बतासको कारण जिउ लुगलुग काँप्न थाल्यो । धन्न, चिनियाँ बाक्लो ज्याकेटले हामीलाई चिसोबाट बचायो; आयोजक समितिको कस्तो राम्रो तयारी !
शान–नानको ऐतिहासिक यालोङ सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा बस्दै थियौँ । शान–नान नगरपालिकाका पार्टी सचिव, नगर प्रमुख, आनहुई प्रान्तका पार्टी सचिवलगायत चीनका विभिन्न प्रान्त र नगरपालिकाका उच्चपदस्थ व्यक्तित्वहरू महोत्सवमा सहभागी थिए । भगिनी सहरका हिसाबले भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको नेतृत्वको हाम्रो नेपाली टोली विशेष अतिथि बन्न पुगेको थियो । हाम्रो उपस्थितिले महोत्सवलाई अन्तर्राष्ट्रियकरण गरेको आयोजकको भनाइ रह्यो ।
शान–नान सहरको मध्तग भएर बग्ने यालोङ नदी–किनार तिब्बती सभ्यताको उद्गम थलो हो । ‘आकाशबाट प्रकट भएका महामञ्जुश्रीले उत्पन्न गरेका सात वटा बाँदर पुर्खाबाट तिब्बतीहरूको विकास भएको तथा यालोङ नदी किनारामै तिब्बती सभ्यता सुरु भएको’ स्थानीय लोककथन रहेछ । यस अर्थमा यालोङ सांस्कृतिक तथा पर्यटन महोत्सवले तिब्बती सभ्यताको सुरुआतदेखिको इतिहास बताउने आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्ने शान–नान नगरका प्रमुख शाङ्झु सिरेनले बताउनुभयो ।
रङ्गशालाको दक्षिणतिर अत्यन्तै भव्यरूपमा निर्माण गरिएको मञ्चमा एकैपटक एक सत्न्दा बढी कलाकारले आफ्नो नाच प्रस्तुत गरेको देखियो । मञ्चको पृष्ठ भागमा राखिएको डिजिटल स्क्रिन (ब्यानर पर्दा) मा गीतको बोल र भावअनुसार कहिले निलो ताल त कहिले सुन्दर पहाडको दृश्य देखाइएको थियो । तिब्बती पठारमा चौरी चराउँदै अनि तीव्रगतिमा घोडा दौडाउँदै गरेको दृश्य भर्चुअल भए पनि दर्शकलाई रियल (वास्तविक) जस्तै लागिरहेको थियो । सङ्गीतअनुसारको प्रकाश संयोजन चित्ताकर्षक थियो ।
चारजना विशिष्ट व्यक्तित्वहरूले एकैसाथ उद्घाटन गरेको भव्य समारोहमा जम्माजम्मी १२ वटा सांस्कृतिक प्रस्तुतिहरू देखाइएका थिए । तिब्बती सभ्यताको सुरुआतदेखि भू–दास युगमा तिब्बती सर्वसाधारण जनतामाथि गरिएको अत्याचार र त्यसविरुद्धको जनसङ्घर्षको कथाबाट प्रस्तुती सुरु गरिएको थियो । विभिन्न प्रस्तुतिमा गीत र नृत्यमार्फत तिब्बती पठारमा चौरीचरण, च्याङ्ग्रा तथा भेँडाको बथान चराउँदै गरेको, गोठालाहरूले विरह र पीडाका गीतहरू गाइरहेको, प्राकृतिक विपत्ति तथा अन्य नकारात्मक कुराहरूलाई ‘राक्षस’ को रूपमा चित्रण गरी तिनका विरुद्ध साहसिक लडाइँ लडेको कथा प्रस्तुत गरिएको थियो ।
‘सङ्गीतको भाषा अन्तर्राष्ट्रिय हुन्छ’ भनिएको त्यसै होइन रहेछ । तिब्बती र चिनियाँ भाषामा गाइएका गीतको नेपाली अर्थ थाहा थिएन तर सङ्गीतको भाव र नृत्यकलाले हामीलाई तिब्बती जनताको संस्कृति एवम् सङ्घर्षका कथाहरू राम्रैसँग बुझाएको थियो । कामरेड माओ त्सेतुङको नेतृत्वमा चिनियाँ भूमिमा समाजवादी क्रान्ति भएपछि तिब्बत पनि सामन्तवादी चङ्गुलबाट स्वतन्त्र र स्वायत्त बनेको ६० औँ वर्षगाँठ सँगसँगै मनाउँदै गर्दा एउटा गीति नाटकमार्फत विभिन्न प्रान्तका चिनियाँ क्रान्तिकारी सेना र जनता तिब्बतको विकासमा जुटेको कथा देखाइएको थियो । कसैले आफ्नो काखका नानी त कसैले भर्खरै बिहे गरेकी जीवनसङ्गिनीलाई एक्लै छोडेर विकट तिब्बती भूभागमा विकास निर्माण गर्ने लक्ष्य बोकेर हिँडेको अनि तिनीहरूलाई बिदाइ गरिरहेको गीति नाटकको दृश्यले आँखा नरसाउने दर्शक थिएनन् कि भन्ने लाग्थ्यो । अझ भनौँ, त्यो कष्टसाध्य इतिहासका साक्षी बनेका दर्शकहरू त मन फुकाएर रुनमात्र सकेनन् कि भन्ने लाग्थ्यो । सांस्कृतिक प्रस्तुतीको अन्त्यमा तिब्बतका विभिन्न सहरहरू भौतिक पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा अघि बढेसँगै अत्याधुनिक एआई प्रविधिको प्रयोगमा अभ्यस्त भइरहेको दृश्य पनि देखाइएको थियो । तिब्बती भूमिमा समाजवादी झन्डा फहरिएपछि त्यहाँका जनताले सुखानुभूति गरिरहेको र देश अनि चिनियाँ विशेषतासहितको समाजवाद रक्षा गर्न एकताबद्ध भई लागेको दृश्यले चीनको उज्यालो भविष्यप्रति नयाँ पुस्ताको आशा, विश्वास एवम् समर्पण भाव गतिलो ढङ्गबाट प्रस्तुत गरिएको बुझ्न पटक्कै गा¥हो भएन ।
भ्रष्टाचार, नातावाद–कृपावाद अनि अराजकताको भूमरीमा फसेका पुँजीवादी देशका नागरिकहरूलाई यालोङ महोत्सवको उद्घाटन समारोहमा प्रस्तुत गरिएका सांस्कृतिक प्रस्तुतिहरूले कम्युनिस्ट समाजवादी व्यवस्थाप्रति आशा र देशभक्ति भावनासहित देश निर्माणमा एकजुट हुन हौसला प्रदान गरेको छ भन्दा अत्युक्ति नहोला !
भव्य यालोङ महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने अवसर प्रदान गरेकोमा शान नान नगरपालिका र चिनियाँ जनताप्रति हार्दिक धन्यवाद !
Leave a Reply