चार दिनदेखि अधिकांश सरकारी वेबसाइट बन्द
- कार्तिक ९, २०८३
काठमाडौँ, ८ कार्तिक । बङ्गालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढ्ने भएको छ ।
मौसमविद्हरूका अनुसार बिहीबार रातिदेखि शुक्रबार रातिसम्म यसको प्रभाव बढी देखिनेछ । केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीको मध्य उत्तरी भाग आसपास रहेको न्यूनचापीय प्रणाली क्रमशः बलियो बन्दै चक्रवातमा परिणत हुने क्रममा छ ।
यो प्रणाली भारतको तटीय क्षेत्रतर्फ अघि बढ्दै त्यहाँबाट भारतीय भूभागमा प्रवेश गर्ने र त्यसको प्रभावले नेपालमा बादल लाग्ने तथा वर्षा हुने सम्भावना बढ्नेछ । लामिछानेका अनुसार आगामी तीन दिनसम्म भने मौसममा ठुलो फेरबदल हुने देखिएको छैन ।
मङ्गलबारसम्म पहाडी र हिमाली जिल्लामा आंशिक बादल लागे पनि धेरैजसो ठाउँमा वर्षा हुने सम्भावना छैन ।
कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा भने छिटपुटदेखि हल्का वर्षा हुन सक्नेछ । तराई र उपत्यकाका केही स्थानमा बिहान हुस्सु लाग्न सक्ने उहाँले बताउनुभयो । बुधबारदेखि भने मौसममा परिवर्तन देखिन सुरू हुने उहाँको भनाइ छ । कोशी, बाग्मती र गण्डकी प्रदेशमा बादल लाग्ने तथा केही ठाउँमा छिटपुट वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
बिहीबार दिउँसोदेखि यी प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा हुने सम्भावना बढ्नेछ ।
लामिछानेले भन्नुभयो, “बिहीबार राति र शुक्रबारको लागि यसको प्रभाव बढी देखिन्छ† शनिबार दिउँसोसम्म पूर्वी क्षेत्रहरूमा यसको प्रभाव बढी रहने देखिन्छ ।”
उहाँका अनुसार कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा तुलनात्मक रूपमा बढी वर्षा हुने देखिएको छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनीको पश्चिमी क्षेत्रमा भने वर्षा तथा हिमपातको सम्भावना तुलनात्मक रूपमा कम छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि बङ्गालको खाडीबाट आउने प्रणालीले नेपालमा तीनदेखि चार दिनसम्म वर्षा गराउन सक्ने बताउनुभएको छ ।
विभिन्न मौसम पूर्वानुमान मोडलले यो प्रणाली भारतको आन्ध्र प्रदेश हुँदै नेपालतर्फ आउने देखाएको उहाँको भनाइ छ । पोखरेलका अनुसार बङ्गालको खाडीको न्यूनचापीय प्रणालीसँगै दक्षिण भारतमा सक्रिय उत्तरपूर्वी मनसुन र अर्को पश्चिमी वायुले पनि वर्षा बढाउन सक्छन् । बङ्गालको खाडीबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपालतर्फ आउने, माथिल्लो वायुमण्डलको ट्रफले प्रणालीलाई सहयोग गर्ने र नेपालको पहाडी तथा हिमाली भूगोलका कारण वर्षा थप तीव्र हुन सक्ने उहाँको विश्लेषण छ ।
“नेपाल आइपुग्दा यसको भारी वर्षा हुने मात्रा अझ बढी देखिन्छ”, पोखरेलले भनाइ छ ।
पोखरेलले विश्लेषण गरेका मौसम पूर्वानुमान नक्साअनुसार १२ देखि १५ गतेसम्मको अवधिमा केही क्षेत्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्छ ।
उहाँले लुम्बिनी, गण्डकी, बाग्मती र कोशी प्रदेशका २९ जिल्ला बढी जोखिममा रहेको भन्नुभएको छ । ती क्षेत्रमा छोटो अवधिमा तीव्र वर्षा वा लगातारको वर्षाका कारण ठुलो परिमाणमा पानी पर्न सक्ने सम्भावना छ ।
गत महिना हिमपहिरोका कारण मानवीय क्षति भएको मनाङमासमेत भारी वर्षाको सम्भावना देखिएको पोखरेलले बताएका छन् । “सबैभन्दा अहिले ध्यान दिनुपर्ने भनेको बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवस्था अलि बढी जोखिमपूर्ण छ”, उहाँले भन्नुभयो ।
तर अहिलेको पूर्वानुमान परिवर्तन हुन सक्ने पनि उहाँले स्पष्ट पार्नुभएको छ । आगामी दिनमा वर्षाको मात्रा र जोखिममा पर्ने जिल्लाहरू फेरिन सक्ने भएकाले पछिल्लो पूर्वानुमान नियमित रूपमा हेर्नुपर्ने उहाँको भनाइ छ ।
वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटकलाई सावधानी अपनाउन लामिछानेले आग्रह गर्नुभएको छ ।
विशेषगरी बिहीबार, शुक्रबार र शनिबार हिमाली जिल्लामा मौसम प्रतिकूल हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसमको पछिल्लो जानकारी लिन उहाँको छ ।
बुधबार केही ठाउँमा बादल लागे पनि वर्षाको सम्भावना कम रहेको र बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना बढ्ने भएकाले काट्न तयार भएको धान सकेसम्म त्यसअघि नै भित्याउन उहाँले सुझाव दिनुभएको छ ।
Leave a Reply